बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लगानी सम्मेलनबारे पवनकुमार गोल्यान : नेपालमा विदेशी लगानी नभित्र्याइ सुखै छैन (भिडियो)

मङ्गलबार, १२ चैत २०७५, ०९ : १३
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं– आगामी चैत १५ र १६ मा हुन गइरहेको लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले सम्मेलनका लागि सरकारी र निजी क्षेत्रबाट कुल ७१ वटा परियोजनाको प्रस्ताव तयार पारेको छ । 

दुई वर्षअघि पनि सम्पन्न भएको लगानी सम्मेलनको अनुभवकै आधारमा लगानी बोर्डले पुनः दोस्रो लगानी सम्मेलन गर्न लागेको हो । 

२०७३ मा भएको सम्मेलनमा लगभग १६ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएकोमा त्यसको सानो अंश पनि कार्यान्वयनमा आउन सकेन ।

लगानीको प्रतिबद्धता गर्ने तर रकम नआउने साथै आएको पनि कार्यान्वयन नहुने परिपाटीमा परिवर्तन होला कि नहोला ? भन्ने प्रश्न पनि छ ।

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाअनुसार आयोजना गरेको लगानी सम्मेलनलाई उद्योगी व्यवसायीहरुले पनि निकै चासोका साथ हेरेका छन् । 

यो सम्मेलनमा ३१ खर्ब बराबरको परियोजनाको सूची तयार भएको छ । नेपालले दुई छिमेकी मुलुक चीन र भारतसँग ठूलो लगानीको आशा गरेको देखिन्छ ।

४० देशका करिब ६ सय लगानीकर्ता भित्र्याउने र ६४ करोडदेखि ३ खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत गर्ने लगानी बोर्डको योजना छ ।

सम्मेलनमा ऊर्जा, कृषि, भौतिक पूर्वाधार, ओद्योगिक, शिक्षा, सूचना प्रविधि, स्वास्थ्य र पर्यटनलगायत क्षेत्र प्राथमिकतामा परेका छन् । 

सम्मेलनमा सरकारका तर्फबाट ५३ र निजी क्षेत्रबाट १८ वटा गरी कुल ७१ वटा प्रस्ताव पेस हुने लगानी बोर्डले जनाइसकेको छ ।

विकासको गतिमा रहेको नेपालमा भित्रिने ठूला ठूला विदेशी लगानीले पक्कै पनि समृद्ध नेपालको सपना पूरा गर्न सघाउने विश्वास सरकार र लगानीकर्ताहरुको रहेको छ ।

यता उद्यमीहरु पनि निकै उत्साहित बनेका छन् । यस्ता सम्मेलनले मुलुकको अर्थतन्त्रलाई एउटा दिशा दिने र विकासको गतिलाई बढाउने विश्वास उनीहरुको छ ।

नेपालका ठूला उद्योगीहरु भने नेपालमा आयातमुखीभन्दा पनि निर्यातमुखी उद्योगहरुमा लगानीका लागि प्रेरित गर्नुपर्नेमा जोड दिइरहेका छन् । 

कृषि प्रधान मुलुकले कृषिमा खासै ध्यान नदिएको र कृषिमा लगानी गर्न प्रेरित नगरेको गुनासो बारम्बार आउने गरेको छ । यस्तैमा नेपालमा ठूला घरानाहरु कृषि क्षेत्रमा सक्रिय रुपमा लागेका पनि छन् ।
यस्तैमा नेपालको प्रतिष्ठित औद्योगिक घराना गोल्यान समूहले निर्यातमुखी व्यवसायलाई समेत प्राथमिकता दिँदै आइरहेको छ । 

नेपालमा कृषिदेखि हाइड्रोसम्म लगानी गरेको गोल्यान समूहले अहिलेको लगानी सम्मेलनबाट कृषिमा बढी लगानी आओस् भन्ने चाहेको छ । गोल्यान समूहले नेपालमा हाइड्रो, हस्पिटालिटी, धागो, कपडा उद्योग, कृषि, रियल स्टेट लगायतको क्षेत्रमा लगानी गरेको छ ।

समूहले अहिले हुन गइरहेको लगानी सम्मेलनमार्फत नेपालको कृषि क्षेत्रमा पनि लगानी भित्रियोस् भन्ने आशा प्रकट गरेको छ । 

कृषि क्षेत्रमा ठूलो सम्भावना देखेर प्राङ्गारिक खेतीमा तल्लीन गोल्यान समूहका अध्यक्ष पवन कुमार गोल्यानसँग लगानी सम्मेलनबारे हामीले उनको विचार लिएका छौँ ।

एकद्वार प्रणालीले लगानी तान्नेछ 
लगानी सम्मेलन गर्नु आफैमा धेरै राम्रो पक्ष हो । योभन्दा अगाडि भएको सम्मेलन पनि राम्रै भएको थियो । तर दुखद् पक्ष त्यसको कार्यान्वयन पक्ष सन्तोषजनक भएन । त्यसको मुख्य कारण अस्थायी सरकार नै थियो । 

सरकार फेरिने अनि सँगसँगै कर्मचारीहरु पनि फेरिने भएकाले देशमा लगानीको वातावरण नै बनेन । साथसाथै लगानीको क्षेत्रमा फितलो कानुनले पनि निकै प्रभाव पारेको थियो । 

लगभग १६ खर्बको लगानी प्रतिबद्धता आए पनि कार्यान्वयनमा भने खासै आएको देखिएन । त्यो अवस्था फरक थियो । लगानीकर्तालाई लगानीको वातावरणबारे विश्वस्त पार्न कठिन थियो । 

तर अहिले समय फेरिएको छ, स्थायी सरकार बनेको छ । राज्यले भिजन पेश गरेको छ । यसबाट पनि हामी उद्योगीहरुले सोचेजस्तै लगानी भित्रिनेछ भन्ने ठूलै आशा गरेका छौँ ।

अहिले कानुन पनि बलियो बनेको छ । केन्द्र सरकार अनि स्थानीय सरकारले आआफ्नो स्थानबाट योगदान दिने कोशिस गर्नेछन् । लगानी भित्र्याउन र त्यसलाई कार्यान्वयनमा ल्याउन सबैपक्षले सक्रिय हुने विश्वास लिन सकिन्छ । अझ हामी त हामीले सोचभन्दा पनि राम्रो लगानी भित्रिनेमा विश्वत छौँ ।

अन्य राष्ट्रको लगानी बोर्डलाई हेर्ने हो भने निकै शक्तिशाली अनि सक्षम हुन्छन् । तर यहाँ विगतमा लगानी बोर्ड एउटा पोस्ट अफिसका रूपमा मात्र प्रयोग हुँदै आएको थियो । तर अहिले लगानी बोर्ड पूर्ण रूपमा शक्तिशाली बनेको छ । नेपालमा पनि अब लगानी बोर्डले केही गर्ने अवस्था सिर्जना भएको छ । यसबाट पनि लगानीकर्ताहरुलाई हौसला मिलेको छ ।

अहिले एकद्वार प्रणाली सुरु भएको छ, त्यसैले पनि लगानी गर्नेहरु ढुक्क भएर लगानी गर्न सक्छन् । विगतमा लगानीकर्तालाई जुन अलमलको स्थिति थियो, त्यसको अन्त्य भएको छ । यसमा हामी उत्सहित छौँ । 

लगानीकर्ताहरुमा निराशाको अवस्था आउनुको पछाडि लगानी गर्यो तर प्रतिफल केही छैन । यसको केही समस्या पारेको पक्कै हो तर अब सरकार नै समृद्धिको आधार तयार पार्दै अग्रसर भएको अवस्थामा लगानीकर्तालाई थप बल मिलेको छ ।

अब सरकारले लगानीकर्तालाई लगानीको बाटो देखाउँदै विश्वस्त पार्न सक्नुपर्छ । 

विकासको गति बढाउन विदेशी लगानी अपरिहार्य
कुनै पनि देश आफैमा सक्षम हुँदैनन् । विकासका लागि सबैतिरबाट सहयोग लिनु जरुरी हुन्छ । विकासको सपना देख्ने अनि समृद्ध देशको कल्पना गर्दा एक्लैले केही सम्भव हुँदैन । सुरुमा स्रोत साधान सबै जुटाउनुपर्ने हुन्छ । 

आर्थिक रुपमा सबल नहुँदा विदेशी लगानी अपरिहार्य नै हुन्छ । देशलाई माथि उठाउने हो भने विदेशी लगानी नल्याई अरु केही विकल्प नै छैन । 

हाम्रो देश पनि विकासको चरणमा छ । यस्तोमा कम समयमा विकासलाई अगाडि बढाउने हो भने विदेशी लगानी सबैभन्दा उत्तम उपाय हो र यसमा लगानीकर्ताहरुलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने बारे सबै पक्षले सोच्नुपर्छ ।

हाम्रो लगानीको स्रोतहरु प्रयाप्त छैनन् । वर्षमा ५–६ अर्ब डलरको लगानीले कुनै हालतमा पनि पुग्दैन । हामीलाई ६ देखि १० अर्ब डलर थप लगानी चाहिन्छ । त्यसैले विकासको सपना मात्र देखेर त भएन । त्यसैले पनि विदेशी लगानी नभित्र्याई सुखै छैन । 

यो क्षेत्रमा लगानी भित्र्याउनु पर्छ त्यो क्षेत्रमा पर्दैन भन्ने गरिएको छ । वास्तवमा त्यो विल्कुलै गलत हो । जस्तोः प्राइमरी कृषि, कुखुरा पालन जस्ता क्षेत्रमा विदेशी लगानी जरुरी छैन तर दुग्धजन्य उत्पादनका क्षेत्रमा लगानी आउनु आवश्यक छ । 

मुख्य लगानी कृषिमा नै आउनुपर्छ अनि मात्र देशले गति लिन सक्छ । अझ हाम्रो जस्तो कृषिप्रधान देशमा त कृषिमा लगानी नभई हुँदैन । 

कृषिमा लगानी भित्र्याउन सक्ने हो भने निर्यातमुखी अर्थतन्त्रले गती लिनेमा विश्वस्त हुन सकिन्छ । 

लगानीको वातावरण बनेको छ
अब नेपालमा लगानी गर्न डराउनुपर्ने अवस्था छैन । सानातिना अस्थिरता छन् भन्दैमा हतोत्साही हुनुपर्दैन । 

अस्थिरता जुनसुकै देशहरुमा पनि हुन्छन् । सानातिना समस्याले विकासमा असर गर्दैन । सरकारी संयन्त्र यदि बलियो छ भने विकासलाई कसैले पनि रोक्न सक्दैन । 

हाम्रो देशमा अहिले स्थायी सरकार छ । त्यसैले पनि डराउनुपर्ने अवस्था छैन । लगानीबाट प्रतिफल आउने प्रतिबद्धता सरकारी पक्षले नै गरिरहेको अवस्थामा ढुक्क भएर लगानी गर्न सबै पक्षलाई म आग्रह गर्छु ।

भारत, पाकिस्तान, बङ्गलादेश जस्ता देशमा पनि त अस्थिरता कायमै छन् तर त्यहाँको विकासको गति हेर्ने हो भने द्रुत गतिमा बढिरहेको छ । 

बङ्गलादेशको मात्र कुरा गर्ने हो भने पनि निर्यात व्यापार निकै लोभ लाग्दो छ । बङ्गलादेशले जुत्ता, फलपूmल, तरकारी, दाल, जडीबुटी, कफी, चियालगायत निर्यात गर्दै आएको छ । यसको वृद्धि दिनानुदिन बढ्दै गइरहेको छ । त्यसैले हामीले निर्यातमुखी अर्थतन्त्रलाई बढावा दिने खालको लगानी भित्र्याउन पनि उत्तिकै जरुरी छ ।

अहिले नेपालमा सबैभन्दा धेरै लगानी गर्न छिमेकी देश चीन अनि भारत इच्छुक देखिएका छन् । यसमा हामीले लगानी गर्न इच्छुक सबै राष्ट्रलाई वातावरण बनाइदिने र विश्वस्त पार्न सक्नुपर्छ । ता कि भोलिका दिनमा पनि लगानीका लागि ती राष्ट्रहरु उत्तिकै उत्साहित होउन् ।

कार्यान्वयनमा चुनौती 
अहिलेको सम्मेलनबाट सरकारले ७१ वटा परियोजना प्रस्ताव गरेको छ । नेपालको तर्फबाट बलियो कानुन त बन्यो तर पनि अन्तर्राष्ट्रिय व्यापार सङ्घबाट अलिकति विवादास्पद कुरा आएको छ । जस्तो, कन्ट्र्याक्ट प्रोडक्सन गर्न नसक्ने भन्ने आएको छ । यसले केही उद्योगहरुमा असर पार्छ जस्तो लाग्छ ।

यस्तो हुनुमा पनि बुझाइमा नै समस्या हो । खासमा कृषिमा केन्द्रित विषय भए पनि अन्य बुझियो र यस्तो कुरा बाहिर आयो । अब तय हुने विनियमले यसलाई सच्याइनुपर्छ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई सरकारी तवरबाटै प्रष्ट पार्नुपर्छ ।

लगानी बोर्ड शक्तिशाली बनेको छ । यसैले पनि एकद्वार प्रणाली लागू गर्न लगानी बोर्ड कटिबद्ध हुनुपर्छ । ठूला ठूला योजनाका लागि लगानी बोर्डले छुट्टै डेस्कको स्थापना गरी कार्यान्वयनमा सहयोग गर्नुपर्छ । जसले लगानीकर्ता र लगानी कार्यान्वयन गर्ने दुर्वै पक्षलाई बलियो आधार पार्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप