बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

४८ वर्षपछि खानेपानी

बिहीबार, ०५ वैशाख २०७६, १९ : १६
बिहीबार, ०५ वैशाख २०७६

नारायणपुर । दाङको लमही नगरपालिका–६ स्थित कुलमोहरवासी खानेपानीको सुविधा भएपछि खुशी छन् । नगरपालिकाकै विकट क्षेत्र पर्ने कुलमोहरमा यसअगाडि धेरै नेता आए विकास दिन्छु भने तर कसैले सिन्को भाँचेनन् । 

विकास गर्न धेरै बाँकी रहेको कुलमोहरमा पहिलो पटक धारामा पानी खसेपछि विकासको महसुस हुन थालेको स्थानीयवासी श्यामसिंह गिरीले बताउँछन् । 
 
‘साह्रै पछाडि परेको गाउँ हो हजुर यो, खानेपानीको धेरै समस्या थियो,’ गिरीले भने, ‘यो बस्तीमा पहिलो पटक पानीको धारा खस्यो ।’

कुलमोहर बस्ती बसेको करीब ४८ वर्ष भयो । त्यहाँका स्थानीयवासीले घर नजीकै रहेको खोलाको पानीले जीवन चलाउँदै आएका थिए । 
 
लमही–घोराही सडकखण्डको नजीकै पर्ने कुलमोहर गाउँ लमहीको बजारभन्दा पनि पुरानो गाउँ भनेर चिनिन्छ । अर्जुन खोलाको जरुवाको पानी खाएर कुलमोहर गाउँवासी हुर्किए । 

करीब ९० घरधुरी सङ्ख्या रहेको कुलमोहरवासीले वनको बाटो भएर करीब एक घण्टा पैदल हिँडेर पिउने पानी ल्याउनुपर्ने समस्या रहेको कमला गिरीले बताए । तर लमही नगरपालिका–६ को कार्यालयले कुलमोहरवासीको मुहारमा परिवर्तन ल्याइदिएको छ । 
 
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको लागत अनुमानअनुसार कुलमोहर गाउँमा धारा जडानका निम्ति वडा नं ६ को वडा कार्यालयबाट रु दश लाख बजेट विनियोजन भएको थियो ।

सोही बजेट र लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्राविधिक सहयोगमा गाउँमा धारा पु¥याउन सफल भएको वडाध्यक्ष गणेशमान चौधरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप