व्यवसायी रूपेश पाण्डेको जीवन : एउटै सपना बिजनेसको माध्यमबाट विश्वमा चिनिन सकौँ भन्ने छ
व्यापार व्यवसायका लागि व्यावसायिक घरनामै जन्मनुपर्छ भन्ने मान्यता हाम्रो समाजमा छ । तर यो मान्यलाई गलत सावित गरिदिएका छन् व्यवसायी रूपेश पाण्डेले । रूपेश एउटा साधारण हाइस्कुल टिचरका छोरा हुन् । तर उनी यतिबेला भने नेपालको एक टप व्यवसायीमा समेत गनिन्छन् । पर्साको वीरगन्ज निवासी हाइस्कुल टिचर ब्रिजमोहन पाण्डे र उनकी श्रीमती लिलावती पाण्डेका छोरा रूपेशले २०५५ मा बुबाले ट्युसन फिस र कोठाभाड तिर्न दिएको ५ हजार रुपैयाँले भारतबाट रेडिमेट कपडा नेपालमा ल्याएर बिक्री गर्दै व्यवसाय थालेका हुन् ।
डाक्टर बन्ने उद्देश्यले आईएस्सी सके पनि त्यसपछि अगाडि पढ्ने पैसा नभएका कारण बीए अध्ययन गरेका रूपेश अस्थायी शिक्षकको जागिर छोडेर बिजेसमा होमिएका थिए । उनी बिजनेसमा मोडिनुको पनि बेग्लै कथा छ । ‘बुबाले पढाएको एक व्यवसायीले शिक्षण गरेर केही हुँदैन । बिजनेस गर भनेर हौस्याएपछि आफू जागिर छोडेर बिजनेसमा होमिएको उनले बताए । पारिवारिक होस् वा व्यावसायिक जिन्दगीमा क्लियर भएर अगाडि बढ्नुपर्ने मान्यता राख्दै आएका व्यवसायी रूपेशसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।
मेरो खाना
जहाँ भए पनि मनपर्ने खाना रोटी, दाल, पालक पनिर र साग हो । मन नपर्ने खासै केही छैन । रेस्टुरेन्ट धेरै जाँदिनँ । कहिले काहीँ गेस्ट भएको समय जानै पर्छ । रेस्टुरेन्टमा गए पनि खाने भनेको कफी, हट लेमन मात्रै हो । मलाई पकाउन रुचि छ । घरमा खाना पनि पकाउने गरेको छु । पर्बल, काउली फ्राई गरेर दालभात, तरकारी पकाउन मनपर्छ । शनिबारको दिन कहिले काहीँ आफै पकाउँछु । मैले सबैभन्दा मीठो पकाउने भनेको पालक पनिर नै हो ।
मेरो पोसाक
मेरो मनपर्ने पोसाक फर्मल सर्ट पाइन्ट नै हो । सेतो र पहेलो रङ बढी मनपर्छ । ब्रान्ड कन्सेस पनि छु । लोकल किन्दा विभिन्न समस्या निम्तिन सक्छ ।
म धेरै कपडा ‘रेडिमेड’ नै किन्छु । पोसाकमा वार्षिक खर्च यति नै हुन्छ भन्ने छैन । सपिङ मेरो जिन्दगीको ठूलो शोख हो । यसमा पनि म लुगा धेरै किन्छु । बेलाबेलामा विदेशका विभिन्न देश पुगेको हुन्छु । त्यो बेला लुगा, घडी किन्छु । राम्रो लागेको र मन परेको पहिरन महँगो भए पनि किन्छु ।
मेरो फिट्नेस
बिहान नियमित ४ः३० मा उठ्छु । सुरुमा सौच सकेर योगा, सूर्य प्रणाम लगायत दैनिक ३० मिनेट एक्सरसाइजलाई नै दिन्छु ।
मेरो अध्ययन
हरेक दिन किताब पढ्छु । अहिले पढिरहेको किताव ‘हाउ टु स्टप वरिङ एन्ड स्टार्ट लिभिङ’ हो । जसको लेखक डेल कार्नेजी रहेका छन् । यो किताब हालै अमेरिका गएको बेला ल्याएको थिएँ । विशेष गरेर अर्थशास्त्र, व्यवसायसम्बन्धी किताबमा पढ्न रुचि रहँदै आएको छ ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । अहिलेसम्म ४१ देश घुमिसकेँ । देशका अधिकांश जिल्ला पुगेँ होला । परिवारसँग धेरै ठाउँ घुमेको छैन । बिजनेसको कारणले सधैँ लिएर जान पनि मिल्दैन ।
धेरैजसो छोरी लिएर जाने गरेको छु । व्यक्तिगत रूपमा पनि सपिङ महल, गार्डेन र कफीसपमा जान मनपर्छ । घुमेकामध्ये सबैभन्दा मन परेको देश बेल्जियम हो । बेल्जियको वातावरण राम्रो छ, त्यहाँका मानिस सहयोगी छन्, उनीहरुको मन सफा रहेको पाएँ ।
मेरो फुर्सद
फुर्सद धेरै हुँदैन । हरेक दिन बिहान ८ बजे म अफिस पुग्छु । साँझ ७ बजेसम्म रहन्छु । धेरै काम गर्नुपर्ने हुन्छ । पसल, अफिसलगायत सबैतिर आफैले हेर्नुपर्छ । सातामा एक दिन शनिबार फुर्सद हुन्छ । त्यो दिन बिहान पहिले मन्दिर जान्छु । शनिबार मात्र होइन । मन्दिर त हरेक दिन जान्छु । काठमाडौँमा रहँदा कमलादी गणेश मन्दिरमा पूजा नगरी पानी पनि खान्नँ ।
१७ वर्ष भयो मेरो यो रुटिङ नियमित नै छ । मन्दिर पुगे पनि म पहिले परेवालाई आहार खुवाउँछु । त्यसपछि गणेशको पूजा गर्छु । अनि हनुमान चालिसा पढ्छु । यी सबै कार्य गर्न मलाई ३० मिनेट लाग्छ ।
त्यसपछि म अफिस जान्छु । अफिस पुगेपछि कफी खाँदै पत्रपत्रिका पढ्छु । अनि दिनभरी गर्ने कामतिर लाग्छु । काममा पनि पहिले गर्नुपर्ने कामको लिस्ट बनाउँछु । साँझ ७ बजेसम्म काम गरेपछि घरमा जान्छु । घरमा पुगेपछि मोबाइल अफ गरेर आनन्दले बस्छु ।
फुर्सदको समय कहिले काहीँ परिवारसँग बिताउँछु । कहिले एक्लै धुलिखेल, बनेपा गएर त्यहाँको क्याफेमा कफी, नान खाँदै दिन विताएर मात्र फर्कन्छु ।
मेरो खेलकुद
सानोमा म भलिबल र फुटबलको राम्रो खेलाडी थिएँ । गाउँमा स्कुल पढ्दा फुटबल खेल्थेँ । सो समय जिल्लास्तरीय फुटबल प्रतियोगितामा पनि भाग लिन्थेँ । वीरेन्द्रसिल नामक भलिबल प्रतियोगिताका लागि पहिलो पटक काठमाडौँ आएको थिएँ । अहिले पनि यी खेलमा रुचि छ । तर समयको कारण खेल्न सक्दिनँ । अहिले हेरेर आनन्द लिन्छु । फुटबल धेरै मनपर्छ । त्यसपछि मनपर्ने खेल क्रिकेट हो ।
मेरो मोबाइल
अहिले मसँग दुईटा मोबाइल छ । एउटामा नेपालको पर्मानेन्ट सिमकाड राखेको छु । अर्काेमा प्राइभेट रोमिङ नम्बर छ । जुन विदेश जाँदा लिएर जाने गरेको छु ।
मसँग आइफोन र स्यामसुङ दुवै ब्रान्डको लेटेस्ट भर्सनका मोबाइल सेट छन् । मोबाइलको नयाँ भर्सन अन्तर्राष्ट्रिय बजारमा भित्रिने बित्तिकै मैले पनि चलाउने गरेको छु । अमेरिकामा आइनफोन लन्च भएकै दिन मेरो घरमा पनि आइपुग्छ । एक पटक अमेरिकाको लस एन्जलसमा बोटिङ गर्दा मोबाइल, पर्स हराएको थिएँ । अहिलेसम्म गिफ्ट कसैले दिएको छैन । लिने काम पनि ठीक लाग्दैन ।
मेरो टीभी
हरेक बिहान र बेलुका टीभीमा बीबीसी न्युज हेर्छु । त्यसपछि कान्तिपुर टीभीको समाचार हेर्छु । कान्तिपुर टीभीको ८ बजेको समाचार कहिल्यै मिस गर्दिनँ । घरमा सामसुम र सोनी ब्रान्डका ७५ इन्चका २ वटा टीभी छन् ।
मेरो चलचित्र
चलचित्र हेर्छु । फिल्म हलमै गएर हेर्ने गरेको छु । पछिल्लो समय हेरेको बलिउडमा ‘टाइगर जिन्दा है’ र नेपालीमा ‘छक्का पन्जा ३’ हो । कहिले परिवारसँग, कहिले साथीको साथमा त कहिले एक्लै पनि फिल्म हेर्छु । हिन्दी होस् या नेपाली राष्ट्रियता बोकेका, एक्सनले भरिएका फिल्म मनपर्छ । फिल्मले समाजलाई केही बाटो देखाओस् । फिल्मबाट केही सिक्न मिलोस् भन्ने मेरो सोच रहन्छ ।
मेरो रोग
भगवानको कृपाले अहिलेसम्म रोग केही छैन ।
मेरो भाषाशैली
भाषामा भोजपुरी, हिन्दी, नेपाली र अङ्ग्रेजी बोल्न सक्छु । चाइनिस पनि बोल्न आउँछ । कुरा गर्दा घुमाएर गरेको मन पर्दैन । म कुरा घुमाएर गर्न पनि सकिन्न र अरूले गरेको पनि मन पर्दैन । फ्र्याङ र क्लियर कुरा गर्नुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ । मुखमा रामराम बगलीमा छुरा राखेर कुरा गर्ने बानी भएका मानिस मन पर्दैन ।
मेरो मापसे
मापसे कहिल्यै गर्दिनँ । घरमा सजाएर भने राखेको छ । अरूलाई खुवाउन रमाइलो लाग्छ । साथीभाइलाई घरमा बोलाएर खुवाउने गरेको छु । रक्सी विदेशबाट पनि ल्याउने गरेको छु । साथीहरुले पनि दिन्छन् ।
मेरो सङ्गीत
कहिले काहीँ गीत सुन्छु । सेन्टिमेन्टल खालका गीत बढी मनपर्छ । गाडीमा हुँदा धेरै गीत सुन्छु । गीतसङ्गीतले मनमा शान्ति फिल गराउँछ । गाउन भने रुचि कहिल्यै भएन ।
मेरो भूल
जीवनमा धेरै भूल भएका होलान् । कोही मानिसलाई मैले धेरै विश्वास गरेको थिएँ । त्यो मेरो ठूलो भूल हो । मानिसलाई चाँडोभन्दा पनि सोचेर विश्वास गर्नुपर्छ भन्ने पाठ त्यसपछि सिकेँ । स्कुल पढ्न होमवर्क गरेको कपी ब्यागमा हाल्ने बेलामा घरमै बिर्सिएछु । होमवर्क नगरेको भनेर स्कुलमा सजाय पाएँ । त्यो हो मैले भूल नगरी पाएको सजाय । मैले सरलाई सबै कुरा क्लियर गरेको थिएँ । तर मान्नु भएन ।
मेरो राशि
मेरो राशि तुला हो । कहिले काहीँ ग्रहदशासमेत हेराउने गरेको छु । विश्वास लाग्छ । अहिले मेरो ग्रहदशा राम्रो चलेको छ । हरेक दिन घर र कमलादी गणेशको पूजा नगरी पानी पनि खान्न ।
मेरो सौन्दर्यचेत
सौन्दर्यमा खासै ध्यान दिन्नँ । अहिलेसम्म केही गर्ने गरेको छैन । खाली दाह्री काट्छु । त्यसपछि सेभिङ क्रिम लगाउँछु ।
मेरो सपना
उद्देश्य र सपना भएन भने मानिस अगाडि बढ्न सक्दैन भनिन्छ । मेरो विचार पनि त्यही हो । म सधैँ आफूबाट कोही दुःखी हुन नपरोस् । कामको कारणले मानिसले मलाई चिनून् । बिजनेसको माध्यमबाट विश्वमा चिनिन सकौँ । एउटै सपना यही छ ।
मेरो प्रेम
म तराईको हाइस्कुलमा पढेको व्यक्ति भएकाले प्रेम कहिल्यै परेन । त्यसतिर ध्यान पनि गएन । म सिम्पल हाइस्कुल टिचरको छोरा हुँ । व्यावसायिक घरानबाट आएको बिजनेस म्यान होइन । त्यसैले मेरो प्रेम, माया जे बस्यो । त्यो बिजनेसमा नै रह्यो । त्योबाहेक मैले कसैललाई प्रेम गर्न पुगिन् । सीधै भन्नुपर्दा प्रेम गर्ने फुर्सद भएन । जोसँग विवाह भयो । उनीलाई नै प्रेम गरेँ ।
मेरो मृत्यु
जन्मेपछि मर्नुपर्छ । यो सत्य हो । मृत्यसँग म कहिल्यै पनि डराउँदिन र डर लाग्दैन पनि । मृत्यु पछि आफूलाई चिन्नेले दुई थोपा आसु बगाउने काम गर्न सकिन कि भन्ने डर सधैँ लाग्छ । त्यस्तो एउटा इमेज बनाएर मर्न पाऔँ । मरेपछि पनि धेरैले सम्झना गरून् । कामका कारणले सबैको मनमा अमर भएर रहन सकौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
६ प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
-
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो