शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनुभूति : कोरियाको गाउँबाट सहर हेर्न आउँदा...

सोमबार, ११ चैत २०७५, १६ : ०६
सोमबार, ११ चैत २०७५

-दिलिप वान्तवा राई

म अन्तर्मुखी स्वभावको छु । यो कुरा राम्रैगरी याद छ मलाई । र, यो पनि थाहा छ, मेरो यो बानी मेरो आसपास र नजिकका साथीहरुलाई प्रिय लाग्दैन । त्यसैले कहिलेकाहीँ जबरजस्ती ‘सोसियल’ बन्न खोज्छु । सबैसँग घुलिन चाहन्छु । तर त्यो देखाउनकै लागि गरेको मेरो हर्कत पक्राउ परिहाल्छ । साथै म आफैलाई पनि भित्रैबाट त्यसो गरेको मनै पर्दैन । तर जति पनि गतिविधि गछौँ वा काम गर्छौं त्यसमा आफ्नै मात्र रुचि हुनुपर्छ भन्ने छैन । अरूको रुचिलाई पनि रुचिकर मान्न सक्नुपर्छ । तब जिन्दगी सहज हुन्छ, मलाई यस्तै लाग्छ ।

म बच्चा बेला एक्लै हुर्किएँ । अर्थात मसँगै खेल्ने मेरा दाइ, दिदी वा भाइ बहिनीहरु थिएनन् । छिमेकी साथीहरुसँग कहिलेकाहीँ मात्र भेटिने त्यो पनि सीमित समयका लागि । त्यसैले अधिकांश समय म एक्लै हुन्थेँ । एक्लै खेलेर हुर्किएका कारण म अन्तर्मुखी भएँ । साथीहरुसँग घुलमिल हुने, मिलेर खेल्ने, झगडा गर्ने, बाझाबाझ गर्ने फेरि मिलिहाल्ने जस्ता संवेगको विकास त्यो समयमा हुनै पाएन, जतिबेला त्यसको विकास हुनुपथ्र्याे । यो मेरो पछि तयार भएको व्यक्तिगत तर्क हो । मलाई यही स्वभाबले पच्छ्याइरहन्छ । कहिलेकाहीँ यो बानी सही ठहरिन्छ तर यदाकदा आफैलाई दिक्दार पनि । किनकि कतै हिँडडुल गर्दा मलाई साथीको अनिवार्यता छैन । जहाँ जाँदा वा जे गर्दा नि एक्लै सहज लाग्छ । कहिलेकाहीँ साथीहरुको समूहमा उनीहरु रमाइलो गरिरहेका हुन्छन्, मलाई चाहिँ त्यो भीडबाट भागिहाल्न मन लाग्छ । त्यतिबेला आफैलाई दिक्क लागेर आउँछ ।

मसँगै जागिर खाएका साथीहरु कसैले तराईतिर घडेरी त कसैले कता कता जग्गा जोडे, त्यही मास्टरीको तलबले । तर मैले भने आफ्नो जिन्दगी निरन्तर घाटामा चलाएँ । म कहाँनिर चुकिरहेथेँ, जति गम्दा नि चुरो भेट्न सकिनँ । त्यसपछि बरु दशक लामो जागिरै हापिदिन्छु भन्ठानेर परदेश यात्राको खोजिमा लागेँ र अनेकौँ प्रयासपछि दक्षिण कोरिया पुगेँ । पशुपालन, मैले काम गर्ने क्षेत्र हो यो । यो क्षेत्रमा प्रायः श्रमिकहरु थोरै मात्रै हुन्छन् । अपवादबाहेक पाँच जना भन्दा कम । अहिले म काम गर्ने कम्पनीमा विदेशी श्रमिक म मात्रै छु । कोरियाको श्रम कानुन अनुसार पाँच जना भन्दा कम कामदार राख्ने कम्पनीहरु र कृषि तथा पशुपालन क्षेत्रको कामदारका लागि निश्चित प्रावधानहरु बाहेक सबै कुरा लागू गराउनु अनिवार्य छैन । त्यसैले यस्तो अवस्थामा भएका श्रमिकहरुको लागि केही असहज छ अन्यको तुलनामा । मेरो अवस्था सुन्ने, हेर्ने, भेटघाट हुने मौका र फुर्सद नै कहाँ मिल्नु र ? साथीहरु चुकचुकाउँछन् ।

एक्लै, त्यो पनि त्यति विकट र कोही नेपाली साथीहरु नजिकमा नहुने ठाउँमा एक दिन नि छुट्टी नबसी काम गर्न कसरी सकेको होला । यदि मेरो अन्तर्मुखी स्वभाव नहुँदो हो त मलाई अहिलेभन्दा निक्कै असहज महसुस हुन्थ्यो होला । तर मलाई त्यस्तो लागेन । सन् २०१७ को मे २५ मा यहाँ आइपुगेपछि तेह्र महिनासम्म बाहिर निस्किनँ, अर्थात एक दिन पनि बिदा नबसी काम गरेँ । त्यसपछि नजिकै (एक घण्टाको दुरीमा) एउटा कार्यक्रममा पहिलो चोटि सहभागी भएँ, जहाँ पहिलो चोटि नेपालीहरु भेटेथेँ । म एक्लै हुँदा प्रायः विभिन्न कुरा सोचेर वा लेखेर बस्छु र मलाई त्यसरी नै आनन्द लाग्छ, जहाँ कसैको खटन, सल्लाह वा यसो गरौँ, यता जाऊँ खालको कुराकानी नहोस् । फुर्सदमा मनलाग्दी गीत सुनेर, फ्लिम हेरेर वा पुरै समय सुतेर कटाउँछु । अहिले मार्चको दोस्रो हप्ता बित्दैछ नेपालमा उम्कँदो फागुन । यताको खेत नजिकै राखिएका फलफूल बगैँचाहरुमा आरु, बखडा, स्याउ धमाधम फुल्दैछन् ।

यी दृश्यले बडो नोस्टाल्जिक बनाइदिन्छन् । आफ्नै घर नजिकैमा बखडा या अलि माथि लेकाली बगैँचातिर फुल्ने आरु र स्याउ सँगै बेला न कुबेला आइपुग्ने हुरि र झरीको यादले नमज्जाले मन हुँडलिन्छ । ठीक यतिबेला म कम्पनीबाट एक घण्टा जतिको साइकल यात्रामा आएर एउटा कृत्रिम तालको किनारमा रहेको टौवामा बसेको छु । यो मेरो अत्यन्तै मन पर्ने ठाउँ हो । प्रायः हप्तामा एक चोटि आउने गर्छु । तर जाडो समयमा आउन मुस्किल हुन्छ, चिसोले कठ्याङ्ग्रिएर साइकल चलाउन सकिन्न । यो सिजनको चिसोले खुट्टा तान्दै गर्दा आज हिम्मत जुटाएर आइपुगेँ । तैपनी तापक्रम बल्ल पाँच डिग्री सेल्सियस छ । यो तालको वरिपरि सुन्दर गरी पैदलमार्ग बनाइएको छ, ठाउँठाउँमा रेलिङ र भ्यू पइन्टसहित । पूरै एक चक्कर लगाउन एक घण्टा लाग्छ । यहाँका सिनियर सिटिजनहरु ट्रेकिङ स्टिकसहित झोलामा खाजापानी बोकेर ट्रेकिङ गर्छन्, यही ताल वरिपरि । युवा जोडी अँगालो मारेर हिँड्छन् र ठाउँ ठाउँमा बनाएको पार्कमा विश्राम गर्छन् ।

ती जोडीले मलाई हेरेर मुसुक्क हाँस्छन्, सायद सोच्दा हुन्, ‘यसको गर्लफ्रेन्डले छोडिदियो कि’ पानीको छेउछाउमा लामो चुच्चो र लामै खुट्टा भएका सेता सारसहरुको हुल माछा खोजिरहेको हुन्छ भने तालको बीच भागतिर जलहाँसहरु आफ्नै क्रीडामा मस्त हुन्छन् । माथिदेखि लमतन्नै तन्किएको जङ्गली पहाडले मेरै घर नजिकैको जङ्गलको याद दिलाइरहन्छ । तालको रेलिङ बाहिर पहाड फोडेर जाने सुरुङमार्ग छ, जसले म बसेको ठाउँलाई अर्काे सहरसित जोडेको छ । यो तालकै पेरिफेरिमा आँखा डुलाउँदा पनि घण्टौँ बितेको पत्तै हुँदैन ।

प्रायः म बाहिर हिँड्दा पनि एक्लै हिँड्न रुचाउँछु । सोह्र महिनापछि छुसक (कोरियाली मुख्य चाड) मा अर्काे चोटि छुट्टि पाएँ । पहिलोचोटि राजधानी सउल पुगेर गाउँले साथीहरु भेटिएँ । त्यहाँको ट्रेन चढ्ने, बस चढ्ने, होटल प्रयोग गर्ने आदि तरिकाहरु पहिलो चोटि थाहा पाएँ । यो कुराले तपाईंलाई हाँसो लाग्नु स्वाभाविक हो । किनकि म पहिलो चोटि देश छोडेको मान्छेलाई ट्रेन र यहाँको डिजिटल प्रविधिको बस प्रयोग गर्ने तरिका कसरी थाहा होस र ? होटलको नाममा तराई पहाड ओहोरदोहोर गर्दा बाटोमा बास बसेको भन्दा अरू प्रयोग गरिएन । त्यससँगै कोरियाको बाटो र लोकेसन पत्ता लगाउने तरिका पनि थाहा भयो । तर छोटो समय फेरि छुट्टीको माहोलमा हुने भीडभाडले खासै मन बुझ्ने गरी घुम्ने धोको अधुरै राखेर फर्किएथेँ । 

त्यसको तीन महिनापछि फेरि कम्पनीमा बिदाको अनुरोध गरेँ एउटा सामान्य बहानामा । मलाई पाँच दिनको बेतलबी बिदा दिइयो । म चाहन्थेँ, कोरियाका मुख्य सहरहरु बेफिक्री एक्लै भएर घुमेँ । जसरी मन लाग्छ त्यसैगरी समय बिताउँ । त्यसैले केही खर्चको जोहो गरेँ । अनि मनमनै योजना बनाएँ । 

एक दिन म कम्पनीको गुफाबाट निस्किएँ । नजिकैको बस टर्मिनलबाट इन्छन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल एकसम्मका लागि बस चढेँ । मैले पहिलो दिन इन्छन पुगेर घुम्ने योजना बनाएको थिएँ, त्यहीँको अनुभूति सङ्ग्रह गर्न चाहन्थेँ, जहाँबाट हामी नेपाली श्रमिकहरुको कोरियाली जिन्दगी सुरु हुने गर्दछ । हुन त हामी त्यहीँबाट निस्किएका थियौँ तर लामो हवाइयात्रा, पहिलो चोटिको चमकधमकसँगको साक्षात्कार त्यही माथि बिमानस्थलबाटै गाडीमा चढाएर तालिम केन्द्र पुर्याइएका हामीले बाहिरको कुनै चिज पनि हेर्न पाइएन । त्यसैले कम्पनी हुँदै विमानस्थल नजिकैको एउटा होटलमा अनलाइन बुक गरेको थिएँ । योजनाअनुसार दुई दिन इन्छन घुम्नेछु, दुई दिन सउल घुमेर बेलुकी बुसान पुगेर बाँकी एक दिन घुमफिर गरी सोही बेलुकी कम्पनी फर्किनेछु । छोटो योजना यस्तै थियो ।

बिहान ७ बजे गाडी चढेको म दिउँसो लगभग दुई बजे इन्छन विमानस्थलको टर्मिनल एक नजिक पुर्याएर गाडीले उतारिदियो । मसँग एउटा सानो लगेज र साइड ब्याग थियो । म उत्रिएँ तर कहाँ कसरी कुन दिशामा छु कुनै अत्तोपत्तो भएन । जताततै उस्तै छ । भित्र जान मिल्ने कि नमिल्ने हो थाहा छैन, बाहिरै उभिरहन नि मिल्ने कि होइन ।  हिँडौँ कसरी कहाँ जाने ? बडो असमञ्जस्यमा थिएँ । लगेज गुडाउँदै अलिकति पर पुगेर गुगल म्यापमा बुकिङ गरेको होटल हेरेँ, लगभग चार किलोमिटर टाढा देखियो ।

अब कसरी जाने, अर्काे पिर । त्यहाँ मान्छे ल्याउँदै ओराल्दै गर्ने ट्याक्सीहरुलाई रोक्न खोजेँ, कसैले रोकेनन्, सायद त्यो ट्याक्सी रोकिने ठाउँ थिएन कि । त्यतिकै के गरौँको मनस्थितिमा हिँड्दै गर्दा एउटा ट्याक्सी रोकियो र कोरियन भाषामा सोध्यो, ‘कहाँ जाने ?’ मैले हातमै भएको मोबाइलमा म्याप खोलेर होटल देखाएँ । उसलेभित्र बोलायो । लाग्यो, यसलाई थाहा रहेछ, मलाई पुर्याइदिन्छ । तर अलिकति अगाडि पुगेपछि फेरि सोध्यो, ‘त्यो होटल कुन ठाउँमा हो ?’ उसलाई पनि थाहा रहेनछ । मलाइक झुक्याएर ट्याक्सीमा बसाएकोमा रिस उठ्यो तर उपाय थिएन । मैले म्याप देखाइरहेँ, तर ऊ अघि बढिरह्यो ।

म जाने होटल पछि छोडिन लागेपछि ट्याक्सी मोड्न भनेँ, तर हामी रिभर्स नहुने बाटोमा छिरिसकेछौँ । नर्थ इन्छनको समुन्द्री पुल कट्नै लागेपछि होटलको नम्बर खोजेर फोन गर्ने आइडिया आयो । गुगल म्यापबाटै फोन नम्बर खोजेर फोन गरेँ । उन्स यगु (उन्स ट्रेन स्टेसन)मा आउनु, म पिक अप गर्छु भन्ने कुरा गर्यो । नर्थ इन्छनको चेकपोस्ट बाहिर पुगेपछि युटर्न भट्यो र रिभर्स भयौँ । भनिएको उन्स ट्रेन स्टेसन विमानस्थलभन्दा लगभग दुई किलोमिटरको दुरीमा रहेछ । स्टेसनबाहिरको पार्किङमा ट्याक्सी रोक्यो । उसको मिटरमा पैंतालीस हजार वन भाडा देखाइरहेको थियो, तर ‘ठाउँ थाहा नभएकाले धेरै घुम्न पर्यो’ भन्दै तीस हजार वन मात्रै लियो । मैले पर्सबाट क्याँस पैसा निकालेर दिएँ । ट्याक्सीबाट ओर्लेर पछाडि जाँदैथिएँ, ट्याक्सी त हुइँक्याउन थाल्यो । सोँचे, सायद उसले मेरो लगेज छ भन्ने कुरा बिस्र्याे ।

त्यसैले जोडले बोलाएँ, उसले टाउको बाहिर निकालेर र्हेयो, हातले इसारा गरेँ तर रोकेन । अलि अगाडिको ट्राफिक सिग्नलमा रातो बलेको थियो । त्यहाँ भेट्छु भन्ठानेर दौडिएँ, तर दुर्भाग्य सिग्नल हरियो भइहाल्यो। ट्याक्सी बेपत्तागरी हुँइकियो । अझै एकछिन दौडिएँ, मान्छेहरुले हेर्दैथिए, केके भने थाहा पाइनँ तर ट्याक्सी अलप भयो । त्यसपछि पो झस्किएँ, ट्याक्सीको नम्बर याद गर्नुपथ्र्याे ? थुक्क म, आफैलाई धिक्कारेँ । कुनै सिनेमाको स्याड सिन जस्तै अवस्था भयो । 

होटलवालाले फोन गर्यो । ऊ स्टेसनको अर्काेपट्टि बाहिर आएर पर्खिरहेको रहेछ । फोनमै कुरा गर्दै म पुगेँ । भेट भयो । मेरो कुरा सुनाएँ । तर ट्याक्सी नम्बर थाहा नभएपछि खासै उपाय नहुने बतायो । निरास भएँ । पुलिसकोमा जान आग्रह गरेँ । उसले लिएर गयो । सबै विवरण सुनाएँ । उनीहरु अङ्ग्रेजी खासै नबुझ्ने, म कोरियन भाषा उत्ति पारा नल्याउने । तैपनी जेनतेन कम्युनिकेसन भयो । म चढेको ट्याक्सी पहेँलो रङको थियो । पुलिसका अनुसार त्यो लोकल थिएन । सउल ट्याक्सी थियो । यदि लोकल भए खोज्न सकिन्थ्यो रे । अनि भाडा तिर्दा एटीएमबाट तिरेको भए त्यसको स्लिपको आधारमा खोज्न सकिन्थ्यो रे । अन्तिममा पुलिसबाट ट्याक्सिवाला आफैले पुलिसमा आएर लगेज बुझाएमा मात्रै भेट्न सकिने निर्विकल्प उपाय बताइयो । 

यसरी कुनै आधार नभएपछि आशा उतै छोडेर हिँड्यौँ, दिइएको एउटा निवेदनको कपी बोकेर । होटलमा पुगेँ । मसँग साइड ब्याग साथमै भएकाले पर्स, पासपोर्टलगायतका आवश्यक कागजपत्र भने सुरक्षित थिए । लगेजभित्र भने एक थान पाइन्ट, दुइटा टिसर्ट, एउटा हल्का ज्याकेट, एउटा डाउनज्याकेट कपडा र एक बट्टा उसिनेको सुठुनी र दुई लिटरको बोतलमा पकाएको दूध थियो । किनकि मलाई दूधमा सुठुनी घोलेर खान ज्यादै मन पर्छ । 

अब भने मेरो खर्च कटौती हुने भयो ।  खर्चसँगै घुमफिरको समय पनि घटाउनुपर्यो ।  सबै नभए नि केही थान लुगा किन्नुपर्ने भयो । भोलिपल्ट सामान्य डाउनज्याकेट, टिसर्ट र पाइन्ट किनेँ । विमानस्थलभित्र छिरेँ । घुम्न मिल्ने जति सबै भाग डुलेँ । त्यहीँ विमानस्थलको मुनि रेलवे रहेछ । यदि हिजो मलाई यो कुरा थाहा भएको भए त्यहीँबाट ट्रेन चढेर सकुशल होटल पुग्न सक्ने रहेछ । ट्रेन चढेर गएँ । मलाई ट्रेनको बारेमा अझै जान्नु थियो । त्यसैले निक्कैवटा स्टेसनसम्म गएँ र उत्रिएँ । म पुगेथेँ ‘डिजिटल मिडिया सीटी स्टेसनु’ । त्यहाँबाट फर्किएँ । त्यसपछिको अर्काे दुई दिन सउल सहर घुमेँ । त्यहाँस्थित डिजाइन प्लाजा, ६३ तले बिल्डिङ, सउल टावर घुमेँ ।

जहाँ कोरियाली समृद्धिको सूचक जोडिएका छन् । अनि हान नदी किनारको रेलिङ समाएर निक्कै बेरसम्म पर परसम्म हेरिरहेँ । यो औद्योगिक सहरको मुटु भएर बगिरहेको हान नदी कति कञ्चन अनि सफा देखिएको थियो । पुस माघको अरुण तमोर जतिकै । सायद विकास र समृद्धि केवल भौतिक विकास र निर्माण मात्रै होइन होला, तीसँगै मान्छेको विचार, चिन्तन, व्यवहार आदि पनि उत्तिकै उन्नत र विकसित हुनुपर्छ तब न दिगो विकास र उन्नति सम्भव हुन्छ । 

अन्तिममा पाँच दिने छुट्टी तीन दिनमै सकेर फर्किएँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप