बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पीडितलाई थप मार हुनेगरी ‘भेगासिटी लिलाम’को चलखेल, अदालती आदेशको उल्लंघन !

शनिबार, ३० चैत २०७५, १३ : ३९
शनिबार, ३० चैत २०७५

काठमाडौं– ललितपुरको इमाडोलमा निर्माणाधिन भेगासिटी अपार्टमेन्टका उपभोक्ता समितिका आधिकारीक प्रतिनिधी र कोहिनुर हाउजिङ्गका सुधीर बस्नेतबीच भएको सहमति विपरित उक्त अपार्टमेन्ट नै लिलाम गर्ने चलखेल शुरु भएको छ ।

समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिका अध्यक्ष युवराज सुवेदीसहितको समूह उक्त अपार्टमेन्ट लिलाम गर्न लागिपरेको भेगासिटी अपार्टमेन्टका उपभोक्ता समितिका आधिकारीक प्रतिनिधीले बताएका छन् ।

घरजग्गा व्यवसायी सुधीर बस्नेत गत चैत २० गते पक्राउ परेका थिए । समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिका अध्यक्ष युवराज सुवेदीले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र पठाएर बस्नेतलाई नियन्त्रणमा लिन आग्रह गरेका थिए ।

तर, ओरेन्टल सहकारीका पीडितहरुको आधिकारीक प्रतिनिधी, भेगासिटी उपभोक्ता समितिका आधिकारीक प्रतिनिधी र सहकारी संस्था व्यवस्थापन समितिको हकमा सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश भने अर्कै छ ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले २०७५ चैत १५ गते सुधीर बस्नेत, ओरेन्टल पीडितहरुको प्रतिनिधी कुन्तीदेवी पोखरेल र भेगासिटी उपभोक्ता समितीका आधिकारीक प्रतिनिधी तेजबहादुर गुरुङबीचको सम्झौता ‘कार्यान्वयन गर्न नरोक्नु’ भन्दै अन्तरिम आदेश दिएको थियो ।

यसरी सर्वोच्चको आदेशलाई समेत वेवास्ता गर्दै समितिका अध्यक्ष युवराज सुवेदीले लिलामी प्रक्रियाबाट पीडितहरुको पैसा फिर्ता गर्ने भन्दै भेगाससिटी लिलामी गर्न चलखेल गरेको पीडितहरु बताउँछन ।

समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिका यसअघिका अध्यक्ष गौरी बहादुर कार्कीले भेगास सिटीको विस्तृत परियोजना तयार गरेर सुधीर बस्नेत आफैँले बनाउने गरी स्वीकृती दिएका थिए । तर, वर्तमान अध्यक्ष युवराज सुवेदीले उक्त निर्णय उल्ट्याउँदै भेगाससिटी लिलाम गर्ने तयारी गरेका हुन् । भेगाससिटी लिलामी प्रक्रियामा गएमा उपभोक्ताहरु थप मारमा पर्ने बताइएको छ ।

पूर्वन्यायधीश सुवेदी अदालतबाट अवकाश हुनुभन्दा २ दिनअघि राजीनामा दिएर समितिको अध्यक्षमा नियुक्त भएका थिए ।

अर्बौंको सम्पत्ति सस्तोमा हड्प्न खोजेपछि...

घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई बुझाएको रकम फिर्ता नपाएर पीडित सर्वसाधारणहरू मारमा परिरहँदा उनको सम्पत्ति अध्यक्ष सुवेदीलगायत केही व्यक्तिहरुको मिलेमतोमा सस्तैमा हड्पन लागिपरेको बताइएको छ ।

ओरेन्टल पीडितहरुको आधिकारीक प्रतिनिधी, भेगाससिटी  उपभोक्ता समितीका आधिकारीक प्रतिनिधी र सुधीर बस्नेतबीच २०७५ असार २५ गते त्रिपक्षीय सम्झौता भएको थियो । यस्तो अवस्थामा अर्को चलखेल गरेर भेगाससिटी लिलाम गर्न खोजिएको पीडितहरु बताउँछन् ।

ओरेन्टल को–अपरेटिभ पीडितहरुको आधिकारीक प्रतिनिधी कुन्तीदेवी पोखरेलले   घरजग्गाको चलनचल्तीको मूल्य नहेरी बस्नेतको सम्पत्ति सस्तैमा हत्याउन लागेपछि सर्वसाधारणको डुबेको रकम उठ्न समस्या परिरहेको बताएकी छिन् ।

पोखरेल भन्छिन्, ‘त्रिपक्षीय सम्झौता भइसकेको अवस्थामा किन उक्त सम्झौता भाँड्ने चलखेल भइरहेको छ ? यही अवस्था रहने हो भने हामी फेरी आन्दोलन गर्न बाध्य हुन्छौं ।’

२०७५ असार २५ गते सुधिर बस्ने तर पीडितहरुका आधिकारीक प्रतिनिधीहरु बीच सम्झौता भएसँगै  समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिले अधुरो अर्पाटमेन्ट तयार गरेर हाउजिङ्गका बुकिङकर्ताहरुलाई स्वामित्वको प्रमाणपत्र दिलाउन बैंक र सञ्चय कोषको कर्जा भुक्तानी गराउन र ओरियन्टल को–अपरेटिभका पीडितहरुलाई रकम फिर्ता गराउन सँधै सहयोग र समर्थन रहने कुरा उल्लेख गर्दै पत्राचार गरेको थियो ।

सर्वोच्च अदालतले चैत १५ गते त्रि–पक्षीय सम्झौता कार्यान्वयन नरोक्न अन्तरिम आदेश दिएपछि समितिका अध्यक्षले प्रहरीलाई बस्नेतलाई पक्राउ गर्न पत्राचार गरेका थिए । समितिले पठाएको पत्रको आधारमा पक्राउ परेका ओरेन्टल को–अपरेटिभ सहकारीका प्रमुख सुधीर बस्नेत अहिले प्रहरी हिरासतमा छन् ।

समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितीका अध्यक्ष सुवेदीले पीडितहरुलाई आफैंले ‘जाहेरी फम्र्याट’ बाँडेर प्रहरीमा उजुरी हाल्न ताकेदा गरिरहेको एक पीडितले रातोपाटीलाई जानकारी दिए ।

समितिले सुधीरले ४ अर्ब ९९ करोढ ठगी गरेको प्रहरीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । सुधीर बस्नेतले कोहिनुर हिल हाउजिङ्गको तर्फबाट भेगास सिटीमा लगानी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप