आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय आयल निगमले तेल नदिँदा काठमाडौँमा तेलविहीन बनेको हो जेट एयरवेजको विमान ?

बिहीबार, २८ चैत २०७५, १० : ४३
बिहीबार, २८ चैत २०७५

टाट पल्टिने अवस्थामा पुगेको जेट एयरवेयजको विमानलाई भारत र भारतबाहिर उडान भर्न दिनानुदिन कठिन बन्दै गइरहेको छ ।

भारतीय आयल निगम (आइओसी) ले बुधबार जेट एयरवेजका विमानहरुलाई बुधबार ३ बजेदेखि ६ घण्टासम्म तेल दिन बन्द गरेको थियो ।

आम्सटरडामबाट मुम्बाईका लागि उडान भर्न लागेको विमानलाई सिचिफोल विमानस्थलमा युरोपियन कार्गो फर्मलाई पैसा नतिरेको कारण रोकिएपछि आइओसीले जेट एयरवेजलाई तेल दिन बन्द गरेको हो । यात्रुहरु उक्त विमानभित्र चढिसकेको अवस्था नरहे पनि उनीहरु आम्सटरडाममा नै रोकिएका छन् ।

आइओसीका एक कर्मचारीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘बुधबार दिँउसो ३ बजेदेखि जेट एयरवेजका सबै विमानहरलाई भारतभर तेल दिन बन्द गरिएको थियो । विमान कम्पनीलाई एक ऋणदाताले उधारो तिर्न तत्काल ३३ करोड रुपैयाँ प्रदान गरेपछि राती ९ बजेदेखि तेल दिन पुनः सुचारु गरिएको थियो ।’

यता, बुधबार नै काठमाडौँ विमानस्थलमा जेट एयरवेजको विमानमा तेल नरहेको फेला परेको थियो ।

नयाँ दिल्लीका लागि उड्न तयार रहेको विमान पार्किङ वेमा स्टार्ट गरेपछि पाइलटले तेल नभएको त्रिभुवन विमानस्थललाई जानकारी गराएका थिए ।

तेल भरेर निर्धारित समयभन्दा करिब एक घण्टापछि विमान उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

आइओसीले तेल नदिएकै कारण जेट एयरवेजको विमान काठमाडौँमा तेलविहीन अवस्थामा पुगेको हो या कम्पनीको लापरवाहीले त्यो भने स्पष्ट पारिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप