केन्द्रीय संस्करण
वेथिति

नेपालमा नाफाको व्यापार गर्दै आईओएम : कालोबजारीमा सरकारी सहयोग !

person explore access_timeबैशाख ९, २०७६ chat_bubble_outline2
मदन ढुङ्गाना

रातोपाटी

आईओएम अर्थात् अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको प्रमुख काम र दायित्व के होला ? पक्कै पनि आप्रवासन अर्थात् बसाइँसराइ सम्बन्धी काम गर्ने । आईओएमको वेभसाइटमा हेर्ने हो भने पनि यसले गर्ने काम आप्रवासनसम्बन्धी नै हो ।

तर आईओएमको नेपालको वेभसाइट हेर्ने हो भनेचाहिँ यसको उद्देश्य केही फरक पनि छ । आईओएम नेपालको वेभसाइट नेपाल डट आईओएम डट आईएनटीमा हेर्दा भने आईओएमले थप काम गर्ने कुरा उल्लेख गरिएको छ ।

नेपालमा आईओएमले आप्रवासनका साथै स्वास्थ्य परीक्षण, आपतकालीन व्यवस्थापन, वातावरणीय परिवर्तन, कामका लागि विदेश जाने वा आउने कामदारसम्बन्धी काम पनि गर्ने कुरा उल्लेख छ ।

नेपालमा आईओएमको प्रवेश

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन अर्थात् आईओएम सुरुमा एउटा आईएनजीओ मात्रै थियो, जसले बसाइँ सरेर जाने वा आउने मानिसहरुको सन्दर्भमा काम गथ्र्यो ।

आईओएमको स्थापना सन् १९५१ मा भएको थियो । दोस्रो विश्वयुद्धको समाप्तिसँगै भएको लथालिङ्गको स्थिति र पश्चिम युरोपका मानिसहरुको विस्थापनपछि त्यसको व्यवस्थापन गर्न भन्दै खुलेको थियो । सुरुमा अन्य नाममा स्थापना भएको यो संस्था पछि आप्रवासनसम्बन्धी सबै काम हेर्ने भन्दै आईओएमको नाममा दर्ज भयो ।

सन् १९५१ मै यो संस्था स्थापना भए पनि नेपाल भने सन् २००६ मा मात्रै आईओएमको सदस्य राष्ट्र बन्यो ।

नेपाल आईओएमको सदस्य राष्ट्र नबनी आईओएमले नेपालमा काम गर्न नपाउने भएपछि नेपाल त्यसको सदस्य राष्ट्र बनेको थियो । नेपाल सदस्य राष्ट्र बनेको एक वर्षपछि अर्थात् सन् २००७ मै आईओएम नेपालमा प्रवेश गर्यो ।

आईओएमलाई नेपाल भित्र्याउनुको प्रमुख उद्देश्य भनेको तत्कालीन समयमा भुटानी शरणार्थीको व्यवस्थापन नै थियो । आईओएमले भुटानी शरणार्थीलाई अमेरिकालगायतका देशमा पठाउने गरी काम गर्ने भन्दै नेपालमा कार्यालय खोलेको थियो । यतिबेला भुटानी शरणार्थीको व्यवस्थापन पनि भइसकेको छ ।

सन् २०१८ को अन्तमा आइपुग्दा भुटानी शरणार्थीको क्याम्पसमेत बन्द गरिसकिएको छ भने अधिकांश भुटानी शरणार्थी तेस्रो मुलुकमा पुगिसकेका छन् । यो सबै कामको व्यवस्थापन आईओएमले गरेको थियो ।

भुटानी शरणार्थीको व्यवस्थापनको काम सकिए पनि आईओएम भने नेपालमा व्यापार गर्दै बसिरहेको छ ।

आफूलाई ननप्रोफिट अर्गनाइजेसन बताउने आईओएमले नेपालमै बसेर व्यापार र आयको काम गरिरहेको छ ।

तर यही बीचमा सन् २०१६ को सेप्टेम्बर १९ मा आईओएम संयुक्त राष्ट्र सङ्घ अर्थात् यूएनको सदस्य संस्था बनिसकेको छ । अर्थात् आईओएम अब यूएन मातहत पुगेको छ र उसले थप अधिकार र सुरक्षा प्राप्त गरेको छ ।

आईओएममा स्वास्थ्य परीक्षण : नाफाको व्यापार

सुरुमा भुटानी शरणार्थीहरुलाई तेस्रो मुलुक पठाउने सम्बन्धमा स्वास्थ्य परीक्षण गराउने अधिकार दिइएको आईओएमले अहिले भने स्वास्थ्य परीक्षणको नाममा व्यापार गर्न थालेको छ । अहिले आईओएमले अमेरिका, अस्ट्रेलिया, क्यानडा, युके, न्युजिल्यान्ड र मलेसियामा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गराउन थालेको छ । अहिले यूके अर्थात् बेलायत जाने सबैले आईओएमबाटै स्वास्थ्य परीक्षण गराएर जानुपर्छ भने अमेरिका जाने अधिकांशलाई आईओएममा स्वास्थ्य परीक्षणका लागि पठाइन्छ ।

त्यसैगरी माथि उल्लेखित देशहरुमा जाने अधिकांशले आईओएममै पुगेर स्वास्थ्य परीक्षण गराउने गरेका छन् ।

अहिले विदेश जानका लागि टीबी, एचआईभीदेखि केही सर्ने रोग, दीर्घ रोग, मानसिक रोग, एक्सरे र रगतको नमुना परीक्षण गर्ने गरिन्छ । आईओएमले अत्याधुनिक ल्याबसहित यो ‘सुविधा’ दिएको छ ।

तर आईओएममा स्वास्थ्य परीक्षण गराउन भने नेपाल सरकारले तोकेको भन्दा ३ गुणा बढी शुल्क तिर्नुपर्छ । अहिले आईओएममा स्वास्थ्य परीक्षण गराउनका लागि प्रतिव्यक्ति सरदर १ सय २३ अमेरिकी डलर अर्थात् १३ हजार ७ सयको हाराहारीमा शुल्क तिर्नुपर्छ । जब कि वैदेशिक रोजगारमा जाने नेपालीहरुका लागि गराउने स्वास्थ्य परीक्षणका लागि नेपाल सरकारले तोकेको अधिकतम शुल्कको सीमा ४ हजार ५ सय रुपैयाँ मात्रै हो ।

आईओएममा स्वास्थ्य परीक्षण गराउँदा विभिन्न देशमा जानका लागि हुने स्वास्थ्य परीक्षणको शुल्क फरकफरक राखिएको छ । सबैभन्दा महँगो शुल्क मलेसियामा विद्यार्थी भिसामा जानेहरुका लागि छ । मलेसियामा विद्यार्थी भिसामा कोही जानुपर्ने भएमा आईओएममै स्वास्थ्य परीक्षण गराउनुपर्छ । त्यसको शुल्क १ सय ७० अमेरिकी डलर अर्थात् १९ हजार नेपाली रुपैयाँ पर्छ ।

मलेसियापछि दोस्रो महँगो शुल्क अमेरिका जाने क्रममा स्वास्थ्य परीक्षण गराउँदा लाग्छ । अमेरिका जानका लागि स्वास्थ्य परीक्षण गराउन पर्यो भने १ सय ६२ अमेरिकी डलर तिर्नुपर्छ ।

अमेरिकापछि महँगो स्वास्थ्य परीक्षण न्युजिल्यान्ड जानका लागि पर्छ । न्युजिल्यान्ड जानका लागि स्वास्थ्य परीक्षण गराउँदा १ सय ५५ अमेरिकी डलर तिर्नुपर्छ ।

त्यसैगरी अस्ट्रेलिया जानका लागि गराउनुपर्ने न्यूनतम स्वास्थ्य परीक्षणको शुल्क १ सय २३ अमेरिकी डलर हो ।

क्यानडा जानका लागि आईओएममा स्वास्थ्य परीक्षण गराउने हो भने त्यहाँ १ सय २० अमेरिकी डलर तिर्नुपर्छ ।

बेलायत अर्थात् यूकेमा जानका लागि गरिने स्वास्थ्य परीक्षणको शुल्क भने ५५ अमेरिकी डलर रहेको छ ।

सबैभन्दा बढी विद्यार्थी अस्ट्रेलिया जाने भएको र महँगो तथा सस्तो सबै जोड्दा सरदर शुल्क पनि १ सय २३ अमेरिकी डलर पर्ने आईओएमका एक कर्मचारीले बताए ।

आईओएममा हुने स्वास्थ्य परीक्षणको न्यूनतम शुल्क हो यो । अझ ती परीक्षणहरुमा हेपाटाइटिस सी, एचआईभीलगायत अन्य थप स्वास्थ्य परीक्षण गर्नुपरेमा प्रत्येक परीक्षणको ५ अमेरिकी डलर थप रकम तिर्नुपर्छ ।

वार्षिक २६ करोडको व्यापार 

अहिले आईओएममा स्वास्थ्य परीक्षण गराउनका लागि प्रतिव्यक्ति सरदर १ सय २३ अमेरिकी डलर तिर्नुपर्छ । अहिले एक अमेरिकी डलरको नेपाली मूल्य १ सय ११ रुपैयाँ रहेको छ । यसलाई आधार मान्ने हो भने आईओएमले सन् २०१७ मा मात्रै २६ करोडको कारोबार गरेको देखिन्छ ।

आईओएमको नेपालस्थित वेभसाइटमा उल्लेख भएअनुसार सन् २०१७ मा मात्रै आईओएमले १९ हजार मानिसको स्वास्थ्य परीक्षण गराएको उल्लेख छ । यसलाई आधार मान्दा प्रतिव्यक्ति कम्तीमा १ सय २३ अमेरिकी डलरको मात्रै हिसाब गर्दा पनि उसले वार्षिक कम्तीमा २६ करोडको ब्यापार गरेको स्पष्ट बुझ्न सकिन्छ ?

हेल्थ चेकअप : सेवा कि व्यापार ?

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन अर्थात् आईओएमले अहिले आफूहरुले हेल्थ चेकअप सर्भिस् दिइरहेका बताएको छ । सर्भिस् अर्थात् सेवा । तर आईओएमको शुल्क हेर्दा यसलाई सेवा होइन व्यापार भन्न सकिने प्रशस्त आधार छन् । व्यापार पनि कस्तो भने सिन्डिकेट र कालोबजारी ।

अहिले अस्ट्रेलिया र न्युजिल्यान्डको मेडिकल चेकअप महँगो मानिएको निजी अस्पताल नर्भिक अस्पतालले पनि गराइरहेको छ । नर्भिक अस्पतलामा गरिने स्वास्थ्य परीक्षणको शुल्क ६ हजार ५ सय मात्रै छ । यो भनेको ५०१ र ५०२ का लागि लाग्ने शुल्क हो । जबकि महँगो मानिकएको अस्पतालमा भन्दा दुई गुणा बढी ‘सेवामुखी संस्था’ आईओएममा तिर्नुपर्छ ।

आईओएमले आफूलाई मुनाफारहित संस्थाका रूपमा उभ्याएको छ । तर मुनाफारहित संस्था भने पनि यहाँ स्वास्थ्य परीक्षण गराउँदा लाग्ने शुल्कभन्दा ६ गुणा बढी शुल्क तिर्नुपर्छ । यदि ल्याबमा लाग्ने शुल्क र कर्मचारीलाई दिने तलब सुविधाको कुरा गर्ने हो भने यी सेवाको शुल्क २ हजारमै सबै काम गर्न सकिन्छ । नेपाल सरकारले आईओएममा ल्याउने सामानमा कर छुटको विशेष सुविधासमेत दिएको छ । त्यसकारण सेवा मात्रै दिएको हो वा खर्च मात्रै उठाएको हो भने यी सबै परीक्षण मात्रै २ हजारमा गर्न सकिने एक सरकारी अस्पतालका निर्देशक बताउँछन् ।

यसलाई आधार मान्ने हो भने आईओएमलाई मुनाफारहित संस्था भन्न सकिँदैन । किनभने उसले चरम नाफा लिएर स्वास्थ्य परीक्षण गराउनेहरुलाई लुटिरहेको छ भने नेपाल सरकारले तोकेको शुल्कभन्दा ३ गुणा बढी पैसा असुल गरिरहेको छ । सेवा गर्दा लाग्ने खर्चसम्म लिन मिल्ने भए पनि उसले वार्षिक २५ करोडभन्दा बढीको कारोबार गरेर झण्डै वार्षिक २० करोडको हाराहारीमा नाफा कमाइरहेको छ ।

मन्त्रालय भन्छ : धेरै कुरा बोल्न मिल्दैन

आईओएमले नेपालमा व्यापार गरिरहेको र मन्त्रालयले सहयोग दिएको सम्बन्धमा रातोपाटीले स्वास्थ्य मन्त्रालयका केही अधिकारीसँग कुरा गरेको थियो । मन्त्रालयले केही समयअघि मात्रै आईओएमको क्लिनिक अनुगमन गरेको समेत छ । तर उसले कति शुल्क लिएको भनेर सोध्ने आँटसमेत गर्न सकेन । जब कि यस्ता निजी अस्पताल वा क्लिनिकहरुले लिने शुल्क निर्धारण तथा अनुगमन गर्ने अधिकार स्वास्थ्य मन्त्रालयको सचिवको अध्यक्षतामा रहने समितिले गर्ने गर्छ । तर यसरी ठाडै कालोबजारी हुँदासमेत मन्त्रालय भने नदेखेको झैँ गरिरहेको छ ।

मन्त्रालयका एक अधिकारीले भने, ‘आईओएमलाई स्वास्थ्य परीक्षण गर्न स्वीकृति दिएको मूलतः भुटानी शरणार्थीको सम्बन्धमा हो । त्यसबाहेक केही देशका लागि डीएनएको नमुना सङ्कलनको अधिकार पनि दिइएको हो । तर पछिल्लो समय यसले सबैखाले स्वास्थ्य परीक्षण गराउने गरेको रहेछ । अनुगमनमा त्यो भेटियो पनि । तर यूएन मातहत रहेको संस्थालाई कसले के पो गर्न सक्छ र ? भोलि रिटायर्ड भएर जागिर खान पनि उतै जाने सोच भएकाहरु धेरै छन् ।’

यसरी नेपालस्थित राष्ट्रसङ्घीय मिसनको एउटा अङ्ग अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन अर्थात् आईओएमले नेपालमा नाफाको व्यापार गरेर आफ्नो मूल उद्देश्यबाट विचलित बनेको छ । यद्यपि सरकारले भने यस्तो उच्च नाफाको व्यापार र कालोबजारीमा पनि आईओएमको संरक्षण गरिरहेको छ ।

कमेन्ट

  1. April 23, 2019, 8:31 a.m. Jason
    Kati ghuss diyechan Patrakar jyu lai aru private hospital le yo lekh lekhna ??? Tyo pni lekhdinu vko vaa hunthyo. ma afaile Australia ko medical gareko chu dui thaau maa 3 barsa ko farak maa. Service ra laagne time aakas ra paatal farak cha. mlai chai ramro lagyo iom hospital arko vnda. Paisa chai alik ghatayo vne best ho private thag clinic haru vnda. ramro lai ramro ra naramro lai naramrai vnnu parcha.
  2.  0 Reply
  3. April 22, 2019, 1:13 p.m. Samir
    Patrakaar le SLC parikchyaa ta pass garyaa ho ni ??? baidesik rojgaar maa jane ko medical IOM le garcha ra ??? maile pni tyahin medical gareko. student ra permanent resident wala ko matra garthyo jsto lagcha.
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...