सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अर्बपति हिरा कारोबारी निरव मोदीले अदालतसामू भने, ‘घरपालुवा जनावरको हेरबिचार गर्नुछ, जमानत दिनुस्’

आइतबार, १७ चैत २०७५, ०८ : २२
आइतबार, १७ चैत २०७५


भारतका हिरा कारोबारी निरव मोदीको जमानत याचिका लण्डनको वेस्टमिन्स्टर अदालतले खारेज गरिदिएको छ ।

निरव मोदीलाई लण्डनको होल्बोर्न इलाकाबाट १९ मार्चमा पक्राउ गरिएको थियो । त्यसपछि उनलाई लण्डनको वेस्टमिन्स्टर अदालतमा पेश गरिएको थियो । त्यतिबेला अदालतले निरव मोदीलाई २९ मार्चसम्म हिरासतमा पठाएको थियो ।

४८ वर्षका निरव मोदीले शुक्रबार (२९ मार्च) मा अदालतसँग जमानतको अपिल गरेका थिए तर अदालतले उनको अपिल खारेज गर्दै उनलाई पुनः हिरासतमा राख्न आदेश दियो ।

उनले जेलबाट छुट्नका लागि थुप्रै प्रयास गरे । निरवले अदालतसँग आफ्नो घरपालुवा कुकुरको हेरबिचार गर्नुपर्ने भएकाले आफूलाई जमानत दिनुपर्ने अपिल गरेका थिए ।

निरवका वकिलले अदालतसँग निरवको ब्रिटेनसँग निकै गहिरो सम्बन्ध भएकाले त्यहाँ कहिले पनि लुक्ने र भाग्ने कोसिस नगरेर खुल्लमखुल्ला रुपमा बसिरहेको बताए । निरज अब २६ अप्रिलसम्म जेलमा बस्नुपर्छ । त्यसै दिन उनको मुद्दाको अर्को सुनुवाई निश्चित हुनेछ ।

निरवका वकिलले भनिन्, ‘ब्रिटेनका मानिसहरु जनावरलाई निकै प्रेम गर्छन्’

मुख्य न्यायाधिस एम्मा एबर्थनटले निरव देश छोडेर भाग्न सक्ने र उनको ब्रिटेनसँग कुनै प्रकारको सामाजिक सन्धी नभएको कारण देखाउँदै शुक्रबार  निरवको जमानत याचिका रद्द गरेका बताइन् ।

निरवलाई जमानत दिलाउनका लागि उनकी वकिल क्लेर मोन्टगोमेरीले थुप्रै तर्क दिइन् । उनले भनिन्, ‘निरवका छोरा स्कूलको पढाई पूरा गरेपछि युनिभर्सिटीमा गएका छन् । त्यसकारण वृद्ध आमा–बुवाको हेरबिचारका लागि कुकुर राख्नुप–यो । उनले देश छोडेर भाग्ने सक्ने कुनै पनि कारण छैन । लामो समयदेखि ब्रिटेनका मानिसहरु जनावर प्रेमीको रुपमा परिचित छन् । ’

उनले थपिन्, ‘निरव भाग्ने कुरा कल्पना नै गर्न सकिन्नँ । उनीसँग भाग्नका लागि सुरक्षित स्थान नै छैन । उनले कहिले पनि बाहिर यात्रा गरेका छैनन् र अन्य स्थानको नागरिकताका लागि निवेदन नै दिएका छन् । उनलाई यो देशमा बस्नका लागि जमानत दिनुपर्छ ।’

भारतको तर्फबाट बहसमा संलग्न क्राउन प्रसिक्यूशन सर्भिस (सिपिएस) का वकिलले निरव ब्रिटेन छोडेर भाग्ने खतरा भएको बताए । उनका अनुसार निरवले प्रमाण नष्ट गर्ने र साक्षीहरुलाई प्रभावित गर्नसक्ने सम्भावना पनि छ ।

उनका अनुसार निरवले एक साक्षीलाई हत्या गरिदिने धम्की दिँदै फोन गरेका थिए भने अर्कालाई पैसाको प्रलोभन देखाएका थिए ।

निरव मोदीको जमानत याचिका खारेज हुनेबेला अदालतमा उपस्थित बीबीसी संवाददाता गगन सभरवालले भनिन्, ‘मैले पहिलो पटक निरव मोदीलाई देखिरहेकी थिएँ । मैले अहिलेसम्म उनका विभिन्न तस्बिर देखेकी थिएँ । जुन निरव मोदीलाई मैले पत्रिका र टिभीमा देखेकी थिएँ, त्यहाँ उनी  महँगो कपडामा ठाँटिएका एक व्यवसायी थिए । उनको अनुहारमा मिठो मुस्कान पनि हुने गर्दथ्यो ।’

उनी थप्छिन्, ‘तर जुन निरव मोदीलाई मैले अदालतमा देखेँ उनी त्योभन्दा ठ्याक्कै विपरित भेटिए । उनले सेतो सर्ट लगाएका थिए जुन खुम्चिएका थिए । उनी निराश र अशान्त थिए र उनले आफ्नो सेतो दाह्रीसमेत काटेका थिएनन् । कोर्टमा सुनुवाईको क्रममा उनी नोट्स बनाइरहेका थिए । मैले पहिलो पटक कुनै अभियुक्तले यस्तो गरेको देखेकी थिएँ, विजय माल्याले पनि यस्तो गरेका थिएनन् । साधारणतया अभियुक्तका वकिल, अदालतका कर्मचारी र मजस्ता पत्रकार नै अदालतभित्र नेट्स लेख्छन् । तर निरव भिन्न थिए । आफ्नो अर्को सुनुवाईका लागि उनले यसरी तयारी गरेको हुनसक्छ ।’

निरवले भारतको पञ्जाक नेशनल बैंकबाट १३ हजार करोड भारु घोटाला गरेको आरोप छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप