मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

लगानीकर्ताको लगानी सुरक्षित गर्न, नाफा सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रम

शुरु भयो लगानी सम्मेलन
शुक्रबार, १५ चैत २०७५, १० : ०५
शुक्रबार, १५ चैत २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लगानीकर्ताहरुको लगानी सुरक्षित गर्न र नाफा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउँदै लगानीकर्ताहरुलाई नेपालमा ढुक्कसँग लगानी गर्न आह्वान गरेका छन् ।

राजधानीमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पाहुनाहरुलाई भगवानको रुपमा स्वागत गरिने उल्लेख गर्दै नेपालमा लगानीकर्ताहरुका लागि अवसरनै अवसरहरु भएको जिकिर गरेका हुन् ।

उनले नेपाल विदेशी लगानीकर्ताहरुका लागि दोस्रो घर र व्यवसायको हब बन्ने दाबी समेत गरे ।

‘एक वर्षअघि रारा तालको किनारबाट नेपालको विकासको खाका प्रस्तुत गर्दा मैले हाम्रा मित्र तथा हितैसीहरुसँगको सहकार्य आवश्यक रहेको कुरामा जोड दिएको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘आज यो सम्मेलनमा हाम्रो निमन्त्रण स्वीकार गरेर महत्वपूर्ण कार्यक्रममा सहभागी आउनुभएका मित्रहरुलाई देख्दा निकै खुसी लागेको छ ।’

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कल्पना नभएर पूरा गर्न सकिने दृष्टिकोण भएको बताउँदै यसका लागि सबैको साथ आवश्यक रहेको बताए ।

उनले अब नेपालमा हिंसाको लागि कुनै स्थान नभएको बताउँदै कानुनी व्यवस्थामा खलल पुर्याउनेहरुलाई कानुन बमोजिम कारवाही गरिने बताए ।

उनले आर्थिक बृद्धिको लागि राजनीतिक स्थायित्व मुख्य आवश्यकता रहेको बताउँदै अहिले देशमा राजनीतिक स्थिरताको साथै नीतिगत रुपमा एकरुपमा रहेको पनि जिकिर गरे ।

‘हाम्रो तत्कालीन लक्ष्य भनेको कम विकसित मुलुकको तहभन्दा माथि उठ्ने, मध्यकालिन लक्ष्य भनेको मध्य–आय भएको मुलुकको स्थितिमा पुग्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने हो,’ प्रधानमन्त्रीले भने ।

यसका लागि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नु आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय योजनाको आयोगको तथ्यांक अनुसार आगामी पाँच वर्षमा नेपालमा ८८.१८ बिलियन डलर लागनी आवश्यक रहेको बताए । ‘यो आवश्यकता पूरा गर्नका लागि सबैलाई सहयोग गर्न म आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले नेपाल आर्थिक नीति र वैदेशिक लागनी स्वागत गर्न लचिलो मलुक भएको बताउँदै केही क्षेत्रबाहेक सबै क्षेत्रमा लगानी शतप्रतिशत खुला रहेको जिकिर गरे ।
उनले नेपालको जनसंख्याको ५७ प्रतिशत जनता काम गर्न सक्ने उमेर समूहमा रहेको उल्लेख गर्दै नेपालको कामदारको लागत सस्तो भएको बताए ।

त्यस्तै, नेपालले संघीय प्रणाली अंगिकार गरेको बताउँदै उनले सबै प्रदेशले समान लगानीको अवसर प्राप्त गर्नुपर्नेमा जोड पनि दिए । उनले यसका लागि हरेक प्रदेशमा कम्तिमा एउटा औद्योगिक क्षेत्र खोलिने बताए ।

“गाढा मैत्री तथा पारस्परिक लाभका लागि साझेदारीको विकास, यो साझेदारीबाट नेपालमा पर्याप्त लगानी प्राप्त हुने र त्यसको आकर्षक प्रतिफल लगानीकर्तालाई प्राप्त हुनेछ”, असल कार्यका निम्ति सम्मेलनमा एकत्रित भएका लगानीकर्तालाई सम्मेलनको औचित्य सुनाउँदै प्रधानमन्त्रीले भने । लगानीका लागि पचहत्तरभन्दा बढी सम्भावित परियोजना चयन गरिएको जानकारी दिँदै उनले नेपालमा उपलब्ध अवसरको भरपुर उपयोग हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले नेपालमा लगानी गर्न जोखिममुक्त रहेको बताउँदै सबैलाई नेपाललाई लगानी गर्न आह्वान गरे ।

४० देशका ६ सय भन्दा बढी लगानीकर्ता सहभागी रहेको सम्मेलनमा स्वदेशी र विदेशी गरि झण्डै १ हजार लगानीकर्ताहरु सहभागी भएका छन् । सम्मेलनमा लगानी बोर्डले तयार पारेका उद्योग, पर्यटन, उर्जा, शिक्षा तथा शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य लगायत क्षेत्रका ५० र नीजी क्षेत्रका २७ गरि ७७ वटा विषयगत परियोजनाहरु प्रस्तुत गरिने छ । विदेशी लगानी भित्र्याउने उद्देश्यसाथ सरकारले दुई दिने लगानी सम्मेलन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप