नेपालमा जुनसुकै बेला जान सक्छ भूकम्प (भिडियो)
बुधबार बिहान ६ बजेर २९ मिनेटमा धादिङलाई केन्द्रविन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गयो । त्यसको ११ मिनेटपछि ४ दशमलव ३ रेक्टर स्केलको अर्को परकम्प गयो । यो भूकम्प पनि २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको परकम्प भएको भूकम्पविद्ले बताएका छन् । गोरखालाई केन्द्रविन्दु बनाएर गएको सो शक्तिशाली भूकम्पपछि ४ वर्षको यो अवधिमा सानाठूला गरी ४० हजार परकम्प गएको भूकम्पविद् भरतप्रसाद कोइरालाले रातोपाटीलाई जानकारी दिए । यो अवधिमा ४ रेक्टरस्केलभन्दा माथि ४ सय १९ परकम्प गएको छ । गोरखा केन्द्रविन्दु बनाएर गएको त्यो भूकम्पअघि भन्दा पछिल्लो समयमा ३ गुणा बढी भूकम्प आइरहेको उनले बताए ।
२०७२ सालको भूकम्पअघिको तुलनामा त्यसपछिका समयमा भूकम्प जाने क्रम पनि बढेको उनले बताए । बुधबार बिहान गएको भूकम्पअघि पनि देशका विभिन्न भूभागलाई केन्द्रविन्दु बनाएर साना स्केलका भूकम्प र परकम्प गएका छन् । बुधबार बिहानको परकम्पअघि वैशाख ३ गते गोरखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो । वैशाख २ गते बझाङलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै चैत ३० गते रसुवालाई केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
चैत २६ गते दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको थियो भने चैत १८ गते दैलेख केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।
के हो भूकम्प र परकम्प
कुनै स्थानमा ठूलो भूकम्प गएपछि त्यहाँ निरन्तर साना स्केलका भूकम्प जाने गर्छ, जसलाई परकम्प भन्ने गरिन्छ । शक्तिशाली भूकम्पपछि सबै शक्ति बाहिर नआएको कारण पटक पटक भूकम्प जाने भूकम्पविद् कोइराला बताउँछन् । उनले भने यो परकम्प जाने कारण एउटा ठूलो भूकम्प गएपछि त्यसले सबै शक्ति निकालिसकेको हुँदैन । त्यसपछि ससाना भूकम्प जाने हुन्छ, प्राकृतिक नियम जस्तै साना भूकम्प जान्छ । भूकम्पले एउटा दरार पैदा गरेको हुन्छ । त्यहाँ तनाव सिर्जना भएपछि साना साना भूकम्प जाने क्रम हुन्छ ।
भूकम्पविद् कोइरालाका अनुसार परकम्प पनि भूकम्प नै हो । ठूलो भूकम्पले दरार पैदा गरेको ठाउँमा जाने भूकम्पलाई परकम्प भनिने र ठूलो भूकम्पले पभाव नपारेको नयाँ ठाउँकोलाई भूकम्प भनिन्छ ।
जुनसुकै बेला भूकम्प जान सक्छ
नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रको रूपमा रहेको विज्ञहरुले बताउँदै आइरहेका छन् । नेपाल इन्डियन प्लेटमाथि रहेको र उत्तरमा रहेको युरेसिएन प्लेटसँग इन्डियन प्लेट जोडिएको ठाउँमा रहेको छ । यी दुई प्लेटबीच सङ्घर्ष हुँदा नेपाललाई भूकम्पीय जोखिमयुक्त क्षेत्रका रूपमा लिने गरिएको छ । झन्डै पाँच करोड वर्षअघि दक्षिणको इन्डियन प्लेट उत्तरको युरेसिएन प्लेटसँग ठोक्किएको अध्ययनकर्ताको अनुमान छ ।
भूकम्पविद् कोइराला भन्छन्, अफगानिस्तानदेखि बर्मासम्मको २५ सय किलोमिटर हिमालयको भाग जुन दुई प्लेट जोडिएको भाग छ, त्यहाँमुनिबाट ऊर्जा बाहिरिरहेको हुन्छ । त्यसमध्ये नेपालले झन्डै १ तिहाइ ८ सय ५० किलोमिटर जति लम्बाइ ओगट्छ । त्यसकारण १ तिहाइ नेपालले भूकम्पीय जोखिम त बेहोर्छ । त्यसकारण यहाँ जुनसुकै बेला भूकम्प जान्छ । गोरखा भूकम्प जानुअघि पनि हामीले गोरखादेखि देहरादुनसम्म शक्तिशाली भूकम्प जान सक्ने अनुमान गरेकै हो, त्यतिखेर गोरखामा गयो । त्यसकारण नेपालमा जुनसुकै बेला ठूलो भूकम्प जान सक्छ ।
२१ भूकम्प मापन केन्द्र
नेपालले अहिले फ्रान्स सरकारले दिएको प्रविधि प्रयोग गरेर भूकम्प मापन गर्दै आएको छ । पूर्वमा ताप्लेजुङदेखि सुदूरपश्चिममा बैतडीसम्म २१ वटा भूकम्प मापन स्टेसन राखिएको छ । गोरखा भूकम्पपछि अन्य २० वटा भूकम्प मापन स्टेसन स्थापनाको क्रममा रहेको भूकम्प मापन केन्द्रका सिनियर डिभिजनल सिस्मोलोजिस्ट भरत प्रसाद कोइरालाले जानकारी दिए ।
ताप्लेजुङदेखि प्युठानसम्मको १२ वटा स्टेसनको भूकम्प मापन काठमाडौँबाट हुने गरेको छ भने रुकुमदेखि बैतडीसम्मको भूकम्प भने सुर्खेतमा रहेको स्टेसनबाट मापन गरिन्छ । भूकम्प मापनका लागि विश्वमा चलेको पछिल्लो प्रविधि पनि प्रयोग गर्न लागेको कोइरालाले जानकारी दिए ।
हेर्नुहोस् भिडियो ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी