शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

६१ वर्षको उमेरमा विवाह : नातिनातिना जन्ती !

सोमबार, ०९ वैशाख २०७६, १२ : ३६
सोमबार, ०९ वैशाख २०७६

गुल्मी–६१ वर्षीय एक व्यक्तिले आफूभन्दा झण्डै १६ वर्ष कम उमेरकी महिलासँग लगनगाँठो कसेका छन् । 

मन मिलेपछि धनदौलत, उमेरले रोक्दैन भन्ने उदाहरण दिएका हुन्– गुल्मी पुर्खेयौली घर भएका यी जोडीले । गुल्मीको मुसिकोट नगरपालिका–९ , अर्लाङ्गकोट पुर्खेयौली घर भई हाल पश्चिम नवलपरासीको गैँडाकोट नगरपालिका–४ झपर्दी वसाईसराई गएका ६१ वर्षीय नारायणप्रसाद सापकोटाले ४५ वर्षीया लक्ष्मी अर्यालसँग लगनगाँठो कसेका हुन् । 

आइतवार यो जोडीले हिन्दु परम्परा अनुसार  विधिवत विवाह गरेका हुन् । अर्यालको माइती घर तनहुँको देवदह हो । सोमवार विहानैदेखि सापकोटा परिवारमा भोज भतेर सहित धुमधाम  विवाहको रौनक जारी छ ।

अर्लाङ्गककोटबाट बसाई सरेर पाल्पाको तानसेन–१ मा बसोवास गरेका बेहुलाका कान्छा भाई जयराम सापकोटा भन्छन्, ‘हामी सबै दाजुको विवाहमा गैडाकोट आएका छौं । एक बर्षअघि भाउजु खिमकलीको ५८ बर्षको उमेरमा मृत्यु भएकाले अर्को विवाह गर्नुपरेको हो ।’ 

उनका अनुसार बेहुला दाजुका एक छोरी, दुई छोरा र नातिनातिना पनि छन् । ‘विवाहको रमझममा उनै नातिनातिनका रमाएका छन् । बुढेसकालमा सहाराका लागि दाजुले  हिजो विवाह गरेर भाउजु भित्र्याउनु भएकोमा हामी सबै खुशी छौं’ उनले रातोपाटीलाई बताए । 

 २०१५ साल पुस २२ गते जन्मिएका नारायणले मृत्यु भएकी श्रीमति खिमकलीलाई २०३४ सालमा विवाह गरेका थिए । 

हजुरवुवाको विवाहमा नातिनातिनाहरु रमाएर सहभागी भएका देखिन्छन् । छोराले बुहारी भित्र्याएकोमा खुशीले गद्गद् भएकी ८६ वर्षिय आमा हरिकला सापकोटाले विधि अनुरुप नै बुहारी भित्राएको बताइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप