शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्ञाभवनमा माधव नेपालको आधा घण्टा, जिल्ला नेतृत्वको सूची बोकेर किन बाहिरिए ?

सोमबार, ०९ वैशाख २०७६, १७ : ३२
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं– लामो रस्साकस्सी पछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्ला नेतृत्वको टुंगो लगाएको छ । 

नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमका बीच नेकपाले जिल्ला नेतृत्व टुंगो लागेको घोषणा गरेपनि मन्चबाटै ‘असन्तुष्टिको आवाज’ देखा परेको पार्टीभित्र र बाहिर विश्लेषण हुन थालेको छ ।  

जिल्ला नेतृत्वको घोषणा सहमतिको आधारमा गरिएको कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले दाबी गरेपनि बीचमै वरिष्ठ नेता माधव नेपालले बीचमै कार्यक्रम छाडेर हिँडेका कारण जिल्ला नेतृत्वमा विवाद रहेको आशंकालाई बल पुगेको हो । 

नेकपाले जिल्ला नेतृत्वको नामावली घोषणाका साथै पार्टी स्थापना दिवस पनि मनाउने उद्देश्यका साथ दिउँसो १२ बजेलाई कार्यक्रम तय गरेको थियो । निर्धारित समयभन्दा एक घण्टापछि सुरु भएको कार्यक्रममा सबैभन्दा पहिले शीर्ष नेतामध्ये इश्वर पोखरेल कार्यक्रम हलभित्र प्रवेश गरेका थिए । त्यसपछि रामबहादुर थापा बादल र उनीपछि बामदेव गौतम र झलनाथ खनाललगायत पुगेका थिए । रोचक त के भयो भने तेस्रो वरियताका नेताका लागि राखिएको कुर्सीमा चौथो बरियताका खनाल बसिदिए । 

यसरी चौथो बरियताका खनाल तेस्रो वरियताका नेपालको कुर्सीमा बसिदिएपछि ढिला गरी आएका नेता नेपाल अलमलमा परे । 

त्यसपछि नेता नेपालले पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई नेता खनालको छेउमा रहेको कुर्सीमा बसिदिन इशारा गरे । तर, श्रेष्ठले मानेनन् र बाध्य भएर नेता नेपाल चौथो बरियताको कुर्सीमा बस्न बाध्य भए । 

यो पनि......

को–को बने नेकपाका जिल्ला अध्यक्ष र सचिव ? (सूची)

नेताहरु सबै भेला भइसकेपछि कार्यक्रममा आसनग्रहणको क्रम सुरु भयो । आसन ग्रहणका क्रममा भने नेता नेपाललाई आगाडि राखिएको थियो । तर पनि असजिलो महसुस गर्दै नेता नेपालले करिब आधा घण्टा कार्यक्रमस्थलमा बिताए । 

...अनि बाहिरिए
नेताहरुको आसनग्रहणको कार्यक्रम सकिएपछि महासचिव विष्णु पौडेलले आइतबार साँझ बसेको सचिवालय बैठकबाट स्वीकृत भएको भनिएको ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको सूची अध्यक्षद्वयसहित सबै सचिवालय सदस्यलाई थमाए ।

जब नेता नेपालले त्यो लिष्टलाई सरसर्ती हेरे तब एकाएक कार्यक्रमस्थलबाट बाहिरिन पुगेका थिए । नेपाल बाहिरिँदा त्यो लिस्ट उनको हातमै थियो भने उनी केही आक्रोशित जस्तो देखिन्थे । रोचक त के रह्यो भने एक पत्रकारको बिमोचन भएको पुस्तक उनलाई उपहारस्वरुप दिइएको पनि उनले त्यो समेत नलिइ बाहिरिएका थिए । सो पुस्तकलाई आफू बसेको कुर्सीमा सार्दै नेता नेपालको कुर्सीमा प्रवक्ता श्रेष्ठ बसेका थिए । र, केही समय खनालसँग श्रेष्ठ कानेखुसीमा व्यस्त देखिन्थे । 

लिस्टप्रति असन्तुष्ट हुँदै कार्यक्रमस्थलबाट बाहिरिएको अनुमान लगाउँदै केही नेता कार्यकर्तासमेत हलमा कानेखुसी गर्न व्यस्त देखिन्थे । ‘उहाँ कुनै विशेष अवस्थामा बाहेर यसरी बीचमै एकाएक बाहिरिने नेता होइन । पक्कैपनि लिस्टमा असन्तुष्टि जनाउँदै बाहिरिएको हुनुपर्छ’, एक कार्यकर्ता भन्दै थिए । विगतमा पनि नेतृत्वको विषयमा असन्तुष्टि राख्दै आएको र सहमति भन्दा दायाँबायाँ भएकाले नेपाल रुष्ट बन्दै बाहिरिएको हुन सक्ने ती कार्यकर्ताको भनाई थियो । 

ती कार्यकर्ताको आशंकालाई मलजल  गर्नेगरी नेकपाका युवा नेता योगेश भटट्राईको पनि अभिव्यक्ति आएको छ । उनले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै गुटका आधारमा सूची टुंगो लगाएको दाबी गरेका छन् । 

‘जिल्ला कमिटी घोषणा गर्नु सकारात्मक र स्वागतयोग्य कुरा हो । तर, त्यसमा अपनाइएको विधि र प्रकृया गलत भयो । गुटगत स्वार्थ हावी भएको देखियो’ रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता भट्टराइले भने, ‘एकता प्रकृयामा ढिलाइ भइरहेका बेला कमसेकम जिल्ला तहले नेतृत्व पाएको छ । यसको स्वागत गर्नुपर्छ तर प्रकृया चित्तबुझ्दो भएन ।’

उनले सचिवालयको त्यही निर्णय स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीबाट अनुमोदन गरेर गरेको भए संगठनात्मक पद्धति नमिचिने भन्दै आगामी दिनमा नेताहरुलाई त्यसतर्फ ध्यान दिन सुझाव समेत दिए ।

नेपालकाे सचिवालयले भन्यो–अर्को कार्यक्रम थियो
यसैबीच कार्यक्रम सुरु भएको केही बेरमै नेता नेपाल बाहिरिएको विषयमा बाहिर आएका समाचारहरुमा सत्यता नभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले दाबी गरेका छन् ।
 ‘उहाँ पूर्व निर्धारित कार्यक्रमअनुसार नै काठमाडौको साँखुमा आयोजना भएको कार्यक्रममा जानुपर्ने थियो । त्यसैले चाँडै निस्कनुभएको हो’ गौतमले रातोपाटीलाई बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप