बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

हिलाम्मे र धुलाम्मे चाबहिल–साँखु सडक : २ वर्षमा सक्नुपर्ने काम ४ वर्षमा आधा पनि सकिएन (फोटोफिचर)

बुधबार, २७ चैत २०७५, ११ : ५१
बुधबार, २७ चैत २०७५

काठमाडौं–प्रकाश बराल काठमाडौँको जोरपाटीमा फेन्सी पसल चलाउँछन् । बौद्ध–जोरपाटी सडकखण्ड समयमा कालोपत्रे नहुँदा उनको पसल समेत धुलाम्मे हुने गरेको छ । धुलोले पसलमात्र नभइ घाँटीमा समेत समस्या पार्ने गरेको उनले सुनाए ।

यस्तै अर्का पसल सञ्चालक प्रकाश खनाल पनि सो सडकखण्ड समयमै निर्माण नुहँदा धुलोबाट सास्ती पाएको बताउँछन् । पानी परेको बेला हिलाम्मे र घाम लागेका बेला हिलाम्मे हुने गरेपनि सरकारी निकायले धुलो नियन्त्रणको काम नगरेको उनले गुनासो पोखे । 

शारदा घिमिरे सापकोटाको सोही ठाउँमा इलेक्ट्रोनिक्स पसल छ ।  धुलो धुवाँका कारण व्यापार घटेको र रुघा खोकी जस्ता समस्याले सताइरहने गरेको पनि उनले सुनाइन् ।

उनीहरुजस्तै चाबहिल–साँखु सडकखण्डको दायाँबायाँ घर पसल हुने तथा सडक प्रयोगकर्ताले हरेक दिन सास्ती पाउँदै आएका छन् । 

दुई वर्षभित्र सक्ने गरी २०७२ सालदेखि काम सुरु भएको चाबहिल–साँखु सडक खण्डमा म्याद सकिँदा पनि अझैँ ५० प्रतिशत काम भएको छैन । १ वर्ष म्याद थप गरिएका ठेकेदार कम्पनीलाई पुनः १ वर्षको म्याद थपका लागि सिफारिस गरिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

चाबहिलदेखि साँखुसम्म साढे १२ किलोमिटर सडक २०७२ असोजमा २ वर्षभित्र कालोपत्रे हुनुपर्ने गरी ४ प्याकेजमा ठेक्का सम्झौता भएको थियो । २२ मिटर चौडाइमा सडक बनाउने योजना थियो । जिएलडी मापदण्ड अनुसार मापदण्डमा परेका घर भत्काउने र सडक बनाउने योजना थियो । सडकको बीच भागबाट दुबैतर्फ एघार एघार मिटर हुने गरी सडक बनाउने मापदण्ड तय गरिएपनि घर धनीहरुको अवरोधका कारण योजना कार्यान्वयन हुन सकेको छैन ।  

सो मापदण्ड अन्तर्गत घर परेमा घरको मुआब्जा दिने र घर भत्काउने काम काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको थियो ।

 सडक निर्माणको काम सडक विस्तार परियोजनाले गरेको थियो । सो सडक विस्तार आयोजनाभित्र परेका कतिपय घरधनीहरुले घर तथा जग्गा दुबैको मुआब्जा माग्दै अदालतमा मुद्धा दायर गरेपछि अदालतले घरधनीको पक्षमा फैसला गरेपछि प्राधिकरणले ती घरहरु भत्काउन सकेको छ्रैन । घरको मात्र मुआब्जा दिने कार्यक्रम भएकाले जग्गाको दिन नसक्ने भएपछि घर भत्काउन नसकिएको श्रेष्ठले बताए । 

जग्गाको समेत मुआब्जा दिनु भनेर आदेश आएपनि सरकारले त्यसका लागि बजेट नछुट्याएका कारण समस्या परेको हो । ७२ सालमा ठेक्का लगाएको सडक २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भएपनि २ वर्ष बढी समय गुजार्दा पनि सडक विस्तार तथा कालोपत्रे हुन सकेको छैन । 

घर भत्काउन नसकेपछि बिजुलीका पोलहरु सार्न नसकेको, ढलहरु बनाउन नसक्ने अवस्था आएको र खानेपानीका लाइन पनि सार्न नसकेका कारण काममा ढिलाई भएको बताइएको छ ।

सडक विस्तारका लागि काम सुरु गरेको लामो समयसम्म पनि कामले गति लिन नसक्दा सो सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । 

गत साउन १० गते बसेको मन्त्रिपरिषदको बैठकले तत्कालका लागि जे–जे गर्न सकिन्छ, त्यही गरेर सडक संरचनामा कालोपत्रे गर्न निर्देशन दिएको थियो । मन्त्रीपरिषदको निर्णयका आधारमा यो आर्थिक वर्षमा सडक कालोपत्रे गर्ने योजना राखेपनि अझैं कालोपत्रेको काम सुरु हुन सकेको छैन । 

सडक विस्तार आयोजनाले चैतमा पानी परेको कारण देखाउँदै सडक कालोपत्रे हुन नसकेको दावी गरेको छ । अर्कोतर्फ गतवर्ष सडकको संंरचना निर्माणमा निकै कम प्रगति भएका कारण पनि कालोपत्रे गर्न नसकेको बताइएको छ । 

इन्जिनियर श्रेष्ठले भने, ‘चैतमा पानी नपरेको भए बौद्ध र जोरपाटीमा कालोपत्रे गर्ने लक्ष्य थियो, जोरपाटीमा पनि बेसहरु ओछ्याएर कालोपत्रे गर्न तयार भएर बसेका थियौँ । पटक–पटकको पानीले गर्दा कालोपत्रे गर्न सकिएको छैन ।’ 

बौद्ध क्षेत्रमा पनि कालोपत्रेका लागि बेस ओछ्याउने काम भरहेको छ । थली डाँछीको बीचमा कालोपत्रेका लागि बेस तयार गरेको उनले बताए । दक्षिणकालीका केही ठाउँमा बेसमेन्ट वाल उठाएको ठाँउमा फेरि जग्गाको पनि मुआब्जा मागेर अदालतमा मुद्धा दायर गरेपछि ती क्षेत्रमा पनि कालोपत्रे गर्न नसकेको उनले बताए । 

दिउँसोको समयमा निर्माण सामग्री ढुवानी गर्न नदिएका कारण पनि समस्या भएको उनले बताए । झण्डै १३ किलोमिटर सो सडकखण्डमा हालसम्म ५० प्रतिशत हाराहारी काम भएको उनको भनाई छ  । 

डिजाइन विपरित कालोपत्रे 
सुरुमा चाबहिल–साँखु सडकखण्डको डिजाइन गर्दा २२ मिटर चौडाइ भएपनि सो मापदण्ड पूरा गर्न नसकेपछि अन्धाधुन्ध कालोपत्रे गरिन लागिएको छ । घर तथा व्यक्तिको जग्गा परेको ठाउँमा साँघुरो सडक हुनेछ भने मुआब्जाममा कुरा मिलेको ठाउँमा फराकिलो सडक हुने भएको हो । भत्काउनु पर्ने ठाउँको घर नभत्काउदा ढल निकासको बाटो पनि तय नहुने भएको छ । 

बौद्ध जोरपाटी सडक खण्डमै झण्डै ५० वटा घर भत्काउँन बाँकी रहेको छ । कसैले स्वतस्फूर्त रुपमा घर भत्काएका छन् भने कतिपयले मुद्दामामिला गरेर घर नभत्काएपछि सडक विस्तारमा अवरोध पुगेको हो । सबै घर एउटै लाइनमा भत्काएपछि मात्र डिजाइनमा काम गर्न सकिने नत्र केही घर भत्काएको ठाउँमा सडक विस्तार गर्न नसकिने श्रेष्ठले बताए । 

यस्तै दक्षिणढोका क्षेत्रका सडक मापदण्डभित्र परेका अधिकांश घर भत्काउँन बाँकी रहेको छ । मुलपानी क्षेत्रका केही घर भत्काएपनि केही घर भत्काउँन बाँकी नै छ । घर भत्काएर सडक बनाउन दिएपनि पछि फेरि जग्गाको पनि मुआब्जाका लागि अदालतमा मुद्दा हालेर काम गर्न नदिएको उनले बताए । 

यस्तै थली बजारका दुई चार वटा घर भत्काएपनि अधिकांश घरहरु भत्काउन बाँकी रहेको छ । यस्तै डाँछीका पनि अधिकांश घर भत्किएका छैनन् । इन्द्रायणीमा घरको समस्या नभएपनि खुलालटारमा पनि घर नभत्काएका कारण समस्या रहेको छ । सडक मापदण्डमा परेका ५० प्रतिशत घर भत्काउँन बाँकी रहेको छ । 

सडकको मापदण्डभित्रका घर नभत्किँदा सडकमा ढलको व्यवस्थापन गर्न समस्या परेको छ । घरहरु नभत्केका कारण विद्युत पोल सार्न पनि समस्या रहेको छ । जसले गर्दा सडक पेटी बनाउन समस्या छ । खुलालटारमा ह्युम पाइपको आउटलेटसम्म पुग्न समस्या भएको उनको भनाइ छ । 

घर भत्काउने ध्यान छैन, जति सकिन्छ त्यति गर्ने  
२०७४ साल असोज २ गते अदालतले फैसला गरेपछि घर भत्काउने काम रोकिएको छ । अदालतले जग्गाको समेत मुआब्जा दिनु भनेपछि जग्गाको मुआब्जाको लागि रेकर्ड नराखेको, जग्गाको मूल्य निर्धारण गर्दा जग्गाधनीसँग पनि छलफल गर्नु भनेकाले त्यसका लागि फेरि समय लाग्ने भएकाले तत्कालका लागि उपलब्ध भएका ठाँउमा कालोपत्रे गर्ने निर्णय भएपछि कालोपत्रे थालिन लागेको हो ।

 

इन्जिनियर श्रेष्ठले भने, ‘अहिले हामी घर भत्काउने जोड बलमा छैनौँ, जति सकिन्छ त्यतिमै कालोपत्रे गर्ने योजनामा छौं’ उनले भने , ‘२२ मिटर ठाउँ छ भने हाम्रो डिजाइन अनुसार २२ मिटर काम गरेका छौँ, छैन भने जति उपलब्ध छ त्यतिमै काम गरिरहेका छौँ ।’

५ खण्डमा विभाजन गरेर सडकको काम भइरहेको सो सडक खण्डका लागि १ अर्ब ७० करोडको बजेट विनियोजन भएकोमा अहिलेसम्म ९० करोड खर्च भएको छ । बैशाख र जेठमा धेरै भागमा कालोपत्रेको काम सक्ने उनको भनाइ छ । निर्धारित समयमा झन्डै १३ किलोमिटर सडक खण्ड निर्माणमा ढिलाइ हुन पुगिरहेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप