शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी ढुकुटीमा नेकपा नेताको ‘भर्जिन’ हिमाल सयर !

बुधबार, २७ चैत २०७५, १६ : ४४
बुधबार, २७ चैत २०७५

काठमाडौं । प्रदेश सरकार र स्थानीय तहको रकम खर्चेर सत्तारुढ दल नेकपाका नेताहरुले जुगल हिमाल आरोहण गरेको पाइएको छ ।  

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको अहिलेसम्म कसैले आरोहण नगरेको यो ‘भर्जिन’ हिमाल आरोहणका लागि नेकपाका केन्द्रीय सदस्यसहितको जम्बो टोली त्यसतर्फ लागेको थियो । टोलीमा रहेका २ जनाबाहेक अरुले सफल आरोहण गरिसकेका छन् । 

आरोहणका लागि झण्डै एक करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । सो रकम सम्पूर्ण रुपमा सरकारी कोषबाट खर्च गरिने छ । 

हाललाई ४० लाख रुपैयाँ व्यवस्थापन गरेको प्रदेश तीन सरकारले अपुग रुपैयाँ दिने शर्तमा टोली हिमाल आरोहणमा जुटेको बताइएको छ । 

प्रदेश तीनको उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले सो रकम व्यवस्थापन गरेको मन्त्री अरुण नेपालले बताए । 

त्यसका साथै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षसमेत रहेका होमनारायण श्रेष्ठले आरोहणका लागि गाउँपालिकाको कोषबाट दश लाख रुपैयाँ दिएका छन् । 

याे पनि

जुगल हिमालको पहिलोपटक सफल आरोहण

‘दुर्गम भेगमा पर्ने यो गाउँपालिकामा शिक्षा स्वास्थ्यको अवस्था नाजूक छ, तर यहाँको विकासका लागि आएको बजेट हिमाल चढ्न दिइएको खबर छ । यसमा हामी आपत्ति प्रकट गर्दछौं’ सोही गाउँपालिकाका नेकपाका एक कार्यकर्ताले बताए । 

त्यसो त जुगल गाउँपालिकाको रकम अनियमितता भएको भन्दै पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ । आफूलाई राष्ट्रपति बिद्या भण्डारी नजिक बताउने होमनारायाणले शक्तिकै भरमा अख्तियारको फाइल अघि बढ्न नदिएको बताइएको छ । 

यसरी हिमाल आरोहण गर्न जाने टोलीको नेतृत्व नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ले गरेका थिए । तर सापकोटा कर्माचार्य बीचबाटै फर्किएका थिए । 

 यस्तै टिममा नेकपाका प्रदेश सदस्य सुभाष कर्माचार्य, नेकपाका कार्यकर्ता मिलन लामा, आरोही माया गुरुङलगायत टोली पनि थियो । जसमा सुभाष पनि माधव जस्तै बीचबाटोबाटै फर्किएका थिए । अरु टोलीले भने सफल आरोहण गरेका थिए । 

प्रत्येक सदस्यलाई दैनिक भ्रमण खर्च,खानालगायतको व्यस्थापन गरिएको बताइएको छ । टोलीलाई शुक्रवार प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल,मन्त्री अरुण नेपाललगायतले बिदाई गरेका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार उक्त हिमशृङ्खमा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये छ हजार २५६ मिटरदेखि छ हजार ९६६ मिटर उचाइका आठ चुचुरा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप