केन्द्रीय संस्करण

व्यङ्ग्य : जुलुसको जय होस

person explore access_timeचैत २३, २०७५ chat_bubble_outline0

माधव पोखरेल ‘गोज्याङ्ग्रे’

जुलुसको जय होस्, जुलुसको जय होस् । मुलुकको क्षय होस्, मुलुकको क्षय होस् । जिन्दावाद, मुर्दावाद !

नारा अचम्मको छ । मुलुकले बसालेको थिति र बसाल्ने प्रयासका लागि गरेको पहलको विरोधमा यी नारा जुलुसहरुको उद्देश्य स्वार्थमा निहीत हुन्छ भन्दा परक पर्दैन । राज्यले बनाएका नियम कानुन पालना गर्नु प्रत्येक सचेत नागरिकको उल्टो कर्तव्य हो । तर ती अचेत भनाउँदाहरु सचेत बनेर मुलुकलाई अँध्यारो र गहिरो खाल्डोमा जाक्न जुलुसको प्रयोग गर्छन्, मुलुकलाई घात गर्छन्, क्षय पुर्याउँछन् । 

मुलुकमा दिनहुँजसो नारा जुलुस र प्रदर्शनहरु भई रहन्छन् । अधिकार माग्ने निहुँमा राज्यसँग नै निहुँ खोज्ने प्रवृत्ति र अपराध लुकाउन गरिने प्रदर्शनले मुलुक आक्रान्त भएको छ । जिन्दावाद पनि छ, मूर्दावाद पनि छ । जिउँदोलाई मूर्दा बनाएर वादवादको प्रतिवाद गरेको हो वा मरेको मूर्दालाई नै मूर्दा बनाएर जिउँदो बनाउन खोजिएको हो । वा जिउँदा मान्छेहरुको उपहास गरिएको हो, त्यो प्रदर्शनकारीहरुको जवाफमा पर्दैन र त्यसको जवाफ दिने प्रयास पनि गरेका छैनन् अहिलेसम्म । 

जुलुस साना केटाकेटीदेखि वृद्धसम्मले निकाल्छन् । केटाकेटीको जुलुस देखासिकी हो भने वृद्धहरुको जुलुस नाटक पनि हो । हामी कति शक्तिशाली छौँ भनेर राज्यका निकायहरुलाई देखाउन वा तर्साएर लाभ लिनका लागि पनि यस्ता घातक र अनुत्पादक अनि राज्य दोहनका लागि गरिएको वा भनौ कानुनको खिल्ली उडाउनका लागि रचिएको एउटा दृश्यात्मक प्रपञ्च हो । यसले नागरिक समाजका विभिन्न वर्ग र समुदायलाई पीडा दिइरहेको  हुन्छ । 

उदाहरणमा हालै लागू भएको देवानी तथा फौजदारी संहिताका विषयलाई लिन सकिन्छ । अत्यावश्यक सेवा प्रदायक संस्था स्वास्थ्य क्षेत्रका प्रबुद्ध डाक्टर भनाउँदाहरुको व्यहोरा हेरौँ वा कानुन व्यवसायीहरुको होस् वा पत्रकारहरुको जुलस वा धर्ना होस् यसमा आफू खुशीको कानुनको व्याखा गर्ने संस्कार प्रवृत्ति हावी भएको छ । अनि सुरु गरेका छन् नारा जुलुसतन्त्रको प्रादुर्भाव र गणतन्त्रलाई निरीह र विचरो बनाइएको छ ।

राजनीतिको सिकारुले उब्जाएको यो संस्कारको अन्त्य नभएसम्म हामी उँभो लाग्न सक्दैनौँ । जब हामी राज्यले बनाएका कानुनहरुको पालना गर्न सक्दैनौँ र आफू पनि इमानदारिता र अनुशासनमा बस्दैनौँ भने अरूलाई अनुशासन र इमानदारिताका कुरा सिकाउनु नै हाम्रो अज्ञानता र अहमता हो । यही अहमताले हामी बिग्रिएका हौँ भन्ने कुरा हामीले बिर्सैका छौँ । जसले अनुशासनका कुरा गर्छन अरूलाई सिकाउँछन्, उही नै अनुशासनहीन भएको देखिन्छ । भनौँ शासनमा घुशासन चल्यो भने त्यहाँको प्रशासनले अनुशासनलाई धोतीभित्रको लगौँटी बनाउँछ । त्यही भएको छ नेपालमा जसका कारण जुलुसको जयहोस भन्नेहरु बढेका हुन् भन्दा फरक पर्दैन ।

खुट्टामा लाउने औषधि नाकको बिरामीलाई दिन पाउनुपर्छ । हत्याका अभियुक्त, आरोपीहरुलाई कानुनी कार्यवाही गर्न पाइन्न, उसले मनपरी गर्न पाउनुपर्छ । दोषीहरुले उन्मुक्ति पाउनुपर्छ । दोषीहरुलाई पक्राउ गर्नु न्यायिक कुरा होइन ।  बिनापक्राउपुर्जी वा बिनाअपराध पुलिसले निर्दोष नाागरिक पक्राउ गर्न र बिनाप्रमाण कारबाही गर्न पाउनुपर्छ । त्यसैका लागि जुलुस निकालिन्छ नाराबाजी गरिन्छ । यो मनपरीतन्त्रको सदुपयोग गर्न पाउनुपर्छ । हाम्रो माग पूरा हुनुपर्छ । माग पूरा नभए सडक सदन मुना मदन सबै बन्द गर्छौं र गर्न पाउनुपर्छ । कानुनको अपव्याखा गर्न पाउनु पर्छ । कानुनका ज्ञाताहरुले समेत सडकमा कानुनका ठेलीहरु मिल्काएर जुलुस निकालेर प्रदर्शन गरेका छन् भने गैरकानुनी क्षेत्रका मानिसले कानुन नै नबुझी जुलुस निकालेका छन् । जुन कुरा अज्ञानताले भन्दा पनि मूर्खतामा बढी भर पर्छ । मूर्खहरुको जमातले जुनसुकै बेला जहाँ जे पनि गर्न सक्ने भएकाले माध्यमका रूपमा जुलुसलाई प्रयोग गरेर अकल्पनीय कामहरु वा विध्वंशात्मक काम भएको हामीले देखेका छौँ । कतिपयका लागि जुलुसले औषधिको काम गरेको छ भने कतिपयका लागि विषको पनि । 

जुलुस उडुस, उपियाँ, झिँगा, कमिला, जुम्रा, मच्छर, भुसुना, किरा, फट्याङ्ग्रा, चराचुरुङ्गी, जनावर वा जेसुकैको होस्, त्यसले आफ्नो स्वार्थका लागि तानाबाना बुनेर जमातलाई परिचालन गरेको हुन्छ । मानिसको जुलुस भन्दा कमिलाको जुलुस हाम्रा लागि शिक्षाप्रद हुन्छ । मानिसको जुलुस मानिसकै लागि घातक सिद्ध भएको कैयाँै प्रमाणहरु हामीले देखेका छौँ, भोगेका छौँ । जुलुस भन्ने बितिकै कुनै विद्रोहीले आफ्नो शक्ति देखाउनका लागि समाजमा गरेको एउटा विद्रोह हो भन्ने गरिन्छ ।

जुलुस विद्रोहको प्रतीक हो भने यसले समाजलाई चेतनाको दियो बालेर उज्यालोतिर लैजाने काम पनि गरेको हुन्छ । तर समाजको अहितमा यसले बढी भूमिका निर्वाह गरेको हुन्छ । यी सबैखाले जुलुसले मुलुकको हितमा भन्दा बढी अहितमा काम गरिरहेका हुन्छ । जुलुस समयको माग र चेतना फैलाउने माध्यम पनि हो । तर जुलुस उपलब्धिपूर्ण र सार्थक हुनु पर्छ । औचित्यहीन जुलुसले समाजमा नकारात्मक सन्देस जान्छ र त्यसको असर नराम्रो पर्दछ ।
  

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...