शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै बुद्ध एयर

आइतबार, २४ चैत २०७५, १२ : २७
आइतबार, २४ चैत २०७५

काठमाडौं–आन्तरिक उडानमा निजी क्षेत्रका विमान कम्पनीमध्येमा बलियो पकड बनाउँदै आएको बुद्ध एयरले आफ्ना उडानका क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विस्तार गर्ने आक्रामक रणनीतिमा लागिपरेको छ । 
नेपालको आन्तरिक उडानको अग्रणी वायु सेवा कम्पनी हो बुद्ध एयर । निजी विमान सेवा कम्पनीमध्ये सबैभन्दा लामो समय नेपाली आकासमा उडान भर्न सफल छ बुद्ध । राष्ट्रिय स्तरको उडानबाट सुरु भएको बुद्धको उडान यात्रा अन्तर्राष्ट्रिय रूपमा फैलिँदै गएको छ ।

बुद्धले नेपालबाहेक भारत र भुटानमा पनि उडान भर्ने गरेको छ । भारतमा रेगुलर उडान गरेको बुद्धले भुटानलगायतका देशमा भने चार्टर उडान गर्नेगरेको छ । भविष्यमा चीनका सहरमा पनि आफ्नो उडान विस्तार गर्ने योजनामा छ बुद्ध ।

बुद्ध एयरले १९९७ बाट आफ्नो उडान सुरु गरेको बुद्ध एक विश्वाशिलो विमान कम्पनीको रूपमा स्थापित भएको छ । सुरक्षित र विश्वाशिलो सेवाकै कारण नेपालमा सबैभन्दा लोकप्रिय विमान कम्पनीमा पर्छ बुद्ध एयर ।

निजी क्षेत्रको ठूलो वायुसेवा कम्पनी बुद्ध एयर क्षमता विस्तारमा आक्रामक रूपले प्रस्तुत भएको छ । हाल बुद्धसँग १२ वटा साना ठूला विमान रहेका छन् । भविष्यमा आवश्यकताअनुसार विमान थप्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा आफ्नो उपस्थितिलाई बलियो बनाउने तयारीमा जुटेको छ ।

अन्तर्राष्ट्रिय उडानमा बुद्ध
बुद्धले एयरले अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स प्राप्त गरी काठमाडौँबाट भारत उडान गरिरहेको छ । 

विगत ६ वर्षदेखि भारतको बनारसमा उडान भर्दै आएको बुद्धले निकट भविष्यमा भारतकै कोलकातामा पनि उडान भर्दै छ । हाल बुद्धले हप्ताको दुई दिन सोमबार र शुक्रबार बनारसका लागि उडान गर्दै आएको छ ।

बुद्धले नयाँ वर्ष २०७६ वैशाखबाट कोलकता उडान सुचारु गर्ने भने पनि त्यही समयमा भारतमा लोकसभाको निर्वाचन हुने भएकाले केही पर सारेको छ । 

कम्पनीले २०७६ जेठ १३ गतेबाट कोलकताका लागि हप्ताको ३ वटा उडान भर्ने बुद्ध एयरका मार्केटिङ सेल्सका डाइरेक्टर रूपेश जोशीले बताए । 

बुद्धले भारतकै पटनामा पनि उडानका लागि प्रारम्भिक अध्ययन सुरु गरिसकेको छ । छिटै नै पटनाका यात्रु पनि बुद्धको जहाजबाट ओहोर दोहोर गर्न सक्ने जोशीले बताए ।

बुद्ध एयरले आगामी तीन वर्षपछि आफ्ना उडानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य यसअघि नै सार्वजनिक गरेको थियो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारीमा बुद्ध एयर छ । बुद्धले भारत र चीनका सहरमा उडान गर्ने योजना अगाडि सारेको हो ।

एयरलाइन्सका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अन्तर्राष्ट्रिय उडानलाई पब्लिकका रूपमा लैजाने योजना अघि सारिसकेका छन् । बुद्ध एयरले अहिले प्राइभेट कम्पनीका रूपमा रहेर आन्तरिक र क्षेत्रीय उडान भरिरहे पनि पोखरा विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय उडानलाई तीव्रता दिनेछ ।

पर्यटकलाई केन्द्रित गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न खोजेको बुद्धले जनाएको छ ।  अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले ३० प्रतिशत सेयर राख्ने पनि बताएको छ । 

बुद्ध एयरले नेपालगञ्जबाट नयाँ दिल्ली उडान गर्ने योजनासमेत बनाएको छ । पहिलो पटक १९०० डी जहाजमार्फत उडान सुरु गरेको बुद्ध एयरले आन्तरिक उडानसँगै बाह्य उडानलाई पनि उत्तिकै प्राथमिकता दिएको छ ।

पर्यटन प्रवर्द्धनमा बुद्ध एयर
नेपालको हवाइ इतिहासमा भिन्न छाप बनाएको बुद्धले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको कहीँ कतै छिपेको छैन । सँगसँगै बुद्धले बाह्य पर्यटकलाई पनि नेपालप्रति आकर्षित गर्न विभिन्न कार्य गर्दै आएको छ ।

नेपालमा पर्यटनको थुप्रै सम्भावना भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा एयरलाइन्सहरुको भूमिका महत्त्वपूर्ण रहन्छ । अन्तर्राष्ट्रिय उडानलाई विस्तार गर्दै गरेको बुद्धले पर्यटक भित्र्याउनमा टेवा पुगोस् भनेर विभिन्न कार्यक्रमनै सञ्चालन गरेको छ ।

बुद्धले भारतमा उडान सञ्चालन गर्नुको मुख्य उद्देश्य भारतीय पर्यटकलाई नेपाल भित्र्याउनु भएको बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले बताए । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पर्यटकलाई भारतको बाटो नेपाल आउने वातावरण सिर्जना गरेको बुद्धले बताएको छ ।

बुद्धले नेपाल टुरिजम बोर्डको ‘नेपाल भ्रमण वर्ष २०२०’ लोगोको प्रयोग गरी प्रचार प्रसार पनि गरिरहेको छ । 

भारतबाहेक अन्य देशबाट नेपाल घुम्न आउने पर्यटकहरु भारतको बाटो हुँदै आउँनेको सङ्ख्या धेरै नै छ । भारतको बाटो हुँदै आउने पर्यटकलाई नेपालसम्म आउन सहज बनाउने काममा एयरलाइन्सहरुको भूमिका अहम् हुन्छ ।

भारतीय तथा नेपाली यात्रुका लागि हवाइ टिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरिएको बुद्ध एयरका कर्णले बताए ।

बुद्धले हाल भारतका मुख्य मुख्य सहरमा नेपालबारे जानकारी दिन प्रचार प्रसारलाई तीव्रता दिएको कर्णले बताए । नेपालका पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारीमूलक भिडियोहरु देखाउने कामलाई तीव्रता दिएको छ ।
नेपालमा धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि गर्न सकिने सम्भावना ज्यादा भएकाले पनि धार्मिक पर्यटनमा पनि बुद्धले उत्तिकै जोड दिएको कर्ण बताउँछन् ।

बुद्धले उडान भर्दै आएको वनारस तथा भविष्यमा उडान सुरु गर्न लागेको कोलकतामा नेपालका प्रख्यात मठ मन्दिर तथा पर्यटकीय क्षेत्रको बारेमा प्रचार सामग्री तथा डकुमेन्ट्रीहरु प्रसारण गरिरहेको छ । बुद्धले

त्यहाँका स्थानीय सञ्चार माध्यम तथा विभिन्न डिजिटल माध्यमहरुको प्रयोग गरी प्रचार प्रसार गरिरहेको कर्ण बताउँछन् ।

नेपालप्रति आकर्षण बढाउनका लागि बुद्धले आफ्नो टुर प्याकेजहरुसँगै विभिन्न छुटका योजनाहरू पनि सार्वजनिक गर्ने गरेको छ ।

नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने पर्यटकमा धार्मिक पर्यटकको सङ्ख्या धेरै भएकाले बुद्धले विभिन्न धार्मिक स्थलहरु समेटेर प्याकेज बनाएको छ । योसँगै विभिन्न होलिडे प्याकेजहरु पनि सञ्चालन गर्दै आएको बुद्ध होलिडेजले बताएको छ । 

धार्मिकबाहेक नेपालका हिम शृङ्खलाहरुको भ्रमण गर्न चाहनेहरुका लागि ट्रेकिङ प्याकेज त्यसैगरी र्याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ लगायतका लागि पनि विभिन्न प्याकेज लिएर अन्तर्राष्ट्रिय स्तरमा गएको बुद्ध एयर बताउँछ ।

कोलकता उडानको तयारीमा रहेको बुद्धले बङ्गाली पर्यटकलाई नेपालप्रति आकर्षित गराउनका लागि नेपालका विभिन्न शक्तिपीठहरुको बारेमा प्रचार प्रसार गर्दै आएको छ । 

बङ्गालीहरु दैवीशक्तिमा बढी विश्वास गर्ने भएकाले नेपालका विभिन्न देवीका मन्दिरहरुको बारेमा जानकारी दिने र प्याकेज नै बनाएर उनीहरुलाई नेपाल घुम्न प्रेरित गर्ने काम गरिरहेको छ ।

नेपालबाट भारत जाने पर्यटकको सङ्ख्या पनि धेरै छ । रोडको बाटो लामो र निकै कष्टकर हुने भएकाले पर्यटकहरुले हवाई रुट नै बढी रोज्ने बुद्ध एयर बताउँछ । 

रात्रि सेवामा बुद्ध

काठमाडौँ बाहेकका विमानस्थलमा रात्रिकालीन उडान हुन नसकेको नेपालमा केही समयअघिबाट बुद्धले रात्रिकालीन उडान सुरु गरेको छ । नेपालगन्ज, विराटनगर, धनगढी, भद्रपुर, भैरहवा लगायतका स्थानमा रात्रि उडान सञ्चालन भइरहेका छन् भने जनकपुर र भरतपुरमा पनि सुरु गर्ने तयारीमा कम्पनी रहेको छ । 

भद्रपुर र धनगढीमा रात्रिकालीन उडानका लागि बुद्ध एयर आफैले सक्रियता देखाएको हो । एरिया नाभिगेसनको सहायताले लो भिजिबिलिटी र जडान गरिएको रनवे लाइटले अब रात्रिको समयमा पनि सुरक्षित तरिकाले उडान गर्न सकिएको बुद्ध एयरले बताएको छ ।

लो भिजिबिलिटी र सूर्यास्तपश्चात उडान रद्द गर्नुपर्ने बाध्यता अब यी क्षेत्रमा छैनन्, बुद्धका मार्केटिङ सेल्सका डाइरेक्टर रूपेश जोशी भन्छन्, ‘खराब मौसम र लो भिजिबिलिटीका कारण उडानहरु रद्द गर्नुपर्ने बाध्यता थियो । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनएभी प्रविधि जडान गरे पनि रात्रिकालीन उडानका लागि आवश्यक रनवे लाइटहरु जडान भएका थिएनन्, अहिले त्यो समस्या हटेको छ । आवश्यक पूर्वाधारहरु जडान गरिसकेकाले अहिले रात्रिकालीन उडान सञ्चालन भइरहेका छन् ।’ 

जहाज बढाउँदै बुद्ध

बुद्धका साना ठूला गरी १२ वटा जहाज सञ्चालनमा छन् । बुद्धसँग ७२ सिटका एटीआर विमान ७ वटा, ४७ सिटका ३ वटा र १८ सिटका २ वटा जहाज सञ्चालनमा छन् । 

कम्पनीसँग ७ वटा एटीआर ७२–५००, ३ वटा एटीआर ४२–३२० र २ वटा विचक्राफ्ट १९००डी रहेका छन् । बुद्ध एयरले आगामी जेठ १३ बाट एटीआर ७२–५०० बाट भारतको कोलकोता उडान भर्ने तयारी गरेको छ । 

हाल राष्ट्रियस्तरमा बुद्धले काठमाडौँबाट पोखरा, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगन्ज, लम्लिङटार, सिमरा, सुखेतमा उडान भर्दै आएको छ । त्यसैगरी कम्पनीले काठमाडौँबाट एभरेस्ट एक्स्पेरियन्स, पोखरा माउन्टेन फ्लाइट (एक्स्पेरियन्स अन्नपूर्ण)को उडान पनि गर्दै आएको छ । बुद्धले हरेक दिन ६० वटा जति उडान भर्ने गरेको छ । 

बुद्धले आगामी दिनमा यात्रुको चापलाई ख्याल गरेर उडान सेवालाई अझ चुस्त र गुणस्तरीय बनाउँदै लैजाने बताएको छ । भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि क्षमता अभिवृद्धि गर्दै उडान सङ्ख्या थप्ने र जहाजहरु पनि थप्दै लैजाने योजना बुद्धले अगाडि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप