शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आँधी प्रभावित बस्तीमा ३ दिन :

कतै सेल्फी, कतै रुवाबासी !

शुक्रबार, २२ चैत २०७५, १० : २९
शुक्रबार, २२ चैत २०७५

बिदामा थिएँ, अचानक टेलिफोनको घण्टी बज्यो, ‘तिमी तत्काल बारा जानुपर्ने भयो, त्यहाँ आँधीका कारण २७ जनाको मृत्यु भएको छ ।’

हतार हतार आवश्यक तयारी गरेर सोही दिन अर्थात् सोमबार (चैत्र १८) हामी बाराको लागि प्रस्थान गर्दा मध्यान्हको २ बजिसकेको थियो । अग्रज पत्रकार लोकान्तर डटकमका सम्पादक विमल गौतम, रातोपाटीका वरिष्ठ सम्वाददाता राजेश भण्डारीसहित हामी पाँच जना बल्खुबाट हेटौँडातर्फ लाग्यौँ ।

साँझ बाराको फेटा गाउँपालिका–१ भलुही पुग्दा करिब साडे ९ बजिसकेको थियो । फोटो पत्रकारिता सुरु गरेपछि ‘बारा विपत्ति’को दृश्य कैद गर्नु मेरा लागि विल्कुलै नयाँ कदम थियो । आँधी तुफानले क्षतविछत बनाएको र तराईवासी नेपाली दाजुभाइहरुको जीवनलाई अस्तव्यस्त बनाएको त्यहाँको दृश्यले मनै कुँडियो । मलाई त्यस्तो पीडाको फोटो खिच्दा मनमा कस्तो–कस्तो हुन्छ, असह्य लाग्छ ।

भलुहीका सबै घर भत्किएका थिए, स्थानीयहरु एकै ठाउँमा खाना पकाएर खाँदै थिए । कतिपय स्थानीयहरु आफ्नै ढलेको घर छेउमा सामान्य बिछ्यौना ओछ्याएर पल्टिन खोज्दै थिए तर सुत्न सक्ने, निदाउने वातावरण थिएन ।

मैले त्यहाँ एक वृद्धले एक अबोध बालिकालाई च्यापेर हिँडेको देखेँ । फोटो खिचेँ अनि नाम सोधँे, ‘राम सुरत दास ।’ उनले आफ्नो नाम बताए ।

राम सुरत दासले भोग्नुपरेको पीडा यस्तो कारुणिक छ, त्यो सुन्दा जोकसैको छाती पटक–पटक भक्कानिन्छ । संक्षेपमा मात्रै भनौं, उनका आफ्नी जीवन–सङ्गीनी मोतिश्वरादेवी दास र रिना दास विनाशकारी हुरीका कारण घरभित्रै पुरिएका थिए ।

‘यही ठाउँ हो’, आफ्नो भग्नावशेष देखाउँदै उनले भने, ‘श्रीमती र बुहारी दुवैले छाडेर गए, ९ महिने नातिनी छिन् ।’

श्रीमती र बुहारीको मृत्युको पीडा एकातिर छ, अर्कोतिर ९ महिने अबोध बालिकालाई फकाई फुल्याई पार्ने र उनको हेरविचार गर्नुपर्ने बोझ अनि पीडाले पिल्सिएका थिए उनी ।

आँखाभरी आँसु पारेर भन्दै थिए, ‘निष्ठुरी दैवले मेरो घर उजाड बनाएर गयो ।’

आँधीको पीडालाई विस्तारै मल्हम पट्टी गर्न खोज्दै गरेका स्थानीयको रात्रि जीवनशैली कैद गरेपछि हामी वीरगन्ज फर्कियौँ । आँधीले ताण्डव मच्चाएर खण्डहरजस्तै बनाएको भलुही र पर्सा वीरगन्जबाट नजिकै पर्छ । हामी बास खोज्दै वीरगन्ज पुग्दा करिब १२ बजिसकेको थियो ।

१९ गते मङ्गलबार हामी बिहानै उठेर अघिल्लो बेलुका गएकै ठाउँमा पुग्यौँ । त्यहाँ राहत वितरणका लागि पोखरा लामाचौरबाट लायन्स क्लबका सदस्यहरु पुगेका थिए । राहत वितरण अव्यवस्थित थियो ।

अघिल्लो रात स्थानीय नरेश दासले भनेका थिए, ‘मलाई छानो चाहियो ।’

अग्रज पत्रकार विमल गौतमले नरेश दासको भग्नावशेषमा पुगेर उनलाई वीरगन्जबाट लगेको त्रिपाल हस्तान्तरण गरे । पीडाको त्यो असीम क्षणमा पनि नरेश दासको मुहारमा आशा र भरोसासहितको मिठो मुस्कान छायो, मैले पीडाको त्यस्तो असीम वेदनाबीच पनि मुस्कुराउन सकेका उनको तस्बिर क्यामरामा कैद गरेँ ।

फेटा गाउँपालिका–२ भरवलिया पुग्दा मान्छेको भीड थामिनक्नु भइसकेको थियो । समूह–समूह विभाजन गरेर स्थानीयहरु मेस चलाउँदै थिए । मृतकका परिवारको आँखामा आँशु थामिएको थिएन । आँधीका कारण ६ वर्षीय छोरा नन्दलाल पटेलको मृत्यु भएपछि आमा मिनादेवी र हजुरआमा कौशिलादेवी डाको छोडेर रोइरहेका थिए । उनीहरु आँखाबाट बगेको आँशुको दृश्य कैद गर्दै गर्दा मेरो मन कुँडियो ।

आफ्नो क्यामरामा अचानक बज्रेको प्रकृतिको ताण्डवले सिर्जना गरेका पीडा र दुःखका कथाहरु तस्बिरमा कैद गर्दै रहेँ । हामी फेटा–३ पुरैनिया पुग्यौं । त्यहाँ भीआईपीहरुको ताँती, अनि उनीहरुको नजिक पुग्न खोज्ने र सेल्फी लिन खोज्नेको भीड देख्दा यस्तो लाग्यो, ‘सबै रमिता हेर्न आएका हुन् ।’

सुरक्षकर्मीको लावालस्कर लिएर काँग्रेस सभापति शेरबहादुर देउवा, राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, २ नम्बर प्रदेशका सभामुख सरोज यादव र माओवादी अध्यक्ष प्रचण्ड लगायतका भीआईपीहरुको लर्को नै लागेको थियो ।

त्यहाँ पुगेको अधिकांश भीभीआइपीहरु मौखिक आश्वासनका पोका मात्रै बोकेर करिब करिब रित्तोहात गएका थिए । प्रभावित बस्तीमा शौचालय थिएन, खाने बस्ने समस्याबारे कसैको चासो थिएन । सबै भीआईपी पूर्व राजा ज्ञानेन्द्रको शैलीलाई नै स्मरण गराउने र माथ  गर्ने गरी ‘बुझेँ, बुझेँ’ भन्थे अनि फर्कन्थे ।

अन्य जिल्लाबाट रमिता हेर्न आएकाहरु सहायताका हातहरु अघि बढाउनुभन्दा पनि बढी सेल्फी खिचिरहेका थिए । कर्तव्य र जिम्मेवारीले फोटो खिच्नुपर्ने पेशागत बाध्यताका कारण तस्बिर खिचिरहेको मेरो मन अमिलो भएर कुँडियो र आफैंलाई प्रश्न गरें, ‘पीडाको यस्तो क्षणमा सहयताको हात सक्दो बढाउनुको साटो उल्टै पर्वोत्सवहरुमा जस्तै मख्ख परेर सेल्फी खिच्न कसरी सकेका होलान् ? कति असहिष्णु बन्दैछ नेपाली समाज ?’

साँझ हामी वीरगन्ज फर्कियौं ।

फागुन २० गते बुधबार । एउटा सूचना आयो– ‘प्रसौनी गाउँपालिकाको खुटुवा भन्ने ठाउँमा ३ सय घर ढलेको छ तर राहतको नाममा केही पाएका छैनन् ।’

हामी बिहानै त्यहाँ पुग्यौँ । त्यहाँको अवस्था पनि त्यस्तै दयनीय थियो – जताततै भत्केका घर, उखालिएका रुखहरु, राहतको पर्र्खाइमा अधिर पीडितजनहरु १ दुःखी मनका साथ आँधीले खण्डहर बनाएको खुटुवा बस्तीको तस्बिर लिएपछि हामी पुनः पेशागत कर्म निर्वाहका लागि काठमाडौंतर्फ लाग्यौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप