बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीको जुम्ल्याह ग्रह: शुक्र

पश्चिमबाट घाम उदाउने, वर्षभन्दा दिन लामो हुने अनौठो ग्रह
मङ्गलबार, ०३ वैशाख २०७६, ०० : ४४
मङ्गलबार, ०३ वैशाख २०७६

शुक्र ग्रह, हाम्रो सौर्यमण्डलमा सूर्यसँगको दूरीको आधारमा दोस्रो ग्रह । यो ग्रहको धेरै विशेषताहरु छन् । यसको सबैभन्दा प्रमुख विषेशता भनेको त यो ग्रह उल्टो घुम्ने गर्छ । त्यसका साथसाथै, यो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो पनि छ । त्यसैले कहिलेकाहीँ यसलाई पृथ्वीको जुम्ल्याहा ग्रह पनि भन्ने गरिन्छ । आउनुहोस्, यस पटक हामी यही विचित्रको ग्रहको यात्रा गरौं ।

शुक्रको नामाकरण

शुक्र ग्रहलाई अंग्रेजीमा भेनस (Venus) भनिन्छ । यसको यो नामाकरण रोमनहरुले गरेका हुन् ।

रोमनहरुले आकाशमा चम्किलो रुपमा देखापर्ने सात वटा पिण्डहरुको उहिल्यै पहिचान गरेका थिए । ती पिण्डहरुमा सूर्य, चन्द्रमा र अन्य पाँचवटा ग्रहहरु पर्दछन् । उनीहरुले ती पिण्डहरुलाई आफ्ना महत्वपूर्ण देवीदेवताका नाममा नामाकरण गरेका थिए । तीमध्ये सबैभन्दा चम्किलो ग्रह शुक्रलाई उनीहरुले आफ्ना प्रेम र सौन्दर्यकी देवी भेनसको आधारमा नामाकरण गरेका थिए ।

शुक्रमा जीवन सम्भव छ ?

धेरैजसो खगोलविद (अन्तरिक्षको बारेमा अध्ययन गर्ने वैज्ञानिकहरु) के सोच्छन् भने शुक्र ग्रहमा जीवन हुनु असम्भव छ । किनभने, शुक्रग्रह अत्यन्तै तातो छ । तातो भएको कारण त्यहाँ सुख्खा छ र पानीको नामोनिशान छैन । त्यहाँको तापक्रम यति धेरै छ, सिसा (Lead) पनि सजिलै पग्लिन्छ । साथै, त्यहाँको वायुमण्डल पनि अत्यन्तै बाक्लो छ । पृथ्वीको तुलनामा त्यहाँको वायुमण्डलको चाप ९० गुना बेसी छ । यिनै कारणहरुले गर्दा त्यहाँ पठाइएका अन्तरिक्ष यानहरु पनि केही समय मात्रै काम गर्न सकेको छ । तर पनि केही वैज्ञानिकहरु के विश्वास गर्छन् भने शुक्रको जमीनमा नभए पनि वायुमण्डलमा जीवनको कुनै न कुनै रुप विद्यमान हुन सक्छ । तर त्यो जीवन यहाँको जस्तो उन्नत र विकसित भने हैन ।

पश्चिमबाट घाम उदाउने ग्रह

हामीकहाँ कुनै उदेकलाग्दो कुरा भयो भने पश्चिमबाट घाम उदायो भन्ने चलन छ । तर शुक्र ग्रहमा भने कुनै उदेक नै नभइकनै पश्चिमबाट घाम उदाउने गर्छ । यसो हुनुको कारण चाहिँ शुक्र ग्रह आफ्नो धूरी (Axis) मा उल्टो घुम्ने गर्छ । पृथ्वी लगायतका ग्रहहरु पूर्वबाट पश्चिमको दिशामा घुम्ने गर्छ भने शुक्र चाहिँ पश्चिमबाट पूर्वको दिशातिर घुम्ने गर्छ । यही कारण नै त्यहाँ पृथ्वीमा जस्तो सूर्य पूर्वबाट हैन, पश्चिमबाट उदाएको देखिन्छ ।

शुक्र ग्रहको घुम्ने गति पनि अति सुस्त छ ।  हाम्रो सौर्यमण्डलमा सबैभन्दा सुस्त घुम्ने ग्रह पनि शुक्र नै हो । पृथ्वीले करीब २४ घण्टा (२३.९४३ घण्टा) मा आफ्नो अक्षमा एक फन्को मारिसक्छ । तर शुक्र ग्रहले एक फन्को मार्नको लागि ५८३२ घण्टा (२४३ दिन) बराबरको समय लगाउँछ । त्यसैले शुक्र ग्रहको एक दिन बराबर पृथ्वीको २४३ दिन हुन आउँछ । अचम्म लाग्दो कुरा त के छ भने शुक्र ग्रहको एक वर्ष भने पृथ्वीको एक वर्षभन्दा छोटो हुन्छ किनभने शुक्रले सूर्यलाई कक्षमा घुमेर एक चक्कर लगाउनको लागि २२४.७ दिन मात्र लगाउने गर्छ । यसरी शुक्र ग्रहमा वर्षभन्दा पनि दिन लामो हुने गर्छ । शुक्रग्रहले सूर्यलाई प्रतिघण्टा १२६,०७७ किलोमिटरको गतिले परिक्रमा गर्ने गर्छ ।

शुक्रमा अन्तरिक्ष यान

शुक्रमा अवतरण गर्ने पहिलो मानव यान भेनेरा ७ । https://donalclancy.wordpress.com

शुक्र ग्रहमा सबैभन्दा पहिले पूर्व सोभियतसंघले थुप्रै अन्तरिक्ष यानहरु पठाएको थियो । तीमध्ये धेरै अन्तरिक्षयानहरु शुक्रको सतहमा ओर्लेका पनि थिए र थुप्रै महत्वपूर्ण सूचनाहरु पनि पठाएका थिए । तर ती यानहरुले धेरै लामो समयसम्म काम भने गर्न सकेनन् । शुक्र ग्रहको वायुमण्डलको अति ठूलो चाप र अति तातो वातावरणको कारण ती यानहरु चाँडै ध्वस्त भए ।

सबैभन्दा पहिले डिसेम्बर १५, १९७० का दिन सोभियतसंघले पठाएको मानवरहित यान भेनेरा ७ पहिलो पटक शुक्रमा ओर्लिएको थियो । त्यसले शुक्रको वातावरण नापेर जानकारी पृथ्वीमा पठाएको थियो ।

त्यसैगरी, सन् १९७२ मा भेनेरा ८ ले शुक्रमा ओर्लिएको ५० मिनेटसम्म काम गरेर त्यहाँको वायुमण्डल र सतहका बारेमा धेरै नै उपयोगी जानकारीहरु पठाएको थियो ।

पछि अक्टोबर २२, १९७५ मा भेनेरा ९ शुक्रमा उतारियो । यो यानले पहिलो पटक शुक्रको सतहको सबैभन्दा नजिकको फोटो पठायो ।

त्यसको तीन दिनपछि भेनेरा १० शुक्रमा ओर्लियो र त्यसले त्यहाँको वायुमण्डल र चट्टानका बारेमा थप जानकारीहरु पठायो ।

डिसेम्बर १९७८ मा भेनेरा ११ र १२ शुक्रमा पुग्यो र त्यस ग्रहको बारेमा तथा त्यहाँको वायुमण्डलका बारेमा झनै बेसी जानकारीहरु पठायो । भेनेरा १२ ले ११० मिनेटसम्म जानकारीहरु पठाएको थियो । यो नै भेनेराहरुमध्ये सबैभन्दा बढी जानकारी पठाउने यान थियो ।

त्यसैगरी, मार्च १९८२ मा सोभियतसंघले थप दुई अन्तरिक्ष यानहरु भेनेरा १३ र १४ पठायो । ती यानहरुले विभिन्न तस्वीरहरु पठायो भने त्यहाँको माटोको पनि अध्ययन गरेको थियो ।

अमेरिकाले पनि मेरिनर, पायोनियर र मागेलान नाम गरेका विभिन्न अन्तरिक्षयानहरु शुक्रमा पठाइसकेको छ ।

पृथ्वी र सूर्यबाट शुक्रको दूरी

सूर्यसँगको दूरीको आधारमा पृथ्वी तेस्रो ग्रह हो भने शुक्र दोस्रो । यस अर्थमा यो हाम्रो छिमेकी ग्रह हो । पृथ्वीबाट शुक्रको दुरी ४० मिलियन किलोमिटर रहेको छ ।

त्यसैगरी सूर्यबाट यसको दूरी १०८,२०८,९३० किलोमिटर रहेको छ । यो भनेको औसत दूरी हो । अरु ग्रहहरु जस्तै शुक्रले पनि अण्डाकार कक्षमा सूर्यको परिक्रमा गर्ने भएकोले सूर्यबाट यसको नजिकको दूरी १०७,४७६,००० किलोमिटर देखि टाढाको दूरी १०८,९४७,००० किलोमिटरसम्म पर्छ ।

जसरी सूर्यबाट शुक्र ग्रह कहिले टाढा तथा कहिले नजिक हुन्छ, त्यसरी नै पृथ्वीबाट पनि टाढा नजिक हुने गर्छ । विशेषतः सूर्यलाई परिक्रमा गर्ने क्रममा यी दुई ग्रहहरु कहाँ पुगेका हुन्छन्, त्यस आधारमा ती दुई बीचका दूरी पनि फरक फरक पर्ने गर्छ । त्यसैले पृथ्वीबाट शुक्रमा पुग्न लाग्ने समय पनि फरक फरक हुने गर्छ ।

कति पुरानो ग्रह हो शुक्र ?

हाम्रो सौर्यमण्डलका सबै ग्रह, उपग्रह तथा अन्य पिण्डहरु एकै समयमा निर्माण भएका हुन् । वैज्ञानिकहरुको मतमा एउटा ग्याँस र धुलोको घुमिरहेको विशाल डल्लोबाट सौर्यमण्डलको निर्माण भएको हो । उनीहरुको गणनाअनुसार आजभन्दा ४.६ विलियन वर्षअगाडि त्यो निर्माण भएको हो ।

कत्रो छ शुक्र ?

सौर्यमण्डलमा सूर्यसँगको दूरीको आधारमा दोस्रो ग्रहको स्थान राख्ने शुक्र आकारमा चाहिँ सौर्यमण्डलको छैठौं ग्रह हो । शुक्रको व्यास १२,१०३.६ किलोमिटर छ । यो भनेको पृथ्वीभन्दा केही कम मात्रै हो । पृथ्वीको व्यास १२,७५६.२ किलोमिटर रहेको छ । त्यसै गरी शुक्रको पिण्ड ४.८६७३२ x १०२४ छ । शुक्रको तुलनामा पृथ्वीको पिण्ड ५.९७२१९ x १०२४ किलोग्राम रहेको छ ।

शुक्रको गुरुत्वाकर्षण

शुक्र र पृथ्वीको आकार र पिण्ड (Mass) झण्डै उस्तै छ । त्यसैले यी दुई ग्रहको गुरुत्वाकर्षण बल पनि झण्डै उस्तैउस्तै छ । शुक्र ग्रहको सतहको गुरुत्वाकर्षण बल पृथ्वीको तुलनामा ९ प्रतिशत मात्रै कम अर्थात् ९१ प्रतिशत छ । यसलाई अझ सजिलो गरेर बुझ्नु पर्दा पृथ्वीमा १०० किलो तौल हुने वस्तु शुक्रमा तौलने हो भने ९१ किलो हुन आउँछ ।

शुक्रको वायुमण्डल र रंग

कुनै पनि ग्रहको रंग कस्तो देखिन्छ भन्ने कुरा त्यो ग्रह केले बनेको छ तथा त्यसको सतह र वायुमण्डलले सूर्यको प्रकाशलाई कसरी सोस्छ र फर्काउँछ भन्ने कुरामा निर्भर गर्दछ ।

शुक्रको वायुमण्डल पृथ्वीको तुलनामा ९० प्रतिशत बाक्लो छ । त्यहाँको वायुमण्डलमा ९६ प्रतिशत त कार्बनडाइअक्साइड नै छ भने ३ प्रतिशत नाइट्रोजन । त्यहाँ अति कम मात्रामा (०.००३ प्रतिशत) पानीको वाफ छ । साथै, त्यहाँ सल्फ्युरिक एसिडको बाक्लो बादल पनि छ । यही कारण नै पृथ्वीबाट हेर्दा त्यस ग्रहको रंग पनि हल्का पहेलो रंगको देखिन्छ ।

रोचक कुरा के छ भने, शुक्रमा वायुमण्डल अति तीब्र गतिमा चलिरहेको हुन्छ । त्यहाँ प्रतिघण्टा ३५० किलोमिटरको गतिसम्म वायुमण्डल चलिरहेको हुन्छ । यो भनेको विशाल आँधीको गति जस्तै हो ।

शुक्रको बनोट र सतह

शुक्र ग्रहको बनोट पृथ्वीको जस्तो जस्तै छ । त्यसको मध्यभागमा फलाम र बाहिरी भाग चट्टानले बनेको छ ।

www.jpl.nasa.gov

शुक्रको सतह अति तातो र सुख्खा छ । त्यहाँको धेरै जसो सतह विस्तारै घुमिरहेको मैदाने भाग (Gently rolling plains) ले बनेको छ । शुक्र ग्रहको अधिकांश भागहरु थुप्रै ज्वालामुखीयुक्त मैदाने क्षेत्रले बनेको छ भने त्यहाँ दुई वटा विशाल अग्ला क्षेत्रहरु छन् जसको क्षेत्रफल अस्ट्रेलिया र दक्षिण अमेरिका जत्रा छन् । शुक्रग्रहमा कदाचित पानी हुने हो भने त्यहाँको ८० प्रतिशत जति भाग त डुबानमा नै पर्नेथियो । त्यसो त शुक्रमा पर्वतहरु र ज्वालामुखीहरु छन् । यसका धेरै जसो क्षेत्रहरु पुराना लाभाले ढाकिएका छन् । शुक्रको सबैभन्दा अग्लो पर्वत म्याक्सवेल मोन्टेज हो । यसको उचाई सात माइलभन्दा बढी छ, जुन भनेको सगरमाथा भन्दा पनि अग्लो हो । शुक्रका सतहमा उल्कापिण्डका कारण बन्ने खाल्डाखुल्डीहरु (Craters) छैनन् किनभने त्यहाँको बाक्लो वायुमण्डलले उल्काहरुलाई सतहसम्म पुग्न नै दिँदैन । त्यसैगरी, पहिले पातलो वायुमण्डल हुँदा बनेको खाल्डाखुल्डीहरु पनि लाभाले पुरिइसकेका छन् ।

सबैभन्दा चम्किलो ग्रह

आकाशमा देखिने ग्रहहरुमध्ये सबैभन्दा चम्किलो ग्रह नै शुक्र हो । यो दुरबीनको मद्दतविना नांगो आँखाले पनि देख्न सकिन्छ । यो सबैभन्दा चम्किलो हुनुको कारण चाहिँ यसको बाक्लो वायुमण्डलले सूर्यको धेरै प्रकाश परावर्तन गर्नु (फर्काउनु) नै हो । वैज्ञानिकहरुका अनुसार, शुक्रको वायुमण्डलमा ठोक्किएर ३० प्रतिशत प्रकाशमात्र छिर्छ बाँकी ७० प्रतिशत प्रकाश फर्कन्छ ।

शुक्र ग्रहलाई सूर्यास्तको केही घण्टापछि र सूर्योदयको केहीघण्टा अघि आकाशमा राम्ररी देख्न सकिन्छ ।

तातो हुनुको कारण

https://wi-images.condecdn.net

शुक्र ग्रहको सतह अति तातो हुनुको कारण पनि त्यहाँको बाक्लो वायुमण्डल नै हो । शुक्रमा सूर्यको प्रकाश र ताप ३० प्रतिशत मात्र छिर्छ तर त्यो छिरेको प्रकाश र तापलाई वायुमण्डलले छेक्ने हुँदा उडेर जान पाउँदैन । त्यो त्यहीँभित्र गुम्सिइरहन्छ । एक त पृथ्वीभन्दा सूर्यबाट निक्कै नजिक हुनु र छिरेको प्रकाश/ताप पनि बाहिर निस्कन नपाउनु, यी दुई कारण्ले गर्दा त्यहाँको तापक्रम अति उच्च बन्न जान्छ ।

सूर्यको प्रकाश उडेर आकाशमा जान नपाउँदा तापक्रम बढ्ने यो अवस्थालाई ग्रीन हाउस इफेक्ट भनिन्छ । ग्रीन हाउस इफेक्टका कारण शुक्रको सतहको तापक्रम ८६४ फरेनहाइट अर्थात् ४६२ डिग्री सेल्सियससम्म पुग्न जान्छ । यही कारणले गर्दा नै शुक्र ग्रह सौर्यमण्डलकै सबैभन्दा तातो ग्रह हो ।

पृथ्वीको जुम्ल्याहा ग्रह

शुक्र ग्रहलाई कहिले काहीँ पृथ्वीको जुम्ल्याहा ग्रह पनि भन्ने गरिन्छ । किनभने पृथ्वी र शुक्र ग्रहको साइज र पिण्ड झण्डै उस्तै उस्तै छ । त्यसैगरी, यसको बनोट पनि धेरै मिल्दाजुल्दा छन् । दुई ग्रह एक अर्काका छिमेकी ग्रह पनि हुन् ।

तर शुक्र र पृथ्वीबीच नमिल्दा कुराहरु पनि धेरै छन् । उदाहरणका लागि, पृथ्वीको भन्दा शुक्रको तापक्रम धेरै बढी छ, वायुमण्डल धेरै बाक्लो छ र पृथ्वीको ठीक उल्टो दिशामा यो घुम्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चन्द्र खाकी
चन्द्र खाकी
लेखकबाट थप