बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाइलट भन्छन्, ‘बोइङले हाम्रो विश्वास गुमायो’

मङ्गलबार, १२ चैत २०७५, १० : २४
मङ्गलबार, १२ चैत २०७५

लेस एबेन्ड, सीएनएन ।

हालै भएको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना र गत अक्टोबरमा भएको लायन एयर विमान दुर्घटनाले सबैलाई स्तब्ध बनाएको छ । सन् १९५० तिर डिजाइनमा भएको गल्तीका कारण दुर्घटनामा परेको डे ह्याभील्याण्ड कमेटबाहेक यसरी कुनै पनि नयाँ ब्राण्डको यात्रुवाहक विमान दुर्घटनामा परेको थिएन । बोइङ ७३७ म्याक्सलाई उडान भर्न योग्य बनाउन पुनः इन्जिनियर्ड र विस्तृत जाँच गरिने भनिए पनि यो विमानको इतिहासमा यो कालो धब्बा सँधै रहिरनेछ ।

मेरा समकक्षी पाइलटमा विमानप्रतिको विश्वास क्षय भइरहेको छ । किनभने दुवै दुर्घटनामा कारक देखिएको फ्लाइट कन्ट्रोल सफ्टवेयर एमसीएएस (मनुभरिङ क्यारेक्टरिस्टिक अगुमन्टेसन सिस्टम) बारे बोइङले पाइलटहरुलाई विस्तृत जानकारी नै दिएको थिएन । अब के पाइलटहरुले बोइङका अन्य उत्पादनहरुमाथि विश्वास गर्न सक्छन् ? उनीहरुको प्रश्न हुनेछ – बोइङले अझै मसँग के लुकाइरहेको छ ? पाइलटहरु सँधै शंकालु हुन्छन्, यो बानीले हामीहरुको निर्णय क्षमतालाई परिभाषित गर्छ । यो राम्रो कुरा पनि हो, विशेष गरेर कुनै आपत्तकालिन स्थितिमा ।

यदी म ७३७ म्याक्सको पाइलट भएको भए म दुई दुर्घटनाको कारक बनेको समस्या समाधान भएको प्रमाण माग्ने थिए, जुन विषयमा अझै पनि अनुसन्धाननै भइरहेको छ । कस्तो प्रमाण ? पहिलो एमसीएएस सिस्टमबारे स्पष्ट व्याख्या र कुनै समस्या देखिए त्यसको समाधानको उपाय र दोस्रो आपत्तकालिन स्थितिमा त्यसको सुरक्षित प्रयोग गर्न सकिन्छ भन्ने वास्तविक फ्लाइट टेस्ट वा स्टिमुलेटरबाट भएपनि कागजी दस्तावेज । यदी दुर्घटनाका अन्य थप कारणहरु पनि छन् भने त्यसलाई पनि सम्बोधन गरिनुपर्छ ।

मेरा समकक्षी पाइलटहरुले म्याक्सकै स्टिमुलेटरमा नै प्रशिक्षण गर्न पाउनुपर्ने माग गरिरहेका छन् । एउटा आइप्याडमा गरेको प्रशिक्षणले धेरैको चित्त नबुझ्न सक्छ । आफूले जानेको विमानको मोडलको नयाँ भर्सन भए नयाँ विमान प्रयोग गर्न पाइलटहरुले प्रशिक्षण म्यानुअल मात्र हेरे भने पनि त्यो अनौठो होइन । (म्याक्स सन् १९६० मा बनेको ७३७ मोडलको नयाँ भर्सन मात्र हो) । त्यस्तै, एफएएले म्याक्स विमान उडान पाइलटहरुको लाइसन्समा विशेष पाइलट रेटिङ आवश्यक नरहेको कारण धेरै एयरलाइन्सहरुले नयाँ स्टिमुलेटर ल्याउन चाहेका छैनन् ।

सैद्धान्तिक कारणले पनि पाइलटहरुले बोइङमाथिको विश्वास गुमाइरहेका छन् । पाइलटहरुबीच एउटा पुरानो भनाइ थियो, ‘यदी यो बोइङ होइन भने म कहीँ पनि जाँदिन’ । यसले बोइङको उत्पादनको गुणस्तरलाई झल्काउँथ्यो । तर, एमसीएएस लागु गरेसँगै बोइङले अटोमेटेड सिस्टमको प्रयोग गरी पाइलटको हातबाट विमानको नियन्त्रण खोस्यो । व्यक्तिगतरुपमा, ३४ वर्ष बोइङका विमान मात्र उडाएपछि यो कुरा थाहा पाउँदा म पनि निराश भएको थिएँ ।

म बोइङको अर्को नीतिबाट पनि निराश बनेको छु । विमानहरुमा विभिन्न तहको सुरक्षा विशेषताहरु राखेर ध्यानपूर्वक तयार गरिएको हुन्छ ता कि एउटा समस्याले मात्र विमान दुर्घटना नहोस् । उदाहरणको लागि बोइङ ७७७ मा विमानको हाइड्रोलिक सिस्टम फेल भएको खण्डमा त्यहाँ रहेको र्याम एयर टरबाइनले स्वचालित रुपमा काम गर्ने गथ्र्यो । दुईवटा इन्जिन फेलहुँदा पनि यसले हाइड्रोलिक प्रेसर र विद्युत प्रवाह गरिरहन्थ्यो । तर, न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार यस्तो सुरक्षा विशेषताहरु अब एयरलाइन्स कम्पनीको लागि अब छनौटको विषय बनाइएको छ ।

के पाइलटले पुनः बोइङमाथि विश्वास गर्लान् विशेष गरेर ७३७ म्याक्स माथि ? सायद कुनै दिन । तर, अहिलेको लागि मेरा सकमक्षीहरुले आफू र आफ्नो यात्रुका लागि विमान सुरक्षित रहेको महसुस नगरेसम्म त्यसको ककपिटमा बस्नेछैनन् ।

(लेस एबेन्डले ३४ वर्ष अमेरिकन एयरलाइन्समा बोइङ ७७७ को क्याप्टेनको रुपमा काम गरेर हालैमात्र अवकास लिएका हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप