शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रसायन कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या ७८ पुग्यो

सोमबार, ११ चैत २०७५, २० : ४८
सोमबार, ११ चैत २०७५

जियाङ्सु । पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु हुने व्यक्तिको सङ्ख्यामा सोमबारसम्म ७८ पुगेको छ । 

स्थानीय समयानुसार बिहीबार अपराह्न २ः५० बजे जियाङसु प्रान्तको याङचेङ शहरमा अवस्थित उक्त रसायन कारखाना विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट निकै शक्तिशाली थियो । 

यस विस्फोटमा परी अझै पनि कैयौं व्यक्ति बेपत्ता रहेका र कारखाना विस्फोटको ४० घण्टापछि एक व्यक्तिलाई जीवितै उद्धार गरिएको उद्धार कार्यमा संलग्न अधिकारीले जानकारी दिएका छन् । 

जियाङसु प्रान्तको पूर्वी इलाकामा रहेको याङचेङ शहरमा रहेको औद्योगिक पार्कमा अवस्थित यस कारखाना विस्फोटमा सयौं व्यक्ति घाइते भएका छन् । 

विस्फोटमा परी घाइते भएका धेरै व्यक्ति उपचारार्थ अस्पताल छन् । तीमध्ये २१ जनाको स्थिति चिन्ताजनक रहेको र ७३ जनाको गम्भीर घाइते भएको अस्पतालबाट जारी विज्ञप्तिमा जनाइएको छ । 

चीनमा केही वर्ष यता भएका घातक औद्योगिक दुर्घटनामध्ये यो पनि एक भीषण दुर्घटना रहेको बताइएको छ । 

आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २.२ म्याग्निच्युडको कम्पन मापन गरेको भूकम्प मापन निकायले जानकारी दिएको छ । 

विस्फोट निकै शक्तिशाली भएको र आगलागी शुरू भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको थियो । 

गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन पदार्थ बोकेको एक गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । 

गत वर्ष जुलाइमा दक्षिणपश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो । हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु हुनुका साथै एक हजार घाइते भएका थिए । 

गत बिहीबार भएको यस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप