शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिको भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुग्छ: मन्त्री ज्ञवाली

सोमबार, ०९ वैशाख २०७६, १९ : १२
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको स्पष्ट पारे । उनले भने, ‘उहाँको भ्रमणपछि नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध थप नयाँ उचाईमा पुग्छ ।’

उनले अघि थपे, ‘राष्ट्रपतिको यो भ्रमणले सदियौंदेखि रहँदै आएको नेपाल–चीन सौहार्दपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने छ । चीनको विकाससँग नेपालको विकासलाई जोड्ने विभिन्न माध्यम र उपायहरुको खोजी गर्नेछ ।’

साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले भ्रमणको दौरान दुईपटक सम्बोधन गर्ने कार्यक्रम रहेको पनि सुनाए । उनले भने,‘बेल्ट एण्ड रोड ईनिसिएटिभ फोरम, जहाँ सयभन्दा बढि राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुन्छन्, त्यसमा उहाँले दुईपटक सम्बोधन गर्नुहुनेछ । पहिलो उहाँले उद्धघाट्न सत्रमा उच्चस्तरीय भेलामा सम्बोधन गर्नुहुनेछ, र दोस्रो चिनियाँ राष्ट्रपति सि जिनपिङले सञ्चालन गर्ने राउण्ड टेबलमा सम्बोधन गर्नुहुनेछ ।’

मन्त्री ज्ञवालीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्धिपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर गर्नेपनि जनाए । उनले भने,‘त्यो दिन प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।’

त्यस्तै, मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले चीनको प्राचिन शहर र चिनियाँ राष्ट्रपतिको गृहनगरसमेत रहेको सियानको भ्रमण गर्ने कार्यक्रम रहेको समेत जनाए । उनले राष्ट्रपति भण्डारीले चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको र भ्रमणको दौरान प्रान्तीय गभर्नरसँग भेटवार्ता गर्नेपनि जनाए । राष्ट्रपति भण्डारीको भ्रमण र भेटवार्ताले नेपाल–चीन सम्बन्ध अझै उचाईमा बढाउने विश्वास रहेको पनि मन्त्री ज्ञवालीले सुनाए । 

त्यस्तै, उनले नेपाल–चीन सम्बन्धमा अहिले कुनै समस्या नरहेको जिकिर गरे । उनले भने,‘हामीबीच सौहार्दपूर्ण र समझदारीपूर्ण सम्बन्ध छ ।’ चीनसँग जोडिएर नेपालले जसरी लाभ लिनुपर्ने थियो त्यो भने लिन नसकेको विगत मन्त्री ज्ञवालीले कोट्याए । 

उनले भने,‘अब भने हामी चीनसँग सार्थक रुपमा आर्थिक लाभ लिनेगरि अघि बढ्छौं ।’ आफू यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँगको भेटवार्तामा नै नेपाल–चीन विकासको ‘फ्रेमवर्क’ तय भैसकेको पनि ज्ञवालीले सुनाए । उक्त ‘ट्रान्स हिमालयन मल्टि–डाईमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सिमा वारपार रेल, सडकहरु, बन्दरगाहाहरु, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषयहरु पर्ने उनले सुनाए ।

उनले भने,‘यसअन्तर्गत अघि बढ्नको लागि हाम्रो प्रधानमन्त्रीको गत असारमा भएको भ्रमणमा पनि अझ कम्प्लिट बनाएका छौं ।’ हालै नेपालले चीनसँग बिआरआईअन्तर्गत आफूहरुले गर्न खोजेका कामका सूचीसमेत आदान–प्रदान गरिसकेको उनको भनाई छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप