नयाँ इतिहास कोर्दै गौतमबुद्ध विमानस्थल, अबको तीन सातामै परीक्षण उडान
भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दिउँसो टर्मिनल भवनको ट्रस्ट राख्ने काम भइरहेको थियो । ‘हेभी इकुमेन्ट’बाट फलामका विभिन्न सामानमाथि लैजाने काम धमाधम भइरहेको थियो । यस्तै रनवेको पिचको काम पनि चलिरहेकै थियो । विमानस्थल निर्माणको काम करिब अन्तिम अवस्थामा पुग्दा कामदारदेखि कर्मचारीसम्म उत्साहित अवस्थामा देखिन्थे ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकताका साथ अघि बढाएको गौतमबुद्ध विमानस्थलको भौतिक पूर्वाधारको काम करिब ७५ प्रतिशत सकिएको छ ।
पूर्वाधार निर्माणको ८२–८३ प्रतिशत काम सकिएपछि विमानस्थलमा परीक्षण उडान गर्न सकिने छ । विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले बीचमा कुनै प्राविधिक समस्या नआए करिब तीन सातामा विमानस्थल परीक्षण उडानका लागि तयार हुने रातोपाटीलाई जानकारी दिए । यद्यपि, परीक्षण उडान कहिले गर्ने विषयमा व्यवस्थापन पक्षले निर्णय लिनेछ ।
आयोजना एक प्राविधिकले विमानस्थलको रनवे पिचको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै भने, ‘पिच गर्दा पानीले डिस्टर्ब गरेन भने अबको तीन हप्तामा सकिन्छ ।’ विमानस्थलको टर्मिनल निर्माणको जिम्मा भारतीय कम्पनी जमिल स्टललाई दिइएको छ ।
अब के–के काम बाँकी छ ?
विमानस्थल निर्माण आयोजना प्रमुख अधिकारीले धावन मार्गमा अन्तिम तहको कालोपत्रे केही दिनमा सकिन्छ । यस्तै पानी ट्याङ्की बनाउने काम पनि बाँकी छ ।
यस्तै कन्ट्रोल टावरको एक तला पनि निर्माणको क्रममा रहेको अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘७ वटा तला पूरा भएका छन् । ८औँ तलाको काम बाँकी रहेकाले त्यो पनि युद्धस्तरमा भइरहेको छ ।’
उडान र अवतरणमा प्रयोग हुने विद्युतीय उपकरण जडान हुन पनि बाँकी रहेको छ । उनका अनुसार परीक्षण उडान गरेपछि पनि पेन्टिङ र लाइटिङको काम गर्न सकिन्छ । अर्को रनवेको दुई लेबलतिर ३०, ३० मिटर छाडेर लाइट जाडन गर्नुपर्छ जसले रातिको समयमा विमान चल्न साथ दिन्छ । यस्तै ट्याक्सी वेको काम पनि भइरहेको छ ।
विमानस्थलको ८२, ८३ प्रतिशत काम सकिएपछि परीक्षण उडान गर्न सकिन्छ । गौतमबुद्ध विमानस्थल पनि करिब तीन हप्तामा त्यो अवस्थामा आइपुग्ने अधिकारीले दोहोर्याए । यद्यपि परीक्षण उडानपछि पनि अन्य कामको लागि केही समय लाग्नेछ ।
२०७१ साल माघ १ गते बिहीबारका दिन तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले विमानस्थलको शिलान्यास गरेका थिए । त्यसपछि नै विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा परिचित हुन थालेको हो ।
विमानस्थलको सबै भौतिक पूर्वाधारको निर्माण सम्पन्न हुँदा करिब ७ अर्ब खर्च हुने अनुमान छ । विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले उत्साहित हुँदै भने, ‘छिट्टै गौतमबुद्ध विमानस्थल नेपालको इतिहासमा ६० वर्षपछि अन्तर्राष्ट्रिय उडान भर्ने दोस्रो विमानस्थल हुनेछ ।’
प्रदेश ५ मा उत्साह
नेपालको पुरानो विमानस्थल मानिने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय जहाज उड्ने भएपछि प्रदेश ५ का जनता उत्साहित बनेका छन् । निजी क्षेत्रले पनि आर्थिक गतिविधि बढ्ने भन्दै खुसी व्यक्त गरेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने देखेर विदेशीले समेत लगानी गर्न उत्सुकता देखाएको निजी क्षेत्रका अगुवाहरुले बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय सीधा हवाई उडान हुने भएपछि आफूहरुमा नयाँ उत्साह जगाएको बताए । सीमानाकामा भएको गौतमबुद्ध विमानस्थललाई केन्द्रमा राखेर धेरै भारतीयहरु नेपालमा लगानी गर्न आतुर रहेको देखिन्छ । निजी क्षेत्रका लागि यो सुनौलो अवसर रहेको बुझाइ व्यापारीहरुको रहेको छ ।
अर्थशास्त्री प्रा. बाबुराम ज्ञवालीको बुझाइमा अन्तर्राष्ट्रिय उडान भर्नासाथ होटल, यातायात, ट्राभल्स एजेन्सीलगायतको कारोबारमा स्वतः वृद्धि हुन्छ । यस्तै नेपालसँग सीमाक्षेत्रमा रहेको सुनौलीदेखि गोरखपुरसम्मको भारतीय बजारमा पनि चहलपहल बढ्नेछ ।
विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानबाट सबैभन्दा बढी पर्यटन व्यावसायीलाई उत्साहित बनाएको छ । विमानस्थल सञ्चालनसँगै आउने अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गरेर यस क्षेत्रमा ट्राभल व्यवसायीहरुले नयाँ योजनाका साथ काम अगाडि बढाइरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट प्रदेश नं ५ का अध्यक्ष विष्णु शर्माले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर नयाँ नयाँ एयरलाइन्सले उडान थप्न सुरु गरेका छन् । यो विमानस्थल सञ्चालनसँगै भैरहवामा पर्यटकको सङ्ख्या धेरै बढ्ने र त्यसले यहाँको पानपसलदेखि ठूलाठूला तारे होटलसम्मलाई फाइदैफाइदा पुग्ने उनको भनाइ छ । यसैगरी होटल व्यवसायीहरुले पनि विमानस्थललाई लक्षित गरी आवश्यक तयारीलाई तीव्रता दिएका छन् ।
विमानस्थलको इतिहास यस्तो छ
इतिहासका जानकार बालकृष्ण भट्टराईका अनुसार तत्कालीन प्रधानमन्त्री डा. केआई सिंह र काशीप्रसाद श्रीवास्तवको पहलमा भैरहवाको शान्तिनगरमा विमानस्थल निर्माण भएको थियो । पछि २०२० ÷०२१ सालताका हालको ठाउँमा विमानस्थल स्थानान्तरण भएको इतिहास रहेको भट्टराईले बताए ।
तत्कालीन समयमा करिब १० बिघा क्षेत्रफलमा फैलिएको शान्तिनगरको विमानस्थलबाट भैरहवा–पोखरा र भैरहवा–काठमाडौँ उडान हुने गर्दथ्यो ।
विमानस्थल परिसर कच्ची भए पनि पक्लिहवामा रहेको ब्रिटिस क्याम्पले बाहिरी बाटो भने पिच गरिदिएको थियो ।
शान्तिनगरबाट विमानस्थल स्थानान्तरण भएपछि त्यस ठाउँमा भैरहवा बहुमुखी क्याम्पस, संस्कृत विद्याश्रम र सङ्घीय प्रहरी इकाई लुम्बिनी कार्यालय स्थापना गरिएको छ ।
अहिले गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ ।
विमानस्थलको नाममा ०६१ सालअघिसम्म ८४ बिघा ३ कठ्ठा जग्गा रहेकोमा ०६३ सालपछि २ सय १३ बिगा ४ कठ्ठा थप भएको थियो । हाल थप ५ सय बिघा जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । यसरी निर्माणाधीन गौतमबुद्ध विमानस्थलको जग्गाको स्वामित्व ७ सय ८७ बिघा ७ कठ्ठा हुनेछ । अहिलेसम्म पोखरा विमानस्थलको ३ हजार ७ सय रोपनी र काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ७ हजार रोपनीमा फैलिँदा भैरहवामा बन्ने विमानस्थल भने १० हजार रोपनीमा फैलिनेछ ।
नयाँ थपिएका जग्गामा के के बन्दै छन् ?
अतिक्रमण गरिएको १ सय ४० बिघा जग्गामा राडर, सुरक्षा, ह्याङ्गर, कार्गो, आयल निगमको डिपो, अध्यागमन, मर्मत सम्भार क्षेत्र, क्याटरिङ, पार्किङस्थल र थप एउटा टर्मिनल भवन बन्नेछ । यो क्षेत्रफलले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान भर्ने क्षमता राख्ने विमानस्थल आयोजनाको दाबी छ ।
दैनिक ८, ९ वटासम्म नियमित उडान भरिरहेको गौतमबुद्ध विमानस्थलमा अहिलेसम्म सबैभन्दा ठूलो फोकर हन्ड्रेडको १ सय ५ सिटे कस्मिक एअरको जहाजले उडान भरेको देखिन्छ ।
निर्माणको ठेक्का पाएको नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले सबकन्ट्र्याक्टरको रूपमा नेपाली ठेकेदार कम्पनी नर्थवेस्ट नेपाल इन्फा प्रालिलाई २०७२ साउनदेखि निर्माणको सम्पूर्ण जिम्मा दिएको थियो । तर उनीहरुबीच लेनदेनको विवाद हुँदा धेरै समय कामसमेत रोकियो । जसका कारण काममा ढिलाइ हुन पुग्यो ।
सरकारले समेत यस विषयमा धेरै चासो दिएपछि अहिले चिनियाँ कम्पनीले चीनबाट नै मजदुर ल्याएर धमाधम काम गराइरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओको कोड फोर ईका अनुसार ३ हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोइङ ७७७ सम्मका जहाजहरु अर्थात चौडाइ ५२ मिटरदेखि ६४.९९ मिटरसम्म रहेका जहाजहरुले उडान र अवतरण गर्न सक्छन् । आयोजनाले दाबी गरेअनुसार काम भएमा २०१९ को सेप्टेम्बरमा सीधैँ अन्तर्राष्ट्रिय विमान उडान र अवतरण हुनेछ ।
एडीबीको दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी भैरहवा विमानस्थलमा लगानी गर्ने आँट गरेको हो ।
विमानस्थलमा एडीबीको ४० दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्ड (ओएफआईडी) को ३० दशमलब ५ प्रतिशत, एडीबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत लगानी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल