शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यान्सर रोगी घटाउँछ अर्गानिक खेतीले, कृषिमा जम्दै गोल्यान समूह (भिडियोसहित)

कृषिजन्य वस्तुको निर्यात व्यापार गरी व्यापार घाटा घटाउन सघाउने योजना छ : पवन गोल्यान
बुधबार, २७ चैत २०७५, १२ : ५५
बुधबार, २७ चैत २०७५

नेपालका ठूला व्यावसायिक घरानामध्यको एक हो गोल्यान समूह । आयात व्यापारलाई भन्दा निर्यात व्यापारमा सक्रिय गोल्यान समूहले कृषिलाई अँगालेर नेपालको व्यावसायिक इतिहासमा अर्को उदाहरण पेश गरेको छ । 
आयात व्यापारबाट देशलाई ठूलो हिस्सा कर तिरेर बहादुरी देखाउने व्यावसायिक प्रतिष्ठानहरुको लागि गोल्यान समूह चुनौतीको रूपमा खडा भएको छ । कृषिमा आश्रित जनता विस्तारै कृषिबाट हात झिकेर रेमिट्यान्सको मुख ताकिरहेको अवस्थामा गोल्यान समूह कृषिलाई माथि उठाउने प्रयत्न गरिरहेको छ यतिबेला । 

व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको यो समूहले देखाएको बहादुरी प्रसंसायोग्य त छ नै नेपालीको स्वस्थ्यकर खाना खान पाउने अधिकारलाई पनि केही हदसम्म पूर्ति गर्ने अपेक्षा राखिएको छ ।

लगानी सम्मेलनमार्फत प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको भन्दै विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी लिएर आउन आग्रह गरेका छन् । यता नेपाली लगानीकर्ताहरु पनि उत्तिकै उत्साहित देखिएका छन् । 

झापालाई भर्जिन ल्यान्डका रूपमा विकास गराउन तल्लीन गोल्यान समूहको उत्साहले सबैको ध्यान खिचेको छ । धागो र प्लास्टिकजन्य वस्तुमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अर्गानिक कृषिका ६० करोड रूपैयाँ लगानी गरिसकेको छ । 

समूहले झापाको दक्षिणी भेगको मदरगाछा, चकचके, घेराबारी, गैरीगाउँ लगायतका ठाउँमा २ सय बिघा जग्गा खरिद गरी खेती सुरु गरिसकेको छ । समूहको १ हजार बिघा जमिन खरिद गर्ने योजना छ । जहाँ विभिन्न फलफूल तथा तरकारी खेती गरिनेछ ।

विषादीयुक्त वस्तुको प्रयोगले आम जनताको स्वास्थ्यमाथि ठूलो असर गरिरहेको अवस्थामा यस्ता वस्तुको आयात रोकी नेपाललाई आत्मनिर्भरता बनाउने उद्देश्य प्राप्तिमा तल्लीन छ गोल्यान समूह । 
कृषिजन्य वस्तुको आयात घटाउने र निकट भविष्यमा अर्गानिक कृषि वस्तुलाई अन्य देशमा पनि निर्यात गरी व्यापारघाटा घटाउने लक्ष्यमा केन्द्रित गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानसँग रातोपाटीका लागि टुना भट्टले गरेको कुराकानीको सम्पादित अंश ।

अर्गानिक खेतीको सम्भावना कसरी महसुस गर्नुभयो ?
मुख्यतः यो कार्य सीएसआर (कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी) बाट नै सुरु भयो । सीएसआर मार्फत किसानहरुलाई  कृषिमा आत्मनिर्भर बन्न प्रेरित गर्दै गर्दा कृषिप्रतिको मोह झन् बढेर आयो । झापा जिल्लाका करिब ५० वटा गाउँमा हामीले काम गरेका छौँ ।

नेपालमा क्यान्सर रोगबाट पीडित सबैभन्दा धेरै किसानहरु भएकाले किसानलाई विषदीमुक्त कृषिमा लाग्न प्रेरित स्वरूप काम सुरु भयो । विषादीयुक्त वस्तुहरूको आयात पछिल्लो समय निकै बढेको र यसलाई नरोकी आत्मनिर्भर बन्न नसकिने अवस्था महसुस गरेर नै काम सुरु गरेका छौं ।

नेपाल सरकारले कृषिमा अनुदान भनेर ३० अर्ब छुट्यायो तर त्यो किसानसम्म पुग्न सकेको छैन । अलिअलि पुगे पनि त्यसको असर कहीँकतै देखिँदैन । किसानहरु यति धेरै पीडित छन् कि उनीहरुले राज्यको सानो अंश पनि महसुस गर्न सकेका छैनन् ।

न त कृषिमा सिंचाइको व्यवस्था छ । न त किसानहरुलाई सीप नै सिकाइन्छ । गाउँको यस्तो अवस्था देखेर स्थानीय तहमा गएर मलाई काम गर्न मन लाग्यो । आजसम्म व्यायवसाय गर्दै विताए अब भने देशका लागि केही योगदान गर्नुपर्छ भनेर नै गाउँ झरेको छु । 

यदि देशलाई बनाउने हो भने कृषि प्रधान देशलाई कृषिमा आत्मनिर्भर बनाउन सक्नुपर्छ जस्तो लाग्छ । यसका लागि त किसानहरुलाई अगाडि ल्याउनु पर्यो । उनीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सीपमूलक तालिमका साथै नयाँ नयाँ प्रविधिबारे जानकारी दिनुपर्यो । प्रविधिको पहुँच किसानमा हुनुपर्यो भन्ने हेतुले कृषिमा केन्द्रित भएको छु ।

नेपालीमा कृषि मोह घट्दै गइरहेको अवस्थामा तपाईंले थाल्नुभएको अर्गानिक खेतीको भविष्य कस्तो होला ?
म पनि खेती सुरु गर्दाको केही महिना निराश बनेको थिएँ । किसानहरुलाई अर्गानिक खेतीमा ल्याउन कोशिस गर्दा कसैले विश्वास नै नगर्ने, खेती गर्न नै नचाहने अवस्था थियो । त्यो अवस्थामा परिवर्तन गर्न हामीले ‘डेमो फाम’ बनायौँ । 

किसानहरुलाई अर्गानिक खेती गर्न प्रोत्साहित गर्दै खेती गर्न आह्वान गर्यौँ । उत्पादित सामान हामीले नै लिइदिने गरी काम गर्न लगायौँ । यदि नाफा भएमा तपाईंहरुको भयो भने नोक्सान भएको खण्डमा हामी व्यहोर्ने विश्वास दिलाएर काम सुरु गर्यौँ । 

सुरुमा तरकारी खेती गर्यौँ । अनि दाल, मकै हुँदै धान खेती पनि गर्यौँ । ७० बिघा जति जमिनमा धान खेती गर्न लगायौँ । जब प्रतिफल आउन थाल्यो तब किसानहरुमा विश्वास सुरु भयो । उनीहरुमा साँच्चिकै अर्गानिक खेतीबाट राम्रो प्रतिफल आउने रहेछ भन्ने विश्वास बढ्न थालेको छ ।

मुख्य कुरा किसानलाई बुझाउन यो जरुरी छ कि अर्गानिक खेतीले लागत घटाउँछ । किसानहरुको लागत अहिले धेरै छ । 

उनीहरुलाई अर्गानिक खेती गर्दा लागत कम हुन्छ भन्ने बारे बुझाउन जरुरी छ । जस्तो, अहिले भारत, बङ्गलादेशबाट आउने आलु नै हेरौँ न । बङ्लगादेशबाट दैनिक ३० ट्रक त आलु नै आउँछ । बङ्गलादेश सरकारले किसानलाई एक्स्पोर्ट गर्दा ३० प्रतिशत क्यास इन्टेन्सिभ दिन्छ । 

तर हाम्रो देशका किसानले त्यसलाई पूरा गर्न सक्दैनन् । एक त लागत बढी छ । त्यसका लागि लागत घटाउनुपर्ने हुन्छ । 

अर्को महत्त्वपूर्ण पक्ष के हो भने किसानलाई विषादीको प्रयोगले बिरामी बनाइरहेको छ । विषादीको प्रयोग गरेको २ दिन त उनीहरु खाना खान पनि सक्दैनन् । यसले स्वास्थ्यमा प्रतिकूल असर गरिरहेकामा उनीहरु अनभिज्ञ छन् । यसबारे उनीहरुलाई सचेत गराउन जरुरी छ ।

निरन्तर विषादीको प्रयोग गर्नु र विषादीयुक्त खानेकुरा खाँदा क्यान्सर जस्तो खतरनाक रोगको सिकार धेरै किसान नै बन्न पुगेकोप्रति उनीहरु स्वयम् अनभिज्ञ छन् । जब अर्गानिक खेतीको सुरुवात भयो उनीहरुमा यो समस्या हट्न थालेको छ । अहिले उनीहरुले बुझ्न पनि थालेका छन् । 

हामीले सुरुवात गरेका धेरै गाउँहरु अहिले अर्गानिक खेतीमा सक्रिय रूपमा लागेका छन् । ३ महिना अगाडिबाट हामीले स्ट्रबेरी खेती सुरु गरेका छौँ । स्ट्रबेरी देखेर यसमा धेरै किसानहरु आकर्षित भएका छन् । अर्को वर्षबाट करिब ५ हजार किसानले स्ट्रबेरी खेती गर्ने चाहना देखाएर हामीसँग जोडिन आएका छन् । 

झापा जिल्लाका धेरै किसान अर्गानिक खेतीमा आकर्षित भइसकेका छन् । अन्य जिल्लाका किसानहरुलाई पनि यसरी नै अर्गानिक खेतीमा लाग्न प्रोत्साहित गर्दै जाने र उनीहरुलाई सहयोग गर्दै जाने चाहना हाम्रो छ ।

केही समय पहिले बन्दा २ रूपैयाँमा पनि बिक्री नभएर बारीमै छाडिदिएका समाचार आए । तर हामीले अर्गानिक बन्दा १५ रूपैयाँमा किनिदियौं । हामीले बन्दा रोप्दा तपाईंहरु लगाउनुस्, नाफा दिएर हामी किनिदिन्छौँ भनेका थियौँ । सोही अनुसार हामीले बन्दा किन्यौँ । यो सब हामी किसानहरुलाई अर्गानिक खेतीमा प्रोत्साहित गर्नको लागि गरिरहेका छौँ । हामी अर्गानिक खेतीको भविष्य सुनिश्चित गर्न तल्लिन छौँ पक्कै पनि किसानहरु सफल हुनेछन् ।

किसानलाई आत्मनिर्भर बनाउन तल्लीन छ गोल्यान समूह, अर्गानिक खेतीप्रति किसानको आकर्षण बढाउन  अब के गर्दै हुनुहुन्छ  ?
हाम्रो मोडल के हो भने हामी स्वयं गाउँ अवलोकनमा जान्छौँ । त्यहाँको अवस्था र के गर्दा राम्रो हुन्छ भन्नेबारे अध्ययन गर्छौं । हामीसँग एक एनजीओ (आश्रय नेपाल)ले पनि सहकार्य गरेको छ । यसले किसानलाई तालिम दिन सहयोग गर्दै आएको छ । हामी हरेक गाउँमा कृषिविज्ञ खटाएर चेतनामूलक तालिम सञ्चालन गरिरहेका छौँ । 

प्रत्येक गाउँमा एक जना कृषि विज्ञले जैविक मल तथा जैविक विषादी बनाउन तालिम दिने गरेका छन् । फरक यो पनि छ कि हामीले तालिम दिँदा स्थानीय चीजहरुको प्रयोग गर्छौं । जस्तो, गाई भैंसीको मलमूत्रबाट जैविक मल र विषादी बनाउने ज्ञान दिने गरेका छौँ । यसले गर्दा किसानहरुको केमिकलहरु किन्ने पैसा बच्ने र स्थानीय वस्तुबाटै जैविक मल र विषादी बनाउन सकिनेबारे ज्ञान लिइरहेका छन् ।
जुन ज्ञान हामी किसानलाई दिन्छौँ, त्यसबाट किसानले गाउँमा उपलब्ध साधन स्रोतबाट कृषिमा प्रयोग हुने सबै प्रकारका सामग्री निर्माण गर्न सक्छन् । 

गाउँघरमा हुने गौमूत्र, निम, धतुरोहरुबाट विषादी बनाउने ज्ञान उनीहरुलाई दिएपछि आफ्नै आँगनमा भएका सामानको प्रयोग हुने र अनावश्यक खर्च जोगिने भएकाले किसानहरु उत्साहित छन् ।
गाई भैँसीको गोबर, खरलगायतलाई कुवाएर खद बनाउन सकिन्छ, जसले रासायनिक मलको आवश्यकता नै पर्दैन । यसरी उत्पादन गर्न सकिने मलका कारण रासायनिक मलको खरिद गर्दा सरकार र किसानलाई जुन लागन लाग्ने गर्थो त्यो पूर्णरूपमा घटाउन सकिन्छ । 

खेतीका लागि सिंचाइ नभएका ठाउँमा सिंचाइका व्यवस्था हामी गरिदिन्छौँ । त्यसैगरी उत्पादित वस्तुको निर्यात लागत बेहोर्ने गरी किसानहरुलाई अर्गानिक खेतीमा प्रेरित गर्ने कार्य गरिरहेका छौँ ।

सँगसँगै किसानहरुलाई बीउ बिजन, बिरुवाहरु चाहिएमा पनि उपलब्ध गराउने काम हामी आफै गर्छौं । लगानीका लागि केही खरिद गर्नुपरेमा किसानलाई विनाव्याजको ऋण पनि उपलब्ध गराउने काम गरिरहेका छौँ । 

बीउबिजन अनि बिरुवा कहाँबाट ल्याउनुहुन्छ ?
यो पनि हामी त्यहीँ नै उत्पादन गर्छौं । प्रत्येक गाउँमा एउटा डेमो फाम बनाएका छौँ । जहाँ बिरुवा बनाउने र किसानहरुलाई तालिम दिने काम हुन्छ । 

हाम्रा कर्मचारी त्यही गाउँमै बस्छन्, जसले बीउबिजन उत्पादन गर्ने किसानलाई तालिम दिने काम गर्छन् । स्थानीय साधन स्रोतबाटै काम गरिहेका छौँ ।

किसानले चाहिँ कतिको साथ दिएका छन् ?
यसमा यहाँ बसेर बोल्नुभन्दा पनि त्यहीँ गएर उनीहरुसँग कुरा गर्न सक्नुहुन्छ । किसानहरु यति उत्साहित छन् कि हामीले अनुमान गरेभन्दा माथि छ । अहिले त हामीले खेती गरेको ठाउँ हेर्न आउनेहरुको लाइन नै लाग्ने गरेको छ, जब खेती हेरेर फर्किन्छन् उनीहरु हाम्रो कम्पनीमा आएर हामी पनि यति जमिनमा यस्तो खालको खेती गर्छौं, सहयोग गरिदिनुस् भन्न थालेका छन् ।

यसले हामीलाई झनै उत्साहित बनाएको छ ।
विशेष गरेर स्ट्रबेरी खेतीमा धेरैको आकर्षण बढेको छ । हामीले गरेको स्ट्रबेरी खेती हेर्न आउनेहरु त दिनको एक सयभन्दा धेरै हुन्छन् । उनीहरु पनि यसरी नै खेती गर्ने भनेर हाम्रो कम्पनीमा दर्ता गर्न आउँछन् । अहिलेसम्म ५ हजारभन्दा धेरै किसान हामीसँग जोडिन आएका छन् । यसबाट किसानको उत्साह प्रष्टै छ । 

समूहले अहिले कस्ता कस्ता खेतीलाई बढी प्राथमिकता दिएको छ ?
गाउँतिर विशेष गरेर तरकारी खेती, दाल, मकैमा हामीले जोड दियौँ । अब धान खेती गर्दै छौँ । पहिलो डेमो फाममा मात्र धान खेती गरेका थियौँ भने अब धेरै ठाउँमा धान खेती गर्दै छौँ । 

हाम्रो समूहको २ सय बिघा जमिनमा चाहिँ किसानसँग प्रतिस्पर्धामा आउन सक्ने खालका खेती केही पनि नगर्ने र किसानहरुले आफ्नो जमिनमा गर्नेभन्दा फरक खेतीमा हामी विशेष ध्यान दिएका छौँ । 

किसानहरुलाई सीएसआरको मोडलअनुसार अगाडि ल्याएका कारण उनीहरुको खेतीलाई प्रभाव पार्ने खेती हाम्रो जमिनमा गर्दैनौँ । त्यसैले हाम्रो जमिनमा पूर्णरूपमा फलफूल लगाउने काम गरेका छौँ । 
कागती, आँप, लिची, मेवा, ड्रागन फुड, खरबुजा, तरबुजा, स्ट्रबेरीलगायतका फलफूलमा जोड गरेका छौँ । हाम्रो २ सय बिघालाई मोडल कमर्सियल फाम बनाउँदै छौँ । 

साथै यसलाई इन्टरप्लटिङ गरेर एकै पटक पाँच प्रकारका खेती गर्दैछौँ । यसको रिजल्ट राम्रै आउने आशा गरेका छौँ । अहिले १ नम्बर प्रदेशमा काम गरिरहेका छौँ विस्तारै अन्य प्रदेशमा पनि विस्तार गर्दै लैजाने योजनामा गोल्यान समूह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप