शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी गरौं विप्लव नेकपाको राजनीतिक समाधान

सोमबार, ११ चैत २०७५, ११ : ४३
सोमबार, ११ चैत २०७५

सरकारले गैरसंवैधानिक र गैरकानुनी हर्कत गरेको भन्दै विप्लव नेकपालाई प्रतिबन्ध लगाएको छ । यसपछि विप्लव नेकपा एकाएक चर्चामा आएको छ । प्रतिबन्ध लगाउनुपर्छ र पर्दैन भन्ने मुद्दाले सिङ्गो राजनीति नै विभाजित भएको छ । उसले भ्रष्टाचार र दलालीविरुद्ध भन्दै जताततै बम विस्फोट, आगजनी, चन्दाको उर्दी  र नेपाल बन्दसम्मका कार्यक्रम गरिरहेको छ । अधुरो क्रान्तिलाई पूरा गर्न अर्को क्रान्तिको ऐतिहासिक आवश्यकता भनेर दाबी गरिहेका छन् । कतिपयले दस वर्षे जनयुद्धको दोस्रो भाग भनेर टीकाटिप्पणी गर्दैछन् । अर्थात आम नागरिकमा चिन्ता, चासो र संशय बढेको छ । यही मर्मको अभिव्यक्तिको रूपमा यसको समाधान राजनीतिक सुझबुझको साथ गर्नुपर्ने चौतर्फी दबाब बढिरहेको छ ।      
 

    नेपालमा यतिखेर एकातिर सत्तारुढ र अर्कोतिर विद्रोही नेकपा छ । सत्तारुढ नेकपा निर्वाचन आयोगमा दर्ता छ भने विद्रोही नेकपा दर्ता छैन । अझ रोचक यथार्थ त के छ भने दुवै नेकपा हिजो सँगसँगै जनयुद्ध लडेका सहयात्री हुन् । यो अनौठो संयोग जस्तै भएको छ । कतिपयले यसलाई नेकपा नेकपाबीचको अनौठो अन्तरविरोध भनेर संज्ञा दिइरहेका छन् । मूलतः कम्युनिस्ट पार्टीको लक्ष्य, उद्देश्य र गन्तव्य एउटै हुन्छ । दुवैले समाजवाद र साम्यवादकै कुरा गर्छन् । समानता र न्यायकै वकालत गर्छन् । मुक्ति र स्वतन्त्रताकै सवाल उठाउँछन् । विभेद र अन्याय अन्त्यको कुरा गर्छन् । सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको बराबरी अधिकारको नारा लगाउँछन् । यद्यपि उनीहरू किन फरक राजनीतिक पद्धति र प्रक्रियामा छन् ? यो गम्भीर राष्ट्रिय राजनीतिक बहसको विषय हो । 
 

   खास गरेर विद्रोही नेकपाले सत्तारुढ नेकपा माथि थुप्र्रै सैद्धान्तिक राजनीतिक विचलन, विकृति र विसङ्गती रहेको आलोचना छ । कम्युनिस्ट आन्दोलनबाट विचलित र पथभ्रष्ट भएको दाबी छ । उसले जनताको जनवादी अधिनायकत्वसहितको केन्द्रीय राज्यसत्ताका लागि लडेको सहयात्री कमरेडहहरू एकाएक दलाल पुँजीवादी संसदीय दलदलमा फसेको आरोपछ । दस वर्षे जनयुद्धको रणनीतिक लक्ष्य, उद्देश्य, गन्तव्य र मर्मलाई बाटोमै अलपत्र पारेको भनाइछ । बहुसङ्ख्यक उत्पीडित जनता, सहिद, घाइते, अपाङ्ग र बेपत्ता नागरिकहरूको सपनामाथि कुठराघात गरेको जिकिर छ । कम्युनिस्ट मूल्य र मान्यताबाट च्यूत भएको निष्कर्षछ । बरु उल्टै कम्युनिस्ट पार्टी नै अरू संसदीय लोकतान्त्रिक दलहरू जस्तै भ्रष्टाचार, कमिसन, ठेक्का, नाफाखोरी र तस्करी जस्ता दलाल पुँजीवादी कमाउ धन्दामा लिप्त भएको आरोप छ । यसकारण उनीहरूको निष्कर्ष के छ भने, साँचो कम्युनिस्ट पार्टी गठनको ऐतिहासिक आवश्यकता छ, अर्को आन्दोलन जरुरी छ, रूपान्तरण अनिवार्य छ अनि विद्रोह अवश्यंभावी छ । 
 

   यता सत्तारुढ नेकपाले भने दस वर्षे जनयुद्ध लगायतका परिवर्तनकारी आन्दोलनहरूले एकहदसम्म राजनीतिक समस्या समाधानभइसकेको दाबी छ । हाल गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक लगायतका राजनीतिक एजेन्डाहरू स्थापित भएको जिकिर छ । वर्तमान प्रतिकूल विश्व परिस्थितिलाई मध्यनजर राख्दै प्राप्त उपलब्धिको जगमा टेकेर विकास र समृद्धिको प्रक्रियामार्फत समाजवाद हुँदै साम्यवादतर्फ जाने योजना छ । समृद्ध नेपाल र सुखी नेपाली भन्ने मूल नारासहित देश निर्माणको राष्ट्रिय अभियानमा छ । यस्तो अनुकूल राजनीतिक परिवेशमा अझै कुनै किसिमको विद्रोह र आन्दोलनको अपरिहार्यता छैन भन्ने सत्तारुढ नेकपाको ठहर छ । क्रान्तिको नाममा अझै सङ्घर्ष गर्नुपर्ने वस्तुगत अवस्थामा नरहेको भनाइ छ । हाल कार्यान्वयनको प्रक्रिया र पहुँचमा रहेको राजनीति नै प्रयाप्त हुने निष्कर्ष छ । 
     मुख्यतः एकातिर दुई तिहाइको कम्युनिस्ट पार्टीको सरकारसँग जनताको आशा अपेक्षा धेरै रहेका छन् । उपभोगवादी संस्कृति हावी भएको समाजमा सीमाहीन शीघ्र अपेक्षा अत्यधिक हुन्छ । ताकि कसैका लागि पनि जनअपेक्षा पूरा गर्नु त्यति सजिलो हुँदैन अर्थात् जनताको व्यापक अपेक्षा बमोजिम प्रतिबद्धता र सपनाहरू बाँडिन्छ । तर सैद्धान्तिक प्रतिबद्धता अनुरूप व्यावहारिक कार्यान्वयन सहज छैन । यही वस्तुगत असन्तुलनकै कारण जनअपेक्षा पूरा हुँदैन । तब स्वभावतः एबीसीडी कुनै पनि सरकारको आलोचना भइ नै रहन्छ । 

     अर्कोतिर कम्युनिस्ट सरकारले आफ्नो आधारभूत सिद्धान्तअनुसार नीतिगत र पद्धतिगत कार्यक्रमहरू लागू गर्न नसक्नु पनि जिम्मेवार देखिन्छ । वस्तुतः कम्युनिस्ट सरकार भनेको औषत संसदीय सरकारभन्दा सारभूतरूपमै भिन्न हुन्छ र हुनुपर्दछ । सैद्धान्तिक राजनीतिक पद्धति, मूल्यमान्यता, रणनीतिक तथा कार्यनीतिक उद्देश्यहरू फरक हुन्छ । नीति तथा कार्यक्रम, जीवनशैली, कार्यशैली र आचरण नै भिन्न हुन्छ । अर्थराजनीतिक तथा सांस्कृतिक पद्धति नै आकाश धरती अन्तर हुन्छ । बाटो र गन्तव्य मात्र फरक हुँदैन हिडाइको तरिका नै अर्को हुन्छ । काम र श्रम संस्कृतिलाई प्रोत्साहन गरिन्छ । आम मनोविज्ञान, सोच, चिन्तन मनन्, बुझाइ र व्याख्या गराइ नै फरक हुन्छ । हरेक घटना, घटना प्रक्रिया र सत्तालाई निरन्तर आन्दोलनको ऐतिहासिक प्रक्रियामार्फत परिवर्तन हुने सार्वभौम सच्चाइलाई आत्मसात गर्दछ ।

     तर किन किन यो सरकार पनि औसत परम्परागत सरकारभन्दा भिन्न हुनसकेको छैन । पार्टी, पात्र र माहौल परिवर्तन भए पनि राज्यसत्ताको सारभूत वर्गीय चरित्रमा परिवर्तन भएको छैन । यो सामन्य औसत संसदीय विचारद्वारा निर्देशित सरकार जस्तो मात्र देखिन्छ । विगतदेखि गरिँदै आएको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विरासतको रूपान्तरण हुनसकेको छैन । अझ स्पष्ट गर्दा उत्पादनमुखी काममा भन्दा अति औपचारिकता, आडम्मर, ढोङ र पाखण्डीपन बढिरहेको छ । काम र परिणामभन्दा भाषण र वक्तव्यबाजी परम्परागत नै छ । भ्रष्टाचार, कमिसनतन्त्र र नाफाखोरीतन्त्र, तस्करी, विसङ्गती र विकृती उस्तै छ । कार्यदिशा, कार्यक्रम, जीवनशैली, कार्यशैली र आचरण पुरानैछ । आम मनोविज्ञान, सोच्ने तरिका, चिन्तन पद्धति र हरेक राजकीय अङ्गहरूको काम गर्ने शैली यथावत छ । काम वा श्रम संस्कृति आम थितिको रूपमा छैन । हामी कम्युनिस्टहरू काँगे्र भन्दा यो मानेमा फरक छौँ भनेर दाबी गर्ने ठोस र स्पष्ट सैद्धान्तिक, राजनीतिक र आचरणगत आधार छैन । तब जनता कसरी हामीबाट सन्तुष्ट हुन्छन् ?

यस्तो पुरातनवादी शासकीय कार्यशैली र जीवन व्यवहारको रटानवाट मात्र जनअपेक्षा पुरा हुँदैन भन्ने कुरा सत्य हो । तब कम्युस्टि सरकारप्रति वितृष्णा जाग्दछ । जनताको अपेक्षा र चाहनाहरू मर्दछन् । कम्युनिस्ट र कम्युनिस्टइत्तर बीचमा कुनै सैद्धान्तिक राजनीतिक पर्खालहरू रहँदैन । साना हल्ला र घटनाकै कारण पनि सरकार विरोधी मनोविज्ञान भाइरल हुनजान्छ । यही कमलो, कमजोर र संवेदनशील स्थितिमा अग्रगामी, यथास्थितिवादी र पश्चगामी शक्तिहरू सतहमा देखापर्छ । आआफ्नो राजनीतिक स्वार्थको दाउ थापेर अघि बढ्दछ । यस्तो बेला सरकारलाई गम्भीर अप्ठ्यारो पर्दछ । त्यसैले सरकार सवल र सफल हुनका लागि रणनीतिमा दृढता र कार्यनीतिमा लचकता अनिवार्य हुन्छ । सिद्धान्त, विचार र व्यवहारमा दृढता र स्पष्टता जरुरी हुन्छ । कमी कमजोरी र गलत संस्कृतिहरूलाई स्वार्थ मिल्यो भन्दैमा सम्झौता गर्नु हुँदैन । निहीत स्वार्थ र लेनदेनमा फस्नु हुँदैन । राजनीतिलाई पुस्तेउलो विरासत, व्यापार र व्यवसाय जस्तो बनाउनु हुँदैन । 

भर्खरै विप्लव नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ । तर इतिहास सिद्ध तथ्य के हो भने प्रतिबन्ध र दमनबाट समस्याको समाधानभएको छैन । बरु उल्टै भीषण द्वन्द्वमा मुलुक फसेको पाइन्छ । यसकारण विप्लव नेकपाको राजनीतिक समाधानबाहेक अर्को विकल्प छैन । सामन्यतय राजनीतिक समाधानभन्नाले वार्ता र संवादलाई बुझाउँछ । तर यसले मात्रै पूर्ण समाधानदिनसक्दैन । सैद्धान्तिक तथा राजनीतिक दृष्टिकोण नै फरक भएपछि दुवै पक्षहरूको जित जितको अवस्थामा राजनीतिक सम्झौता हुनै सक्दैन । यो सार्वभौम नियम हो । यसमा एउटा पक्ष हाबी हुनैपर्छ । त्यसैले विप्लव नेकपाको राजनीतिक समाधानभनेको उसले जुनजुन जनसरोकारका मुद्दाहरू उठाएर भावनात्मक समर्थन र साहनुभूति पाइरहेको छ सरकार त्योभन्दा एक कदमअघि बढ्नुपर्छ । उसले जेजे आरोप लगाइरहेको छ त्यसलाई नीतिगतरूपमै चिरेर खाँटी कम्युनिस्ट चरित्र देखाउनुपर्छ । तब उसको गतिविध स्वतः निस्तेज हुँदैजान्छ ।

     वस्तुतः वर्तमान सरकार पनि कम्युनिस्ट सरकार हो । यता विद्रोही पनि कम्युनिस्ट नै हो । यिनीहरू दुवैको रणनीतिक उद्देश्य भिन्न छैन र हुँदैन । त्यसकारण विप्लव नेकपाको पहिलो दीर्घकालीन राजनीतिक समाधानभनेको कम्युनिस्ट विचार सिद्धान्तमा जोड र लोकतान्त्रिक औसत गतिविधिमा ध्यान दिने सवाल हो । राष्ट्रिय औद्योगिक पुँजी निर्माणमा जोड र दलाल निगम र वित्तीय पुँजीलाई दुरुत्साहन गर्ने हो । उत्पादनमूलक कृषि तथा औद्योगिक अर्थतन्त्रमा जोड र सेवामूलक अर्थतन्त्र विकासमा ध्यान दिने विषय हो । सरकारी पुँजी विकासमा जोड र उदार निजी पुँजीमा ध्यान दिने सवाल हो । राष्ट्रिय पुँजी निर्माणलाई जोड र राष्ट्रघाती, जनघाती र असमान स्वार्थमा आधारित परियोजनाहरूलाई निस्तेज गर्नुपर्छ । कम्युनिस्ट आचरण र जीवनव्यवहारमा जोड र वुर्जुवा उपभोगवादी संस्कृतिमा ध्यान दिनुपर्छ । सामूहिकतमा जोड र निजीमा ध्यान दिने हो । दुःखी गरिब वा विपन्नलाई जोड र सम्पन्नलाई ध्यान दिने कुरा हो । 

    त्यस्तै सामूहिक तथा सामाजिक स्वामित्व र स्वार्थलाई जोड र निजी स्वामित्व र स्वार्थलाई ध्यान दिनुपर्छ । गाउँलाई जोड र सहरलाई ध्यान दिने कुरा हो । अशिक्षित र अनपढलाई जोड र शिक्षितलाई ध्यान दिनुपर्छ । पहुँच नहुनेलाई जोड र हुनेलाई ध्यान दिनुपर्छ । शक्तिहीनलाई जोड र शक्तिशालीलाई ध्यान दिने तरिका हो । दुर्गमलाई जोड र सुगमलाई ध्यान दिने नीतिमा आधारित हुन्छ । तत्कालका लागि लोपोन्मुख, दलित, महिला र जनजाति समुदायहरूलाई जोड अरू समुदायलाई ध्यान दिनुपर्छ । शारीरिक श्रममा जोड र मानसिक श्रममा ध्यान दिनुपर्छ । कम्युनिस्ट पद्धतिमा जोड र आचरणमा ध्यान दिनुपर्छ । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको पनि सबभन्दा उत्पीडितहरूलाई जोड र बाँकीलाई ध्यान दिनुपर्छ । समग्र देश विकासमा जोड र व्यक्तिगत आर्जनमा ध्यान दिनुपर्छ । यही जोड र ध्यानको द्वन्द्वात्मक ऐतिहासिक समायोजन प्रक्रियाबाट मात्र समाजवाद निर्माणको लामो र कष्टसाध्य अभियान फत्ते गर्न सकिन्छ ।
   

 तसर्थ, विप्लव नेकपाको वस्तुवादी वैठान भनेको राजनीतिक समाधाननै हो ।  तर राजनीतिक समाधानभन्नाले वार्ता र सहमतीलाई मात्र जनाउँदैन । भिन्न विचार र दृष्टिकोण भएपछि सबै राजनीतिक सवालहरूमा सम्झौता भइहाल्ने वस्तुगत स्थिति रहँदैन । यसको स्थायी हल भनेको विप्लव नेकपाले सरकारप्रति लगाइरहेको आरोपहरूको व्यवहारतः स्पष्ट जवाफ दिनु हो । कमीकमजोरी सच्याउँदै रूपान्तरण हुनु हो । कम्युनिस्ट सरकारले कम्युनिस्ट सिद्धान्त, चरित्र, संस्कृति र चिन्तनलाई आचरणमा बदल्नु हो । भ्रष्टाचार, कमिसन, नाफाखोरी, ठेकेदारी र तस्करीलाई नीतिगत तथा आचरणगत रूपमा दुरुत्साहन गर्नु हो ।  कम्युनिस्ट कार्यशैली र जीवनशैलीलाई व्यावहारिक जीवनमा लागू गर्नु हो । वैज्ञानिक समाजवादतर्फको यात्रा तय गर्नु हो । राजनीतिलाई व्यापार नभएर ऐतिहासिक प्रक्रियागत आन्दोलन, त्याग र सेवाको रूपमा आत्मसात गर्नुपर्छ । अर्थात विप्लव नेकपाले उठाएको जायज मुद्दाहरूलाई अझ एक कदम अघि बढेर सम्बोधन गर्नुपर्छ । तब मात्र अरू आन्दोलन बेकार हुनुको साथै विप्लवप्रतिको औचित्य र सद्भाव कमजोर हुनेछ । यही विन्दुबाट राजनीतिक समाधानको ढोका पनि खुल्नेछ ।
                              
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराँती
राजेन्द्र किराँती
लेखकबाट थप