शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा ९ जनाले हतियार बुझाए

मङ्गलबार, १० वैशाख २०७६, २० : ४९
मङ्गलबार, १० वैशाख २०७६

घोराही । दाङमा नौ जनाले इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अवैध हातहतियार ३५ दिनभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेपछि उनीहरुले हतियार बुझाएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका– १३ फूलबारीका नौ जनाले हतियार बुझाएको प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

यसअघि चार थान अवैध हतियार सङ्कलन गरिएको थियो । शान्तिनगर गाउँपालिका– २ का विभिन्न गाउँबाट चार नाल बन्दुक सङ्कलन भएको पाण्डेले बताए ।  

बाइबल र पैसा बोकेर धर्म प्रचार गर्ने पक्राउ

बाइबल र पैसा बोकेर गाउँशहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्मको प्रचार गरेको अभियोगमा प्रहरीले आज घोराहीबाट दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । 

घोराही बजारस्थित होटेल डोकोबाट अमेरिकी नागरिक  सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, सङ्खुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेका हुन् । 

उनीहरुका साथबाट बा१३प ३१९६ स्कार्पियो गाडी, बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा बाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभलगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विक्रम शाहले जानकारी दिए ।

पक्राउ परेकामध्ये तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको उनले बताए । 

अमेरिकी महिलाको राहदानी रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौँलाई चिठ्ठी लेखेको उनले जानकारी दिए । 

गाउँमा धर्म प्रचार गर्ने र मानिसलाई आर्थिक तथा उपचारको प्रलोभन देखाई धर्म परिवर्तन गराउने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । केही दिनअघि दुई जापानी महिलालाई पनि धर्म प्रचारमा हिँडेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप