केशव : ‘केरा’ जोडी हुँदै चलचित्र विकास बोर्डको अध्यक्षसम्म
चलचित्र विकास बोर्डले नयाँ अध्यक्ष पाएको छ, केशव भट्टराई ।
केशव राम्रा चलचित्रकर्मी त हुन् नै । तर, यो नियुक्ति त्यसबापत भन्दा बढी दलीय आधारमै भएको हो । अर्थात्, उनी पूर्वनेकपा एमाले र हाल नेकपाका प्रतिबद्ध कलाकार हुन्, यसकारण अध्यक्ष बनाइए ।
बोर्डमा यसअघि अध्यक्षका त्यस्ता एकाध नियुक्ति मात्र छन्, जो विवादमा परेनन् ।
चलचित्र निर्माण र अभिनयलाई साथ–साथ अँगाल्दै आएका उनी सबैसँग मिल्ने, शालिन व्यक्तित्वका कारण अध्यक्षमा नियुक्त हुँदा त्यो प्रियता कायम रह्यो ।
तर, उनी चलचित्र क्षेत्रका नीति निर्माता, योजनाकार र मूल नेतृत्वकर्ता हैनन् । त्यस्तो भूमिकामा अहिलेसम्म प्रस्तुत हुने मौका पाएनन् । यसकारण उनका लागि चलचित्र विकास बोर्डको अध्यक्ष पद अवसरभन्दा बढी चुनौती हो ।
केशव भट्टराईले नेपाली चलचित्रको बजार, त्यहाँका पर्दाअगाडि र पछाडिका पात्र, मूक र अमूक लगानीकर्ता सबै चिनेका छन् । उनले २८–२९ वर्षको करिअरमा चलचित्र क्षेत्रका थुप्रै आयाराम, गयाराम र दयारामहरु झेले । छेस्किन लगाएर वा नलगाएर बन्द कोठाभित्र के–के भए, यसबारे कोही नजिकबाट जानकार छन् भने, त्यसमध्येको एउटा पात्र हुन् उनी । त्यसकारण, चाहँदा र वातावरण अनुकूल हुँदा नेपाली चलचित्र क्षेत्रलाई यिनको नेतृत्वले उकास्न सक्छ भन्ने अपेक्षा राख्नु स्वाभाविक हुन्छ ।
यसअघि उनकै पार्टीले अमर गिरीजस्ता प्राज्ञिक व्यक्तिलाई बोर्डको नेतृत्वमा पठायो । अर्का प्राज्ञिक व्यक्तित्व ईश्वरचन्द्र ज्ञवाली पनि पूर्वमाओवादी केन्द्रको सरकार हुँदा त्यहाँ पुगे । तर, व्यक्तित्वहरु जतिसुकै चम्किला हुन्, विद्वान हुन् वा सुकिला हुन्, चलचित्र क्षेत्रलाई त्यसको कुनै वास्ता छैन । बस्, उनीहरुलाई त्यही पोखरीको माछा चाहियो, अलिक बलियो, आशलाग्दो । केशव संज्ञाले विद्वान भनिदैनन्, प्राज्ञिक पनि भनिदैनन् ।
को हुन् केशव ?
झापाबाट ३० वर्षअघि सानो झोलामा सपनाको भारी बोकेर काठमाडौं छिरेका एकजना मामुली केटा हुन्, केशव भट्टराई ।
बाँच्नु पहिलो शर्त थियो । त्यसका लागि पढाइ र पढाइपछिको जागिर दोस्रो शर्त । आफू मात्र बाँचेर भएन, घर, परिवार पनि बचाउनु थियो । अनगिन्ती रहर थिए । ती पनि पूरा गर्नै थियो । हिरो बन्नु थियो । तर, पत्याइदिने थिएनन् । हात र साथ दिने मान्छे नहुँदा पैसा हालेर फिल्म खेल्ने चलन थियो । तर उनीसँग पैसा पनि थिएन ।
पूर्व मेचीपारिका दाजु तुलसी घिमिरेसँग ‘दाजु–दाजु’ भन्दै लगाएको साइनो काम लाग्ने भयो । उनीसँग कलाकारिताको बिछट्टै प्रतिभा भएर होइन, पूर्वको केटो भनेरै तुलसीले बनाएका फिल्ममा सानातिना भूमिका पाउन थाले । राम्रो, ठूलो भूमिका पाए तुलसीले पनि आफ्ना भाइ, बैनी छाडेर केशवहरुलाई किन दिन्थे र ? तै, एउटा ठूलो पहराको आड पाउनु पनि उनका लागि राम्रै कुरा भयो । फिल्म ‘कोसेली’देखि हो केशव पर्दामा देखिएका ।
तुलसी घिमिरेले अर्को फिल्म ‘चिनो’ बनाउँदा त्यहीँ भेटिए, काभ्रेबाट दूध, दही ल्याएर काठमाडौंमा बेच्ने व्यापारी रामकृष्ण बजगाइँ । दूध, दही बेचेरै पुरानो बानेश्वरमा घर बनाउने ती रामकृष्ण केशवका साथी भए । यसबीच केशवले नेपाल विद्युत प्राधिकरणको सहायकस्तरको अधिकृतमा नाम निकालिसकेका थिए । दुई–चार पैसा चलाउन, खेलाउन सक्ने भएका थिए । यिनैले जोडी बाँधे, ‘केरा’को । अर्थात्, केशव–रामकृष्णका रूपमा । उनी अहिले पनि विद्युत प्राधिकरणमै प्रशासनतर्फको पाँचौँ तहका अधिकृत हुन् ।
तुलसी घिमिरेका फिल्ममा फाट्टफुट्ट अनुहार देखाउने यिनीहरुले आफ्नै लगानीमा फिल्म ‘दौँतरी’ बनाए, राम्रै भूमिका पनि निभाए । डाइरेक्टर दयाराम दाहाल र हिरो राजेश हमाललाई लिए । दायाँ–बायाँ आफूहरु उभिएर पोस्टर छापे । ‘मुसुमुसु हाँसिदेउ सानी, यसपालि त झ्याइँ पार्ने, झ्याइँ पार्ने’ गीतले बजार पिट्यो । फिल्म सुपरहिट ।
दुःखले काम गरेपछि दिन आउँछ भन्ने उनीहरुले चरितार्थ गरे । दयाराम तुलसी घिमिरेका फिल्ममा क्ल्याप ठोक्दाठोक्दा थाकिसकेका थिए । त्यो घेरा तोडेर ‘भरिया’ र ‘दाइजो’ फिल्ममा मुख्य डाइरेक्टर त भए तर फिल्म रिलिज नभइदिने । रामकृष्णलाई दयारामले नै तुलसीकहाँ लगेर फिल्ममा अनुहार देखाउने बनाएका थिए । केशव ‘कोसेली’देखिका साथी । त्यसैले यी दुई भाइले दयारामलाई लिएर ‘दौँतरी’ बनाए, २०५३ सालमा ।
बजारमा बल्ल केशव भट्टराई र रामकृष्ण बजगाइँहरु कलाकार नै हुन् भनेर स्थापित भए । तर तुलसीले बनाउने फिल्ममध्ये यिनीहरुले ‘बलिदान’सम्म छोटो भूमिका गरे, त्यसपछि छाडे । ‘बलिदान’ जनआन्दोलनको पृष्ठभूमिमा श्याम सापकोटाद्वारा निर्मित जागरणमूलक फिल्म थियो ।
यसपछि केराको जोडीले ०५५ सालमा ‘ठूल्दाइ’ फिल्म बनायो । राजेश, शिव श्रेष्ठ, जल शाह, निरुतासहित चलेका स्टार, डाइरेक्टर दयाराम नै । गीतले फेरि बजार पिट्यो, ‘सुन सुन सनम मलाया छाउनी...।’
फिल्म ‘ठूल्दाइ’ पछि ‘केरा’ जोडी फुट्यो । फिल्म त बम्पर हिट भयो । तर, अनेकन लफडा आइलागे । रामकृष्णले लाजिम्पाटको हिम थाई रेस्टुरेन्टमा सङ्गीतकार शम्भुजित बाँसकोटाको घाँटीमा टोकेर घाइते नै बनाइदिए । शम्भुजितले चाहिँ बारुलाले टोकेको भन्थे, वास्तविकता चाहिँ रामकृष्णले नै टोकेका थिए ।
त्यसपछि केशव एक्लैले ०५७ सालमा फिल्म ‘आफ्नो मान्छे’ बनाए, शिव रेग्मीलाई डाइरेक्टर लिएर । राजेश हमालबिनाको फिल्म फ्लप हुन्छ भन्थे, तर श्रीकृष्ण श्रेष्ठले त्यही फिल्मबाट बजार पिट्न थाले । विपना, निरुता, दिलिप पनि थिए त्यसमा । गीत निक्कै चल्यो, ‘चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा, माफी हुन्छ क्या मालुम मायाको गल्तीमा... ।’
लोकतन्त्र बहालीपछि एमालेले अलग्गै सङ्गठनमार्फत चलचित्रकर्मीलाई सङ्गठित गर्न थाल्यो । राष्ट्रिय जनसांस्कृतिक मञ्चको घटक सङ्गठनका रूपमा स्थापित प्रगतिशील चलचित्रकर्मी सङ्घमा देशभक्त खनाल, श्याम सापकोटापछि केशव भट्टराई अध्यक्ष भए ।
केशवको भिन्नता
कर्मचारी पनि भएका कारण, अनि थुप्रै चलचित्रकर्मीभन्दा बढी सुझबुझ पनि राख्ने कारण केशव चलचित्रवृत्तमा अलग छवि बनाएका व्यक्ति हुन् । फिल्म पाए काम गर्ने, नपाए बागबजारतिर तास खेलेर वा तीनपाने पिएर समय काट्ने सुविधा यिनले पाएनन् । किनभने, फिल्म नहुँदा जागिर थियो । बरु, फिल्मको काम गर्दा अफिसले छुट्टी दिन्छ कि दिँदैन भन्ने तनाव हुन्थ्यो ।
चलचित्र विकास बोर्डलाई चलचित्रकर्मीको नेतृत्व त चाहिएको थियो नै । तर, त्यस्तो नेतृत्वसँग एउटा खोट रहँदै आयो, विचार शून्यताको । अहिले बोर्डमा वैचारिक स्पष्टतासहित केशव नेतृत्व गर्न पुगेका छन् ।
उनीसँगै उनको दुःखका साथी दयाराम दाहाल पनि त्यहाँ सदस्यको भूमिकामा छन् । दयाराम नेपाली सिनेमा क्षेत्रका एकजना वैचारिक निर्देशक हुन्, जसले श्रमिक वर्गको खास प्रतिनिधित्व गर्दछन् । अर्थात्, श्रमिकवर्गीय कम्युनिस्ट आन्दोलनको पृष्ठभूमिबाट विकास भएका केशव, दयारामहरुले चलचित्रक्षेत्रलाई श्रमिकमैत्री बनाउलान् भन्ने अपेक्षा अहिले आम चलचित्रकर्मीले राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र