बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको कार्ययोजना : करिडोर खोल्नेदेखि पकेट नियमन गर्नेसम्म !

सोमबार, ०९ वैशाख २०७६, १७ : ५३
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र प्रदुषण नियन्त्रणका लागि चालिनुपर्ने कदमहरुको विस्तृत कार्ययोजना प्रस्तुत गरेको छ । महाशाखाले जारी गरेको तीन महिने कार्ययोजना अन्तर्गत ९ वटा फरक कार्यक्रमहरु रहेका छन् । 

जसमध्ये उपत्यकामा रहेको करिडोरको अन्डर पास खोल्ने, सडक र फुटपाथ अतिक्रमण हटाउने, जेब्रा क्रसिङ र लेन मर्मत गर्ने, ट्राफिक सचेतना प्रशिक्षणलाई बृहत बनाउने र ट्राफिक स्वयंसेवक तयार गर्ने, दुई पांग्रे सवारीमा आधारित कार्यक्रम, बस पकेट नियमन गर्ने र ट्याक्सी स्ट्याण्ड तोक्ने, जेब्रा क्रसिङ र आकाशे पुल निर्माण गर्ने, सवारी प्रदुषण नियन्त्रण गर्ने र सवारी साधनको लेन नियमन गर्ने र टिपरमा ठूलो साइड मिरर राख्ने व्यवस्था मिलाउने आदि रहेको छ ।

उक्त कार्ययोजना अन्तर्गत महाशाखाले बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनि करिडोर सञ्चालमा ल्याइसकेको छ भने बाँकी रातोपुल, सेतोपुल र कालोपुलमुनिको करिडोर सञ्चालमा ल्याउन काम भइरहेको ट्राफिक महाशाखाका प्रवक्ता एसपी जयराज सापकोटाले जानकारी दिए । 

कार्ययोजना अन्तर्गतका करिडोरमध्ये सञ्चालनमा आएका तीनवटा करिडोरबाट ठूला तथा साना सवारी साधन आवतजावत गर्न थालेपछि सवारी आवागनमा सहज हुनुका साथै सवारी जाम पनि कम हुँदै गएको र दुर्घटनामा पनि कमि आएको प्रवक्ता सापकोटाले बताए । 

यसैगरी, महाशाखाले प्रस्तुत गरेका उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजना २०७५ को प्रगति विवरणको अनुसार हालसम्म सुकेधारा चोकमा एउटा जेब्राक्रसिङ र एउटा स्टप लाइन निर्माण गरेको छ ।

यस्तै महाशाखाले गौशाला चोकमा ३ वटा, धुम्बाराहीमा १ वटा, चप्पल कारखानामा १, शंखपार्कमा १ गरी जम्मा ८ वटा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरिसकेको छ । 

नयाँवानेश्वरदेखि पुरानो बानेश्वरसम्म सडकमा पार्क गरिएका र फुटपाथ हटाउने क्रममा सडक अतिक्रमण गरी व्यवसाय सञ्चालन गर्ने ४८ जनाको सामान नियन्त्रणमा लिएको तथा २ वटा कारलाई ह्विल लक लगाएको थियो । 

त्यस्तै, कोटेश्वरदेखि गौशालासम्म गाडा ३, बोर्ड ६०, साईकल २, फलामको सिडी ३, तरकारी ३ बोरा, पाल १० वटा, ह्विल लक १२ र फुटपाथ कारबाही १४ वटालाई कारबाही गरिएको महाशाखाका डीएसपी सुनीलजंग शाहीले जानकारी दिए । 

त्यसैगरी, थापाथलीदेखि सोल्टीमोडमा सकडमा जथाभावी पार्किङ गरिएका ९ वटा मोटरसाइकललाई उठाईएको महाशाखाले जनाएको छ । फुटपाथमा पार्किङ गरिएका १८ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको थियो । यसैगरी, लाजिम्पाट क्षेत्रबाट फुटपाथमा पार्किङ गरिएका ४ वटा मोटरसाइकलाई कारबाही गरिएको थियो । 

महाशाखाले सवारी प्रदुषण नियन्त्रणको लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा १३ सय ८१ वटा सवारी चेक जाँच गरेको थियो । जसमध्ये ४ सय ३३ वटा सवारी सही अवस्थामा रहेको र प्रदुषण फेल भएका ४ सय ५१ वटा सवारीलाई कारबाही गरेको जनाएको छ । 

यसैगरी, २ हजार ६ सय ७० मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतना प्रशिक्षण तथा स्ट्रिकर वितरण गरिएको थियो भने ३ हजार ३ सय ८२ वटा पम्पलेट वितरण गरिएको महाशाखाका डीएसपी तथा पम्पलेट वितरणका संयोजक प्रभु ढकालले जानकारी दिए । 

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पनि आईजीपी सर्वेन्द्र खनालले उपत्यकामा रहेको करिडोर खोल्न ट्राफिक प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । 

नयाँ ट्याक्सी स्ट्यान्ड थप्ने तयारीमा
महाशाखाले सार्वजनिक गरेको विस्तृत कार्ययोजनामा २४ स्थानमा थप नयाँ ट्याक्सी स्ट्यान्ड तोक्ने बताइएको छ । 

महाशाखाका अनुसार कालोपुलमा ३, नागपोखरीमा २, ढल्कुमा २, भत्केकोपुल क्षेत्रमा ८, साततले ७, राधाकृष्ण मन्दिर ७, मिलन चोकमा ७, सितपुर चोकमा ५, गणतन्त्र चोकमा १५, वालुवा खानीमा १० वटा ट्याक्सी राख्ने व्यवस्था मिलाइएको छ । 

यस्तै अन्नपूर्ण चोकमा ५, मनमोहन अस्पताल अगाडि ८, नेप्रअ र बालमैत्री बीचमा ३, रणोद्दिप ३, ज्याठा मोडभित्र २, चावहिल ५, ह्यात होटल गेटमा ७, बौद्व गेटको पूर्वपट्टी ३, जोरपाटी ओरालो ३, हिमचुली ३, बालाजु भाटभटेनी ५, मित्रनगर ५, शिवमन्दिर ५ वटा ट्याक्सी राख्ने व्यवस्था मिलाइने प्रवक्ता सापकोटाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप