शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्याटलाइट प्रक्षेपणपछि प्रधानमन्त्री ओलीले भने, ‘नेपालको प्रतिष्ठा बढ्यो’

बिहीबार, ०५ वैशाख २०७६, १० : २३
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौँ । पहिलो पटक नेपालको आफ्नै स्याटलाइट (भू–उपग्रह) अन्तरिक्षमा पठाइएको छ । अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट आज बिहान २ः३१ बजे नेपालको भू–उपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

यो भू–उप्रगहलाई ‘नेपालीस्याट –१’ नाम दिइएको छ । यसको तौल झण्डै एक किलो रहेको छ । नेपाली भू–उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको हो ।

यो भू–उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहने र त्यसपछि अन्तरिक्षमा घुम्न सुरु गर्ने बताइएको छ ।

भू–उपग्रहले नेपालले आफ्नो भू–भागको मौसम, पानी, तापक्रम आदि सूचनाहरू प्राप्त गर्न सक्नेछ । नेपाली भू–उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केलगायत सहभागी थिए । 

यसैबीच प्रधानमन्त्री केपी ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको भन्दै नेपालको प्रतिष्ठा बढेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत स्याटलाइट निर्माण र प्रक्षेपण गर्ने काममा संलग्न वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । 

‘आज बिहान २ः३१ बजे नेपालको  पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको छ । योसँगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीवृद्विमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु’ प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन् ।

नेपाली भू–उपग्रह अन्तरिक्षमा पठाइएपछि नेपालीहरूले पनि खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राखिरहेका छन् ।

नेपाली स्याटलाइटको प्रक्षेपणपछि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पनि खुशी व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले एक सन्देश जारी गर्दै नेपाल भू–उपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा जोडिएको र सानै प्रयास भएपनि अन्तरिक्षमा नेपालको सहभागीता हुनु ज्यादै खुशी र गौरवको कुरा भएको बताएका छन् । 

‘यस अवसरमा म सबै नेपालीमा बधाई ज्ञापन गर्दछु । यो सम्पूर्ण कार्य गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र नेपाली वैज्ञानिकहरुलाई म धन्यवाद दिन चाहन्छु । यो प्रक्षेपणपूर्ण सफल हुने अपेक्षासहित आगामी दिनमा मेगा स्याटलाइट प्रक्षेपण र थप प्रगतिको लागि नास्ट र नेपाली वैज्ञानिकहरुमा शुभकामना व्यक्त गर्दछु’ उपराष्ट्रपति पुनले सन्देशमा भनेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप