बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा

शुक्रबार, ०६ वैशाख २०७६, १० : २७
शुक्रबार, ०६ वैशाख २०७६

बेझाड – कालीगण्डकीको अस्तित्व बचाउन र पर्यटन विकासका लागि पाल्पाको राम्दी मालुङ्गाघाटदेखि पुट्टारघाटसम्म जलयात्रा हुँदैछ । 

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पाल्पाको रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा आयोजना गरिएको हो ।

निजी सङ्घ संस्थाद्वारा यसभन्दा अगाडि कालीगण्डकीमा जलयात्रा निकालिए पनि सरकारी तवरबाट भने पहिलो पटक हुन लागेको हो । जलयात्रामा करीब १५० सहभागी हुने बताइएको छ । 

आज पाल्पा र स्याङजाको सिमाना राम्दी मालुङ्गादेखि भुजात सिद्धबाबासम्म र शनिबार भुजात सिद्धबाबादेखि पुट्टारघाटसम्म जलयात्रा निकालिने भएको छ । 

कालीगण्डकीको गरिमा बचाउँदै यस नदीलाई पर्यटन विकास गरी विश्वसामु चिनाउन जलयात्रा गर्न लागिएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए । 

राम्दी मालुङ्गादेखि पुट्टारघाटसम्म हुने जलयात्रामा १८ देखि २० वटा ¥याफ्टिङ डुङ्गा एकैसाथ सञ्चालनमा ल्याइने नगरप्रमुख थापाले बताए । 

कालीगण्डकीको तल्लो भाग राम्दीदेखि देवघाटसम्म नियमित ¥याफ्टिङ चलाउन कर्णाली ¥याफ्टिङ एण्ड एड्भेन्चरका विज्ञसहितको टोलीले कालीगण्डकीमा यसभन्दा अगाडि सफल परीक्षण गरिसकेका छन् । 

आज राम्दीको मालुङ्गाधामदेखि भुजात सिद्धबाबासम्म जलयात्रा हुने र आजै अपराह्न भुजात सिद्धबाबामा आएर समापन कार्यक्रम हुनेछ । दोस्रो दिन शनिबार भुजात सिद्धबाबादेखि पुट्टारघाटसम्म जलयात्रा हुनेछ ।

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेकाले पनि पर्यटन विकास गर्न कालीगण्डकीमा जलयात्रा गर्न लागिएको नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताए ।

कालीगण्डकी उपत्यकालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, नियमित जलयात्रा गरी रोजगारीबाट आयआर्जन बढाउने, विश्वभर कालीगण्डकीलाई चिनाउने, नदी र जीवनको महत्व जोडिने भएको हुँदा यसको उपयोग गरी आम्दानी गर्ने बाटो सिर्जना गर्ने उद्देश्यले जलयात्रा गर्न लागेको कालीगण्डकी उपत्यका विकास समितिका अध्यक्ष शान्ताबहादुर श्रेष्ठले बताए ।

जलयात्राका लागि करीब रु १५ लाख जति रकम खर्च हुने अनुमान गरिएको छ । कालीगण्डकीलाई पारिवारिक तथा धार्मिक पर्यटनका लागि जलयात्रा अति उत्तम मानिन्छ । 

कर्णाली प्रदेशमा भएको तेस्रो नदी शिखर सम्मेलनले पनि अबको दुई वर्ष भित्रमा कालीगण्डकीमा चौथो नदी महोत्सव आयोजना गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।

शालिग्राम पाइने नदीका नामले समेत प्रख्यात यस नदीमा नियमित जलयात्रा गरेर आम्दानीको स्रोत प्रशस्त लिन सकिने सम्भावना रहेको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए । 

तीन महीनाअघि रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा चलेको दोस्रो रामपुर महोत्सवका अवसरमा निकालिएको जलयात्राको परीक्षण सफल भएपछि पुनः नदीको महत्वलाई बचाइ राख्न र कालीगण्डकी बेँसी क्षेत्रको पर्यटन विकासका लागि जलयात्रा गरिने भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप