केन्द्रीय संस्करण
विश्व रङ्गमञ्च दिवस

रङ्गमञ्च : समाजको प्रतिविम्ब,

व्यावसायिक बनाउन के गर्ने ?

person explore access_timeचैत १३, २०७५ chat_bubble_outline0
Credit : Photo Mahal

नेपाली रङ्गमञ्चको इतिहास हेर्ने हो भने राणाकालभन्दा अगाडिदेखिको परम्परा रहेको पाउन सकिन्छ । त्यसै समयदेखि नै कलाकारलाई प्रशिक्षण दिनेकै लागि कलाकेन्द्रहरू स्थापना भइसकेको कलाकर्मी तथा जानकारहरू बताउँछन् । पङ्कज चित्रकार जस्ता अग्रज कलाकारले धुलिखेल तथा छेउछाउका क्षेत्रमा रङ्गमञ्चीय कार्यक्रम सञ्चालन गरेको जानकारी पाइन्छ । 

लोक परम्परामा आधारित निकै पुराना धाननाच, बालन, सोरठी आदि नृत्यले पनि नेपाली रङ्गमञ्चीय परम्परालाई अझ मजबुत बनाएको छ ।

कलाकार र दर्शकबीचको सीधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चका खास  विशेषता  हुन् । पछिल्लो समयमा रङ्गमञ्चको लोकप्रियता बढ्दो छ । राजधानीमै झन्डै दुई दर्जन जति सङ्घसंस्था सक्रिय देखिन्छन् भने राजधानी बाहिरका सहरमा पनि विस्तार हुँदै गएको छ । 

पछिल्लो समय नेपाली चलचित्रमा रङ्गमञ्चबाट आएका कलाकारको वर्चस्व बढ्दै गएको छ । सरोज खनाल, दयाहाङ राई, दिया मास्के, नाजिर हुसेन, बुद्धि तामाङ, सरिता गिरी, कमलमणि नेपाल, भोलाराज सापकोटा, सौगात मल्ल, मेनुका प्रधान, खगेन्द्र लामिछाने, विपिन कार्की नम्रता श्रेष्ठ, अनुप बराल, रामेश्वर चौरासिया, विनय श्रेष्ठलगायत दर्जनौँ कलाकार रङ्गमञ्च हुँदै नेपाल चलचित्र क्षेत्रमा स्थापित कलाकार हुन् ।  
चलचित्र क्षेत्रले कलाकारको खोजी गर्दा रङ्गमञ्च क्षेत्रका अनुभवीलाई नै प्राथमिकता दिएकाले युवाहरू रङ्गकर्मतर्फ झनै लोभिएका छन् । आर्थिक हिसाबले पनि कतिपय रङ्गकर्मी खुसी देखिन्छन् । प्रविधिको विकासले हातहातमै मनोरञ्जनका साधन भए पनि कलाकारको प्रत्यक्ष अभिनय, प्रकाश व्यवस्था, ध्वनि आदिका कारणले दर्शक पनि लोभ्याएको छ । 

 यति हुँदाहँुदै पनि नेपाली रङ्गमञ्चमा समस्या भने नभएका होइनन् । लामो परम्परा इतिहास बोकेको भए पनि सरकारको दृष्टिकला क्षेत्रमा पर्न सकेको छैन । रङ्गमञ्चका सञ्चालक, कलाकारहरू आर्थिक रूपले दरिलो हुन सकेका छैनन् । रङ्गकर्मलाई नै आफ्नो भविष्य बनाएर अघिबढेका कलाकार थोरै मात्र छन भने रङ्गकर्ममा लागेका महिलालाई हेर्ने सामाजिक दृष्टि पनि त्यति सहज बनिसकेको छैन । 

नेपालमा रङ्गमञ्चको वर्तमान अवस्था 
नेपाली नाटक र रङ्गमञ्चको इतिहास धेरै लामो छ । नेपालमा सर्वप्रथम वि.सं ९४१ मा हरिसिद्धि नाटक मञ्चन भएको बुझिन्छ । लोक तथा डबली नाटक परम्परा, नाटक उत्सव–महोत्सवको आयोजना, सडक नाटक अभियान हुँदै आधुनिक नाटकको सुरुवात भएको आठ दशकभन्दा धेरै भइसक्यो । हिजोका दिनमा रङ्गमञ्चमा करियर बनाउँछु भन्ने कुरा शून्य थियो । रङ्गमञ्च भनेको एउटा रहर मात्र थियो । व्यावसायिक रूपमा नाटकघरहरू पनि थिएनन् । नाटक हेरिदिनका लागि मानिसलाई बिन्तिभाउ चढाउनुपर्ने अवस्था थियो । 

अहिले करियर बनाउनका लागि आँट दिएको छ रङ्गमञ्चले । भरोसा दिएको छ भन्छिन् रङ्गकर्मी सिर्जना सुब्बा । 

काठमाडौँमा चार पाँचवटा नाटकघरले नियमित नाटक प्रदर्शन गरिरहेका छन् । काठमाडौँ बाहिर विराटनगर, झापाका विभिन्न सहरमा नाटक नियमित प्रदर्शन भइरहेका छन् । रङ्गमञ्चमा युवाको आकर्षण बढेको दाबी गर्छन् अर्का रङ्गकर्मी घिमिरे युवराज । 

हिजोका दिनमा नाटकलाई राजामहाराजाहरूले विलासिताको साधन बनाएका थिए । आज रङ्गकर्मीहरू अध्ययनशील भएर देखापरेका छन् भन्छन् अशेष मल्ल । 

रङ्गमञ्चका चुनौतीहरू

लिच्छवि कालमा रङ्गमञ्चीय कलाको पृष्ठभूमि तयार भएको थियो । मल्लकालमा आइपुग्दा सांस्कृतिक गतिको विकाससँगै नाटकले ठोस रूप लियो । १८५५ मा शक्ति वल्लभ अज्र्यालले हाँस्यकदम्बको नेपाली अनुवाद गरे । १८९२ मा भवानीदत्त पाण्डेले मुद्रा राक्षसको अनुवाद गरे । यी दुवै नाटक रङ्गमञ्चीय दृष्टिले सबल नभए पनि नाटकको सुरुवात भने भएको थियो । 

लिच्छविकालीन समयबाट आधुनिक समयसम्म आउँदा नेपाली नाटकले विभिन्न चुनौती पार गर्दै आएको छ । सरकारले नाटकप्रति देखाएको उदासिनताका कारण समस्या रहेको बताउँछन् अशेष मल्ल । नाटकलाई व्यावसायिक बनाउनुपर्ने बताउँदै उनी भन्छन्, ‘जबसम्म नाटक व्यावसायिक रूपमा स्थापित हुँदैन तबसम्म रङ्गमञ्चले फड्को मार्न सक्दैन ।’ 

रङ्गमञ्च भनेको कला मात्र नभई विज्ञान, अर्थशास्त्र पनि हो भन्दै मल्ल भन्छन्, ‘ती सबैको लागि चाहिने भनेको आर्थिक अवस्था रहेछ । जबसम्म आर्थिक अवस्थामा हामी सबल हुन सक्दैनौँ तबसम्म रङ्गमञ्च राम्रो हुन सक्दैन । यो एउटा मुख्य चुनौती हो ।’ 

जिन्दगी नै रङ्गमञ्चलाई समर्पित गरिसकेका मल्ल आफ्नो जीवनशैलीको रूपमा रङ्गमञ्चलाई लिएर अगाडि बढे । नेपालमा रङ्गमञ्चको विकास गर्ने उनको सपना परिवारको सहयोगले पूरा भएको छ । उनी भन्छन्, ‘विभिन्न चुनौतीका बीच रङ्गमञ्चलाई यहाँसम्म ल्याइयो ।’ 

रङ्गमञ्चमा स्पेसको अभावले थोरै मानिससँग सीमित हुनुपर्ने दुखेसो भने सिर्जना सुब्बाको छ । उनी भन्छिन्, ‘थिएटर लाइभ भएको हुनाले ठूलो मासमा जान नसकिने र म्यासेज नै पुर्याउन नसकेको अवस्था छ भन्छिन् ।’ 

उनी थप्छन्, ‘नाटकमा समुदाय र राज्यको सहभागिता चाहिन्छ, यसरी रङ्गमञ्चको भविष्य उज्ज्वल हुन सक्छ । नाटकको औपचारिक पढाइ पनि नेपालमा नभएको कारणले पनि समस्या छ ।’  

नाटकमा भविष्य 
अहिले पनि नाटकलाई निर्वाध रूपमा भविष्य बनाउँछु भन्ने मानिसले सोच्नुपर्ने अवस्था छ । रङ्गमञ्चमा लाग्नु भनेको चुनौतीपूर्ण काम हो भन्छन् अशेष मल्ल । रङ्गकर्मीहरूले रङ्गमञ्चमा लाग्नुभन्दा अगाडि गम्भीर रूपमा सोच्नुपर्ने सुझाव मल्लको छ । 

उनी भन्छन्, ‘एउटा नाटक राम्रो भयो भन्दैमा व्यावसायिक रूपले राम्रो छ भन्न सकिने अवस्था छैन । पहिलेभन्दा सुधार हुँदै आएको छ तर शतप्रतिशत नै रङ्गमञ्चमा लाग्छु र यसबाट आर्थिक विकास गर्छु भन्ने अवस्था अझै छैन । तर भविष्यमा आश गर्न सक्छौँ ।’ 

राज्यको तर्फबाट आर्ट तथा नाटकलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्छ भन्छिन् सिर्जना सुब्बा । उनी थप्छिन्, ‘राज्यले आर्टलाई मनोरञ्जन मात्र ठान्छ तर यो परिभाषा तोडिँदै छ । नाटकमा करियर बनाउन चाहनेले बनाउन सक्ने वातावरण छ । नाट्यकर्मीले अब भोकै मर्नु पर्दैन । आफूमा निपुणता हुनुपर्याे सम्भावना धेरै छन् ।’ 

महिलाको उपस्थिति
सिर्जना सुब्बा भन्छिन्, ‘पितृसत्तात्मक मुलुक भएको हुनाले केटी मान्छेको मुख्य काम भनेको उमेर हुन्जेल काम गर्ने र त्यसपछि सन्तान हुर्काउने मात्र मान्यता रह्यो ।’ 

उनी थप्छिन् ‘हाम्रो रङ्गमञ्चमा महिलाको सङ्ख्या तीस प्रतिशत मात्र छ । तर खुसीको कुरा के भने जति महिला रङ्गमञ्चमा छौँ पावरफुल छौँ ।’

उनी भन्छिन्, ‘पुरुष साथीहरूले विश्वास नगर्ने वातावरण रङ्गमञ्चमा पनि उस्तै छ । लेखनमा पनि कसैले राम्रो छ भने मात्र राम्रो छ भन्ने गर्छन् । वर्षाैंदेखि उनीहरूको दिमागमा पितृसत्तात्मक सोच जमेर बसेको छ ।’ 
घिमिरे युवराज भने रङ्गमञ्चमा पुरुषको तुलनामा निकै कम महिला रहेको जिकिर गर्छन् । उनी भन्छन्, ‘समाज जस्तो छ । त्यस्तै रिफ्लेक्सन हो रङ्गमञ्च । उत्साहजनक उपस्थिति छैन ।’ 

रङ्गमञ्चलाई व्यावसायिक बनाउन के गर्ने ?
रङ्गमञ्च भनेको देशको सभ्यताको प्रतीक हो । भौतिक चिज मात्र राष्ट्रको उन्नति होइन । कला साहित्य पनि राष्ट्रको गहना हो । अरू विकास जस्तै गरी रङ्गमञ्चलाई पनि त्यसरी नै हेर्नुपर्छ भन्छन् अशेष मल्ल । 
रङ्गमञ्चसम्बन्धी स्कुल र कलेज छैनन् । पाठ्यक्रममा रङ्गमञ्चको अनिवार्य पढाइ हुनु जरुरी छ । रङ्गकर्मीमा धैर्यता पनि छैन भन्छन् मल्ल । उनी भन्छन्, ‘रङ्गमञ्चलाई व्यावसायिक बनाउन सरकार पनि सचेत हुनुपर्छ । हरेक जिल्लामा एउटा रङ्गमञ्च वा हल बनाउने अभियान सुरु गर्नुपर्छ ।’

नाटक समाजको ऐना हो । मानव जीवनका विविध पक्षको कलात्मक प्रस्तुति नै नाटक हो । दृश्य काव्यका नामले पनि चिनिन्छ नाटकलाई । नाटकले तब मात्र पूर्णता पाउँछ जब त्यो रङ्गमञ्चमा प्रस्तुत हुन्छ । नाटकको सुरुवात प्राचीन एथेन्सबाट भएको पाइन्छ । तर चीन र भारतमा भने नाटकको विकास स्वतन्त्र रूपले भयो । नेपालमा पनि भारतकै प्रभावका कारण हिन्दी र उर्दु नाटकहरू मञ्चन भए । पहिले पर्व विशेषमा महाभारत र रामायणलाई नाटकको रूपमा देखाइन्थ्यो । 

तर पछिल्लो समयमा नाटक लेखनको अभावको कारण पश्चिमका नाटककार विशेषतः सेक्सपियरको कथाको बाहुल्यता रहेको छ । पूर्वीय नाट्यक्षेत्रमा नाटकको थालनी भरतमुनिको नाट्यशास्त्रदेखि सुरु भएको हो । अनुवाद परम्पराबाट सुरु भएको नेपाली नाटक परम्परालाई बालकृष्ण समले ‘मुटुको व्यथा’बाट आधुनिक कालको सुरुवात गराए । पहलमानसिंह स्वाँरको ‘अटलबहादुर’बाट नेपाली नाटक परम्पराले मौलिकता प्राप्त गर्यो । 

लिच्छविकाल, राणाकाल, शाहकाल हुँदै विकास भएको नेपाली रङ्गमञ्चको विकासमा २००७ सालपछि उल्लेख्य प्रयासहरू हुन थाले । हिन्दी र उर्दुका नाटकभन्दा भिन्न नाटकहरू प्रदर्शन हुन थाले । राणाकालको अन्त्य र प्रजातन्त्रको उदयले नेपाली रङ्गमञ्चले स्वतन्त्रता प्राप्त गर्याे । 

तीसको दशकमा सांस्कृतिक संस्थानअन्तर्गत राष्ट्रिय नाचघरको स्थापना भयो । तीसकै दशकमा स्थापना भएका सर्वनाम र आरोहण यस अवधिका प्रमुख नाट्य संस्था हुन् । यस अवधिका कलाकारमा अशेष मल्ल र सुनिल पोख्रेल प्रमुख हुन् । उनीहरूको नाटक यात्रा निरन्तर जारी छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...