शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रीको कुर्सी सिंहदरबारको मुख्य गेटमै जलाउन खोजिएपछि...(फोटो/भिडियो)

मङ्गलबार, ०३ वैशाख २०७६, १७ : ५२
मङ्गलबार, ०३ वैशाख २०७६

काठमाडौं– मंगलबार दिउँसो ३ बजे एकाएक सिंहदरबारको दक्षिणतर्फको मुख्य गेटमा प्रहरीहरुको संख्या बढ्न थाल्यो । एक ट्रक दंगा प्रहरी मुल गेटको वरिपरि सतर्क अवस्थामा बस्न थाले । केही प्रहरीको हातमा अश्रुग्याँसको बन्दुक र हाते माइक पनि थियो । मूल गेट आसपास प्रहरीले छपक्कै ढाकेपछि कुनै ठूलो दुर्घटना त हुन लागेन भनेर सर्वसाधारणहरु पनि वरिपरि झुम्मिएर हेर्न थाले । 

दुई डिएसपीको नेतृत्वमा ५० भन्दा बढी प्रहरीहरु माइतीघर तर्फको सडक र हनुमानस्थान तर्फको सडकतिर सर्तक भएर हेर्न थाले । झन्डै १ घण्टाको कुराईपछि बबरमहलतर्फ नेपाल आयल निगमको अगाडिबाट केही विद्यार्थी एउटा थोत्रो कुर्सी बाकेर सिंहदरबारको गेट छेउ ‘शैक्षिक माफिया मूर्दावाद’ को नारा लगाउदै आइपुगे ।

कुर्सीमाथि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको फोटो थियो । उनीहरुले कुर्सी र फोटो जलाउन डिजेल  छर्कदै थिए, त्यतिकैमा प्रहरीले हस्तक्षेप गरेर कुर्सी नियन्त्रणमा लियो । दुईजना विद्यार्थी नेता सिजन भट्ट र सरोज थापा पक्राउ परे, अरु पाँच ६ जना विद्यार्थी फुत्किन सफल भए । 

किन जलाउन खोजियो मन्त्रीको कुर्सी ? 

पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त ४२ क्याम्पसले नियम विपरित ३ सय ९१ विद्यार्थी भर्ना गरी अलपत्र पारेको भन्दै उनीहरुले शिक्षा मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउन खोजेका थिए । ३ पटक प्रयास गर्दा पनि मन्त्रीले समय नदिएकोमा उनीहरुको आक्रोश थियो । उनीहरुले दोषी क्याम्पस, विश्वविद्यालयका पदाधिकारीलाई कारवाहीको माग गरेका छन् । 

नेविसंघका विद्यार्थी नेता, पोखरा विश्वविदालय संयोजन समितिका अध्यक्ष नवराज त्रिपाठीले त्रिभूवन विश्वविद्यालयले तोकेको ११ र १२ कक्षामा सि ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना नलिने मापदण्ड विपरित  पोखरा विश्वविद्यालयले भर्ना लिएर परीक्षामा सहभागी नगराएको बताए । यसरी नियमविपरित भर्ना लिने क्याम्पसको सम्बन्धन खारेजी र कडाभन्दा कडा कारवाहीको माग गर्दै आन्दोलन सुरु गरेको बताए । उनले यो आन्दोलन निरन्तर जारी राख्ने बताए ।

हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप