शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीसँग इतिहास, सभ्यता र अर्थतन्त्र जोडिएको छ: मुख्यमन्त्री शाही

बिहीबार, १४ चैत २०७५, १६ : २८
बिहीबार, १४ चैत २०७५

सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली नदीसँग कर्णालीको इतिहास, सभ्यता र अर्थतन्त्र जोडिएको वताएका छन् । तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५ को बिहीबार सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नदी कर्णालीवासीको जीवनसँग जोडिएको बताए ।

इतिहासमा रेशमी मार्गका रुपमा परिचित कर्णाली करिडोर बङ्गाल र भोटको व्यापार जोड्ने ठुलो आर्थिक करिडोर रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले अब पनि कर्णालीलाई मुलुककै ठुलो अर्थतन्त्र निर्माणका लागि जुटनुपर्ने बताए । धार्मिक महत्वको मानसरोवर पुग्ने पर्यटकहरुका लागि कर्णाली करिडोर सबै भन्दा छोटो रुट हुने चर्चा गर्दै मुख्यमन्त्री शाहीले धार्मिक पर्यटनका दृष्टिले पनि कर्णालीको महत्व धेरै रहेको बताए । 

कर्णालीको प्राकृतिक स्वच्छता र सुन्दरताको संरक्षण अपरिहार्य रहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीको सुरक्षाका लागि सरोकारवाला सबै लाग्नुुपर्ने बताए । कर्णाली करिडोरमा सडक पूर्वाधारको विकासका लागि प्रदेश सरकार लागिपरेको भन्दै मुख्यमन्त्री शाहीले अबको ५ वर्षभित्र सडकमार्गबाटै पर्यटकहरु मानसरोवर जाने दावी गरे ।

केही महिनाअघि नदी संरक्षण संस्थाको अगुवाईमा कर्णाली नदीको उत्पतिस्थल तिब्बतदेखि गंगा नदीसम्म ४४ दिन लगाएर गरिएको अध्ययनमा आधारित वृत्तचित्र पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । शिखर सम्मेलन दैलेखको राकममा ३ दिनसम्म चल्नेछ ।

सम्मेलनमा नेपाल र नेपाल बाहिरका बैज्ञानिक, नदी संरक्षण अभियन्ता, पत्रकार लगायतको सहभागिता रहेको छ । शिखर सम्मेलनको आयोजक संस्था नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले विविधतायुक्त विश्वका ५ महत्वपूर्ण नदीमध्ये एउटा नदी कर्णाली रहेको कारण कर्णालीको अवस्था अध्ययन, नदी संरक्षण लगायतका विषयमा सम्मेलनमा व्यापक छलफल हुने जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप