केन्द्रीय संस्करण

सुख समृद्धिको दृष्टान्त सत्तासीनहरु आफैँ मात्र ?

person explore access_timeचैत १६, २०७५ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

 हामीकहाँ अहिले सरकारी पहलमा सजधजका साथ वृहत् समृद्धिपुराण लागेको छ । देशी विदेशी श्रोता उपश्रोताहरु जुटेका छन् । मुलुक जात्रामय बनेको छ । समृद्धिपुराणका  वाचक उपवाचकहरु विभिन्न मन्चहरुमा देखिन्छन्, सुनिन्छन् । जो मन्चहरुमा देखिन्छन्, सुनिन्छन् ती एक से एक समृद्ध छन् ।

 तिनका निकटतम इष्टमित्र तथा आफन्तहरु पनि समृद्ध छन् । आगन्तुकहरु त यसै समृद्ध छन् । सत्ताका समृद्ध कलाकार वक्ताहरुबाट सुनिने सुखसमृद्धिका सपनाहरु हामी सर्वसाधारण जनताका लागि भने परम्परागत पुराण मन्चहरुमा सुनिने वैकुण्ठका सपनाहरुभन्दा पनि तिलस्मी, रमाइला र रोचक लागेका छन् ।

    यसमा विशिेष रोचक पक्ष के पनि छ भने हामीकहाँ वर्तमानमा उदाएका सुखसमृद्धिका मिथक निर्माता र राजनेताहरु आपूm स्वयम् सुख समृद्धिका एक से एक भव्य नमुना एवम्, दृष्टान्तहरु छन् । 

यसरी यहाँ सुखसमृद्धिका सपना पस्कनेहरु महात्मा गान्धीका अनुयायी त हुँदै होइनन् । सर्वहारावर्गको प्रतिनिधित्व गर्ने परम्परागत राजनीति दर्शन बोकेका राजनेता कार्यकर्ता पनि होइनन् । इमान, जमानका पक्षधर पनि होइनन् । यसैले यिनीहरु भुइँमान्छेका जीवनस्थिति र समस्याबाट कुरा शुरु गर्दैनन् । आधारभूत जनताका जीविका जुटाउने उपायहरुबाट कुरा शुरु गर्दैनन् । 

साँच्चासाँच्ची प्रयत्नका साथ जनजीवन उठाउने योजनाहरुबाट कुरा शुरु गर्दैनन् । नेपाली प्रतिभा र ऊर्जा नेपालमै खपत भएर नेपाल र नेपालीको विपन्न जीवनस्थितिलाई सम्पन्नतामा रुपान्तरण गर्ने योजनाबाट कुरा शुरु गर्दैनन् । यिनीहरु आकाश र समुद्रमा चल्ने जहाज र कल्पनाका लिकहरुमा हुँइकिन रेलहरुबाट कुरा शुरु गर्छन् । कुरैकुरामा देशदेशावरका मानिस जुट्ने जुटाउने र कुरा गर्ने कामहरु त गर्छन्, जनता ढुक्क हुन सकिने भरपर्दो वातावरण निर्माण गर्न आवश्यक पहल गर्दैनन् ।

 परम्परागत शैली र स्वभावका सत्ताका सजिसजाउ मन्चहरु छन् । कामचलाउ श्रोताहरु छन् । रोचक भाका शैलीमा कथा पस्कन जान्ने वाचक उपवाचकहरु छन् । वाचक उपवाचकले यदाकदा पहिरिने मालाको त कुरै नगरौं कुनै पनि पुराणमा नसुनिएका लम्बाइ र तौलका, देख्दै हाँसो लाग्दा फूलमालाहरु समेत छन् । ती माला बोकेर पहिराउने दासानुदास भक्तजनहरु पनि छन् । यसैमा मिथकको मिथकता छ ।
    नेपालको राजनीतिमा को पक्ष को प्रतिपक्ष सबै आफ्आफ्ना  पन्थका पुराण वाचनमा झुमेका छन् । आफ्ना श्रोतावृन्दबाट स्वागत सत्कारमा उत्तरोत्तर बढी लम्बाइ बढी तौलका मालाधारणका प्रतियोगितामा रमेका छन् । पहिले घाँटीदेखि लत्रेर गोलीगाँठासम्म पुग्ने मालालाई ‘बनमाला’ भनिन्थ्यो, अहिलेको जुग ‘धनमाला’को छ । अहिलेका नेताले आफ्ना अनुयायी भक्तजनहरुबाट स्वागत अर्पणमा पहिराइने मालाका लम्बाइ धरहराले पनि धान्न सक्दैन ! भुइँमा लत्रन आइपुग्छ !! भनेपछि आजका हाम्रा राजनेताहरु धरहराभन्दा पनि अग्ला छन् ! राणाका दरबारहरुभन्दा पनि भव्य छन् !! यो पनि पौराणिक परम्परा उछिनेर अगाडि बढेको हाम्रो राजनीतिको मिथकीय चमत्कार नै हो ।

    मूल कुरा यहाँ सुखको छ, समृद्धिको छ । सत्ता राजनीतिको आजको मूल धार सुखसमृद्धि नै हो । सुखसमृद्धि कसको ? सत्तासीन साहुजीहरुको ? अथवा अकिन्चन जनताको ? पुराणमा सवै प्रश्नहरुको तात्विक जवाफ भेटिन्छ नै भन्ने छैन । कति प्रश्नका जवाफ बिपनामा भेटिँदैनन् । चटक, चमत्कारका कुरा अलि बेग्लै हुन् ।

    चटक, चमत्कारहरु पनि पहिले पुराणहरुमा सुनिन्थे, अहिले हामीकहाँ चित्रविचित्रका राजनीतिक नाटक मन्चनहरुमा भेटिन्छन् । 

    भर्खरैको भेटमा एक जना प्रतिभाशाली तथा उर्जावान् वरिष्ठ पत्रकार भाइले भन्नुभयो, ह्यान्स एण्डरसनको विश्वप्रशिद्ध कथा ‘बादशाहका नयाँ पोशाक’को अनुवाद गर्नुहोस् न ! छपाएर हेरौँ, हाम्रा राजनेताहरुले पढ्लान् कि ?! आत्मबोध गर्लान् कि ? मलाई लाग्यो, भैँसीलाई शास्त्रीय सङ्गीत सुनाएर शास्त्रीय नृत्य नचाउने रहरजस्तो उहाँको परिकल्पना पनि कम मिथकीय छैन । थप यस रहरमा पुरातनप्रतिको किन्चित् मोह पनि छ ।

०२८ अघिको प्रवेशिका पाठ्यक्रममा अंग्रेजीको गद्यपाठ्यमा ‘इम्प्यारर्स न्यु क्लथ’ अर्थात् बादशाहको नयाँ पोशाक पढाइन्थ्यो, कवि वाल्टर्स स्कटको ‘प्याट्रियटिज्म’ अर्थात् देशभक्ति शीर्षकको कविता पनि अङ्ग्रेजी पद्यपाठ्य अन्तर्गत पढाइन्थ्यो । नैतिकता शिक्षाका विभिन्न पाठ्यहरु पनि पढाइन्थे । ०२८ अघि प्रवेशिका उत्तीर्ण गरेका आजका कति सत्तासीन राजनेताहरुले त त्यो पढेका हुँदा हुन् ।

त्यस समय खण्डका नेपाली पाठ्यक्रमका गद्यपद्य पाठ्य पनि  भाषा शिक्षण र असल चरित्र निर्माणका दृष्टिले तुलनात्मक रुपमा उपयोगी थिए । ०२८ को नयाँशिक्षा योजनाको ब्रुमरले यो सवै बढार्यो । अझ विशेषतः ०४६पछि नेपालमा देशभक्ति र नैतिकताका पाठहरु आवश्यक नै रहेनन् सवै बढारिए । पछि अख्तियार दुरुपयोग निवारण आयोगबाट ‘निवारण’ बढारिएजस्तै गरी बढारिए । यसैले पनि अहिले बादशाहहरु आफ्ना ‘नयाँ पोसाक’का कथा पढ्दैनन् । सडकपेटीबाट बालकहरुले ‘हाम्रो बादशाह नाङगै !’ भनेर चिच्याए पनि सुन्दैनन्, सुने पनि नग्नताबोध गर्दैनन् । आफुले आफूलाई हेर्ने र बोध गर्ने त कुरै हरायो  । हुनत हेर्नलाई पनि देख्नसक्ने आँखा त चाहिन्छ, जसरी सुन्नलाई ग्रहणशील कान चाहिन्छ, बुझ्नलाई विवेकशील मनमस्तिष्क चाहिन्छ ।

    अन्तमा हामी पुराणजीवी सर्वसाधारण नेपाली जनहरु आत्मसम्मोहनकै लागि भए पनि कल्पना गरौं, सुखसमृद्धिको भव्य पुराण लागेको आजको नेपालमा नेपालीले सुखी र समृद्ध हुन जनता एक एकले आफैँ राष्ट्रपति हुनु पर्छ, आफैँ प्रधानमन्त्री, मन्त्री, सांसद र हाकिम हुनु पर्छ, यसका लागि समाजवाद उन्मुख हाम्रो संविधानले बाटो छेकेको छैन ।
 

  कल्पना गरौं, हाम्रो मुलुकमा तीन करोड जनता एक एक राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र हाकिम बन्न सरदर कति वर्ष लाग्ला ? ती एक एकले ती ती पदमा पुग्न र समृद्ध बन्न के के गर्नु पर्ला ?
    इतिश्री सुखसमृद्धि पुराणे नेपाल खण्डे अगस्त्यकुमार सम्वादे  सत्तासीन स्वयम् दृष्टान्तो नाम सप्तमोध्यायः ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...