आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

मर्‍यो भनिएका व्यक्ति गुल्मीमा मेयरका उम्मेदवार !

शुक्रबार, ०२ असार २०७४, १३ : ११
शुक्रबार, ०२ असार २०७४

प्रेम सुनार

गुल्मी–‘कुनै समय सदरमुकाम तम्घासमा मैले डेरासम्म पाउन सकेको थिइँन तर अहिले यसै ठाउँमा र तिनै घरहरुमा भोट माग्न हिडेको छु’– गुल्मीमा दलित समुदायबाट पहिलो र एक मात्र नगर प्रमुख पदका उमेदवार धर्म बिश्वकर्माले भने–‘हिजो विभेदकै कारण मैले डेरा नपाएको हो । आज त्यहि घरभित्र सोफामा वस्न स–सम्मान बोलाईन्छ र  चिया पिउँदै आफ्ना कुरा राख्न पाइन्छ ।’ गुल्मी सदरमुकाम तम्घास व्राम्हण समुदाय बस्नेस्थान हो, माओवादी केन्द्रको तर्फबाट मेयर पदका उमेदवार बिश्वकर्र्मा अहिले चुनावी प्रचारमा जुट्दा तिनै व्राम्हण समुदाय छृुवाछुत अन्त्यको अगुवाई गरिरहेको बताउँछन् । ‘दलित समुदायभित्रै वरु मैले विभेद पाएँ ’–विश्वकर्माले भने –‘जसले हिजो विभेद गर्दथ्यो उसैमा अहिले कति पनि जातिय विभेदको मानसिकता नभएको देखे ।’ ३० वर्ष अघिदेखि कम्युनिष्ट आन्दोलमा सक्रिय हुँदै आएका विश्वकर्मा जन्मभुमी अर्घाखाँचीको धारापानी–२ बाट २७ वर्षअघि तम्घास आएका थिए । त्यतिवेला नेकपा मसालका पत्रपत्रिका विक्रिवितरण गर्ने, संगठन विस्तारमा जुट्ने गरेका बिश्वकर्मालाई छाक टार्न मुस्किल थियो ।


यो समस्या समाधान गर्न उनले तम्घासको पुतलीवजारमा जग्गा भाडामा लिएर टहरो बनाउने र त्यसैमा तरकारी पसलदेखि पार्टीका गतिविधि चलाउने निधो गरे । उनि विगतलाई स्मरण गर्छन् ‘ त्यो जमनामा पञ्च र कांग्रेसको दवदवा भएकाले कम्युनिष्ट  भएर  टिक्न निकै कठिन थियो तर पनि संघर्ष गरियो र आज मेयर पदसम्मको भोट माग्ने अवसर पाईयो । ’


२०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई राजनीतिमा लागेका उनि २०४५ सालमा अखिल छैठौंको अर्घाखाँची जिल्ला सचिव बने । २०४८ सालमा संयुक्त जनमोर्चा गुल्मीको जिल्ला सदस्य र एकता केन्द्र मसालको पार्टी सदस्यता लिएका बिश्वकर्मा २०५२ सालदेखि माओवादी जनयुद्धमा आवद्ध भएका थिए ।

लास  कुरेका व्यक्तिको सास नै आयो


२०५८ सालमा तत्कालिन शाही सेनाबाट पक्राउ परी तम्घासको ब्यारेकमा कठोर याताना भोगेका उनलाई परिवार र आफन्तजनले जिवित फर्केर आउलान् भनेर कल्पना गरेका थिएनन् । कैयौं दिनसम्म परिवारसंग सम्पर्क नभएका उनलाई जिवित छैनन भनेर परिवारजनले शवसम्म पाए पनि हुन्थ्यो भनेर कामना गरेका थिए । जे होस उनि बाँचेर  त आए । तर फेरी उनिमाथि दैविक आक्रमण भयो । परिवारका सदस्य दुर्घटनामा पर्ने, विमारबाट एकमात्र छोराको मृत्यु लगायतका पीडाले उनलाई थला पा¥यो । तर पनि उनले हरेस खाएनन् ।


छाप्राबाट आलिसान महलको मालिक 


धर्मले राजनीति र ब्यवसायलाई निरन्तरता दिदै गए । ऋण काढेर सुन चाँदीका गहनाको बुट्टा काट्ने डाई कटिङ्ग व्यवसाय  जिल्ला पहिलो पटक सञ्चालनमा ल्याए । सदरमुकाम तम्घासलगायत अन्य जिल्लावाट समेत सुनचाँदी व्यवसायीहरु उनकोमा आउन थालेपछि नसोचेको आर्थिक प्रगति हुन थाल्यो । अहिले यहि तम्घासमा सिसै सिसाले सजाईएको तिन तले महलका मालिक छन् । धर्मले गरेको दुख देखेका उनका नजिकका मित्र तथा सुन चाँदी व्यवसायी संंघ गुल्मीका अध्यक्ष वालकृष्ण बराल भन्छन–‘ धर्मजी भाग्यका  होईन पौरखका धनी र संघर्षका सतिसाल हुन्  ।
जित्ने आधार
गुल्मीका अन्य गाउँ र नगरपालिकाको तुलनामा रेसुङ्गा नगरपालिकामा माओवादी केन्द्रको संगठन कहि कमजोर रहेको स्वीकार गरे पनि मेयर पदका उमेदवार हार्ने कुरा स्वीकार गर्दैनन् । उनि भन्छन् ‘हो म मान्छु हाम्रो संगठन नगरपालिकामा थोरै कमजोर छ तर यहाँका पुरानो पुस्ताबाट सन्तुष्ट छैनन सचेत जनता, यसअर्थमा म जितको नजिक छु । ’उनले अर्को आधार दिए ‘हिजो दलित भनेपछि मुस्कीलले वडासदस्य दिने र प्रमुख जिम्मेवारी दिए दलितले गर्न सक्दैन र भन्ने हिजोको मानसिकता तोड्न पनि यहाँका दलित र अन्य उत्पीडित समुदायले भोट दिने छन् ।’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र दलित मुक्तिमोर्चा गुल्मीका अध्यक्ष रहेका विश्वकर्मालाई ढोरपाटका मेयर देवकुमार नेपालीसंग दाँजेर चर्चा गर्न थालिएको छ । दलित समुदायबाट मेयर पदमा ढोरपाटन नगरपालिकामा उमेदवार घोषणा गर्दादेखि र मत परिणाम नआउञ्जेलसम्म प्र्रतिष्पर्धी नेपाली कांग्रेसले जित्ने विश्वास गरेको थिएन । उनकै पार्टी एमालेले समेत उनले जित्लान भन्ने आँकलन गरेको थिएन । तर परिणाम अरुले सोचेभन्दा फरक आएर देवकुमार विजयी बनेका थिए । त्यहि अवस्था धर्मको पनि हुने होइन भनेर चर्चा भएको छ ।  


 जिल्लाका ९३ वडामध्ये  अहिलेसम्म जम्मा ६ वटा वडामा एमालले दलित समुदायका वडा अध्यक्ष उमेदवार उठाएको छ , माओवादी केन्द्रले ७ ( वढ्न सक्ने )  र नेपाली कांग्रेसले एक जना पनि दलित समुदायका वडा अध्यक्ष उमेदवार उठाएको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप