शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख १० अघि अर्को सरप्राइज दिनेछौँ : प्रधानमन्त्री

तत्काल मन्त्री हेरफेर गर्ने कुनै सोच छैन
बुधबार, १३ चैत २०७५, १६ : ०७
बुधबार, १३ चैत २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १० गतेअघि नै पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुङ्गाएर सबैलाई अर्को ‘सरप्राइज’ दिने बताएका छन् ।

बुधबार रातोपाटीसँगको विशेष अन्तरवार्तामा प्रधानमन्त्री ओलीले वैशाख १० गते पार्टी स्थापना भएको ७० पुग्न लागेको बताउँदै त्यसअघि नै पार्टी एकताको प्रक्रिया टुङ्ग्याउने बताएका हुन् ।

‘वैशाख १० गते हाम्रो पार्टी स्थापना भएको ७० वर्ष पुग्दैछ । ७० वर्ष पूरा गर्नअघि एकताको प्रक्रिया टुङ्गिसक्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो सरप्राइज जस्तै हुनेछ,  छिट्टै हुनेछ ।’

पार्टी एकतामा विलम्ब भएको स्वीकार गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विलम्बको जिम्मा दुई अध्यक्षले लिने पनि जिकिर गरे । ‘जे–जसको कारणले विलम्ब भए पनि त्यसको जिम्मेवारी अध्यक्षद्वयले लिनुपर्छ । जिम्मेवारी हामी लिन्छौँ । तर अब चाँडै एकताको काम टुङ्गिन्छ,’ उनको भनाई थियो ।

यता, मन्त्री तत्काल हेरफेरबारे आफ्नो कुनै सोच र योजना नरहेको पनि प्रम ओलीले स्पष्ट पारे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमा नै मन्त्री हेरफेरको तयारी भइरहेको बताएपछि यसबारे निकै चर्चा भएको थियो । तर, रातोपाटीसँगको विशेष कुराकानीमा भने प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर हुन सक्ने विषय भएपनि त्यसलाई तत्काल हेरफेर गर्ने बारे आफूले कुनै सोच नबनाएको बताए ।

‘मन्त्री हेरफेर हुन नसक्ने विषय होइन । अहिले २५ को संख्यामा एउटा स्थान खाली छ । एउटा मन्त्री नियुक्त गर्न सकिन्छ । त्यो मन्त्रालयको जिम्मेवारी अहिले मैले लिइरहेको छु,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि लिएर त्यसलाई चलाउन सकिन्छ । जति संख्या चाहिन्छ, ती सबै भर्नैपर्छ भन्ने पनि छैन । तत्काललाई मन्त्री हेरफेर गर्ने कुनै सोच छैन । त्यो विषयमा कुनै योजना बनाएको छैन ।’

त्यस्तै, बजेटको तयारी बारे बोल्दै प्रधानमन्त्री ओलीले सरकार अन्धाधुन्ध नभएर बहुतै हिसाब–किताब गरेर राष्ट्रको आवश्यकता अनुसार र पार्टीको उद्देश्यतर्फ सहयोगी हुने गरी नीति, कार्यक्रम र बजेटलाई अगाडि बढाउन लागेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले हाम्रा नीतिहरु चुनावकै बेला स्पष्ट गरेका छौँ । अघिल्लो नीति तथा कार्यक्रममा ती आएका छन् । हाम्रो उद्देश्य स्पष्ट छ जसलाई कार्यान्वयन गर्न नीति ल्याइन्छ, त्यसलाई कार्यवान्यन गर्न योजना बन्छन्, योजनालाई कार्यान्वयन गर्न कार्यक्रम र कार्यक्रमलाई कार्यान्वयन गर्न बजेट आउँछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विशेष अन्तरवार्ताको पूर्ण पाठ भोलि बिहिबार प्रकाशित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप