मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय इतिहास र वर्तमान समेटिएको पाठ्यक्रम तयार

बिहीबार, ०५ वैशाख २०७६, १७ : ११
बिहीबार, ०५ वैशाख २०७६

गुल्मी–‘नेपाल एकिकरणपूर्व धुर्कोटका पहिलो राजा को थिए ? उत्तर–खड्गराज मल्ल । कति सालमा कसलाई हराएर उनले राज गरेका थिए ? उत्तर–१४६५ सालअघि मगर वंशजका जड्हया राजालाई हराएर खड्गराज मल्लले राज गर्न सुरु गरेका थिए ।

उनीपछिका राजा को हुन ? उत्तर–मणिक मल्ल ।  धुर्कोटका अन्तिम राजा को थिए ? उत्तर–भुपेन्द्र मल्ल । मल्ल वंशका राजा कहाँबाट र कोको लिएर आएका थिए ? उत्तर–जुम्लाबाट शिकार खेल्दै रतन पाण्डे, मैते धामी, टोटे ढोली, धनविरे कुमाल , लाम्चे कामी, गधले गायन, पिरु मिजार, भण्डारी र अहिले धुर्कोटमा भएका सबै जातजाती लिएर आएका थिए ।

यी र यस्तै आफ्नै गाउँको ईतिहास, वर्तमान र भविश्य समेटेर गुल्मी जिल्लामै पहिलो पटक सामाजिक विषयवस्तुमा आधारित पाठ्यक्रम तयार पारेको छ गुल्मीको धुर्कोट गाउँपालिकाले । स्थानीय सामाजिक विषयवस्तुमा आधारित कक्षा १ देखि कक्षा ५ सम्मको सामाजिक विषयको पाठ्यक्रम तयार पारि पाठ्यपुस्तक छपाई गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशीराम पन्थीले बताए । यसै शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमअनुसार विद्यार्थीहरुलाई पठनपाठन सुरु गर्न लागेको   धुर्कोटका शिक्षा अधिकृत मधु घिमिरेले बताए । 

घिमिरेले प्रदेश पाँचमा स्थानीय विषयवस्तुमै पाठ्यपुस्तक निकाल्न लागेको धुर्कोट गाउँपालिका पहिलो भएको दावी गरे । उनले भने, ‘कक्षा १ देखि कक्षा ५ सम्म धुर्कोटमा यसै शैक्षिक सत्रदेखि पढाई सञ्चालन गरिन्छ । यसपटक अर्को बर्षलाई समेत स्टक राख्नेगरी ५ हजार पुस्तक निकाल्न लागेका छौं ।’

धुर्कोटको सामाजिक, राजनैतिक,धार्मिक ईतिहास, धुर्कोटकै विभुतीको चर्चा समेटिएको सामाजिक विषयको पाठ्यक्रमले नयाँ पिढीलाई ब्यवहारिक  र  प्रभावकारी शिक्षा दिन सहयोग पुग्ने धुर्कोट गाउँपालिकाका उपप्रमुख  शिबहादुर केसीले बताए । ‘पाठ्यक्रम मात्र छपाई भइसकेको छ । पाठ्यपुस्तक छपाई हुदैछ ’उनले भने,‘आफ्नै वस्तुस्थित विद्यार्थीको  मानसपटलमा  घुस्ने भएकोले यो विषय आफैमा पनि ऐतिहासिक र ब्यबहारिक हुने कुरामा हामी विश्वस्त छौ’उनको भनाई छ । 

अहिलेको पिढीलाई आफ्नै गाउँठाउको ईतिहासर सिमाना समेत थाहा छैन गाउँपालिका प्रमुख पोखरेलले भने, ‘पहिलो  कुरा त आफु, आफ्नो परिवार, छरछिमेक र गाउँपालिकाको परिचय, स्थानीय परम्परा, मुल्य मान्यता , शिष्टचार, र  नैतिक शिक्षा संगै त्यही अनुरुपको ब्यवहारका लागि वालवालिकालाई  तयार पार्नु  पाठ्य पुस्तकको मुख्य उद्देश्य हो ’

छापिदै गरेको पाठ्यपुस्तकमा आफ्नो भुगोल,सामाजिक, आर्थिक, अवस्थाको वर्णन गरिएको छ । धुर्कोटको ईतिहास, स्थानिय कला संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको व्याख्या गर्नुका साथै छिमेकी स्थानीय तहको पनि परिचय गराएको  छ । गाउँपालिकाले सम्पादन गर्ने काम र संघ संस्थाले उपलब्ध गराउने सेवाबारे  पनि प्रशिक्षित गर्ने सामग्री पाठ्यपुस्तकमा समेटिएको छ ।

परम्परागत खेती  र आधुनिक कृषि ब्यवसायीबाट हुने उत्पादनको फाईदा÷वेफाईदाबारे पनि पाठ्यपुस्तकमा समेटिएकोले  विद्यार्थीहरु ब्यबहारिक शिक्षातर्फ आकर्षित हुने स्थानीय तहको विश्वास छ । 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप