‘विदेशी लगानी बढी भएको देशमा जुनसुकै बेला आर्थिक सङ्कट पर्न सक्छ’
देश अहिले लगानी सम्मेलनको पूर्वसन्ध्यामा छ । शुक्रबार र शनिबार हुने दुई दिने सम्मेलनलाई केन्द्रित गरेर विभिन्न तहबाट टीकाटिप्णीहरु आइरहेको छन् । सरकारले लगानी सम्मेलनलाई नै केन्द्रित गरेर धेरै कानुन संशोधन गरिसकेको छ । विदेशी लगानी भित्र्याएर देशलाई समृद्ध बनाउने सपनामा सरकार छ । यसअघिका सम्मेलनभन्दा यो पटकको सम्मेलन के अर्थमा पृथक देखिएको छ भने सरकारले ७७ वटा आयोजना नै तोकेर सोकेसमा राख्दैछ । जसले कुन क्षेत्रमा लगानीकर्ताको रुचि छ भन्ने बुझ्न सहज हुनेछ । यस पटक प्रतिबद्धता मात्र होइन लगानी नै बढी भित्रिने सम्पूर्ण क्षेत्रको अपेक्षा पनि छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा हामीले एनआरएनका संस्थापक अध्यक्ष तथा लगानीकर्ता उपेन्द्र महतोसँग सरकारको तयारी, निजी क्षेत्रको चासो, विदेशी लगानीको वातावरण र एनआरएनले ठूला आयोजनामा लगानी गर्न नसक्नुका कारणबारे सोधेका छौँ ।
सरकारले सम्मेलनका लागि तपाईंलाई निमन्त्रणा पठायो नि होइन ?
मलाई की स्पिकरका रूपमा बोल्नका लागि सरकारले निमन्त्रणा पठाएको छ ।
उसो भए लगानी सम्मेलनको तयारी कसरी गर्दै हुनुहुन्छ ?
लगानी सम्मेलनको जुन हिसाबले कुरा गरिन्छ यसलाई दुई किसिमले हेर्न सकिन्छ । एकातिर सरकारले अथवा निश्चित अधिकार प्राप्त संस्थाले टिक मार्क लगाउन कार्यक्रम गरेको जस्तो देखिन्छ भने अर्कोतिर वास्तवमै नेपालमा लगानी चाहिन्छ भन्ने आशय पनि देखिएको छ । लगानी भनेको बाह्य र आन्तरिक लगानी दुवैलाई महत्त्व दिएर हेर्नुपर्छ । आन्तरिक लगानीलाई अझ बढी प्राथमिकता र महत्त्व दिनुपर्छ भन्ने मलाई लाग्छ । जबसम्म कुनै पनि देशमा बाहिरी लगानी आउन इच्छुक हुँदैनन् तबसम्म आन्तरिक लगानी पनि अगाडि बढ्न सकिरहेका हुँदैनन् । बाहिरी लगानी आउन थालेपछि भित्री लगानी बढ्छ । अहिलेको लगानी सम्मेलनमा सरकार मात्र होइन निजी क्षेत्र र आम जनता पनि अलि बढी नै उत्साहित देखिन्छन् । लगानी सम्मेलनबाट प्रतिफलको आशा आम मानिसमा छ ।
एक लगानीकर्ताको हिसाबले तपाईंको चाहिँ उपस्थिति कस्तो रहनेछ ?
मेरो देशमा जतिसक्दो बढी लगानी आओस भन्ने अवश्य पनि म चाहन्छु । यसले भित्री लगानीकर्ताको विश्वास जागेर आउँछ । लगानीकर्ता आउँदा छोटो समयमा विकास हुनसक्छ । विदेशी लगानीकर्ता साथीहरुलाई म व्यक्तिगत रूपमा लगानी ल्याउनका लागि आह्वान गर्नेछु ।
अहिले सरकारले सबै क्षेत्रमा वैदेशिक लगानी ल्याउने गरी तयारी गरेको छ, यो ठीक हो ?
अहिले संसार यति सानो भइसक्यो कि यो क्षेत्रमा लगानी ल्याउनुहुन्छ । यो क्षेत्रमा ल्याउनुहुन्न भन्दा पनि लगानी रोकिनुहुन्न भन्ने मेरो मान्यता हो । फरक केमा हुन्छ भने लगानीकर्ताहरुले जुन क्षेत्रमा लगानी गरे पनि भित्री लगानीकर्ता र बाहिरी लगानीकर्तालाई कुनै भेदभाव गर्नुभएन ।
कतिपय निजी क्षेत्रका लगानीकर्ताले के भन्छन् भने नेपाली लगानीकर्ताले राम्रो गरिरहेको क्षेत्रमा विदेशी लगानीकर्ता किन ल्याउनुपर्यो, नेपाली लगानीकर्तासँग सीमित पुँजी हुन्छ र उनीहरुले ठूलो नोक्सानी बेहोर्न सक्तैनन्, यसकारण नेपालीले राम्रो गरिरहेको क्षेत्रमा भन्दा अन्य क्षेत्रमा ल्याउँदा राम्रो भन्ने आशयका अभिव्यक्ति दिइरहेका छन्, यसमा तपाईंको धारणा के छ ?
लगानी भनेको त्यस्तो क्षेत्रमा आउनुपर्छ जहाँबाट आयातलाई विस्थापित गर्न सकिन्छ र निर्यात बढाउन सकियोस् । उत्पादनशील क्षेत्रमा लगानी आउँनुपर्छ । उत्पादन क्षेत्रमा पनि जुन क्षेत्रमा हामीले राम्रो गरिरहेका छौँ भने हामी डराउनु पर्दैन । किनभने हामीले राम्रो गरिरहेका छौँ भने बाहिरी लगानी आएर के फरक पर्छ र ? उनीहरुले हामीसँग आएर प्रतिस्पर्धा गर्न सक्छन् । यसले गर्दा हामी अझ राम्रो गर्न सक्छौँ । उनीहरुसँग पुँजी बढी हुनेबित्तिकै उनीहरुलाई आम्दानी नै चाहिँदैन भन्ने त होइन नि । हामी राम्रो गरिरहेका छौँ भने प्रतिस्पर्धाबाट उनीहरु आफै डराउँछन् । कुनै पनि क्षेत्रमा लगानी रोकेर रोकिँदैन । नेपाली लगानीकर्तालाई म के भन्न चाहन्छु भने बाहिरी लगानीकर्ताबाट डराउनु पर्दैन ।
नेपालको सन्दर्भमा वैदेशिक लगानी एकदमै आवश्यकता परेको क्षेत्र कुन हो ?
सबभन्दा बढी लगानी आवश्यक रहेको क्षेत्र जलविद्युत नै हो । किनभने यसमा ठूलो पुँजी चाहिन्छ । पूर्वाधार (रोड, टनेल, पुल, विमान स्थल) जसमा पुँजी पनि बढी चाहिने, प्रविधि पनि नयाँ चाहिने र वर्किङ स्टाइलमा पनि एक्सपोजर चाहिने ठाउँमा लगानी हुनुपर्छ । सानोतिनो व्यापारमा विदेशी लगानीको आवश्यकता पर्दैन ।
विदेशी लगानी न्यूतम यतिदेखि भित्र्याउने भनेर सीमा तोकिदिए नेपाललाई नै फाइदा पुग्थ्यो जस्तो लाग्दैन ?
मेरो विदेशको अनुभवले के बताउँछ भने यदि देशको आर्थिक स्थायित्व चाहिन्छ भने आन्तरिक लगानीलाई बढावा दिनुपर्छ । यसको अनुपात ७० प्रतिशत स्वदेशी र ३० प्रतिशत विदेशी लगानी गर्यो भने सन्तुलन हुन्छ । विदेशी लगानी मात्र धेरै भयो भने भोलि सम्बन्धित देशको आर्थिक सङ्कट परेको खण्डमा वा हाम्रो देशमा कुनै पनि साधारण विषयमा द्वन्द्व भएको खण्डमा विदेशी लगानी एकै पटक बाहिरियो भने देशमा विकराल आर्थिक सङ्कट निम्तिन्छ । यसकारण विदेशी लगानीको अनुपात स्वदेशीको भन्दा उच्च हुनुहुँदैन ।
तपाईंले आन्तरिक लगानीको कुरा गर्नुभयो, यसअघि राजनीतिक अस्थिरतालाई देखाएर लगानीकर्ताहरु लगानी गर्ने वातावरण छैन भनिरहेका हुन्थे तर अहिले राजनीतिक स्थिरता छ, पाँच वर्षका लागि सरकार बनेको छ । यस्तो अवस्थामा न त विदेशी लगानी बढ्न सक्यो न त स्वदेशी लगानी नै, समस्या कहाँ रहेछ ?
समस्या हाम्रो बुझाइमा छ । म सन् १९८२ मा रसिया गएको थिए सो बेला कतिवटा सिमेन्ट फ्याक्ट्री नेपालमा थियो र आज कतिवटा भए, फलामको फ्याक्ट्री कति थियो र अहिले कति भयो । लगानी नबढेको होइन । हाम्रो समस्या के छ भने देशको कुरा गर्दा समस्याको मात्र कुरा गर्छौं । समस्या मात्र भएको भए यति ठूलो रूपमा प्रत्येक व्यापारिक हाउसहरुको नाफा बढेकै छ ।
समस्याको कुरा गरिन्छ भने सफलताको पनि कुरा गर्नुपर्छ । सफलताको कुरा गर्दा धेरै राम्रा कुरा भएका छन् । जसको हिजो २ वटा कारखाना थिए आज ४ वटा पुगेको छ । सरकारी कारखानाहरु डुबेको छ तर निजी कारखाना डुबेको छैन । निजी क्षेत्रले राम्रै गरिरहेको छ । अमेरिकामा पनि लगानी सम्मेलन गर्ने हो भने त्यहाँ पनि समस्याकै कुरा बढी आउँछ । आज संसारको कुन देश होला जसलाई विदेशी लगानीको आवश्यकता छैन र आन्तरिक लगानी प्रोत्साहित गर्नुपर्दैन भन्ने कुनै देश छ र ? समस्या सबै ठाउँमा छ ।
तपाईंका अनुसार नेपालमा आन्तरिक लगानीको अवस्था सन्तोषजनक नै छ होइन ?
हो, लगानी भइरहेको छ । विस्तारै बढिरहेको पनि छ । अझै देशलाई अगाडि बढाउनका लागि विदेशी लगानीको आवश्यकता छ । विदेशी लगानीको आवश्यकता किन पनि भएको छ भने नैतिक रूपमा र भौतिक रूपमा विदेशी लगानी आउन थाल्यो भने आन्तरिक लगानीका मित्रहरुले आफ्नो लगानी बढाउन थाल्छन् र प्रतिस्पर्धा गर्न सक्छन् ।
तपाईं लगानी सम्मेलनमा एक स्पिकरका रूपमा जाँदैहुन्छ, तपाईं ग्लोबल इन्भेस्टर पनि हो । यस हिसाबले विदेशी लगानीकर्ता भित्र्याउन त्यहाँ तपाईंले कसरी अपिल गर्नुहुन्छ ?
मेरो अनुभवमा संसारमा कुनै पनि देशमा लगानी बढ्छ भने त्यसमा सबैभन्दा ठूलो भूमिका त्यहीको नागरिकको हुन्छ । नेपालमा यो अवसर छ भनेर सरकारले बोलेर मात्र हुँदैन । जसले नेपालमा लगानी गरेको छ, उसले बुझाउनुपर्छ । चिनेका लगानीकर्तालाई नेपालमा किन लगानी नगर्ने अहिले त राजनीतिक स्थिरता छ । ऐन कानुनहरु विदेशी लगानीमैत्री बनेका छन् भनेर जानकारी गराउनेछु । नेपालका लगानीकर्ताले नेपाल घुमाउन र ल्याउन सक्नुपर्छ । एक पटक आएपछि उसले मन पराउन थाल्छ । नेपालमा कर्मचारीतन्त्रमा समस्या छ । आउन चाहने लगानीकर्तालाई माया गरेर बोलाइहाल्नुपर्छ ।
लगानी सम्मेलन हुन्छ, प्रतिबद्धता पनि प्रशस्तै आउँछ तर प्रतिबद्धताको निकै न्यून रकम मात्र भित्रिन्छन् । यसले सम्मेलनको औचित्यता त देखिँदैन नि होइन ?
प्रतिबद्धता भनेको सबैले दिन्छन् भन्ने नै छैन । मैले तपाईंलाई घरमा बोलाउनु छैन भने मेरो घरमा आउनुस् मात्र भन्छु न समय भन्छु न लोकेसन दिन्छु । ओपन इन्भिटेसनजस्तो भयो । यो भनेको नो इन्भिटेसन हो । घरमा बोलाउनु छ भने समय निकालेर यो दिन आउनुस भन्छौँ । त्यो दिन आएपछि पाहुन नआइन्जेल पाँच पटकभन्दा बढी फोन गर्छौं । चार पटकभन्दा एक दिन समय निकालेर आउनुहुन्छ । लगानीकर्ताहरु पनि त्यस्तै हुन् । लगानी सम्मेलन गरेर प्रतिबद्धता जनाएको भरमा उनीहरु आउँदैनन् । सबभन्दा पहिला प्रतिबद्धता केमा हो, जानकारी लिनुपर्यो त्यसपछि घच्घच्याउनुपर्यो । नेपालमा पाँच करोड लगानी गर्छु भनेर गयो भने तपाईंले उसलाई केमा लगानी गर्ने भनेर सम्झाउन सक्नुभएन भने आउँदैन ।
अहिलेसम्म लगानी सम्मेलनमा आएकाहरू पार्टीमा सहभागी हुन आएजसरी आउँछन्, जान्छन् । न त प्रोजेक्ट छ न उनीहरुको प्रतिबद्धता नै सिरियस छ । फलोअप पनि हुँदैन ।
तर यसपालिको सम्मेलनमा निश्चित आयोजनाहरु प्रस्तुत गर्दैछौँ । त्यसले लगानीकर्ताको प्रतिबद्धता कुन क्षेत्रमा भनेर बुझ्न सहज हुन्छ । अहिले संसार यति पारदर्शी भएको छ कि मैलै कतै लगानी गर्छु भन्यो भने मेरो बायोडाटा सबै थाहा हुन्छ । आवश्यकता जसलाई पर्छ उसले नै घच्घच्याउनुपर्छ ।
अहिलेसम्मको लगानी सम्मेलन टिक मार्क लगाउनका लागि मात्र भएको थियो । अब त्यस्तो हुँदैन । लगानी भनेको पैसाको व्यापार हो । अहिलेसम्म प्रोजेक्ट नै थिएन भने लगानी कहाँबाट आउँछ ।
अहिले प्रोजेक्ट किटान गरिएकाले कुन प्रोजेक्टमा कतिको रुचि छ ? कम्तीमा पनि यो विषय आम जानकारी हासिल गर्न सहज हुने भयो ।
६ सय मानिस आउँछन् भनिएको छ । त्यसमा १० प्रतिशतको मात्र रुचि भयो भने ६५ वटा प्राजेक्ट त गइहाल्यो नि । हामी अब नाप्न सक्छौँ । हिजोसम्म सामान्य कुरा थियो भने आज नाप्न सकिन्छ ।
नेपालमा तपाईंको लगानी कति छ ?
मेरो लगानीले मात्र नेपाल बन्ने होइन । गैरआवासीय मित्रहरुले गर्ने दीर्घकालीन लगानी र हाम्रो लगानीले मात्र नयाँ उचाइमा पुर्याउँछ । यसमा धैर्यता चाहिन्छ । ऊर्जा, स्वास्थ्य लगायतका ठूला आयोजनामा लगानीकर्ता आउनुपर्छ । मेरो एउटा सपना छ, नेपाललाई संसारकै स्वास्थ्य क्षेत्रको गन्तव्य कसरी बनाउने ? नेपालबाट बाहिर गएको पैसा मात्र मैले बचाउन सकेँ भने हुन्छ ।
एनआरएनहरुले जुन रूपमा गफ लगाउँछन् सो अनुपातमा ठूला ठूला आयोजनामा लगानी ल्याउनै सकेनन् भन्ने आरोप छ, यसलाई मान्नुहुन्छ ?
अहिलेसम्म नेपालमा ठूला–ठूला आयोजना नेपालमा छँदै थिएनन् । सोकेसमा ठूला आयोजना आएनन् । नेपाल आएर प्रोजेक्ट पहिचान गरेर, सर्भे गरेर बस्ने खालका लगानीकर्ताहरु कम पाउनुहुन्छ । केही न केही आयोजनाको पहिचान गर्नुपर्छ । लगानीकर्ता आफैले अनुसन्धान गरेर बस्दैन । नेपालमा न निजी क्षेत्रले त्यस्तो गर्ने साहस राख्छन् न त सरकारसँग अनुभव छ । यसले गर्दा मात्र एनआरएनको लगानी रोकिएको हो ।
त्यसो भए सरकारले एनआरएनलाई लगानी गर भनेर भनेकै छैन त ?
क्षेत्र तोक्नु ठूलो कुरा होइन । यो आयोजनामा लगानी गर भनेकै छैन । अहिलेसम्म नेपालको लगानी सम्मेलनको इतिहासमा पहिलो पटक होला कुनै न कुनै रूपमा आयोजनाको पहिचान भएको छ । कमसेकम अहिलेदेखि सही बाटोमा हिँड्न सुरु गरेको छ ।
लगानी सम्मेलनलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ?
लगानी सम्मेलनमा आएका मित्रलाई नेपाल राम्रो छ, नेपाल सुरक्षित छ, नेपालीहरु इमानदार छन् भनेर निजी क्षेत्रका लगानीकर्ताले भन्नु पर्यो । देशमा विदेशी लगानी भित्र्याउन नागरिकको ६० प्रतिशत र सरकारको ४० प्रतिशत दायित्व छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई
-
‘कहाँबाट निम्ता आयो, कहाँबाट आएन भनेर गिर्नुपर्ने अवस्था आयो’