केन्द्रीय संस्करण
अन्तरवार्ता

मधेसवादी दल क्षेत्रीय राजनीतिभन्दा माथि उठ्न सकेनन्

–रामेश्वर राय यादव, केन्द्रीय सदस्य एवं सांसद, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

person explore access_timeचैत २१, २०७५ chat_bubble_outline1
एसके यादव

रातोपाटी

स्व. गजेन्द्रनारायण सिंहले स्थापना गरेका नेपाल सद्भावना पार्टीबाट राजनीति शुरु गरेका रामेश्वर राय यादव तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल हुँदै विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिकसम्मका यात्रा तय गरे । मधेसको राजनीतिमा जन्मे हुर्केका यादव चुनावअघि तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरे । मधेसवादी दलमा हुँदा पटक–पटक चुनाव हारेका उनी माओवादीमा आउनेवित्तिकै प्रतिनिधिसभा चुनाव मात्र जितेनन्, छोरालाई समेत स्थानीय तहमा जिताए । मधेस राजनीतिको लामो अनुभव लिएका व्यक्ति वामपन्थी राजनीतिमा आएर कसरी आफूलाई स्थापित गरेलगायतका विषयमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सांसद रामेश्वर राय यादवसँग रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीः

हालै बारा–पर्सामा आएको विनाशकारी आँधीबाट पीडितबारे सङ्घीय सरकार कति संवेदनशील छ जस्तो लाग्छ तपाईंलाई ?

–पहिलो कुरा त त्यो आँधी तुफानमा परी मृत्यु भएका परिवारप्रति समवेदना प्रकट गर्छु । घाइतेको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्छु । बारा–पर्साको घटनाप्रति सङ्घीय सरकार पूरै संवेदनशील रहेको मैले पाएको छु । चैत १७ गते रातिको घटना हो । घटना थाह पाउनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली झापामा तय भएका सबै कार्यक्रम स्थगित गरेर भोलिपल्टै घटनास्थलमा पुग्नुभयो । नेकपाका अध्यक्ष प्रचण्ड पनि त्यहाँ पुग्नुभएको छ । सरकारका मन्त्रीहरु त्यहाँ गएर अवलोकन गरेर पीडितलाई कुनै प्रकारको समस्या नहोस् भनेर सरकारले सबैलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यसैले सरकार संवेदनशील नै रहेको देखिन्छ ।

अब तपाईंको कुरा गरौं, तपाईं लामो समयसम्म मधेसको राजनीतिक दलमा बसेर काम गर्नुभयो तर एकाएक कम्युनिस्ट पार्टीप्रति कसरी आकर्षित हुनुभयो ?

–म परिवर्तनको पक्षधर हुँ । यो देशमा परिवर्तनका लागि नेपाल सद्भावना पार्टीमार्फत सङ्घर्ष गरेको मान्छे । पछि मधेस आन्दोलनबाट स्थापित पार्टी मधेसी जनअधिकार फोरम नेपालमा बसेर पनि लामो सङ्घर्ष गरेँ । त्यसबाट विभाजित भएका फोरम लोकतान्त्रिकमा रहेर पनि मधेसी, थारु, आदिवासी, पिछडिएका लागि सङ्घर्ष गरेँ । त्यो एउटा चरण थियो, त्यो पार भइसकेको छ । ती दलमा काम गर्दा मैले एउटा के कुरा पाएँ भने नेताहरुमा कुनै मुद्दा कार्यान्वयन गराउने, आफ्नो सिद्धान्त र विचारमा अडिग रहने कुरामा ह्रास भएको पाएँ । मधेसवादी दलहरुले आफूलाई क्षेत्रीयताभन्दा माथि उठाउन सकेनन् । कुनै पनि परिवर्तनका लागि एउटा शक्तिको आवश्यकता हुँदो रहेछ भने कुरा महशुस गरेँ । परिवर्तन राष्ट्रिय शक्तिबाट नै सम्भव छ भने कुरा मैले महशुस गरेर नै परिवर्तनका संवाहक तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेँ । परिवर्तनका लागि योगदान दिनुभएका व्यक्तित्व, आफ्नो विचार र सिद्धान्तमा अडिग रहनुभएका व्यक्तित्व प्रचण्डबाट प्रभावित भएर पनि म माओवादी केन्द्रमा प्रवेश गरेको हुँ । म अहिले जहाँ छु, त्यहाँ परिवर्तनका लागि, समतामूलक समाज निर्माणका लागि, उत्पीडित समाजका लागि बोल्न र आवाज उठाउन मलाई जति सजिलो भएको छ त्यति सजिलो र सहज यसअघि थिएन ।

त्यस्तो किन ?

–आज जुन कुरा म बोलिरहेको छु, त्यही कुरा मधेसवादी दलमा रहेको बेला बोल्दा ममाथि साम्प्रदायिकताको आरोप लाग्थ्यो, क्षेत्रीयताको आरोप लाग्थ्यो । तर अहिले यही कुरा राष्ट्रिय इस्यु बनेको छ । ममाथि अहिले त्यस्ता कुनै आरोप लागेको छैनन् । सम्बन्धित ठाउँमा सुनुवाइ पनि भइरहेको छ । कुरा त्यही हो तर प्लेटफर्म फरक भएपछि त्यो कुरा महत्त्व बढी हुँदोरहेछ ।

भन्नाले क्षेत्रीय राजनीतिको सम्भावना छैन यो देशमा ?

–  मेरो विचारमा क्षेत्रीय समस्याको उत्थान राष्ट्रिय शक्तिबाट हुनुपर्छ । क्षेत्रीय समस्या क्षेत्रीय पार्टीले उठाउँदा त्यसलाई विभिन्न आरोप लाग्ने गरेको देखिन्छ तर त्यही कुरा राष्ट्रिय पार्टीले उठाउँदा राष्ट्रवादी कहलाउँछन् । क्षेत्रीय समस्या नभएको होइन, समस्या छ तर त्यसको समाधान क्षेत्रीय स्तरबाट गर्ने हो भने त्यसको निकास निस्किँदैन । त्यसको निदान राष्ट्रिय स्तरबाट मात्र सम्भव छ । जसको पहुँच र निर्णय गराउने क्षमता जोसँग छ त्यसले नै क्षेत्रीय समस्या समाधान गर्न सक्छ ।

तपाईं क्षेत्रीय पार्टीबाट सांसद र मन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ, त्यतिबेला यी सोचाइ किन आएनन् तपाईंमा, अहिले किन आयो ?

–क्षेत्रीय समस्या छैन भनेको होइन तर जहाँबाट समाधान हुन्छ त्यहाँसम्म क्षेत्रीय पार्टीको पहुँच देखिँदैन । एक दुईजना मन्त्री बन्नु कुनै ठूलो कुरा होइन । मुख्य कुरा समस्या समाधान कसरी गर्ने हो, त्यो सोच्नुपर्छ । समाधान गर्नका लागि राष्ट्रिय पार्टीबाट गराउनुपर्छ । यो कुराको अनुभूति पहिला पनि भइरहेको थियो तर वतावरण अनुकूल नभएको कारणले मैले त्यहीँ बसेर सङ्घर्ष गरिरहेको थिएँ । नेकपा अहिले जसरी प्रगतिशील ढङ्गबाट अगाडि बढिरहेको छ त्यस्तो अवस्था पहिला थिएन । नेपाल सद्भावना पार्टीमा हुँदा यी ठूला भनाउदा दलहरुमा अहिलेको जस्तो सोच मैले पाइरहेको थिइनँ । विस्तारै विस्तारै दलहरु स्पष्ट हुँदै गयो, त्यसमा माओवादी केन्द्रले मधेस लगायत अन्य विषयमा सबभन्दा बढी प्रोग्रेसिभ रूपमा अगाडि आयो । त्यही कारणले माओवादी केन्द्रमा प्रवेश गरेको हुँ ।

तपाईंले सद्भावना पार्टी, फोरम नेपाल र फोरम लोकतान्त्रिकमा रहेर लामो समयसम्म सङ्घर्ष गर्नुभयो । फोरम र फोरम लोकतान्त्रिकमा रहेर एक पटक पनि चुनाव जित्नु भएन तर माओवादीमा प्रवेश गर्नेवित्तिकै आफू पनि सांसद बन्नुभयो र छोरालाई पनि स्थानीय तहमा जिताउनुभयो के फरक पाउनुभयो यी पक्षको बीचमा ?

–मधेसवादी दलको प्लेटफर्ममा काम गर्दा जहिले पनि साम्प्रदायिकता आरोप खेपिरहे । गर्न खोज्ने काम पनि गर्न सकिरहेका हुन्थेन । साम्प्रदायिकको आरोप लागेजस्तै मधेसवादी दलबाट चुनाव लड्दा त्यसरी मत पनि बाँडिन्थ्यो । यो मधेसवादी दल हो । क्षेत्रीय दल हो । यसको पहुँच राष्ट्रिय स्तरमा छैन भनेर आउनुपर्ने मत पनि आउँदैनथ्यो । अर्को कुरा, मधेसवादी दलहरुमा घात, अन्तरघात बढी हुने, एकअर्कालाई कमजोर देखाउने काम पनि हुन्थ्यो । त्यसकारणले कमजोर देखिन्छ । राष्ट्रिय पार्टीमा पनि घात अन्तरघात हुन्छ तर त्यसलाई मिलाएर अघि बढेका हुन्छन् । सानातिना कुरा त्यतिकै हराएर जान्छन् । त्यसैले मधेसवादी दलमा आफूलाई सङ्कुचित अवस्थामा पाउँथेँ भने अहिले यो पार्टीमा निकै सहज अनुभव भइरहेको छ ।

समतामूलक समाजवादी विचारधाराबाट तपाईंले राजनीति गर्नुभयो । अहिले एकाएक वामपन्थी विचारमा आउनुभयो । यी दुई विचारलाई तपाईले कसरी फ्युजन गराउन सक्नुभयो ?

–कुनै पनि पार्टी, कुनै पनि विचार कुन उद्देश्यले सञ्चालित हुन्छ, त्यो मुख्य कुरा हो । मैले मधेसवादी दलमा काम गर्दा पनि मेरो सोच भनेको परिवर्तन नै थियो । यो देशका सम्पूर्ण नागरिकले समावेशी समानुपातिक अधिकार पाओस् भन्ने नै थियो । तर मैले सोअनुसार काम गर्न सकिरहेको थिइनँ । हामी जहाँ आन्दोलन गथ्यौँ, त्यहाँका जनता पीडित थिए, भेदभावबाट  शिकार भएका थिए । त्यो कुरा माथिसम्म आउँदा साम्प्रदायिक भनी आरोप लाग्थ्यो । विदेशीको इसारामा चलेको पार्टी समेत भनिन्थ्यो । तर राष्ट्रिय पार्टीमा त्यो समस्या हुँदैन । राष्ट्रिय पार्टीले त्यस्ता समस्या उठाउँदा राष्ट्रिय मुद्दा बन्छ । विचारभन्दा मुख्य कुरा मुद्दा हो, परिवर्तन हो ।े जस्तोसुकै विचार बोके पनि सबैले परिवर्तनका लागि नै लड्ने हो । परिवर्तन जसले गराउन सक्छ त्यो नै सबभन्दा ठूलो विचार भएको पार्टी हो भन्ने मेरो बुझाइ छ ।

तपाईं मधेसवादी दलमा हुँदा मधेसको बारेमा उठाएको कुरा र अहिले नेकपामा मधेसको बारेमा उठाएको कुरामा के अन्तर पाउनुभयो ?

–पहिले पहिले मधेसको कुरा उठाउँदा डराउनुपथ्र्यो । कसैले केही भनिदेला कि भने भय थियो । साम्प्रदायिक आरोप लग्थ्यो । क्षेत्रीयताको आरोप लाग्थ्यो । मुद्दा र विचार सम्बन्धित ठाउँमा पुर्याउन निकै समय लाग्थ्यो । धेरै कुरा बाहिर आउँदैनथिए तर अहिले त्यही कुरा निर्धक्कसाथ राख्छौँ । उठाएका मुद्दामाथि तत्कालै सुनुवाइ हुन्छ । त्यसमाथि विचार विमर्श हुन्छ । तत्कालै सम्बोधन हुन्छ । कार्यान्वयन हुन्छ या हुँदैन त्यो बेग्लै कुरा हो ।

तपार्इंले २०४७ सालदेखि उठाउनुभएको माग माग अझै पूरा भएको छैन भनिन्छन् । साँच्चै ती मागहरु यथावत नै छन् त ?

–ती माग यथावत छैनन् । हिजो गणतन्त्र थिएन, अहिले देशमा गणतन्त्र आइसकेको छ । हिजो सङ्घीयता थिएन, अहिले सङ्घीयता आएको छ । धर्म निरपेक्षता थिएन, अहिले धर्म निरपेक्षता आएको छ । त्यतिबेला खुलेर बोल्ने अधिकार कसैलाई थिएन, अहिले बोल्न थालेका छन् । अर्थात विगतको भन्दा अहिले निकै परिवर्तन आएको छ । सबै समस्या यथावत छ भन्नु नै गलत हो । अहिलेको परिवर्तनमा मधेस आन्दोलनको पनि भूमिका छ । मधेस आन्दोलनका कारणले पनि सङ्घीयता, समावेशी, लोकतन्त्र सुनिश्चित भएको कुरा कसैले नकार्न मिल्दैन । परिवर्तनमा मधेसको ठूलो भूमिका रहेको छ । तर पनि ती दलहरुमा पूर्वाग्रही, क्षेत्रीयता, व्यक्तिगत स्वार्थ, जातपात जस्ता विभेदको मानसिकता छ । अब ती दलका नेताहरु क्षेत्रीयता, जातीयता, व्यक्तिगत स्वार्थबाट माथि उठ्नुपर्छ । तर ती दलका नेतामा पहिलेकै ह्याङ्गओभर छ । केही साथीहरुले ती समस्यालाई यथावत राखेर त्यसैको नाममा राजनीति गर्न खोजिरहेका छन् । यो राम्रो कार्य होइन । समस्या समाधान गर्नेतिर जानुपर्छ ।

हिजोको जस्तो अवस्था अहिले छैन । हामीले पार्टी दर्ता गराउन खोज्दा सिंहदरबारको अगाडि राज्यबाट लाठी खाएका थियौँ तर आज त्यो अवस्था छैन । विगतको भन्दा निकै परिवर्तन आएको छ ।

तपाईंसँगै काम गर्नुभएका नेताहरुले कुनै पनि माग पूरा भएको छैनन् भनिरहनुभएको छ, के उहाँहरुको गलत भन्दै हुनुहुन्छ ?

–कुनै माग पूरा भएको छैन भन्नु गलत हो । हो, केही माग छन् जो पूरा भएको छैनन् । ती माग कानुनका कारण पूरा भइरहेको छैनन् । कतिपय यस्ता मागहरु छन्, जसलाई कार्यान्वयनमा ल्याउन कानुन चाहिन्छ । सरकारले अहिले कानुनहरु निर्माण गरिरहेको छ । कतिपय मागमा सरकार पनि संवेदनशील भई सम्बोधन गरिदिनुपर्ने हो तर भइरहेको छैन ।

भन्नाले संविधान संशोधनको आवश्यकता छैन ?

–यदि संविधान संशोधन गरेर समस्या पूर्णरूपमा समाधान हुन्छ भने गर्नुपर्छ । सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अध्यक्ष प्रचण्डले पनि संविधान संशोधन हुन्छ भनेर पटक पटक भन्नुभएको छ । संविधान भनेको गीता कुरान होइन । यो गतिशिल हुन्छ, समय सन्दर्भ र आवश्यकताका आधारमा संशोधन गरिरहनुपर्छ । राष्ट्रिय समस्या समाधान हुन्छन् भने संविधान संशोधन गर्नुपर्छ ।

तपाईंको पार्टीले राजपा नेपाल र फोरम नेपाललाई मधेसमा काउन्टर दिन सीके राउतलाई अघि सारेको हो भनिन्छ, यो सही हो ?

– यस्तो आरोप लगाउनेको सोचाइ नै गलत हो । सीके राउत गलत बाटोमा थिए । सरकारले उनलाई सही बाटोमा ल्याएको छ । देश नै टुक्राउँछु भन्दै हिँडेकालाई राजनीतिको मूलधारमा ल्याउनु, मूलधारको राजनीति स्वीकार्नु देशका लागि ठूलो उपलब्धि हो । यो कार्यलाई सबैले स्वागत गर्नुपर्छ । गलत मानसिकता धेरै दिनसम्म काम लाग्दैन । गलत सोच सोच त्याग्नुपर्छ । आरोप प्रत्यारोप लगाउनु राम्रो कुरा होइन, राजनीतिक दल वैचारिक रूपले चल्नुपर्छ । राजपा र फोरम नेपालका नेताले यस्ता आरोप लगाएको मैले पनि सुनेको छु तर त्यो मिथ्यो आरोप हो ।

जनताको मतबाट जितेका रेशम चौधरीलाई जन्मकैद र देश टुक्र्याउँछु भन्ने राउतलाई सरकारले रातो कार्पेट आछ्यायो भन्ने तपाईंलाई लाग्दैन ?

–रेशम चौधरी र सीके राउतको मुद्दा फरक फरक हुन् । दुईवटै मुद्दालाई एउटै नजरले हेर्नुहुँदैन । सीके राउत गलत बाटो छाडेर मूलधारका राजनीतिमा आएका छन् । यदि त्यस्तो भने हो भने माओवादी पनि गलत भयो त ? माओवादी पनि सशस्त्र आन्दोलन गरेको पार्टी हो । पछि सम्झौता गरेर मूलधारको राजनीतिमा आयो । त्यसैले सम्झौता गरेर मूलधारको राजनीतिमा आउने कार्यलाई गलत भन्न मिल्दैन । रेशम चौधरीको हकमा उनी जनताबाट अनुमोदित नेता हुन् । तर कानुनलाई पूर्णरूपमा लगौँटी लगाएर राख्न गाह्रो छ । कानुनलाई ओझेलमा राखेर राजनीति गर्ने निर्णय गरियो भने नीति, नियम विपरीत हुनजान्छ । कानुनी राज्यमा कानुनलाई मान्नुपर्छ । राजनीति आफ्नो ठाउँको कुरा हो ।  कानुन त मान्नै पर्छ । जनकपुरको बम काण्डमा एउटा प्रभावशाली नेता फस्नुभयो । एउटा ठेकेदार निलम्बनमा पर्नुभयो । कानुनी राज्यमा कानुनलाई आफ्नो तरिकाले काम गर्न दिनुपर्छ । राजनीतिक लडाई बाँकी नै रहन्छ । रेशम चौधरीको घटना राजनीतिक घटना हो । यसलाई राजनीतिक रूपमै समाधान गर्नुपथ्र्यो तर त्यसअघि कानुनको चङ्गुलमा गइसक्नुभएको थियो । यसलाई राज्यले निकाल्न खोजे पनि सकिँदैन । त्यसका लागि कुनै ठूलै राजनीतिक निर्णय लिनुपर्ने आवश्यकता छ ।

तपाईं सत्ताधारीको दलको नेता तथा सांसद हुनुहुन्छ । सरकार गठन भएको एक वर्ष बित्यो तर जनता सन्तुष्ट देखिँदैनन् किन ?

–तपाईंले भनेको कुरा सही हो । सरकारप्रति जनता सन्तुष्ट देखिएका छैनन् । त्यसको कारण हो अपेक्षा । जनताले नेकपाको दुई तिहाइ सरकारबाट ठूलो अपेक्षा गरेको छ । दुई तिहाइ सरकार आएपछि केके नहोला भन्ने ठानेका जनताले त्यो अनुसार नपाएपछि असन्तुष्टि जाहेर गरेका हुन् । त्यसो त कामै नभएको भने होइन । विकासको सुरुवात भइसकेका छ । गाउँघरतिर जानुस् जताततै विकासका कार्य भइ नै रहेको देखिन्छ । केन्द्रमा पनि सरकारले ठूला आयोजना अघि बढाएकै छ तर जनताले अपेक्षा गरेअनुसार पूरा भइरहेको छैनन् । त्यसैको असन्तुष्टि देखिएको छ । कतिपय काम कानुनका कारणले पनि अगाडि बढेको छैन । कामका लागि पैसा गएको छ तर कानुन नहुँदा विकासका काम अगाडि बढेको छैन । सरकार अहिले कानुन निर्माणमा लागेको छ, सबै कानुन निर्माण भएपछि एउटा सुन्दर स्वरूप देखिन्छ ।

पार्टी एकीकरण घोषणा भएको १० महिना भइसकेको छ तर अहिलेसम्म पनि पूर्णता पाएको छैन किन ?

–वास्तवमा भन्ने हो भने एकीकरणलाई पूर्णता दिनमा केही ढिलाइ भइरहेकै हो । माथिल्लो कमिटीमा एकीकरण भएको छ तर तल्लो तहमा एकीकरण नहुँदा नेता तथा कार्यकर्तामा केही निराशा देखिएको छ । त्यसैले जति छिटो हुन्छ, एकीकरण टुङ्गोमा पुर्याएर पार्टीलाई अगाडि बढाउनुपर्छ ।

 

 

कमेन्ट

  1. April 5, 2019, 8:58 a.m. gaurav
    लाज सरम नभएकोले जे भने नि हुन्छ । तिमि जस्ता पदलोलुप्ता नेताले गर्दा मधेश बदनाम भएको हो । थुक....
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...