शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले जनताको अधिकार खोस्न खोज्यो : सभापति देउवा

शनिबार, ०७ वैशाख २०७६, १४ : १४
शनिबार, ०७ वैशाख २०७६

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् । 

काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताएका हुन् । 

‘सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले  शासन गर्न खोजेकाले यसविरुद्ध काङ्ग्रेस जाग्नुपर्ने बेला आएको छ’, उनले भने । निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाइ थियो । 

पार्टीभित्र अनुशासन हराउँदै गएको छ तर अब अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गरिनेमा जोड दिँदै  उनले घरघर गएर पार्टीको सङ्गठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए । 

पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताए । 

‘पार्टीभित्रको गुठ उपगुठ अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म काङ्ग्रेस पहिलो पार्टी बन्न सक्दैन’, उनले भने । ‘वर्तमान सरकार सङ्घीयतामा विश्वास गर्दैन विश्वास गर्ने भए प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपथ्र्यो’, महामन्त्री कोइरालाले भने । 

सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको सङ्गठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताए । 

काङ्ग्रेस आफ्नै पार्टीका साथीका कारण निर्वाचनमा पराजय भएको उनको भनाइ थियो । केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पार्टीलाई सामूहिक भावनाका साथ अगाडि बढाउनुपर्ने अवस्था आएको बताए । 

राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले काङ्ग्रेसले संसद्भित्र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नाका साथै संसद्मार्फत् सरकारले गरेका गलत क्रियाकलापको  खबरदारी गरिरहेको छ भने । 

केन्द्रीय सदस्य नरहरि आचार्यले पार्टीभित्रको कार्यशैलीमा जागरण अभियान ल्याउनु जरुरी रहेको बताउ । 

‘जागरण अभियानलाई स्पष्ट ढङ्गले अगाडि नबढाएसम्म पार्टी बलियो हुन सक्दैन’, उनले भने । काङ्ग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई र उक्त दलका  जिल्ला सभापति कृष्ण (सबुज) बानियाँले पार्टी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप