शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भोलि पार्टी एकताको टुंगो लाग्छः प्रचण्ड

आइतबार, ०८ वैशाख २०७६, १२ : ०७
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एकताको सबै विषयमा टुंगो लाग्ने दाबी गरेका छन् । 

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार  एकताको अन्तिम घोषणा हुने दाबी गरेका हुन् । 

उनले आइतबार बिहानमात्रै पनि बालुवाटारमा एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल भएको भन्दै दिनभरको गृहकार्यपछि बेलुका  पुनः बैठक बसेर बाँकी विषयमा सहमति जुटाइने जानकारी दिए । 

उनले भने, ‘भोलिको दिनबाट नेकपाको लागि अर्को ऐतिहासिक दिन्न बन्नेछ । सांगठनिक लगायतका सबै एकता सम्पन्न हुनेछ ।’

उनले सरकारले काम गर्न नसकेको भनि गुनासो समेत आएको भन्दै त्यसबारे पनि अब पार्टीमा निर्मम समीक्षा हुने बताएका छन् । ‘सरकारले काम गर्न नसकेको भनि गुनासो समेत आएका छन् । देशलाई नयाँ दिशामा अघि बढाउन गम्भीर ढंगले छलफल हुन्छ’ प्रचण्डको भनाई थियो । 

पार्टी विधान पनि अन्तिम चरणमा पुगेको भन्दै प्रचण्डले केही दिनमा पारित गरिने बताए ।  

एकता टुंगो लगाउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल एवं महासचिव विष्णु पौडेललगायतका नेताहरू अहिले सक्रिय छन् । 

सचिवालय सदस्य वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतका नेताहरूका बीचमा पनि छलफल भइरहेको छ । 

जिल्ला नेतृत्वको टुंगो लगाउने विषयमा सैद्धान्तिक सहमति खोज्ने प्रयास गरिरहेका नेताहरू सहमतिनजिक पुगेको भनिएकै बेला प्रचण्डबाट पनि यस्तो अभिव्यक्ति आएको हो । 

यद्यपि, छलफल अझैं चलि नै रहेको छ । छलफलमा वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया, वरिष्ठताका आधारमा नेतृत्वको टुंगो लगाउनुपर्ने अडान राख्दै आएका छन् ।

 लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउने नेकपाको योजना छ । 

नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा समेत ओली, प्रचण्ड र नेपालका बीचमा विवाद रहेको छ । 

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।

७७ जिल्ला कमिटीमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेताका बीचमा भए पनि नेतृत्वका विषय अझै टुंगो लाग्न सकेको नसकेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप