केन्द्रीय संस्करण
प्रलेस विवाद

विग्रहको चपेटामा प्रलेसः टुटफुटको ‘कम्युनिष्ट रोग’ले गिजोलेरै छाड्यो

person explore access_timeचैत २१, २०७५ chat_bubble_outline0

द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तमा आस्था राखेर लेखनकर्ममा होमिएका लेखकहरुको संयुक्त मोर्चा प्रगतिशील लेखक सङ्घ (प्रलेस)मा नयाँ बहस उठेको छ । प्रलेसले आफ्नो परम्परागत शाख र प्रतिष्ठा (लिगेसी) जोगाउन नसकेको र क्रमशः ओरालो यात्रामा रहेको भन्दै एकथरी लेखकहरुले वैकल्पिक सङ्गठन निर्माणको प्रक्रिया नै थालेका छन् । अर्काथरी लेखकहरुले भने प्रलेसले आफ्नो ऐतिहासिक दायित्व पूरा गरिरहेको दावी गर्दै आएका छन् । सम्मेलन नजिकिँदै गर्दा देखिएका यस्ता गतिविधिले प्रलेसको ऐतिहासिक महत्व र भूमिकामाथि नै प्रश्नचिन्हहरु खडा गर्ने काम समेत भएको छ ।

सतहमै देखिने गरी बहसको सुरुवात रिडर्स झापाले आयोजना गरेको कला साहित्य उत्सवबाट भएको थियो । भर्खरै प्रलेस छाडेका तत्कालीन केन्द्रीय सदस्यद्वय गुरुङ सुशान्त, विनोदविक्रम केसी र लेखक अभय श्रेष्ठले प्रलेसबारे आलोचनात्मक प्रश्न उठाएपछि यो बहस एक्कासि बढेको देखिन्छ ।

कुनै समय श्यामप्रसाद शर्मा, निनु चापागाईं, गोविन्ददेव भट्ट जस्ता व्यक्तित्वहरुले नेतृत्व सम्हालेको प्रलेस सम्पूर्ण वाम समर्थक लेखक साहित्यकारको साझा मञ्च थियो । हाल नेतृत्व सम्हालिरहेकाहरुको दावी प्रलेस एकढिक्का नै रहेको तथा यसले परम्परागत साख र मर्यादाको रक्षा गर्दै त्यसलाई निरन्तरता दिँदै आएको, प्रलेसभित्र खासै समस्या नरहेको आशयको तर्कहरु दिए पनि पछिल्लो समय उठेका बहसहरुले प्रश्न उठाएको छ । अब प्रलेसको औचित्य समाप्त भयो भन्नेहरु पनि सतहमा देखिएका छन् ।

अन्य कुरा जे भए पनि पछिल्लो समय प्रलेसबारे उठेका प्रश्न र ती प्रश्नको मन्थनको क्रमशः उठेका सबालले प्रलेसलाई जुन अवस्थामा छोडे पनि प्रभावशील लेखन भने कमजोर हुनुुहुन्न र यो बहस प्रगतिशील लेखनको अधोगतोतिर अगाडि बढनुहुन्न भन्छन् प्रगतिशील लेखकहरु ।

इतिहासमा प्रलेस

सरिता तिवारी भन्छिन्, ‘भारतमा स्वतन्त्रता सङ्ग्राम ताका सन् १९४५ मा भारतको प्रलेस स्थापना भयो ।’ त्यसैबाट प्रभावित भएर नेपालमा वि.सं. २००९ मा श्यामप्रसाद शर्माको नेतृत्वमा वीरगन्जमा प्रलेसको स्थापना भयो । पछि काठमाडौँ आएर यसको समिति विस्तार भयो । २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेको सेरेफेरोमा यो संस्था विघटन भयो र यसका लेखकहरु तितरबितर भए । २०३६ सालको आन्दोलनपछि फेरि यसलाई पुनर्गठन गर्ने प्रयास सुरु गरिएको देखिन्छ ।

त्यसपछि एउटा समिति बनाउनका लागि पद्मरत्न तुलाधरको संयोजकत्वमा एउटा भेला भएको थियो । त्यो भेलाले प्रगतिशील लेखक सङ्घ भन्ने एउटा समिति निर्माण गर्याे । २००९ सालमा स्थापना भएको संस्थाले २०४४ सालमा आएर मात्र राष्ट्रिय सम्मेलन गर्‍यो । त्यसपछि यो संस्थाले आफ्नो नाम प्रगतिशील लेखक सङ्घ राख्यो ।

कवि सङ्गीत स्रोता भन्छन्, ‘२०४४ सालदेखि यता नेपालमा विभिन्न बामपन्थी कम्युनिस्ट पार्टीहरु सम्बद्ध लेखकहरु, विचारले माक्र्सवादी लेखक र कुनै पार्टीमा नआएका लेखकहरुले मिलेर प्रलेसलाई साझा संस्थाको रूपमा निरन्तर अगाडि बढिरहेको थियो ।’

२०५३ सालमा चौथो राष्ट्रिय सम्मेलनमा त्यतिबेलाको एमालेले सबै मुख्य पदहरु आफ्नो मात्र बनाउन खोजेको आरोपसहित एमाले बाहेकका अरु चारवटा संस्थाहरुले बहिष्कार गरेको र प्रलेसमा एमालेको वैचारिक मियोमा आस्थावान लेखक कलाकारहरु मात्र आबद्ध भएको उनी इतिहास सम्झन्छन् । पाँचौँ राष्ट्रिय सम्मेलनमा प्रलेसलाई सबैको साझा बनाउने भनेपछि एमाले इतर समूहका लेखक कलाकारहरु समेत क्रमशः यसमा जोडिँजदै जाँदा पछि गएर प्रलेसले प्रगतिशीले लेखकहरुको साझा संगठनको स्वरुप पुनः ग्रहण गरेको थियो । प्रलेसको इतिहासलाई नियालेकाहरुका अनुसार पाँचौँदेखि दशौँ सम्मेलनसम्म प्रलेस मूलतः बामपन्थी लेखकहरुको साझा संस्थाको रूपमा रह्यो ।

सङ्गीत स्रोता भन्छन्, ‘त्यतिबेलादेखि नै केही लेखकहरुले नै यसको काम गर्ने तरिका, सङ्गठनात्मक परम्परा आदिलाई लिएर यसको आलोचना गर्ने काम गरिहेकै थिए । किनकि साझा संस्था भनेपनि खास पार्टी निकटका लेखकहरु संस्थामा हावी हुने र सिर्जनशील र प्रतिभावान लेखकहरु त्यहाँ नरहने स्थिति देखिँदै आएको थियो ।’

आजको प्रलेस

२००९ सालमा श्यामप्रसाद शर्माको अध्यक्षतामा गठित प्रगतिशील लेखक सङ्घ यतिबेला ११औँ राष्ट्रिय सम्मेलनको सँघारमा छ । सम्मेलनको मुखमै यतिबेला यो संस्था चरम विवादमा फसेको देखिन्छ । तर प्रलेसमा देखिएको यो नै पहिलो र नौलो बहस भने होइन । नेपालका कम्युनिस्ट पार्टीबीच आउने उतारचढावसँगै यो संस्था पनि पटक पटक तरङ्गित हँुदै आएको देखिन्छ । खासगरी, सैद्धान्तिक र नीतिगत कम, व्यक्तिगत अहं तुष्टिका लागि नेपालका कम्युनिष्ट आन्दोलनमा हुँदै आएको टुटफुटको पृष्ठभूमिमा एकअर्कालाई निम्छरो आरोप–प्रत्यारोप गर्ने नेपालका कम्युनिष्ट घटकहरुमा मौलाएको गालगलौजको संस्कृतिबाट प्रलेस पनि अछुतो रहन सकेको देखिँदैन । विशेषतः सत्तासँग नजिक रहेका लेखकहरु एकातिर र सत्ताबाहिरका पार्टीसँग नजिक भएका तथा कुनै पनि पार्टीसँग आबद्ध नभइकनै स्वतन्त्र रूपले प्रगतिशील धारमा कलम चलाइरहेका लेखक अर्कोतिर देखिने गरेका छन् । यसमेसोमा प्रलेस कुनैनकुनैरुपमा विवादको भुमरीमा पर्ने गरेको र पर्दै आइरहेको देखिन्छ ।

जस्तो कि, प्रलेस आफ्नो कार्यदिशा र सिद्धान्तबाट विमुख भएको निष्कर्ष निकाल्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घले विज्ञप्ति नै निकालेका छन् । सङ्घको अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली भन्छन्, ‘प्रलेस यथास्थितिवादी, शासकीय, सत्तामुखी र दलाल पुँजीपति वर्गमा बिचलित हुन पुगेको छ ।’

चैत १६ गते सङ्घद्वारा जारी उनको हस्ताक्षरसहितको विज्ञप्तिमा भनिएको छ, ‘प्रलेसभित्र बैठकहरूमा उठेका प्रश्नलाई होस् वा सार्वजनिक रूपमा राखिएका वैचारिक विमतिहरूलाई, प्रलेसले साझा वैचारिक मञ्च भएका कारण तिनको स्वामित्व लिँदै व्यापक बहसको फोरम चलाउनुपथ्र्यो । तर त्यसको ठीक उल्टो वैचारिक बहस गर्नेहरूलाई दुत्कार्ने प्रवृत्ति हावी हुँदै गयो ।’ प्रलेस यथास्थितिवाद र दलाल पुँजीपति वर्गमा विचलित भएको सङ्घको निष्कर्ष छ ।

चैत १६ गते प्रलेसका सल्लाहकार र केन्द्रीय सदस्यसहित ३८ जनाले प्रलेस परित्याग गरे ।

कसैले माने पनि नमाने पनि ऐतिहासिक विरासत बोकेको प्रलेसमा विग्रह आएको छ । हालको ‘प्रलेस’ विधानमा अभिव्यक्त सङ्कथन अनुरूप सामन्तवाद र साम्राज्यवादविरोधी शक्तिका रूपमा नभएर उल्टै राष्ट्रविरोधी गतिविधिमा संलग्न हुँदै देश र जनताको हितविरुद्ध काम गरिरहेको हुनाले पनि त्यस्ता शक्तिसित वर्तमान स्थितिमा सहकार्य गर्नु अनुपयुक्त रहेको ठहर बाहिरिएका प्रगतिशील लेखकहरुले गरेका छन् ।

प्रलेस नेकपाको छाया

पछिल्लो समय नेकपा बनेपछि प्रलेसभित्र आलोचनात्मक विचार राख्नेभन्दा पनि प्रलेस नेकपाको छाया बनेको र नयाँ बहसहरु नगर्ने संस्थाका रूपमा आलोचित रहेको दाबी बाहिरिने लेखकहरुको छ ।

लेखक सरिता तिवारीले प्रलेसले प्रगतिशीलताको नाममा आलङ्कारिक काम मात्र गरेको आरोप लगाएकी छिन् । पश्चगमनकारी विचारलाई नेतृत्व गर्नेतिर अहिलेको प्रलेस लागेको र त्यहाँभित्र पनि काम गर्ने वातावरण नरहेको उनको ठम्याइ छ । ‘समावेशी सहभागिता, सीमान्तकृतलाई समेटेर जाने कुराहरुमा अनुदार मानिसहरुको बोलबाला प्रलेसमा भइरहेको छ । त्यस्ता खालका विचार राख्ने मानिसलाई पश्चिमाहरुका दलाल र युरोपेली युनियनले खटाएका मानिस भनेर आरोप लगाए’ उनले भनिन् ।

तर प्रलेसका अध्यक्ष मातृका पोखरेलले भने प्रलेस नेकपा केन्द्रित भयो भन्ने सरिताको विचार मान्न तयार छैनन् । ‘नेकपाको छाया बनेको छ भन्नु गलत आरोप हो,’ पोखरेल भन्छन्, ‘कुनै ठाउँमा पनि हामीले त्यस्तो गरेको देखाइदिनुभयो भने म सांस्कृतिक आन्दोलनको सबै ठाउँ छाड्न तयार छु । त्यो काम देखाइदिनुभयो भयो भने हामी उहाँहरुलाई सलाम गरौँला ।’

भर्खरै प्रलेस छाडेका कवि सङ्गीत स्रोताको भने विचार फरक छ । कुनै न कुनै रूपमा प्रश्न नगर्ने वा आलोचनात्मक चेत नराख्ने व्यक्ति लेखक, बौद्धिक, पत्रकार र वैज्ञानिक बन्न नसक्ने उनको विचार छ । भन्छन्, ‘त्यो संस्थामा बसेर लेखक सिर्जनशील र आलोचनात्मक बन्न सक्दैन ।’ उनी थप्छन्, ‘सत्ताको हुबहु भजन गाउने, पक्षपोषण गर्ने लेखकहरुको पोल्टामा प्रगतिशील लेखक सङ्घ पुगेपछि आलोचना सुरु भएको हो ।’

प्रलेसका पूर्वअध्यक्ष डा. अमर गिरी भन्छन्, ‘हिजो प्रलेसको राष्ट्रिय सम्मेलन हुने समयमा नेकपा बनेको थिएन । अहिले नेकपा बनिसकेपछि पार्टी पनि ठूलो भयो, त्यसमा जोडिएका लेखकहरुको सङ्ख्या पनि धेरै भयो ।’ प्रलेस नेकपाको छायाँ बन्यो भन्ने आरोप उनी अस्वीकार गर्छन् ।

सङ्कटमा प्रलेस

प्रलेसको प्रस्तावनामा भनिएको छ– प्रगतिशील लेखक सङ्घ साम्राज्यवादको विरोधमा बोल्ने लेखकहरुको सङ्गठन हो । लेखनका माध्यमबाट समाजको प्रगतिशील रूपान्तरणमा सहयोग पुर्‍याउन प्रलेसको स्थापना भएको हो ।

‘लोकतान्त्रिक आन्दोलनमा प्रगतिशील लेखक सङ्घको भूमिका’ शीर्षकको लेखमा रमेश भट्टराई भन्छन्, ‘साहित्यको सामाजिक भूमिकाका बारेमा प्रगतिवादीहरुको स्पष्ट दृष्टिकोण रहिआएको छ । साहित्यको वर्गीय आधार, विचारात्मक स्वरूप र क्रान्तिकारी स्पष्ट रहेर नै प्रगतिवादी सर्जक साहित्यको रचना गर्छ ।’

प्रगतिशील लेखक सङ्घ घटकहरुको सङ्गठन हो भन्दै लेखक आहुति भन्छन्, ‘प्रलेसमा रहेको मुख्य घटक नेकपासँग सम्बन्धित छ । उक्त संस्था दलाल पुँजीवाद सत्ताको बफादार र उनीहरुको अत्यधिक सङ्ख्या हुनु भनेको अबको प्रगतिशील साहित्य कला, आन्दोलन अगाडि बढाउन सकिँदैन भन्ने हो ।’ अहिलेको प्रगतिशील सङ्गठनले सत्ताको दलाली गरेको दाबी गर्दै उनी भन्छन्, ‘अहिलेको प्रगतिशीलले सत्ताले खराब काम गर्‍यो भने मौन बसेर सहन्छ ।  वास्तविक प्रगतिशील लेखक सङ्घको काम त्यो होइन ।’

अमर गिरी भन्छन्, ‘प्रलेसले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । आउँदा दिनहरुमा आफ्नो भूमिकाअनुसार कार्य सम्पादन पनि गर्नेछ । त्यसकारण अहिले छुट्टिएर जानुपर्ने आवश्यकता छैन । प्रगतिशील लेखक सङ्घलाई छाडेर अन्यत्र जानु हुँदैन ।’

पोखरेल भन्छन्, ‘हामीले आहुतिलाई कम्युनिस्ट देख्दैनौँ । उहाँले पनि हामीलाई कम्युनिस्ट देख्नुहुन्न । सबैको स्वेच्छाले मोर्चा बनाएको हौँ । हामी बस्न सक्दैनौँ भन्नुभयो भने हाम्रो के लाग्छ र ? भोलि यसको आवश्यकता महसुस गरेर आउनुहुन्छ उहाँहरु आफै ।’

सम्मेलन नजिकिँदै जाँदा फरक मत राख्ने सदस्यलाई सम्मेलनमै नआइदिए हुन्थ्यो भन्ने वातावरण बनाएको तिवारीको भनाइ छ । भन्छिन्, ‘उहाँहरुले हामीलाई प्रलेसमा नआइदिए हुन्थ्यो भनेर सम्मेलन आयोजक समितिमा नै हाम्रो नाम राख्नुभएको छैन । नियोजित तरिकाले नै हामीलाई नआउने वातावरण बनाइएको छ ।’ पोखरेलले भने तिवारीको आरोप सरासर गलत भएको बताउँछन् । उनी भन्छन्, ‘विज्ञप्तिमा सत्तरी जनाभन्दा कमलाई मात्र सम्मेलनमा सहभागी गराउन जानकारी दिइएको भन्ने कुरा गलत हो । पाँच सय जना सदस्य भनेर उहाँहरुले नै लेखेर हिँडिरहनुभएको छ ।’

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...