शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बहराइनमा नेपाली कामदार अलपत्र, कम्पनी टाट पल्टिँदा घर फिर्तीमा समस्या

बिहीबार, १२ वैशाख २०७६, १५ : १९
बिहीबार, १२ वैशाख २०७६

-बिष्णु कुमार आले 

वैदेशिक रोजगारीका लागि बहराइनमा पुगेका ६ जना नेपाली कामदार समस्यामा परेका छन् । बहराइनको आस्कोन र जीबी जेट कम्पनीमा लामो समयदेखि काम गरिरहेका ६ जना नेपाली कामदारले कम्पनीबाट तलबसमेत नपाएपछि अलपत्र परेका हुन् । 
कम्पनी टाट पल्टिएपछि कम्पनीमा कार्यरत ६ जना नेपाली कामदारहरु समस्यामा परेका थिए । जसमध्ये २ जनालाई बहराइनस्थित नेपाली दूतावासको पहलमा नेपालमा पठाइएको छ भने ४ जना नेपालीलाई नेपाल एम्बेसीले सहयोग गरिरहेको छ ।
कम्पनी टाट पल्टिएर तलब दिन नसकेपछि आस्कोन र जीबी जेटमा कार्यरत ९ जना नेपाली कामदारहरु समस्यामा परेका थिए । उनीहरुलाई बिगत ७ महिनादेखि कम्पनीले तलब नदिएपछि उनीहरु अलपत्र परेका हुन् । 
कम्पनीले बस्नका लागि होस्टल दिएपनि खानेकुरासमेत नभएपछि उनीहरु बहराइनस्थित नेपाली दूतावासको सम्पर्कमा पुगेका हुन् । 
आफूहरु समस्यामा परेको जानकारी गराएलगत्तै बहराइनस्थित दूतावासले तत्कालका लागि उनीहरुलाई २० दिन खान पुग्ने आर्थिक सहयोग गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले रातोपाटीलाई बताए । 
राजदूत सुन्दासका अनुसार त्यहाँको आस्कोन र जीबी जेट कम्पनी टाट पल्टिएपछि नेपाली कामदारलाई तलब दिन नसकेको हो । उनीहरुले आफ्नो सरकारबाट पाउनुपर्ने रकम नपाएकाले तलब दिन नसकेको दूतावासलाई जानकारी दिएका छन् । 
त्यसलगत्तै कम्पनीले नेपाली दूतावासमा आई एक साताभित्रै तलब उपलब्ध गराउनेगरी कागजात गरेको र उनीहरुले पाउनुपर्ने तलब केही दिनमै पाउने राजदूत सुन्दासले बताए । 
अहिले विभिन्न संघसंस्थाले पनि सहयोग गरेको जानकारी आएको भन्दै त्यसभन्दा अगाडि नै उनीहरुलाई दूतावासले आर्थिक सहयोग गरिसकेको र खान र बस्न नपाउने स्थिति आउन नदिने राजदूत सुन्दासले रातोपाटीलाई बताए । 
उनले भने ‘६ जना नेपाली कामदारहरु समस्यामा परेका थिए । जसमध्ये २ जनालाई दूतावासकै पहलमा नेपाल पठाइएको छ भने बाँकी ४ जना पनि केही दिनमै नेपाल पुग्नेछन् । उनीहरुले पाउनुपर्ने सबै तलब भत्ता उनीहरुले पाउनेछन् । नेपाली दूतावास उनीहरुलाई न्याय दिलाउन लागिपरेको छ ।’
नेपाली कामदार बिचल्लीमा परेको जानकारी आएपछि नेपाल ट्रेड युनियन महासंघ सप्रोट ग्रुप बहराईनका अध्यक्ष युवराज केसी र सचिव राजु पहारीले उनीहरूलाई खानको लागि केही खाद्यान्न उपलब्ध गराएका छन् । 
अलपत्र पर्दै आएका पीडितलाई नेपाली दूतावासको सम्पर्कमा राखिएको र पीडितलाई जति सक्दो छिटो नेपाल पठाउन नेपाली दूतावासलाई आग्रह गरिएको अध्यक्ष केसीले बताए । 
बहराइनको आस्कोन र जीबी जेट कम्पनी टाट पल्टिएकाले उक्त कम्पनीमा काम गर्न नआउन समेत महासंघले आग्रह गरेको छ । 
४ बर्ष अघि तनहुँको दमौली ९ बाट बिहान बेलुकाको छाकको जोहो गर्न रोजगारीका लागि बहराईन पुगेका राजकुमार भुजेल घर्ती भन्छन् ‘नेपालमै पनि दुख कष्ट भोग्दै आईयो, विदेश गएर केही हुन्छ कि भनेर विदेश आएँ, तर झन् अलपत्र परियो । कम्पनीले काम गरेको पैसा पनि दिएन र हामी भोकै बस्न बाध्य छौँ । आस्कोन कम्पनीमा काम गर्ने धेरै नेपालीको अवस्था यस्तै रहेको उनले बताए । 
पाल्पा भुबन पोखरी रोइना देवि छहरा गाउपालिकाका बिष्णु दमाईको पीडा पनि उस्तै छ । उनी ५ बर्ष अघि बहराईनको आस्कोन कम्पनीमा काम गर्न पुगेका थिए । तर अहिले उनको हातमा न पैसा छ, न त नोकरी नै । केही नहुँदा घर फर्किन्छु भन्दा पनि उनी नेपाल आउन सक्दैनन् । 
विदेश गएर केही पैसा कमाउँला र घरको व्यवस्था मिलाउँला भन्ने सपना बोकेर विदेश बहराइन पुगेका उनी यतिबेला अलपत्र परेका छन्न । दमाई भन्छन् ‘अर्काको देशमा आएर यसरी अलपत्र, बेसाहारा हुनु भन्दा आफ्नै देशमा सानो काम गरेर सुखी बन्न ठीक । लामो समय भयो, आफूले काम गरेको पैसा कम्पनीले दिएको छैन । पैसा माग्दा धाकधम्की दिन्छ, नोकरी पनि छैन । न त घर नै फर्किन दिन्छ, उनले गुनासो गरे । 
बहराईनमा यसरी अलपत्र परेका नेपाली दाजुभाईको संख्या धेरै छ । तर नेपाल सरकार र बहराईन सरकारबीच यसबारे कुनै छलफल सहमति हुन सकेको छैन । प्रवासी एकता समाज मञ्चका संयोजक शालिकराम पन्त र गुल्मी सेवा समाजका अध्यक्ष भिम कुवरको टोली पनि पीडितको समस्या बुझ्न र सहयोग गर्न त्यहाँ पुगेको थियो । अलपत्र परेका नेपाली कामदारलाई नेपाल फर्काउनका लागि  छिटो पहल गरिदिन नेपाली दूतावासलाई आग्रह गरिउको अध्यक्ष पन्तले बताए । 
केही महिना अगाडि बहराईनकै जिबी जेट कम्पनीबाट अलपत्र परेका ४० जना नेपाली मजदुरहरूलाई उद्धार गरी नेपाल पठाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप