बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्यालोन डी’ओरमा मेस्सी निर्विकल्प !

शनिबार, ०७ वैशाख २०७६, १२ : ४६
शनिबार, ०७ वैशाख २०७६

काठमाडौं–युरोपियन च्याम्पियन्स लिगबाट युभेन्टस बाहिरिएसँगै सन् २०१९ को ब्यालोन डी’ओर अवार्ड बारे चर्चा सुरु भएको छ । यस सिजनको अवार्ड विजेता अब अर्जेन्टिनी नायक एवं बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी निर्विकल्प भएको समाचार बाहिरिएको छ । पछिल्लो एक दशक विश्व फुटबलमा राज गरेका युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो र मेस्सी अहिले पनि सबैभन्दा उत्कृष्ट खेलाडी हुन् ।

यही क्रममा ब्राजिलका चर्चित पूर्व खेलाडी रिभाल्डोले ब्यालोन डी’ओरको बहस सुरु गर्दै रोनाल्डो च्याम्पियन्स लिगबाट बाहिरएपछि अब मेस्सी ब्यालोन डी’ओरको मुख्य हकदार ब्यक्ति भएको बताए । रिभाल्डोले मस्ेसीले अब च्याम्पियन्स लिग नजितेपनि यस सिजनको ब्यालोन डी’ओर जित्नेछन्, रिभाल्डोले भने ।

यसअघि सन् २००७ मा ब्राजिलियन खेलाडी काकाले ब्यालोन डी’ओर जितेपछि सन् २०१७ सम्म रोनाल्डो र मेस्सीले आलो पालो पाँचपाँच पटक अवार्ड जितेका थिए । सन् २०१८ मा आएर क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले यस अवार्ड हात पारे ।

रोनाल्डोले यसअघि सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा ब्यालोन डी’ओर जिते । ६ पटक उपविजेता बनेका रोनाल्डोले गतबर्ष च्याम्पियन्स लिग जितेपनि ब्यालोन डी’ओर अवार्ड जित्न सकेनन् । यसैगरी मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ ब्यालोन डी’ओर जितेका थिए । उनी पाँच पटक उपविजेता बने ।

यसबर्ष मेस्सीलाई टक्कर दिने कोहि देखिएको छैन । मेस्सीले यस सिजनमा बार्सिलोनाका लागि सबै प्रतियोगितामा गरी ४२ खेलमा ४५ गोल गरिसकेका छन् । रोनाल्डोले युभेन्टसका लागि यस सिजन ३८ खेलमा २६ गोल गरेका छन् । पेरिस सेन्ट जर्मन (पीएसजी) का केलियन एमबाप्पेले ३४ गोल गरेका छन् ।

सबै खाले उपाधिको दौडमा रहेका मेस्सी यसपटक बार्सिलोनालाई ला लिगाको उपाधि जिताउने तयारीमा छन् । बार्सलोना कोपा डेल रेको समेत फाइनलमा पुगेको छ । यस्तै च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोनाले लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ ।

हाल मेस्सीका प्रतिस्पर्धी रोनाल्डो च्याम्पियन्स लिगबाट बाहिरिएका छन् । युभेन्टस अहिले इटालियन सिरी ए को उपाधि नजिक छ । त्यो बाहेक युभेन्टसका लागि रोनाल्डोको थप भूमिका सकिएको छ । त्यसैले मेस्सी ब्यालोन डी’ओर अवार्डको निर्विकल्प हकदार रहेको चर्चा चुलिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप