बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले पैसा थपिदिने आसमा बैंक खाता खोल्न वृद्धवृद्धा लाइनमा ! (तस्बिर)

बिहीबार, ०५ वैशाख २०७६, १४ : ०५
बिहीबार, ०५ वैशाख २०७६

बिहीबार बिहान १० नबज्दै चित्र कुमारी मिश्र हतारहतारमा काठमाडौको मिनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय अगाडी आइपुग्छिन् । ७२ वर्षीया मिश्र प्रफुल्ल मुद्रामा छन् । तर उनलाई बैंक खाता खोल्ने प्रकृयाबारे खासै जानकारी रहेनछ ।

त्यहि भएर उनले नजिकै रहेकी एक युवतीलाई कौतुहलतापूर्वक सोधिन्, ‘बैंकले खाता खोलिदिने भनेको छ । खातामा सय रुपैयाँ पनि जम्मा गरिदिन्छ रे । अनि सरकारले पैसा पनि बैंकमा पठाउँछ भन्ने सुनेको हो । तर मैले खासै मेसो पाएकी छैन, के हो नानी राम्रै त होलानी भन्दिनुपर्यो ।’

८ वर्षदेखि मिनभवनमा ज्येष्ठ नागरीक संघर्ष समितिको हरेक संघर्षका कार्यक्रममा सहभागी हुँदै आएकी उनको सहभागीता बिहीबार भने अलि पृथक देखिन्थ्यो । राष्ट्रिय बाणिज्य बैंकले खाता खोलिदिने  थाहा पाएपछि उनी हस्याङ फस्याङ गर्दै आएकी मिनभवन पुगेकी रहिछन् ।

तर उनलाई खाता किन खोल्न लागिएको थाहा छैन । सरकारले त्यही खातामा पैसा पठाउँछ भन्ने सुनेर पैसा सहजै पाउने आशाले बैंक खाता खोल्न आएको उनीसँगको कुराकानीबाट प्रस्टै बुझ्न सकिन्थ्यो ।

उनी मात्र होइन, बैंकमा पैसा आउने लोभले जोरपाटीदेखि लालुप्रसाद चौलागाई पनि बैकको खाता खोल्न बिहीबार मिनभवन आइपुगे । उनको हालसम्म कुनै बैंक खाता छैन । खाता खोले सरकारले बृद्धबृद्धालाई पैसा राखिदिन्छ भन्ने उनको पनि सोच बुझाई थियो ।

यसअघि  नै राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेकी शारदा पन्त पनि लोकन्थलीदेखि खाता खोल्न मीनभवन आइपुगिन् । श्रीमानको पेन्सन राष्ट्रिय वाणिज्य बैंकमा आउँछ उनको । घरपरिवार सम्पन्न छ । तर पनि सरकारी पैसाको लोभ त उनलाई पनि छ ।

फुलमाया महर्जन (बर्ष ७४) पनि खाता खोल्न बोलाएर आएको बताउँछिन् । ‘सरकारले खाता खोलेर पैसा राख्दिन्छ रे,’ महर्जन भन्छिन् । खासमा उनीहरुको सोच भन्दा फरक थियो राष्ट्रिय वाणिज्य बैंकको खाता खोल्ने अभियान । सरकारले बैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान चलाएको छ । प्रत्येक नेपालीको बैंक खाता खोल्ने अभियानमा साथ दिन बैंक ज्येष्ठ नागरिक समक्ष खाता खोल्न आइपुगेको हो । तर उपस्थित अधिकांश बृद्धबृद्धालाई सरकारले बैंक खातामा पैसा राखिदिन्छ भन्ने बुझाई रहेको पाइन्थ्यो । चालु आर्थिक वर्षको बजेटमा सरकारले ‘एक नेपाली एक बैंक खाता’पुर्याउँने योजना अघि सारेको थियो । सोही व्यवस्था कार्यानवयन गर्न बैंक तथा वित्तिय संस्थाहरुले खाता खोल्ने अभियान चलाएका हुन् ।

बृद्धभत्ता बढ्ने आशमा ज्येष्ठ नागरिक, नबढाए देशभर विरोध गर्ने

ज्येष्ठ नागरीक संघर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुली यसपटक बृद्धभत्ता बढ्ने आशमा आफुहरु रहेको बताउँछन् । ‘चुनावमा बृद्धा भत्ता बढाउने आश देखाएर सरकारले हाम्रो भोट लग्यो तर बढाएन, यसपटक बढाउनुपर्छ, बढाएन भने हामी विरोधमा उत्रन्छौ’, पराजुलीले भने । कानुनमा ज्येष्ठ नागरिकका विषयलाई लिएर भएको व्यवस्था पालना गर्नुपर्ने उनीहरुको माग रहदै आएको छ । सार्वजनिक यातायातमा ५० प्रतिशत छुट, औषधी उपचारमा ५० प्रतिशत छुट, सरकारी अस्पतालमा भए निःशुल्क हुनुपर्ने, बृद्ध भत्ता पाँच हजार बनाउनुपर्ने लगायतका माग रहँदै आएको छ ।

हुन त प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको बजेटमा बृद्धबृद्धाको लागि भत्ता बढाउने एक कार्यक्रममा भनिसकेका छन् । यसले पनि उनीहरुमा आशा पलाएको छ । बृद्ध भत्ता के कति बढाउँने हो त्यो भने आगामी बजेट कुर्नैपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप