शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले काँग्रेसको संयमतालाई कमजोरी नसोचे हुन्छ: निधि

सोमबार, ०९ वैशाख २०७६, १९ : ०४
सोमबार, ०९ वैशाख २०७६

जनकपुर–नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले एकपछि अर्को अलोकतान्त्रिक चरित्रहरु प्रस्तुत गर्दै गएपनि आफूहरु अराजक रं उदण्ड प्रतिपक्षको रुपमा प्रस्तुत हुन नसक्ने बताएका छन् । सोमबार नेपाल प्रेस युनियन सर्लाहीले बरहथवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले सो कुरा बताएका हुन् । 

उनले काँग्रेस अत्यन्तै लोकतान्त्रिक पार्टी भएकाले सोहीअनुसार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरे । ‘वर्तमान ओली सरकारले एकपछि अर्को अलोकतान्त्रिक निर्णय र व्यवहार गरिरहेको उपसभापति निधिले आरोप लगाए । उनले भने, ‘तर नेपाली काँग्रेसले उहाँहरुले विगतमा गरेजस्तै सडकको रेलिङ्ग भाँच्ने, संसदको कुर्सी भाँच्ने जस्ता अराजक र उदण्ड ढंगले विरोध प्रदर्शन गर्ने शैलीमा अलोकतान्त्रिक प्रतिपक्षको भूमिका निर्बाह गर्दैन ।’ 

नेता निधिले काँग्रेसको संयमतालाई कमजोरी सोचे सरकारले गम्भीर परिणाम भोग्नु पर्ने निधिले चेतावनी समेत दिए ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका निधिले वर्तमान सरकारले १४ महिनामा कुनै राम्रो काम गर्न नसकेको बरु संघीयता विफल पार्ने बाटोमा भिडेर लागेको आरोप लगाए । ‘चारैतिर भ्रष्ट्राचार मौलाएको छ, संघीयता सफल पार्ने भन्दा पनि विफलताको बाटोमा अगाडि बढिरहेको छ’, उनले भने, ‘अधिकारहरु क्रमशः प्रधानमन्त्रीमै केन्द्रित गर्दै संघीयताको मर्ममाथि प्रहार गर्ने अनि प्रदेश सरकार र स्थानीय सरकारलाई बेवास्ता गरिरहेको छ ।’

छुट्टै प्रसंगमा निधिले पार्टी एक रहेको दाबी समेत गरे । ‘नेताले लादेको कुरा अन्तिम हुन्छ भन्ने कम्युनिष्ट विचारधाराको जस्तो हाम्रो पार्टी हैन, त्यसैले पार्टीभित्र वैचारिक लडाईं हुन्छ’, उनले भने, ‘पार्टी भित्र वैचारिक लडाईं भएपनि एक ढिक्का छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप