केन्द्रीय संस्करण

एसएलसी/एसईई आइरन गेट ?

person explore access_timeचैत १९, २०७५ chat_bubble_outline0
फाइल तस्विर

केही समय अगाडिसम्म एसएलसी परीक्षालाई आइरन गेट भनेर भनिन्थ्यो । अहिले एसएलसी परीक्षाको नाम फेरेर एसईई भएसँगै परीक्षाफलको प्रकाशन अक्षराङ्कन (ग्रेडिङ) प्रणालीबाट सुरु गरिएको छ । यससँगै आइरन गेटवाला अवधारणा केही मात्रमा फेरिएको भए पनि पूर्ण रूपमा हटिसकेको भने छैन । यसका ह्याङओभरबाट मुक्त हुन भने अझै केही समय लाग्नेमा शङ्कै छैन । 

आइरन गेट वा फलामको ढोका भन्दै एसएलसी हालको एसईई परीक्षा परीक्षार्थीको मनोविज्ञानमा यसरी बसेको छ कि एसईईको नामले मात्र पनि विद्यार्थी तर्सिन थाल्छन् । कक्षा १ देखि कक्षा ९ सम्म एउटै रफ्तारमा पढिरहेको एउटा विद्यार्थी कक्षा १० पुगेपछि एक्कासि तर्सिन र आत्तिन थाल्छ । बढी मिहिनेत गर्न थाल्छ । किनकि कक्षा १० मा पुगेपछि उसलाई एसएलसी र एसईईवाला भूतले तर्साउन थालिहाल्छ ।  १ देखि ९ सम्म एउटा रफ्तारमा पढिरहेको विद्यार्थी अचानक गति बढाउन त जादुकै छडी घुमाउनुपर्ने हुन्छ । त्यसपछि सुरु हुन्छ डिप्रेसन । असफल हुने त्रास यति जब्बर रूपमा ऊभित्र प्रवेश गर्न थाल्छ कि ‘अब असफल भएँ भने बाँकी जीवनको कुनै अर्थ रहन्न ।’ एकातिर कक्षा १० मा मात्र कडा मिहिनेत गरेर पढाइलाई सुधार गर्नुपर्ने र असफल भइयो भने बाँकी जीवनका सबै पाटाहरु अन्धकार र बेकार ठान्ने गरेका छन्  । अनि त विद्यार्थी आत्महत्याको बाटो सोच्न समेत बाध्य हुन्छन् ।

अक्षराङ्कन पद्धति सुरु भएपछि डिभिजनवाला विभेद केही धर्मराएको त छ । तर विशिष्ट श्रेणी वा फस्ट डिभिजनवाला मानसिकता ग्रेडतिर सरेको छ ।  ‘ए प्लस’ वा  ‘ए’लाई सफलताको मापनको नयाँ सीमा बनाइएको छ । अझ भनौँ ९० माथि ल्याउने ‘ए प्लस’ ८० माथि ल्याउने ‘ए’ भनेर हिसाब गर्ने पुरानै तरिकाको मापन विधि विद्यार्थी अभिभावक र शिक्षकको मानसिकताबाट हट्न सकेको छैन ।

अवे सेन्टर त्रासको सिर्जना 
कक्षा ५, कक्षा ८ र एसईई परीक्षालाई स्तरीकृत परीक्षा मनिए तापनि आफ्नो विद्यालयभन्दा बाहिर गैरपरीक्षा दिनुपर्ने बाध्यतात्मक अवस्था चाहिँ एसईईमा मात्र छ । आफ्नो विद्यालयमा परीक्षा दिन नपाइने र जुन विद्यालयमा परीक्षा दिइन्छ त्यहाँको वातावरणसँग आफू अपरिचित हुनाले के होला र कसो होला भन्ने त्रासमा विद्यार्थी त रहन्छन् नै त्यसमाथि अभिभावक, विद्यालय प्रशासन तथा शिक्षकहरु समेत च्याखे थाप्दै विद्यार्थीलाई नकारात्मक बाटोतर्फ उन्मुख गराउन तल्लीन हुन्छन् । अवे सेन्टरको त्रास विद्यार्थीको अनुहारमा प्रष्टै देखिन्छ । लाग्छ उनीहरु हिटलरको ग्यास च्याम्बरभित्र पस्दै छन् । सेन्टरको अवधारणा चिटिङ मुक्त परीक्षाको देखिन्छ तर त्यसको सट्टा चिटिङ संस्कृति झनझन मौलाउँदै गएको छ । 

गणितलाई वैज्ञानिक रूपमै हाउगुजी बनाइँदै 
गणित विज्ञान र अङ्ग्रेजीका विषयवस्तुहरु विद्यार्थीको रुचि, क्षमता र निस्सारताको कारण निकै अप्ठ्यारा लाग्छन् । विद्यार्थीहरु सबैभन्दा बढी असफल हुने वा ‘भेरी अनसफिसेन्ट’ ग्रेड प्राप्त गर्ने विषयहरु पनि यिनै हुन् । तर यी विषयहरुमा शिक्षक, अभिभावक वा अन्य पक्षहरुबाट सिर्जना गरिने हाउगुजीले यी विषयहरु वास्तवमै अप्ठ्यारा लाग्छन् र त्यसमा पास हुन सहज छैन भन्ने मानसिकताको विकास विद्यार्थीमा परेको छ ।
 अझ गणित विषयलाई त सुनियोजित रूपमै परीक्षाको रुटिन बनाउँदादेखि नै हाउगुजी बनाइन्छ । गणित गाह्रो हुन्छ, पढ्ने समय धेरै चाहिन्छ भन्ने मानसिकताले गर्दा हरेक गणितको परीक्षा कुनै बिदाको भोलिपल्ट मात्र राखिँदै आएको छ । यसले गर्दा विद्यार्थीमा झनै मनोवैज्ञानिक त्रास बढ्न पुग्छ ।

   २०७५ सालको एसईईको परीक्षाको रुटिन त झन उदेकलाग्दो छ । बिनाकुनै कारण सार्वजनिक बिदा चैत १३ गते मङ्गलबार दिइयो र शनिबार १६ गते भने परीक्षा सञ्चालन गरियो । यसको कारण स्पष्टै छ कि बुधबार गणितको परीक्षा थियो र यसैले मङ्गलबार बिदा राखियो । गणितको अघिल्लो दिन बिदा दिनै परे परीक्षाको सुरुवात गणितबाट गर्न किन नहुने ? वा शनिबारको भोलिपल्ट गणित राख्न किन नहुने ? एसईईको परीक्षा यति कर्मकाण्डिय छ कि गणितको परीक्षा तेस्रो दिनमै गर्नुपर्ने ? यस्तो सुझाव कहाँबाट पाउँदा हुन् ? हाम्रा शिक्षाविद्हरुकै अध्ययनले नै यसो गर्नु उपयुक्त हुने सुझाव दिँदा हुन कि ? वा रुटिन बनाउनेको स्वविवेक होला ? तर जे होस् विद्यार्थीको त्रसित मनोविज्ञानलाई कम गर्नुभन्दा मलजल नै बढी गरेको छ । असहज नै बढी बनाएको छ भन्ने कुरा परीक्षार्थीको प्रतिक्रियाबाटै सहजै बुझ्न सकिन्छ । 

परीक्षा केन्द्रको निरीक्षण त्रासको अर्काे स्रोत 
चैत १४ गतेको विज्ञान विषयको परीक्षाका लागि एउटा सरकारी स्कुलको गेटमा लामबद्ध विद्यार्थीहरु निकै त्रसित देखिन्थे र उनीहरु आपसमा सानो स्वरमा कुरा गर्दै थिए  । आज माथिबाट चेकिङ आउँछ रे । यहाँ सहजै बुझ्न सकिन्थ्यो कि माथि भनेको माथिल्लो निकायका मान्छे हुन् । जिल्ला वा नगरपालिका तहका मान्छेहरु । आफ्नो आशङ्कालाई थप विश्वसनीय बनाउँदै थिए, पोहोर पनि विज्ञान विषयकै दिन चेकिङ आउँथ्यो रे । मेयर उपमेयर सबेरै हिँडिसके रे ।  यी सबैको एउटै निष्कर्ष के हो भने उनीहरु परीक्षा दिन सिटमा बसेपछि पनि निर्धक्क भएर पूर्ण क्षमताको प्रयोग गरेर लेख्न सक्दैनन् । उनीहरुमा चेकिङको त्रास निकै खतरनाक देखिन्थ्यो ।

परीक्षालाई मर्यादित बनाउन भन्दै गरिने यस्ता छड्के जाँचको उपलब्धि कति र यसबाट पर्नजाने नकारात्मक असरतर्फ कतै कसैको ध्यान पुगेकै देखिन्न । प्रशासनदेखि जनप्रतिनिधि उही पुरानै शैलीमा परीक्षा केन्द्रमा एकछिन आफ्नो रवाफ देखाउन आउने चलन झन बढेको छ । चिटिङ मुक्त र मर्यादित परीक्षा केन्द्र बनाउने नाममा विद्यार्थीमाथि पर्न जाने मनोवैज्ञानिक असर र त्रासले झन ह्वात्तै बढाएको छ । जुनसुकै समस्याको पनि नकारात्मक समाधान दण्ड विधान मात्र हुन्छ भन्ने भ्रम थप गाढा भएर गएको छ । समस्याको सिर्जनात्मक समाधानतर्फ शून्य ध्यान देखिन्छ । 

आइरन गेट अर्थात सेन्टर गणित, विज्ञानवाला हाउगुजी र छड्के जाँचले एसईई परीक्षालाई मर्यादित बनाउने भन्दा पनि विद्यार्थीमा त्रासको वातावरण पैदा गरेको छ । तर सरोकारवालाहरु भने उही पुरानै शैलीलाई पछ्याउँदा छाडेका छैनन् ।

यसबारे कसैले चासो चिन्ता लिएको पनि देखिँदैन । सिस्टम फेरिँदैमा मान्छेको व्यवहार पनि फेरिन्छ भन्ने छैन । विद्यार्थीको आचरण व्यवहारमा मात्र ध्यान केन्द्रित गर्ने तर परीक्षा सञ्चालक भने उही शासकीय प्रवृत्ति देखिनु राम्रो पक्कै होइन । हालको एसईई परीक्षा सञ्चालनको प्रकृतिले हामी कस्तो खालको विद्यार्थी र ज्ञानको अपेक्षा गरिरहेका छौँ भन्ने सङ्केत गर्छ । यो विषयमा शिक्षासँग सरोकार राख्ने सबैले सोच्ने बेला आएन र ? अझै पनि उदासीन रहन मिल्ला र ?
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...