केन्द्रीय संस्करण
अन्तरवार्ता

प्रधानमन्त्रीको विशेष अन्तरवार्ता : ‘ज्ञानेन्द्रजी आफ्नो थान्कामा बस्नुस्, विप्लवले लुटेर खान छाडे हुन्छ’

‘म चाउचाउका पोका बाँड्न हिँडेको होइन, देश धनी बनाउन हिँडेको हुँ’ (भिडियो)

person explore access_timeचैत १४, २०७५ chat_bubble_outline5
बबिता शर्मा

रातोपाटी

‘समृद्ध नेपाल सुखी नेपाली’ नारासहित केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भइसकेको छ । यो एक वर्षमा ‘सरकारले निष्ठापूर्वक विकास तथा समृद्धिका लागि आधार खडा गरेको र आउँदा वर्षहरू उपलब्धिका वर्ष हुने’ प्रधानमन्त्रीको भनाइ छ । तर, सरकारको कामलाई लिएर विपक्षीले मात्रै होइन, सत्तारुढ नेकपाभित्रै पनि प्रश्न उठ्ने गरेका छन् । सरकारका कैयौँ निर्णय विवादमा पनि तानिएका छन् । पाँच वर्षको कार्यकाल पूरा गरेर अर्काे आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत जनतासामु व्यक्त भएका प्रतिबद्धता पूरा हुने प्रधानमन्त्रीको विश्वास छ । तर, बजेटको खर्चदेखि सुशासनलाई लिएर सरकारमाथि कैयौँ प्रश्न उठेका छन् । कानुन निर्माण यस वर्षको अर्काे आधार भएको सरकारको भनाइ छ । सङ्घीयतासँग जोडिएका केही कानुनी विषय अझै टुङ्गिएका छैनन् । छिमेक तथा परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति भएको सरकारी दाबी छ । विगतका प्रतिबद्धताअनुसार अन्तर्राष्ट्रिय सहयोग र लगानी आएको छैन । ठीक यहीबेला सरकार लगानी सम्मेलन र बजेटको तयारीमा छ । सत्तरुढ दल नेकपाका अध्यक्षको हैसियतमा समेत प्रधानमन्त्री ओलीले समय खर्चनुपरेको छ । नेकपाले सङ्गठनात्मक एकता टुङ्गिएको छैन, बरु विवादमा छ । यसै सन्दर्भमा सरकारका कामदेखि विवादसम्म, विप्लवमाथिको प्रतिबन्धदेखि सीके राउतसँगको ११ बुँदे सहमतिसम्म र लगानी सम्मेलनदेखि बजेटको तयारीसम्ममा केन्द्रित रहेर रातोपाटीका लागि बबिता शर्माले बुधबार बिहान प्रधानमन्त्री ओलीसँग विशेष अन्तरवार्ता गरेकी छन् । प्रस्तुत छ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियोसहितको विशेष अन्तरवार्ता :

तपाईं निकै व्यस्त हुनुहुन्छ, डाक्टरहरूले स्वास्थ्यको ख्याल गर्न भनिरहेका हुन्छन् । तैपनि त्यसलाई बेवास्ता गरेर खटिइरहनुभएको देखिन्छ । स्वास्थ्यमा किन यति धेरै ‘कम्प्रोमाइज’ गर्नुभएको हो ?

जीवन भनेको आहार, विहार र आराम ः तीनवटा चिजको सन्तुलन हो । तर कहिलेकाहीँ कामको हिसाबले अलि राम्रो सन्तुलन राख्न सकिँदैन । म आफैँलाई पनि स्वास्थबारे केही जानकारी छ । डाक्टरहरूको पनि परामर्श हुन्छ । तर कामको चापले त्यसलाई पालना गर्न कहिलेकाहीँ सकिँदैन । किनभने हामी ढिलो गर्न सक्ने अवस्थामा छैनौँ । देशलाई विस्तारै काम गर्दा पनि हुन्छ भन्ने खालको स्थिति छैन । कतिपय काम छिटो गर्नुपर्ने, साथीभाइसँग भेटघाट गर्नुपर्ने, जानकारी लिनुपर्ने र, कतिपय नीति निर्माण गर्न वा निर्देशन गर्न विषयको जानकारी आवश्यक हुन्छ ।

विषयहरूको जानकारी एउटा विषयसँग मात्रै सम्बन्धित हुँदैन । भूगोल, कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत विषयगत विधाका जानकारी लिनैपर्ने हुन्छ । विकासका प्रयासमा विज्ञान र प्रविधिको प्रयोग कसरी गर्ने भन्ने विषयका बारेमा पनि जानकारी राख्नुपर्ने हुन्छ । हाम्रा सम्बन्धहरू कहाँ, कोसँग, कस्ता र किन छन् ? ती यावत कुरामा कमी नरहुन् भनेर अलिक अध्ययन पनि गर्नुपर्ने हुन्छ । त्यसलाई अलि बढी समय दिनुपर्ने हुन्छ । समयलाई व्यवस्थित गर्न कोसिस गरेको छु तर अझै राम्ररी व्यवस्थित गर्न सकेको छैन । त्यसो त अलि बढी दुःख गर्ने मेरो आदत पनि भयो ।

मेरो स्वास्थ्य ठिकै छ, नराम्रो छैन । काम गर्न सकिरहेकै छु । बानी नै जस्तो पनि भइसक्यो । चार पाँच घण्टा सुत्दा पनि पुग्छ । मलाई तपाईंहरूले कहीँ कुनै कार्यक्रममा म झकाएको, उँघेको वा आलस्यतामा देख्नुहुन्न । म थकित छु भन्ने तपाईंले थाहा पनि पाउनुहुन्न । १८ घण्टा काम गर्दा पनि म थकित हुन्नँ । त्यसकारण स्वास्थ्य राम्रै छ भन्नुपर्छ ।

समृद्ध नेपाल सुखी नेपालीको सपना लिनुभएको छ । सिंहदरबारमा दोस्रो इनिङको पनि एक वर्ष पूरा भएको छ । यो बीचमा तपाईंको सपनामा कति प्रगति भएको छ ?

अत्यन्तै राम्रो प्रगति भएको छ । मैले पहिलो वर्षलाई आधार वर्षका रूपमा लिएको छु । कानुनहरू निर्माण गर्नु थियो । मौलिक हक सम्बन्धित कानुनहरूको निर्माण गर्नु थियो । मैले संसदमा बोल्दा पनि भनेँ– सायद एक वर्षमा यति धेरै कानुन निर्माण, यति धेरै कानुन संशोधनको रेकर्ड विश्व इतिहासमा छ कि छैन, हेर्नुपर्छ । यो हामीले गरेका छौँ ।

अर्को, नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी झोलुङ्गे पुल बनेका छन् । इतिहासमा नै सबैभन्दा बढी पुल बनेका छन् । इतिहासमा सधैँभन्दा बढी लगभग ८ सय किलोमिटर बाटो कालोपत्र गरिएको छ । यस वर्ष शिक्षासम्बन्धी विद्यालय भर्ना अभियान चलाइयो । विद्यालय जाने उमेरका नगएका बालबालिकालाई लाखौँको सङ्ख्यामा विद्यालय पुर्याइयो । यो वर्ष विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर छैनन् भन्ने अवस्था ल्याउने अभियानमा हामी लागेका छाँै । साक्षरता बढीमा दुई वर्षभित्रभित्र लक्ष हासिल गरिसक्ने र निरक्षरता उन्मूलन गरिसक्ने उद्देश्य राखेका छाँै ।

म दाबीका साथ भन्न सक्छु, समृद्ध नेपाल सुखी नेपालीतर्फको यात्रामा हामी अगाडि बढेका छाँै ।

जीवन बिमा, सामाजिक सुरक्षालगायतका नयाँ कार्यक्रम अगाडि सारिएको छ । लगानीका निमित्त पैसा छैन भन्ने वातावरण अन्त्यका निम्ति पहल गरिरहेका छौँ । त्यसका लागि एकातर्फ आन्तरिक पुँजी परिचालनमा जोड दिएका छौँ । जस्तो; चैत ११ गतेसम्म ३७ लाख सेयर कित्ता बिक्री होला भन्ने अनुमान गरेका थियौँ । तर ६ करोड कित्ता पुग्नु असाधारण कुरा हो । हामीले अनुमान गरेको भन्दा ६ गुना बढी रकम हासिल भएको छ । अर्थात् नेपाली जनतामा उत्साह जगाउने एउटा काम भएको छ । निरासा बनाउने काममा त केही मान्छे लागेकै छन् । तर उत्साह र विश्वास जगाउने काम भएको छ ।

हामीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविमाथि उठाएका छाँै । मैले देशविदेशमा गएर, संयुक्त राष्ट्रसङ्घको महासभामा होस् वा राष्ट्रसङ्घको शान्ति विश्वविद्यालयमा होस्, चाहे कोस्टारिका, भारत, चीन वा स्विजरल्यान्डको डाभोसमा होस्, जहाँजहाँ म पुगेँ, ती ठाउँमा मैले नेपालका उपलब्धि, अहिलेको अवस्था, नेपालका आकाङ्क्षा र प्रयास सबै कुराका बारेमा स्पष्ट बताएको छु ।

नेपालले सार्वभौम समानताका आधारमा सम्बन्ध स्थापित गर्छ । यो एउटा हैसियत बनाएको छ । अथवा विभिन्न विषयमा स्पष्ट नीति र  स्पष्ट गन्तव्यका साथ हामी अगाडि बढेका छाँै । आधार वर्षले आधारहरू तयार गरेको छ । अब हामी गतिका साथ काममा अगाडि बढ्छाँै ।

म दाबीका साथ भन्न सक्छु, समृद्ध नेपाल सुखी नेपालीतर्फको यात्रामा हामी अगाडि बढेका छाँै ।

तपाईंले कामको फेहरिस्त प्रस्तुत गरिरहँदा केही मानिसले यो यथार्थपरक छैन भनेर टीकाटिप्पणी पनि गरिरहेका छन् नि ?

बहुदलीय व्यवस्था र दलीय प्रणालीको समुचित अर्थ र परिभाषा नबुझ्दाको समस्या हो यो । बहुदलीय प्रतिस्पर्धा भनेको जसरी पनि विरोध गर्नुपर्छ भन्ने अर्थमा बुझिएको छ । देशबाट पृथकतावादको अन्त्य गरियो । पृथकतावादी विचार, व्यवहार र सङ्गठनले पृथकतावाद छोडेर अब संविधानभित्रको राजनीतिक मूलधारमा आउने कुरा अवलम्बन गर्यो । त्यसको पनि विरोध भएको छ । अशान्ति, हिंसा, बमकाण्ड, तोडफोड नगर भनेर एक वर्ष सम्झाउँदा भएन । त्यसपछि मैले विध्वशंकारी क्रियाकलापमाथि प्रतिबन्ध भनेर त्यो रोक्ने भनेँ ।

जहिले पनि आतङ्कमा बाँच्नुपर्ने, कहाँ मरिन्छ थाहा नहुने, कतिखेर कसले बन्द गर्छ थाहा नहुने । यस्तो पनि हुन्छ ? कुनै एउटा कारण हुनुपर्दैन ? केका लागि बम–बन्दुक पड्काउने ? केका लागि मान्छे मार्ने ? कारण हुनुपर्दैन ? अकारणका यस्ता, पैसा असुलीका यस्ता वितण्डा ! यो कुराहरू रोक्नु जरुरी छैन, त्यसलाई रोक्नुपर्दैन ?

उद्योग खोल्न, हाइड्रोपावर बनाउन नपाउने, सञ्चार क्षेत्रमा विकास गर्न पनि नपाइने, विकास गर्न पैसा तल पठाइयो भने हामीलाई चाहियो भनेर माग्ने, लिने, लुट्ने ! मागे मात्रै भए पनि हुन्थ्यो, नदिए मार्दिन्छु भन्ने ! यो खालको आतङ्कलाई रोक्न खोज्दा त्यसको पनि विरोध ? त्यो पनि संविधानसम्मत भएन रे ! संविधानले के बम पड्काउन दिनु भन्छ ? कुन राजनीतिक पार्टीमाथि प्रतिबन्ध लागेको छ ? कहाँ दर्ता भएको पार्टीमाथि प्रतिबन्ध लागेको छ ? कुनै दर्ता, ठेगाना नभएको, कतै देखा नपरेको, यस्तो लोकतन्त्र, सामाजिक अपराध समूह !

लोकतन्त्रमा अपराध किन गर्नुपर्यो, लुकेर किन हिँड्नु पर्यो र प्रकट किन हुनपर्ने भएन ? लोकतान्त्रिक अभ्यास र सामाजिक मूल्यमान्यता आचरणका काम किन गर्नुपरेन ? गर्नु पर्यो नि त्यो । त्यो नगर्ने, अरू अरू बदमासी मात्रै गर्ने ! त्यो कुरालाई निषेध गर्दा पनि कतिपयलाई चित्तै दुख्ने !

लोकतन्त्रमा अपराध किन गर्नुपर्यो, लुकेर किन हिँड्नु पर्यो र प्रकट किन हुनपर्ने भएन ? लोकतान्त्रिक अभ्यास र सामाजिक मूल्यमान्यता आचरणका काम किन गर्नुपरेन ? गर्नु पर्यो नि त्यो । त्यो नगर्ने, अरू अरू बदमासी मात्रै गर्ने ! त्यो कुरालाई निषेध गर्दा पनि कतिपयलाई चित्तै दुख्ने !

उफ्रिन पाउनुपर्छ भन्ने । विषय के भन्दा मण्डलामा उफ्रिन पाइएन भनेर रे । मण्डला फोहोर गर्ने ठाउँ हैन, सानो ठाउँ हो । सातवटा बाटोको बीचमा छ । दुर्घटना हुनसक्छ । ट्राफिक कठिनाइ हुन्छ । त्यो ठाउँ  किन, अरू ठाउँमा गरे हुन्छ नि ! विरोध प्रदर्शन पनि अन्यत्र गरौँ । त्यहाँ किन गर्ने ? पहिले पहिले पनि रोक्थ्यो त्यहाँ । अहिले पनि किन विरोध गर्ने भनेर भन्दा लोकतन्त्र माइतीघर मण्डलामा गएर रोकियो ! अवरोध भयो लोकतन्त्र !

माइतीघर मण्डला भनेको पवित्र ठाउँ हो । त्यो खासमा उफ्रिने कुल्चिने ठाउँ होइन । त्यसकारण त्यहाँ मैले झण्डा राखेँ । गौरवको पवित्र ठाउँ बनाउने भनेर झण्डा राखेर सम्मानयोग्य ठाउँ बनाउने हो । झण्डा देखेर सम्मानभाव प्रकट होस् भनेर त्यो काम गर्यौँ । तर त्यहाँ उच्छृङ्खलताको थलो बनाउन खोज्ने काम भयो । त्यसो गरिरहनुपर्दैन ।

प्रदर्शन नै गर्न रोक लगाइएको होइन । एउटा सीमित स्थान, जहाँ प्रदर्शन गर्नका लागि एकदमै अनुपयुक्त स्थान भएकाले मात्र रोक लगाइएको हो । अघिल्ला सरकारले जस्तो शान्तिपूर्ण जुलुस, साइकल जुलुसमा गोली चलाउने, मान्छे मार्ने जस्तो त भएको छैन । कतै केही गरिएको छैन । अहिले त निहुँ खोज्नका लागि, सरकारले दमन किन गर्दैन भनेर निषेधाज्ञा, निषेधित क्षेत्र तोड्ने वितण्डा खडा गर्ने !

अनि त्यो निषेधित क्षेत्र तोडेपछि, निषेधाज्ञा उल्लङ्घन गरेपछि रोक्नुपर्यो । त्यसो गर्दा पार्किङ गरेका, सर्वसाधारणका, नचिनेका निजी गाडी जलाउने, तोडफोड गरेर हिँड्नुलाई लोकतन्त्र भन्ने ? यस प्रकारका क्रियाकलाप गर्नु भनेको लोकतन्त्रको अर्थ र प्रयोग नबुझेकाहरूले गर्ने हो ।

लोकतन्त्र भनेको शान्ति, सुव्यवस्था, सभ्यता, सभ्य–मर्यादित समाज, जहाँ मान्छे ढुक्कले हिँड्न सकून्, सुरक्षित महशुस गर्न सकून् र सम्मानित जीवन महशुस गर्न सकून् र आफूलाई अधिकार सम्पन्न सम्झन सकून । आफ्नो अधिकार अरूले थिचोमिचो गरेको महशुस नहोस् मान्छेलाई । समृद्धितर्फ सबैले आफ्ना कर्तव्य पालना गरून् र त्यसतर्फ अघि बढून्– त्यो हो लोकतन्त्र । यहाँ मुख छाड्न पाउनु, असभ्य हुन, बोल्न, जथाभावी गर्न पाउनु, नाङ्गै हिँड्न वा प्रदर्शन गर्न पाउनुलाई त्यो लोकतन्त्र भन्ने ! कसैलाई मर्यादा गर्नुपर्दैन, मर्यादित संस्थाहरूको मर्यादा राख्नु नपर्ने र अपशब्द, अभद्र व्यवहार गर्नुलाई चाहिँ लोकतन्त्रको सदुपयोग ठान्ने ! त्यसमा आफ्नो बडप्पन देख्ने !

त्यो खालका विकृत सोचहरूले वा केही पाउला भनेको त्यो पाइनँ भन्ने कुण्ठाका अभिव्यक्ति, ईष्र्याका अभिव्यक्ति वा लोकतन्त्रका परिणाम जनताका अभिमतलाई पचाउन नसकेका ती अलोकतान्त्रिक, अधैर्य कुण्ठाहरूको अभिव्यक्ति जस्ता कुराहरूले विरोध गर्नु वा नेपालमा स्थिरता, स्थायित्व देख्न नसक्ने त्यस्ता खालका केही बाह्य सङ्घसंस्थाहरू, कुनै देश त्यस्तो त मैले देखिरहेको छैन । तर केही संस्था र त्यसमा आबद्ध केही व्यक्ति नेपालमा स्थिरता, स्थायित्व भएको र नेपालले गरिखाएको, प्रगति गरेको देख्न नसक्नेहरू र तिनका प्रभावहरू हुन सक्छन् । त्यसकारण आलोचनाका लागि आलोचना, विरोधका लागि विरोध वा फरक उद्देश्यका साथ, नेपाल विरोधी नियतका साथ गरिने विरोध वा नबुझेर त्यस दुस्प्रभावमा परेर गरिने विरोध, तिनीहरूको कुरा बेग्लै हो । जसको वास्तविकता र यथार्थसँग सम्बन्ध छैन ।

यहाँ त टेलिभिजनहरूमा विद्वानहरूले बोलेका भाषा सुन्नु भएको छ । माइतबाट ल्याएको, ससुरालीबाट ल्याएको, दाइजो, बपौती ! यस्तो भाषा, उसका बाउको, उसका आमाको, उसका माइतीको – त्यस्तो भाषा । यस्तादेखि लिएर कस्ता कस्ता भाषा प्रयोग हुने गरेका छन् । ती कुरा सुन्नुभएको छ ?

लोकतन्त्रमा सरकारका काम कारबाहीमा चित्त बुझेन भने सम्बन्धित निकायले सुन्ने गरी शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने कुरा त सबैको लोकतान्त्रिक अधिकार हो भन्ने कुरालाई त तपाईंले मान्नुहुन्छ होला । यो सन्दर्भमा शान्तिपूर्ण र भद्रविरोध गर्ने सिलसिलामा हुने प्रदर्शनहरूलाई सुनाउनका लागि नजिकै गएर कराउनुपर्ने वा चिच्याउनुपर्ने, अन्यथा त्यो आवाज नसुनिने स्थितिबीचमा प्रतिबन्धित क्षेत्रका दायरालाई चाहिँ झनै फैलाउँदै परपर लैजानुको अर्थ चाहिँ के होला ?

के भनेको हो तपाईंले त्यो मलाई थाहा भएन ।

जस्तो अमेरिकामा ह्वाइटहाउस अगाडि गएर विरोध गर्न पाउने, भने हामीले निषेधित क्षेत्रलाई धेरै परसम्म पुर्याउनुपर्ने अर्थ के होला  ?

एक ठाउँ । ह्वाइटहाउस अगाडि बोलेको राष्ट्रपतिले सुन्छ भन्ने होइन । जहाँ बोले पनि सुन्छ । जस्तो पर्खाल लगाउने कुरालाई अमेरिकी संसदले स्वीकार नगरेपछि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गरेको तपार्इंले यहीँ सुन्नु भयो नि । नजिकै गएर सुनेको हो र ? सुन्नलाई आजको जमानामा मिटर, किलोमिटरको दुरीको कुरा होइन । मैले अहिलेसम्म बोलेका कुरा सुन्नलाई तपाईं मेरो अगाडि आज मात्रै आउनुभएको छ । अघिपछि मेरा कुराहरू तपाईंले सुन्नुभएको छ कि छैन ? सुन्नु भएको छ नि ! तपाईंको अनलाइनले लेखेको, भनेको कुरा मैले पनि सुनेको छु । अर्थात अहिलेको समय मुखले बोलेको कानमै पर्नुपर्छ भन्ने होइन ।

यहाँ फोटो खिचिराखेका तपाईंका भाँडाहरू छन् । यी भाँडाले खिचेर प्रसारण गर्छन् । त्यो संसारभर पुग्छ । अमेरिकाको ह्वाइटहाउस अगाडि ठूलो चौरी छ । त्यो चौरीमा प्रदर्शन गर्न दिन्छ । ह्वाइट हाउसअगाडि कति दुरी छ भनेर हेर्नु भएको होला । ह्वाइटहाउस अगाडि मात्रै हो त्यो । तर सिंहदरबारबाट भद्रकाली जति नजिक त होइन । त्यसकारण त्यो अगाडि भन्ने मात्रै हो । भारतमा एक ठाउँ दिन्छ, जन्तरमन्तरमा । राष्ट्रपति भवन अगाडि दिन्छ ? प्रधानमन्त्री कार्यालय अगाडि दिन्छ ? पार्लियामेन्ट अगाडि गएर प्रदर्शन गर्न पाइन्छ ? अथवा कहाँ कहाँ पाइन्छ ? नेपालमा निषेधित क्षेत्र तोड्नुलाई बहादुरी मानिन्छ ।

जन्तरमन्तरमा भनेका कुरा सरकारले सुन्छ कि सुन्दैन या सुनिरहेको छ कि छैन ? मान्छ कि मान्दैन बेग्लै कुरा हो । तर, उसको कानमै परेको हुँदैन भन्ने होइन । तसर्थ कुनै क्षेत्रमा त्यसरी निषेधित गरिएकै छैन । निषेधित क्षेत्र हुन्छन् । पार्लियामेन्ट भवन अगाडि आवागमना अवरोध गरेर, संसदको कामकारबाहीमा, सांसदहरूको आवागमन आदिलाई व्यवधान गरेर कहीँ पनि विरोध प्रदर्शन गर्न दिइँदैन । त्यस्तो गर्नु पनि हुँदैन । सरकारी कामकाजमा बाधा पर्नेगरी पनि विरोध गर्नु हँुदैन । विरोध सभ्य ढङ्गले गरिनुपर्छ ।

यहाँ त  टेलिभिजनहरूमा विद्वानहरूले बोलेका भाषा सुन्नु भएको छ । माइतबाट ल्याएको, ससुरालीबाट ल्याएको, दाइजो, बपौती ! यस्तो भाषा, उसका बाउको, उसका आमाको, उसका माइतीको – त्यस्तो भाषा । यस्तादेखि लिएर कस्ता कस्ता भाषा प्रयोग हुने गरेका छन् । ती कुरा सुन्नुभएको छ ? वास्तवमा सुन्नलायक भाषा, तरिका, हेर्न लायकका प्रदर्शन समेत नहुनु सोभनीय कुरा होइन । त्यो नेपाली सभ्यता र संस्कृतिमाथिको सांंस्कृतिक हमला पनि हो । हाम्रो सभ्यता, शालीनता, सहिष्णुता अनि सामाजिक संस्कारमाथिको हमला पनि हो । तर त्यसलाई त्यसरूपमा होइन, अर्कै क्रान्तिकारी आवरणभित्र त्यो दिइएको छ । कोही के लगाएर, कसरी, कसो गरे जान्छन्, सिंहदरबार अगाडि देख्नु नै भएको हो । केही केही क्यामेराले त खिचे अरू क्यामेरा लिएर पत्रकार भागेका हुन्, क्यामेराका बिर्को लगाएका हुन् । यस्तो फोटो खिच्न सकिँदैन भनेर ।

म कुनै दन्तबझान गर्न चाहन्न, मलाई कुनै शोख पनि छैन । हामीले लोकतन्त्र लडेर ल्याएका हौँ । त्यसको रक्षा गर्छौँ । लोकतन्त्रको समुचित प्रयोग गर्छौं । नागरिक अधिकारहरूको समुचित प्रयोग गर्छौं, हाम्रो काम कर्तव्य त्यो हो ।

म तपाईंलाई भन्न चाहन्छु, पहिला ०४८ देखि ०५१ सम्मकोे तीन वर्षको अवधिमा तत्कालीन नेकपा एमालेका ३० हजार कार्यकर्तामाथि मुद्दा लगाइएको थियो, अकारण । लोकतन्त्र आएपछि असाधारण ढङ्गले १ सय २२ जना मान्छे गोली हानेर मारिए । के सशस्त्र सङ्घर्ष थियो त्यसबेला ? के लडाइँ थियो ? जुलुसमा कोही बन्दुक बोकेर गएको थिए ? विल्कुल शान्तिपूर्ण थियो । सडकमा गोली हान्दा, मान्छे भाग्दा रेलिङ भाँचिए, बाङ्गिए । मान्छे मारेको कुरा गरिएन, गोली लागेको कुरा गरिएन । रेलिङ भाँचियो भनियो । मान्छे मारिएको, गोलीले टाउको उछिट्याएको कुरा नगर्ने तर मान्छे मरेर सडक फोहोर भयो भन्ने कुरा गरियो । अहिले त्यस्तै स्थिति छ र ? हजारौँ मान्छे घाइते भएका थिए । अङ्गभङ्ग भएका थिए, गोली लागेको थियो । अहिले त्यस्तो भएको छ र ? अहिले त्यसरी दमन गरिएको छ र ?

त्यसर्थ, जसरी हौवा सिर्जन गरिएको छ, म कुनै दन्तबझान गर्न चाहन्न, मलाई कुनै शोख पनि छैन । हामीले लोकतन्त्र लडेर ल्याएका हौँ । त्यसको रक्षा गर्छौँ । लोकतन्त्रको समुचित प्रयोग गर्छौं । नागरिक अधिकारहरूको समुचित प्रयोग गर्छौं, हाम्रो काम कर्तव्य त्यो हो ।

हामी भ्रष्टाचार नियन्त्रण, न्यूनीकरण गर्दै अन्त्य गर्ने दिशातर्फ जान्छौँ, गरिरहेका छाँै । अहिले अनेक काण्डहरूको गिरफ्तारी गर्ने, पत्ता लगाउने, पहिलेदेखि लुकेका अपराधीहरूलाई गिरफ्तार गर्ने काम पनि गरिरहेका छौँ । एकाध पत्ता नलाग्नु बेग्लै हो । कहिले कहिले त्यस्तो हुन्छ । अहिले पोलिटिक्सले यस्तो गरिरहेको छ कि दिग्भ्रमित गर्ने– यता जान पाइँदैन, किन छानविन गरेको ? फलानोलाई किन नसमात्ने, विचरा किन समातेको ? अध्ययन अनुसन्धानका कामहरूमा पनि व्यवधान खडा गर्ने ।

तपाईंले निर्मला हत्या प्रकरणको कुरा गरिरहनुभएको हो ? 

त्यो पनि हो । ती आमाबाबुलाई पीडा दिएर, छेकेर, अनशन बसाएर, घेरेर राखे । उनीहरू त्यहाँबाट कुदेर भागे । भाग्दा लडेर खुट्टा भाँचियो । मानसिक अवस्था कमजोर हुने स्थिति बन्यो । डिप्रेसनमा जाने अवस्था बन्यो । किनभने त्यहाँ घेरेको घेरै, छेकेको छेकै गरे । एकातिर पीडा छ । त्यो पीडामा टेकेर अरुले मनोरञ्जन गर्ने, अरुले आफ्ना स्वार्थका रोटी सेक्ने, त्यस प्रकारका कामहरू भए । जसले गर्दा परिवारकै स्थिति अफ्ठ्यारोमा पर्यो ।

मैले एकछिनका लागि झलक्क तमासा देखाएर, जनतालाई यसो अल्मल्याएर भोट तानिहालौँ भनेर काम गरिरहेको छैन । देशबाट गरिबी उन्मूलन गर्नुछ । म चाउचाउका पोका बाँड्न हिँडेको होइन, देश धनी बनाउन हिँडेको हो ।

सरकारका कामकारबाहीमै केन्द्रित बनौँ, सरकारले जति कार्यक्रमहरू अघि बढाएको छ, ती कार्यक्रमहरू दुरगामी छन् । तर जनताले त तत्काल परिणाम खोज्छन् । जनताले तत्काल हातमा फलफूल खोजेका बेला प्रधानमन्त्रीले चाहिँ रुखका फलफूल नै देखाइदिनुभयो भन्ने किसिमका टिप्पणीहरू भएका छन् नि ?

त्यो केही मात्रमा ठीक हो । मैले एकछिनका लागि झलक्क तमासा देखाएर, जनतालाई यसो अल्मल्याएर भोट तानिहालौँ भनेर काम गरिरहेको छैन । देशबाट गरिबी उन्मूलन गर्नुछ । म चाउचाउका पोका बाँड्न हिँडेको होइन, देश धनी बनाउन हिँडेको हो ।

यसो चाउचाउको पोका बाँड्न सजिलो छ तर चाउचाउका पोका बाँड्ने होइन, । गरिबी अन्त्य गर्ने, समृद्धि बाँड्ने हो, समृद्धिको बाटो र उपाय बाँड्ने हो । समृद्धिको यात्रामा जनतालाई सँगै लिएर जाने हो । तसर्थ मैले अलिक दीर्घकालीन काम थालेको हो । मैले तत्कालको मात्रै कुरा गरिनँ । बाटाहरू राम्रा र चौडा बनाउने कुरा गरेँ, नपुगेका ठाउँमा बाटा पुर्याउने कुरा गरेँ । मैले पूर्वपश्चिम, उत्तर दक्षिण रेलको कुरा गरेँ । जलमार्गबाट समुद्रसम्म जाने र समुन्द्रमा आफ्नै पानीजहाज चलाउने कुरा पनि गरेँ । मैले एयरपोर्टहरू आधुनिक, नयाँ र राम्रा बनाउने कुरा गरेँ । यसै वर्ष हामीले ६ वटा एयरपोर्टलाई राति पनि चल्ने बनायौँ । पोखरा, भैरहवा, धनगढी, झापा लगायतका एयरपोर्टको स्तरोन्नति गर्यौँ । एकछिनका लागि मात्रै होइन, मैल विभिन्न देशहरूसँग हवाइ सम्पर्क सम्बन्ध सोझै लुम्बिनी, पोखरासँग कसरी जोड्ने कुरा गरँे । त्यसकारण, मैले दुरगामी हिसाबका, अहिलेका मात्र हैन, पछि प्रतिफल देखिने कामहरूको थालनी गरेँ । म प्राय भन्ने गर्छु– एसएलसी पढ्दै गरेका वा पढेका, सर्टिफिकेट लेभल पढेकालाई सक्छौँ भने पहिले पढाइ पूरा गर । मास्टर्स गर्यौ भने त्यसपछि तिमीले यो स्तरको काम पाउँछौ, एसएलसी लेभलबाट गयौ भने यस लेभलको काम पाउँछौ, जिन्दगीभरि त्यस लेभलको काम हुन्छ । तिमीले अरू ६ वर्ष अध्ययन गर्यौ भने त्यसपछि यस लेभलको काम पाउँछौ, मैले त्यो कुरा बताउँनु पर्छ । मैले कुखुरा काटेर खायौ भने एक छाक टर्छ तर त्यसबाट अण्डा पार्न लगायौ र खाने गर्यौ भने लामो समय चल्छ । त्यसबाट चल्लाहरू निकाल्यौ भने अरू धेरै हुन्छ । त्यो कुरा बताउनुपर्छ ।  

हामीले अबको तीन वर्षभित्र अल्पविकसितबाट विकासशील मुलकमा प्रवेश गराउनुपर्छ, गर्छौं । त्यसपछि १२ वर्षभन्दा छोटो समयमा नेपाललाई गरिबीमुक्त देश, शिक्षा, स्वास्थ्य, आम्दानी, विकास लगायत सबै क्षेत्रमा माथि उठेको र दिगो विकासका लक्ष्यहरू हासिल गरेको देशको रूपमा विकास  गर्नुपर्छ । त्यसकारण बाटा नबनाउने, उद्योग नखोल्ने, अहिले चाउचाउका पोका बाँड्ने; कपडा कारखाना नखोल्ने एक एकवटा रुमाल बाँड्ने ! यो खालका काम मबाट हुँदैन ।

यति शक्तिशाली सरकारबाट जनताले आफूलाई तत्काल राहत पुग्ने कामहरू होलान् र जनजीविकाका सवालहरू सम्बोधन होलान् भन्ने आशा गर्नु अस्वाभाविक पनि होइन । उदाहरणकै लागि सडकका खाल्डाखुल्डी पुर्ने काम गर्यो भने जनताले राहत पाउँछन् । जनताले त यस्तै काम हेर्ने होइनन् र ?

जनजीविकाको सवालमा जनताले सहज महशुस गरेका छन् । नेपाल जस्तो देशमा कोही खान नपाएर मर्दैन, कोही भोकै मर्दैन । मर्न दिन्नँ भनेर मैले भनेको छु । यस पटक तपाईंहरूले छाप्न÷प्रकाशित गर्न पाउनु भएन– फलानो ठाउँमा खाद्यान्न पुगेन, अनिकालले तबाह भयो भनेर । तपाईंहरूको त्यस्तो छाप्ने सोख त होइन नि ! तपाईंहरूको सोख त त्यस्तो छाप्नु नपरोस्  भन्ने नै हो नि ! तपाईंहरूको त्यो इच्छा मैले पूरा गरेको छु । अहिले पनि दुर्गम ठाउँहरूमा हामीसँग स्टोरमा अन्न छ । अहिले अन्नको कमी छैन । किनभने त्यहाँ अनिकाल लाग्न सक्छ । त्यस्तो भयो भनेपछि ए ज्या है भनेर हुँदैन । पहिले नै हामीले बन्दोबस्त गर्छौँ ।

अहिलेको सरकार देखाउनका निम्ति होइन, परिवर्तन ल्याउन काम गरिरहको छ । परिवर्तन ल्याउँछ, ल्याउँदैछ ।

त्यसैगरी हामीले लागि चीनसँग सम्झौता गरेका छौँ । हाम्रो बाटो सबै ठाउँमा नपुग्दासम्म चीनतिरबाट हामीले ठाउँठाउँमा अन्न पुर्याउने सम्झौता गरेका छौँ र तिब्बतको बाटो प्रयोग गरेर हिमाली भेगमा ठाउँ ठाउँमा पुर्याएका छौँ । खासगरी पुर्याउन कठिन हुने ठाउँहरू तिनीहरू हुन् ।

अर्को, हिमाली भेगमा किन्नै नसक्ने गरिबहरूलाई जाडोमा ज्याकेट ब्ल्याङ्केट बाँडेका छौँ र कोही कठ्याङ्ग्रिएर मर्ने स्थिति छैन ।  मैल तराईमा पनि व्यापारीहरूललाई ब्ल्याङ्केट ल्याएर राख्नुहोस्, हामीलाई चाहिएको जति किन्छौँ भनेका छौँ । केही हामी आफैले पहिले नै किनेर राख्छौँ । मैले रेडक्रसलगायत विभिन्न संस्थासँग सहकार्य गरेर भए पनि पहिलेदेखिकै तयारी भएको हुनाले यसपटक शीतलहरबाट मान्छे मरेका समाचार सुन्नु परेन ।

खाल्डाखुल्डीको कुरा गर्दा रातभर लगाएर पनि काम भएका छन् । अहिले सडकको धुलो टिप्न सातवटा ब्रुमर काठमाडौँमा रातभर परिचालन गरिएको छ । नेपालको इतिहासमा कहिल्यै यस्तो भएको थियो, रातभर रातभर सडकको धुलो टिप्न ब्रुमर प्रयोग गरेको ? एकैचोटि सबै समस्याका समाधान भइहाल्दैनन् । किनभने पहिले गरेको कालोपत्र उक्किएका हुन्, अहिलेका होइनन् । पहिले गरेको कालोपत्र पनि यस्तो छ कि ठूलो गाडी हिँड्छ पुक्लुक्क उक्किइहाल्छ । त्यस्तोलाई हामी अहिले पुरिरहेका छौँ । र, अब राम्रो, बाक्लो र बलियो बनाउँदैछौँ । पहिलाका कामका नकारात्मक असरको मारमा अहिले हामीले पर्नुपरेको छ ।

तपाईं अहिले एयरपोर्ट जानुस् ! के अहिले जस्तो एयरपोर्ट कहिल्यै  थियो ? म दावाका साथ भन्छु, कुनै पनि एयरपोर्ट जानुहोस्, पहिले पहिले देखेको एयरपोर्ट र अहिलेको एयरपोर्टमा के फरक छैन र ! निःसन्देह फरक छ ।

धेरै कुरामा फरक छ । बालबालिकाको पढाइ, हेरविचार, गरिबहरूका लागि फुसको छानो भएकालाई टिनको छानोमा परिणत गर्ने काम भएको छ । आगलागी भएपछि चाउचाउ बोकेर सेल्फी खिचेर फेसबुकमा राख्न जाने होइन । टिनको जस्तापाता बाँड्ने ताकि आगै नलागोस् भनेर । तात्कालिक राहात भन्नुहुन्छ यसलाई या दीर्घकालीन भन्नुहुन्छ ।

अहिलेको सरकार देखाउनका निम्ति होइन, परिवर्तन ल्याउन काम गरिरहको छ । परिवर्तन ल्याउँछ, ल्याउँदैछ ।

तर विपक्षीले सरकारको विरोध गरेर धर्म निभाएको मात्रै हो त ?

त्यो धर्म होइन, पापकर्म हो ।

प्रतिपक्षको कुरा एकछिनलाई छाडौँ । तपाईंको भनाइमा सरकारले धेरै राम्रा काम गरिरहेको छ । तर सरकारले जुन रफ्तारमा काम गर्नुपथ्र्यो, त्यो गर्न सकेन भनेर तपाईंको आफ्नै पार्टीभित्रबाट समेत पनि त आलोचना भइरहेको छ नि, किन ?

प्रचण्डले जे बोल्नुभयो, त्यो निराधार बोल्नुभएको होइन । अर्को कुरा, उहाँहरूको सङ्गठनमाथि प्रतिबन्धलाई कठोर निर्णय भन्नुभयो नि तपाईंले, त्यो सङ्गठनमाथिको प्रतिबन्ध होइन । उहाँहरूको वैधानिक र खुला सङ्गठन छैन । जुन सङ्गठन नै छैन भने खुला कहाँ छ र प्रतिबन्ध कहाँ लाग्यो ?

जुन बाटो बन्छ नि, त्यो कसैले भने पनि नभने पनि त्यहाँ हिँड्ने मान्छेले त देख्छ । एयरपोर्टमा परिवर्तन आयो भनेर भनुन् या नभनुन् त्यहाँ पुग्नेले परिवर्तन त देख्छ देख्छ । वैशाख १ गतेबाट बुटिक एयरपोर्ट बन्दैछ, आफ्नै प्रकारको नमुना । त्यो कसैले प्रचार नगरे पनि मानिसहरूले देख्छन् ।

सरकारलाई पार्टीभित्रैबाट चुनौती देखिएको हो कि भन्ने मेरो प्रश्न ?

केही चुनौती छैन । कुनैकुनै कुराले केहीकेही साथीहरूलाई असन्तुष्टि हुनसक्छ । कसैकसैका असन्तुष्टिका अभिव्यक्ति, कुण्ठा, ईष्र्याहरू होलान् । कसैले नबुझेका पनि होलान् । त्यो कुराले तथ्यलाई फरक पार्दैन ।

विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउने कठोर निर्णय गर्यो । त्यसका कारणहरूमध्ये एउटा चाहिँ तपाईंहरू लगायत शीर्ष नेताहरूलाई हत्या गर्ने योजना रहेको भन्ने बाहिर आयो । वास्तविकता त्यही हो त ?

त्यो उहाँहरू (विप्लव)को बैठकका निर्णय र माइन्युटले बोलेको कुरा हो । प्रचण्डले जे बोल्नुभयो, त्यो निराधार बोल्नुभएको होइन । अर्को कुरा, उहाँहरूको सङ्गठनमाथि प्रतिबन्धलाई कठोर निर्णय भन्नुभयो नि तपाईंले, त्यो सङ्गठनमाथिको प्रतिबन्ध होइन । उहाँहरूको वैधानिक र खुला सङ्गठन छैन । जुन सङ्गठन नै छैन भने खुला कहाँ छ र प्रतिबन्ध कहाँ लाग्यो ?

प्रधानमन्त्रीले सुझबुझपूर्ण ढङ्गले विखण्डनका नारा बोकेका सीके राउतलाई राजनीतिक मूलधारमा ल्याउनुभयो । त्यसैगरी विप्लवसँग पनि वार्ता गरेको भए हुन्थयो भनेर जनस्तरमा आवाज उठ्ने गरेको छ नि ?

सुन्नुहुन्न ? विरही कि केको भाषा ? त्यो भाषा त सुन्नु भएको होला ! कसैले वार्तामा बोलाएको मलाई थाहा छैन ! समयमा हामीले वार्ता गर्ने पनि भनेका हौँ । वार्ताबाट समस्याको समाधान खोजेका हौँ । म प्रधानमन्त्री भएपछि पनि एक वर्षभन्दा बढी समयसम्म पर्खिइयो, वार्ताका कोशिसहरू भए । तर, उहाँहरूको फाइँफुइँ देख्नुभएन ? वार्ताबाट यहाँ आएपछि त १० हजार रुपियाँ महिनाको न्यूनतम तलब प्राप्त गर्न नसक्नेले २० लाख भोलि बिहान हाजिर गर्नु, नत्र भने खत्तम भनेपछि भोलि २० लाख पाउँछ भने ... ।

महिनामा २० हजार नपाउनेले २० लाख ल्याउनु, २५ लाख ल्याउनु, ५० लाख ल्याउनु, तिमी धेरै धनी छौ ५ करोड बुझाउनु भनेर लुट्न पाएपछि केको वार्ता गर्छ ? वार्ताबाट त पैसा आउँदैन नि । उनीहरूलाई समस्याको समाधान चाहिएको हैन ।  उनीहरूको माग के हो, आज मलाई यो बताइदिनुहोस् त ? जनताको राज ? कस्तो हुन्छ जनताको राज भनेको ? यही त हो जनताको राज । जनताले आफ्ना प्रतिनिधि छानेका छन् । स्वाधीन राष्ट्रका स्वाधीन जनता सार्वभौमसत्ता सम्पन्न छन् । जनताले जे पनि  निर्णय गर्न सक्छन् । त्यही त हो हामीले ल्याउने प्रणाली भनेको । अनि उहाँहरूले ल्याउन खोजेको के ? र माग के हो ?

म ज्ञानेन्द्रजीलाई भन्न चाहान्छु, आफ्नो थान्कामा बस्नुस् । यो मैले कुनै ख्याल ठट्टा गरिरहेको छैन । उहाँ सम्मानित ढङ्गले पूर्वराष्ट्र प्रमुखको हैसियतमा सम्मानित ढङ्गले बस्नुपर्छ । संविधान विपरीतका गतिविधि विभिन्न ढङ्गले सञ्चालन गरिए भने संविधानअन्तर्गत हामीले ल्याउनुपर्ने हुन्छ ।

प्रधानमन्त्रीले यसो भनिरहँदा अहिले पूर्वराजा देश भ्रमणमा निस्केको कुरा पनि तपाईंलाई थाहा नै होला । विप्लवले गरेका गतिविधि, विखण्डनकारी त एक हिसाबले तह लागे, उनीहरूबीच कुनै कनेक्सन छ कि छैन होला ? तपाईंलाई के लाग्छ ?

म कुनै सिक्वेन्स बिक्वेन्स आदि इत्यादि हेर्दिनँ । संविधानविपरीतका गतिविधि जोसुकैका हुन् । म ज्ञानेन्द्रजीलाई भन्न चाहान्छु, आफ्नो थान्कामा बस्नुस् । यो मैले कुनै ख्याल ठट्टा गरिरहेको छैन । उहाँ सम्मानित ढङ्गले पूर्वराष्ट्र प्रमुखको हैसियतमा सम्मानित ढङ्गले बस्नुपर्छ । संविधान विपरीतका गतिविधि विभिन्न ढङ्गले सञ्चालन गरिए भने संविधानअन्तर्गत हामीले ल्याउनुपर्ने हुन्छ । त्यसकारण म स्पष्ट भन्न चाहान्छु, म कसैसँग आग्रह, पूर्वग्रह र प्रतिशोधको राजनीतिमा विश्वास गर्दिनँ । संविधान र संविधानसम्मत, लोकतन्त्र र लोकतान्त्रिक विधिमा विश्वास गर्छु, त्यसमा चल्नुपर्छ ।

अब अलिकति प्रसङ्ग मोडौँ । अहिले हामी लगानी सम्मेलनको पूर्वसन्ध्यामा छौँ । नेपालका सबै क्षेत्रमा लगानी भित्र्याउने सरकारको तयारी छ । तर नेपालका लगानीकर्ताहरू आफूले लगानी गरेको क्षेत्रमा विदेशीले लगानी नगरे हुन्थ्यो । सीमित लगानी भएका नेपाली लगानीकर्ताले विदेशी लगानीसँग प्रतिस्पर्धा गर्न सकिँदैन भनिरहेका छन् । यसमा स्वदेशी लगानीकर्ताहरूलाई विस्थापित हुन नपर्ने वा उनीहरूको संरक्षण गर्नेबारे सरकारका आधार र प्राथमिकता के कस्ता छन् ?

पहिलो कुरा, हामी राजनीतिक आन्दोलन, राजनीतिक अधिकार प्राप्तिका आन्दोलन, मोटामोटी सङ्क्रमणकाल पनि टुङ्ग्याएर, देशमा द्वन्द्व व्यवस्थापन पनि गरेर, पृथकतावाद पनि टुङ्ग्याएर समृद्ध नेपाल, सुखी नेपालीको महान उद्देश्यका साथ सुशासन र विकसको बाटोमा तीव्र गतिले अगाडि बढेका छौँ । आजको जमानामा हामी मन्द गतिले अगाडि जान सक्दैनौँ । तीव्र गतिले अगाडि बढ्नुपर्छ । त्यो तीव्र गतिले अगाडि बढ्न हाम्रो मात्रै पुँजी, प्रयास र प्रविधि पर्याप्त नहुन सक्छ या हुँदैन । त्यसकारण हामीले बाह्य पुँजी र प्रविधिसमेत लिनुपर्छ । हाम्रा मित्रहरूबाट लगानीको पनि अपेक्षा गर्नुपर्छ । त्यसर्थ बाह्य लगानीलाई दलाल पुँजी भन्ने, बाह्य लगानी हुनुहँुदैन भन्ने मध्ययुगीन खालको चिन्तन हो यो । अहिले हामीले जुनसुकै देशको पनि लगानी भित्र्याउने, लगानीका प्रयासहरू गर्ने हो । जोसँग धेरै छ वा विकास गरिसकेको छ, उसले बाहिरी लगानी भित्र्याउन त्यति बल गर्नुपरेन । हाम्रो जस्तो देश, जो विकास भएको छैन र विकास गर्नका  लागि पूर्वाधारहरूको निर्माण, उद्योगहरूको स्थापना वा अरू यस्ता कामहरूका लागि पुँजी र प्रविधिको कमी छ । त्यसमा हामी पुँजी र प्रविधिको क्षेत्रमा   अरूको पनि मद्दत लिनुपर्छ । त्यसर्थ हामी अरूको पनि मद्दछ लिन्छौँ ।

तर त्यसो गर्दा आन्तरिक रूपमा पुँजी पर्याप्त हुने र आन्तरिक पुँजी परिचालनबाट हुने कुराहरूलाई संरक्षण नगर्ने भन्ने होइन । तर हाम्रो आन्तरिक पुँजी कति छ भन्ने कुरा त  कति विकास भइरहेको छ ? कति लगानी भइरहेको छ ? त्यो त हामीले देखेका छौँ नि ! किन पछाडि छ देश ? किन पूर्वाधारहरू बन्दैनन् ? उद्योगहरू किन स्थापना हँुदैनन् ? भन्दा पुँजीको अभावमा हो । ठूलाठूला देशहरूसँग पुँजीको अभाव छ । बाहिर पुँजीको, लगानीको खोजीमा हिँडिरहेका छन् भने हाम्रो जस्तो देशले पुँजी र प्रविधि भित्र्याउन खोज्नु, त्यसलाई समुचित ढङ्गले देशको हितमा प्रयोग गर्न खोज्नु एकदमै जरुरी छ । यो कुनै भावनामा बग्ने विषय होइन । यो जानीबुझिकन हामीले पुँजी र प्रविधि भित्र्याउनुपर्छ, देशलाई दु्रत विकासको गतिमा अगाडि बढाउनुपर्छ । हामी आफै विकसित र सक्षम भएपछि त्यो समस्या हुँदैन । हिजो चीनले बाहिरबाट पुँजी र प्रविधि भित्र्याउन खोज्थ्यो, आज ऊ बाहिर लगानी गर्ने ठाउँ खोज्छ । परिस्थिति फेरियो । हामी पनि भोलि आत्मनिर्भर हुने मात्रै होइन, बाहिर लगानीका ठाउँहरू खोज्न सक्छौँ । तर आज बाहिरी लगानी खोज्नुपर्ने अवस्था छ । त्यसकारण हामी लगानी सम्मेलन गर्दैछौँ ।

मलाई विरोध होस्, नहोस् भन्दा पनि काम, उपलब्धि र परिवर्तन चाहियो । देशमा परिवर्तन, विकास र जनताको जीवनमा परिवर्तन चाहियो । उनीहरूलाई सुविधा सहुलियत पुर्याउनु पर्यो । मेरो ध्यान त्यसमा हुन्छ । आलोचना कसले गर्छ या गर्दैन, आलोचनाबाट बच्ने कुराको कति अर्थ हुन्छ र ?

करिब ६ सय सङ्ख्यामा ४० भन्दा बढी देशको सहभागिता हँुदैछ । यो राम्रो लक्षण हो ।

केही दिनअघि संसदीय दलको बैठकमा पार्टीका सांसदहरूलाई नीति योजना लिएर आउन निर्देशन दिनुभयो । सरकार बजेट निर्माणको तयारीमा छ । अब आउने बजेटमा नयाँ कार्यक्रमहरू के आउँदैछन् ?

हाम्रा नीतिहरू चुनावकै बेला पनि स्पष्ट गरेका छौँ । अघिल्ला नीति कार्यक्रममा पनि आएका छन् । मैले माथि भनेका कुराहरूमा पनि हाम्रा नीतिहरू आएका छन् । हाम्रा ‘ओरिएन्टेसन’ भएका छन् । हाम्रा उद्देश्यहरू प्रष्ट छन् र ती प्राप्त गर्नका निम्ति योजना, नीतिहरू बन्छन् । ती योजना कार्यक्रम कार्यान्वयन गर्न बजेटको व्यवस्था हुन्छ ।

हामी अन्धाधुन्ध होइन, बहुतै हिसाबकिताबका साथ राष्ट्रको आजको आवाश्यकताअनुसारका नीति, कार्यक्रम र बजेट– यी तीनटा कुरा हाम्रा उद्देश्यतर्फ सहयोगी हुनेगरी अगाडि बढाउँछौँ ।

अघिल्लो वर्षको बजेटलाई लिएर पार्टीभित्रै आलोचना भएकाले यसपटक त्यस्तो नहोस् भनेर सचेतता अपनाइएको हो ?

मलाई विरोध होस्, नहोस् भन्दा पनि काम, उपलब्धि र परिवर्तन चाहियो । देशमा परिवर्तन, विकास र जनताको जीवनमा परिवर्तन चाहियो । उनीहरूलाई सुविधा सहुलियत पुर्याउनु पर्यो । मेरो ध्यान त्यसमा हुन्छ । आलोचना कसले गर्छ या गर्दैन, आलोचनाबाट बच्ने कुराको कति अर्थ हुन्छ र ? मेरो ध्यान खास त्यसतर्फ हुँदैन । कसले आलोचना गर्छ, गर्दैन ? कसले के कस्तो देख्यो, त्यसले केही फरक पर्दैन ।

तपाईंले एकातिरबाट हेर्नुभयो भने मेरो एउटा कान देख्नुहुन्छ । तपाईं भन्नुहुन्छ, देब्रे कान छ, दाहिनेको टुङ्गो छैन । उताबाट हेर्दा दाहिने कान छ, देब्रेको ठेगान छैन । मैले त्यो कान देखाउँदै हिँड्ने भन्दा पनि मलाई दुवै कान छन भन्ने कुरा थाहा छ र म आफ्नो हिसाबले काममा लाग्छु । 

अहिले अनावश्यक विवादमा अल्झिने हैन, काममा अगाडि बढ्ने हो । त्यसकारण म परिणाम खोज्छु, परिवर्तन खोज्छु ।

प्रधानमन्त्रीज्यू, पछिल्लो समय मन्त्रीमण्डल हेरफेरको विषय अलि बढी चर्चामा आएको छ  । यस विषयमा केही बताइदिनुहोस् न ।

मन्त्रीमण्डल हेरफर हुन नसक्ने विषय होइन । अहिले २५ को सङ्ख्यामा एउटा सङ्ख्या खालि छ । एउटा मन्त्री नियुक्त गर्न सकिन्छ । त्यो मन्त्रालयको जिम्मेवारी मैले लिइरहेको छु । प्रधानमन्त्रीले नै लिएर पनि चल्न सक्ने कुरा हो त्यो । जति सङ्ख्या छ, त्यति भर्नैपर्छ भन्ने पनि छैन । मन्त्रीमण्डल हेरफेर हुन सक्ने हो, त्यो मैले भनेँ । त्यो यथार्थ हो । तर अहिले मन्त्रीमण्डल हेरफेर गर्ने मेरो कुनै सोच छैन, कुनै त्यस्तो विषयमा योजना पनि छैन । सोचेको पनि छैन अहिले । 

पार्टी एकता कहिले टुङ्गिन्छ प्रधानमन्त्रीज्यू ?

वैशाख १० गते हाम्रो पार्टी ७० वर्ष पूरा गर्छ । ७० वर्ष पूरा गर्नुभन्दा पहिले एकताको प्रक्रिया टुङ्गिसक्छ ।

यसको मतलब फेरि पनि प्रदेश कमिटी, स्थायी कमिटी जस्तै सरप्राइज रूपमा यहाँहरूले घोषणा गर्नुभयो । त्यस्तै सरप्राइजका रूपमा तलका कमिटीहरू पनि आउँछन् ?

अलि सरप्राइज जस्तै हुनेछ,  छिट्टै आउँछ ।

तर तपाईंकै पार्टीका शीर्ष नेताहरू त अध्यक्षद्वयले नै यसलाई बेवास्ता गर्नुभयो भनेर हिँडिरहनुभएको छ । केही दिनअघि मात्रै पनि वरिष्ठ नेता माधवकुमार नेपालले त्यसरी नै बोल्नुभएको थियो ?

उहाँले के बोल्नुभयो मैले सुनेको छैन । कसले के बोल्नुभयो भन्दा पनि विलम्ब भएको हो । मुख्य जिम्मेवारी अध्यक्षहरूले नै लिनुपर्छ । जहाँबाट जसको कारणले जसरी विलम्ब भए पनि त्यसको जिम्मेवारी हामीले लिनुपर्छ, हामी लिन्छौँ । र, छिट्टै नै अब एकता एकीकारणका बाँकी सबै काम पनि टुङ्गिन्छन् ।

भिडियोमा हेर्नुहोस्

 

कमेन्ट

  1. March 29, 2019, 12:03 a.m. surya rogu
    chilla mitha kura karma kirya bhane fushra bholi ko dinma parinam aauda thah hunxa kati ko gatolo kam gareka xau...tyo gangate chor amli dekhayera dherai bhasan naxata...
  2.  0 Reply
  3. March 28, 2019, 3:57 p.m. KALE KETO
    सपना धेरै राम्रो छ प्र.म. ओलीको ।हस्त नमस्ते।।
  4.  0 Reply
  5. March 28, 2019, 3:44 p.m. s
    तर विपक्षीले सरकारको विरोध गरेर धर्म निभाएको मात्रै हो त ? त्यो धर्म होइन, पापकर्म हो ।
  6.  0 Reply
  7. March 28, 2019, 1:46 p.m. administrator
    jptpm yeso vasa hernu ta k bola chha
  8.  0 Reply
  9. March 28, 2019, 12:20 p.m. Manna
    The biggest psychopath and dictator. Mr Oli has some mental problems he is very delusional. Better check off in a mental facility Oli.
  10.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...