शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

घाइतेको उपचार प्रबन्ध गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण

सोमबार, १८ चैत २०७५, १६ : २६
सोमबार, १८ चैत २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैैै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज वक्तव्यमार्फत सो प्राकृतिक विपत्तिमा परी ठूलो सङ्ख्यामा जनसमुदाय घाइते भएकामा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन् ।

हावाहुरी, बाढीपहिरो, डढेलो, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षलाई समयमा नै पूर्वसावधानी अपनाउनसमेत राष्ट्रपतिले ध्यानाकर्षण गराएकी छिन् । उनले भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपाय अवलम्बन गर्न सरोकार भएका सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिएकी हुन् । राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति पनि समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

एकार्कालाई सहयोग गर्न उपराष्ट्रपतिबाट आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले हावाहुरी र असिनापानीले राष्ट्रलाई नै शोकमा पार्ने गरी मध्य तराईका बारा, पर्सा लगायत जिल्लामा भएको ठूलो मानवीय र भौतिक क्षतिले मर्माहत र दुःखित बनाएको बताएका छन् ।

उनले अकल्पनीय प्रकारको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनुभएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।

उपराष्ट्रपतिले प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र पूर्ण स्वाथ्यलाभको कामना गर्दै प्रभावकारी उपचारका लागि सरकार र सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।

घाइतेको उद्धार र उपचार तथा पीडितका लागि राहत, पुनस्र्थापना र घर पुनःनिर्माणमा सरकारले विशेष ध्यान दिनेमा विश्वस्त रहेको बताउँदै उपराष्ट्रपतिले सुरक्षित आवास र भौतिक पूर्वाधार नहुँदा धेरै जनधनको क्षति भएको देखिएकाले त्यसलाई विशेष ध्यानमा राख्न सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई अनुरोधसमेत गरेका छन।

एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने हामी नेपालीको संस्कार भएको स्पष्ट पार्दै उनले हावाहुरीबाट पीडितलाई स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइले सकेको सहयोग गर्ने अपेक्षा गरेका छन् । अकल्पनीय प्राकृतिक प्रकोप पीडितको पीडामा आफू सधैँ साथमा नै रहेको बताउँदै उहाँले विपद्का समयमा खुला हृदयका साथ सहयोग गर्न सबैमा आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप