केन्द्रीय संस्करण
जीवनका रङ

मान्छे कुनै परलौकिक इश्वरले कृपा गरेर बनाएको विशिष्ट जीव हैनौं

यो दुनियाको निर्माण हाम्रै लागि मात्रै हो भन्ने व्यर्थको घमण्डका कारण सिमसार टौदह जीवनविहीन बन्दैछ

person explore access_timeचैत १७, २०७५ chat_bubble_outline1

कुनै जमानामा पत्रकारितामा रमेका, तत्कालीन चर्चित मासिकहरु नवयुवा र मूल्यांकनमा लेखनकर्मलाई अगाडि बढाएका विकास बस्नेत एक कुशल फोटोग्राफर हुन् । विशेषतः वन्यजन्तुहरुको फोटोग्राफीमा दक्षता हासिल गरेका तथा त्यसैमा रमेका बस्नेतसँग रातोपाटीका लागिसुनिता न्यौपानेले गरेको कुराकानी प्रस्तुत छः

फोटोग्राफी गर्न रुची कसरी जाग्यो ?

फोटोग्राफी गर्नुभन्दा पहिले मलाई फोटोग्राफी कला नै होइन, यान्त्रिक विधि मात्र हो भन्ने लाग्दथ्यो । लहडमा मैले क्यामेरा किनें । क्यामरा किन्दा पनि म यसको प्राबिधिक ज्ञान बारे अन्जान थिए । राम्रो क्यामरा भएपछि फोटो आफैं राम्रो आउँछ भन्ने फुर्तीका साथ फोटो खिच्न गएँ । फर्केर कम्प्युटरमा हेर्दा त  मेरा फोटोहरु औसतभन्दा पनि तलका देखेँ । म निराश भए । बल्ल मलाई महसुस भयो – क्यामरा भनेको फोटो निर्माण गर्ने एउटा औजारमात्र रहेछ । औजार चलाउने सीप मान्छेमा हुनु पर्दाे रहेछ वा त्यो सीप विकास गर्नुपर्दाे रहेछ । फोटो क्यामेराले हैन, मान्छेले खिच्दो रहेछ  । क्यामेरा राम्रो भएर फोटोग्राफी राम्रो हुन्छ भन्ने ममा रहेको भ्रम टुट्यो ।  त्यहीसँगसँगै फोटो खिच्ने लगाव पनि बढेर आयो ।

फोटोग्राफीमा पनि विविध विधाहरु हुन्छन् । तीमध्ये विशेष रुचि कुन विधामा छ ?

फोटोग्राफीका धेरै विधाहरुमध्ये मैले आफूलाई वन्यजन्तु र प्रकृतिसम्बन्धी फोटोग्राफीमा धेरै समर्पित गरेको छु । त्यसमा विशेषगरी वन्युजन्तु, चराचुरुङ्गी, जीवजन्तु आदिमा बढी रुचि रहेको छ ।

तपाईंमा वन्यजन्तुहरुकै फोटोग्राफी गर्छु भन्ने विचार चाहिँ किन र कसरी  आयो ?

आरम्भमा त फोटोग्राफीका अन्य विधामा आफूलाई असहज महसुस गरेर मात्रै हो । जस्तै  सडक फोटोग्राफीमा हामी आफ्नै जनजीवनका फोटोहरु उतार्छौं । आम जीवनका दैनिक कार्यव्यवहार अरुले थाहै नदिई सुटुक्क उतार्न मलाई  आफ्नै स्वभावको कारण अप्ठ्यारो लाग्छ । जस्तो आरम्भमा  बसन्तपुर क्षेत्रमा अभ्यास गर्न जाँदा  मलाई मैले फोटो खिच्न चाहेको व्यक्तिको छेउमा जान एकदमै अप्ठ्यारो लाग्यो ।

अर्काे बिधा ल्याण्डस्केप हुन सक्थ्यो । मैले केही खिचेको पनि छु । तर यसमा म विविधता उतार्न सक्दिनँ जस्तो लाग्छ । यो स्थुल/स्थिर विषय हो । त्यसैले कुनै खास मौसम र समयले प्रभावित स्थुल जमिनको भूभागभन्दा बढी विविधता उतार्न सकिन्न ।

वन्यजन्तु यस्तो विधा हो, जहाँ  फोटोग्राफीको विषय  बहुआयामिक हुन्छ । यसले बिबिधता सृजना गर्छ । सयौं प्रजातिका जीव, प्राणी र चराचुरुङ्गीको असिमित गतिविधिलाई क्यामेरामा कैद गर्न सकिने सम्भावना रहन्छ । मान्छेको सामाजिक जीवनभन्दा पर अन्य प्राणीको दैनिकी नजिकबाट नियाल्नु, यसको परख गर्नु, प्रकृतिको बिबिधतामा रमाउनु म स्वयंको लागि पनि एकदम रोमाञ्चक अनुभूति हो ।

यही कारणले म बन्यजन्तु तथा प्रकृतिको फोटोग्राफीमा लागें । विस्तारै यसमा भिज्न लागेपछि अझै रोचक लाग्न लाग्यो । वन्यजन्तु, चराचुरुङ्गीको बारेमा अझै जानकारी हुन लाग्यो । जस्तै उड्ने सबै पंक्षीलाई चरा भनेर चिन्ने म तिनको प्रजातिगत बिबिधता देखेर चकित परें । तिनको दैनिकी देखेर छक्क परें । विस्तारै म यसैमा भिजें ।

तपाईंको विचारमा फोटोग्राफीको सामाजिक उत्तरदायित्व के हुन्छ ?

कलाको सबै पक्षको सामाजिक उत्तरदायित्व हुन्छ । मैले गर्ने वन्यजन्तुको फोटोग्राफी हामीले बुझ्ने वा प्रत्यक्ष जोडिने सामाजिक उत्तरदायित्वभित्र पर्छ–पर्दैन, बहसको विषय होला  । तर हामी बाँच्ने पर्यावरण, यसभित्रको जैबिक विविधता, पारिस्थितिक प्रणाली सबैलाई समाजको अभिन्न पाटो मान्ने हो भने तिनको अवयवलाई क्यामेरामा कैद गर्नु सामाजिक उत्तरदायित्व नै हो  । मेरा फोटोहरुले आफू बाँचेको पर्यावरणको स्थिति प्रतिबिम्बित गर्छ भने, यसका राम्रा नराम्रा पक्ष देखाएर समाजलाई सजग वा चेतनशील बनाउँछ भने यसले सामाजिक उत्तरदायित्व पूरा गरेको मान्छु म ।

तीन वर्षको अवधिमा काठमाडौंको सुन्दर सिमसार टौदह जीवनविहीन बन्ने प्रक्रियामा देख्छु । म विचलित हुन्छु । एकै दिनमा सयौं प्रजाति गणना गरिएको पोखरी हो यो । ब्रह्माण्डमा रहेका धेरै प्रजातिमध्ये हामी एउटा प्रजाति मात्र हौं । यो दुनियाको निर्माण हाम्रै लागि मात्रै हो भन्ने हाम्रो व्यर्थको घमण्डका कारण, हामीले आफूलाई मात्रै केन्द्रमा राखेर सोच्ने कारण टौदहको यो हाल भएको हो ।

तीन वर्षको अवधिमा काठमाडौंको सुन्दर सिमसार टौदह जीवनविहीन बन्ने प्रक्रियामा देख्छु । म विचलित हुन्छु । एकै दिनमा सयौं प्रजाति गणना गरिएको पोखरी हो यो । ब्रह्माण्डमा रहेका धेरै प्रजातिमध्ये हामी  एउटा प्रजाति मात्र हौं । यो दुनियाको निर्माण हाम्रै लागि मात्रै हो भन्ने हाम्रो व्यर्थको घमण्डका कारण, हामीले आफूलाई मात्रै केन्द्रमा राखेर सोच्ने कारण टौदहको यो हाल भएको हो । यो त एक प्रतिनिधि उदाहरण मात्रै हो ।

वन्यजन्तु, चराचुरुङ्गी आदिको फोटो कैद गर्ने, तिनको विविधता देखाउने, उनीहरुसंगको हाम्रो अस्तित्वको साझा उदेश्य पर्गेल्ने काम गर्न सक्यो भने यो विधाको फोटोग्राफीले वैज्ञानिक वातावरणीय चेतको विकास गरेर आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नेछ ।  

कुनै बेला तपाईं युवाहरुमाझ चर्चित र लोकप्रिय नव युवामा पनि काम गर्नुहुन्थ्यो । यस अर्थमा तपाईं पत्रकारिता पनि गर्नुहुन्थ्यो । तर बीचैमा किन छाड्नुभयो ?

मूल्याङ्कन प्रकाशन बन्द हुनु आफैमा पहिलो कारण हो । मूल्याङ्कन प्रकाशन बन्द नभएको भए शायद मेरो करियरले अर्कै बाटो लिन्थ्यो होला ।

मूल्याङ्कन बन्द भइसकेपछि लेखेर जीविकोपार्जन गर्न सकिन्छ भन्नेमा म ढुक्क हुन सकिनँ । त्यसपछि पनि मूल्याङ्कन र नवयुवा जस्तो फोरम मैले पाइनँ । मैले नवयुवामा फिल्मलाई समाजसँग जोडेर लेख्दथें । एक खालको ‘कन्टेक्सचुअल रिभ्यु’ भन्न सकिन्छ । त्यो पनि नवयुवाहरुलाई सुहाउने भाषामा त्यही स्तरको । अहिले पनि त्यसखाले समीक्षाको अभाव खड्किन्छ । अब त्यस्तै फोरम पाइयो भने फेरि पनि लेख्न सकिन्छ । फिल्मप्रति रुची भने उस्तै छ ।

तपाईलाई कुन घटना वा व्यक्ति के कुराले फोटोग्राफीतिर डोर्यायो ?

क्यामरा किनिसकेपछि पहिलोपल्ट चुनौती महसुस भयो । फोटोग्राफी गर्ने कुरा चानेचुने होइन रहेछ । फोटोग्राफी भनेको कला नै होइन भन्ने अनुभव हुन्थ्यो पहिले । राम्रो क्यामरा भएपछि राम्रो फोटो आइहाल्छ भन्ने लाग्दथ्यो । अझै पनि अधिकांशले तपाईसँग कुन क्यामेरा छ, कुन लेन्स छ ? भनेर प्रश्न गर्छन् । आममानिसको भ्रमपूर्ण धारणा भनेको तपाईसँग क्यामरा राम्रो हुने बित्तिकै फोटो राम्रो आउँछ भन्ने हो । यो भनेको चुलो राम्रो भएर खाना मिठो पाक्छ भने जस्तै हो ।

फोटोग्राफी पनि प्रविधिमा आधारित कला हो । प्रविधिको सदुपयोग गरेर चाहेको दृष्य कैद गर्ने सीप हो  । साथमा राम्रो क्यामेरा भए पनि फोटो औसतभन्दा पनि झुर आएपछि मलाई चुनौती झैं लाग्यो । मेरो अलि एकोहोरो खालको स्वभाव छ । एकतिर लागेपछि अन्तिम बिन्दुसम्म छाड्न मन लाग्दैन । यही लगावले काम गर्यो ।

आत्मसन्तुष्टि मात्र हो कि अरु पनि केही प्राप्त हुन्छ ?

नेपालको सन्दर्भमा फोटोग्राफी मात्रै गरेर  बाँच्ने सम्भावना एकदम कम छ । खासगरी वन्यजन्तु विधामा । त्यो अर्थमा मेरो फोटोग्राफी आत्मसन्तुष्टि मात्र हो । लगाव हो । त्यो लगावले आत्मसन्तुष्टि हुन्छ । कलाको सर्जकले जसरी कुनै कलाकृति पूरा गरेपछि सन्तुष्ट हुन्छ । म त्यस्तै हुन्छु ।

व्यवसायिक रुपमा फोटोग्राफी गरेर बाँच्न सकिने अवस्था छ ?

मेरो विधामा छैन । वन्यजन्तु तथा प्राकृतिक फोटोग्राफी गरेर बाँच्न सक्ने अवस्था छैन ।

एउटा फरक प्रसंग ! तपाईंले चाल्र्स डार्बिनको विकासवादी सिद्धान्तहरुबारे टिप्पणी गरेको कुराहरु यदाकदा पढ्न पाइन्छ । छोटोमा भन्दा त्यसलाई कसरी बुझ्ने ?

प्रकृतिमा रहेका हरेक प्रजाति एउटा विशाल जीवनबृक्षका हांगाहरु मात्रै हुन् । यो बृक्षको जुनसुकै हांगा, पातबाट यसको जरातिर ओर्लदैं जाने हो भने सबै प्रजातिको मिलनबिन्दु एउटै हुन्छ । यही जीवनको आदिम स्वरुप हो । यो विविधताको जरा यही हो । हामी मान्छे कुनै परलौकिक इश्वरले कृपा गरेर बनाएको विशिष्ट जीव हैनौं । हामी पनि प्राकृतिक छनौटको निरुद्देश्यीय संयोग मात्रै हौं ।

मलाई पपुलर साइन्सका किताबमा निकै चाख छ । बिद्यालयमा पढाइने, घोकाइने पाठ्यापुस्तकले विज्ञानपठनको रुचिलाई मार्छन् । बैज्ञानिक खोज, चिन्तन, आबिष्कार आदिका जटिल भाषा आम मान्छेलाई बुझाउने सरल किताबको हरदम खोजीमा हुन्छु म । हाम्रोमा यस्ता किताब शून्य बराबर छन । अन्य अखबारी लेखनले त साहित्यको एकहोरो डोज पेलेको पेल्यै छ । हामी हाम्रो बिश्वदृष्टिकोण बैज्ञानिक बनाउनुपर्छ, चिन्तनप्रणाली बैज्ञानिक र बस्तुगत हुनुपर्छ भन्छौं । तर विज्ञानका आविष्कार, विचार तथा सिद्धान्तबारे मूलतः बेखबरजस्तै छौं । भएका जानकारी पनि गलत, अधुरो वा अपुरो छन् । विज्ञानको बिद्यार्थी नभएकाले म चाहिँ आमभाषामा बिज्ञानका जटिल बिषय बुझाउने किताबको खोजीमा हुन्छु ।

चार्ल्स डार्विनको विकासवादी सिद्धान्तको मेरो पछिल्लो अध्यन यसैको निरन्तरता मात्रै हो ।  मलाई डार्विन मज्जाले बुझेको छु भन्ने भ्रम रहेछ । आम मान्छे झैं बाँदरबाट मानिसको विकास भएको वा एक कोषिय जीवबाट क्रमशः जटिल संरचना भएका प्राणीको विकास भएको भन्ने दुई लाइनको वाक्यलाई मैले डार्बिको सिद्दान्त ठानेको रहेछु । संयोगले रिजार्ड डावकिन्सको द ब्लाइन्ड वाच मेकर पढदै गएपछि डार्विन बारे आफ्नो ज्ञानको भ्रम टुट्यो । यो किताब प्रकाशन भएको ३० वर्ष पछि, तिसौं संस्करणमा मेरो हात लाग्यो । यत्रो समय डार्बिन बुझेको छु भन्ने घमण्डले मलाई पछि पारेछ ।

योसंगै मेरो डार्विन र उनको विचारको पुष्ट्याई गर्ने जिवावशेष, जीव विज्ञान, आनुबंशिक बिज्ञान र भ्रुण बिकासको बिज्ञानमा भएका पछिल्ला बिकास र त्यससम्बन्धी अन्य दर्जनौ किताबको एक साथ अध्ययनमा छु म अहिले ।  मलाई बल्ल डार्बिनको उचाई सगरमाथा झैं लाग्न थालेको छ ।

प्रकतिमा अस्तित्वमा आएका हर ठूला साना प्राणी अदभूत छन् । मानौं,  कसैले ठ्याक्कै उसको आफ्नो कार्यब्यापार सञ्चालन गर्न र अस्तित्वमा रहन डिजाइन गरेरै पठाएको जस्तो – वातावरण अनुसार रंग फेर्ने छेपारो, प्रजननका लागि पोथी पुतली फकाउने रंगिन पुतलीदेखि जटिल संरचना बिकास गरेको स्यापियन्ससम्म । यस्ता लाखौं प्रजाति छन् ।

डार्विन भन्छन् – जीवनको यो बिबिधता र प्रकृतिमा तिनको अनुकूलन (एडप्टेशन) को कारण प्राणीहरुको क्रमविकास हो । अनि यो क्रमविकासलाई डोर्याउने संयन्त्र चाहिँ प्राकृतिक छनौट हो । प्रकृतिमा रहेका हरेक प्रजाति एउटा विशाल जीवनबृक्षका हांगाहरु मात्रै हुन् । यो बृक्षको जुनसुकै हांगा, पातबाट यसको जरातिर ओर्लदैं जाने हो  भने सबै प्रजातिको मिलनबिन्दु एउटै हुन्छ । यही जीवनको आदिम स्वरुप हो । यो विविधताको जरा यही हो । हामी मान्छे कुनै परलौकिक इश्वरले कृपा गरेर बनाएको विशिष्ट जीव हैनौं । हामी पनि प्राकृतिक छनौटको निरुद्देश्यीय संयोग मात्रै हौं । न त हाम्रो यो स्वरुप नै अन्तिम हो ।

यो नै डार्विनको खतरनाक विचार हो ।

खैर, यो अति गहन कुरा हो । यसबारेमा बुझ्न, बुझाउनको लागि छोटा टिप्पणीभन्दा पनि विषयवस्तुले अलि विषद् चर्चाको माग गर्छ । त्योबारेमा नै केन्द्रीत रहेर भिन्नै चर्चा गर्दा मात्रै विषयको चुरोमा पुग्न सकिन्छ कि भन्ने मलाई लाग्छ ।

 

कमेन्ट

  1. March 31, 2019, 9:44 p.m. Bhusan
    Thanks v much for this article.Hunata yo bichar samudra ko yek thopa pani hola tara thopa thopa pani batai samudra banyo hola hoinara?yesta bichar haru ajhai khojdai khotaldai jaun hai?Mr.Hararee ko the Homo syapince and the Homo deos purai padnuxa.thanks Sunita.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...