बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रियसभाका यी सांसद्, जसलाई हरेक दिन मान्छे ‘प्रचण्ड’ भनेर झुक्किरहन्छन् (भिडियोसहित)

‘बाटो हिँड्दा धेरै मान्छे, प्रचण्ड नै हो कि भनेर हेरिरहन्छन्’
आइतबार, १० चैत २०७५, ११ : १७
आइतबार, १० चैत २०७५

बानेश्वर र सिंहदरबार आसपास एक्लै वा केही साथीहरुसहित तपाईँले नेकपाका अध्यक्ष प्रचण्ड जस्तै मान्छे हिँडेको देख्नुभएको छ ? हाे, उनी प्रचण्डजस्तै देखिन्छन् । उनलाई देख्नेहरु प्रचण्ड ठानेर हरेक दिन झुक्किने गरेका छन् ।

तत्कालीन माओवादी २०६३ सालमा शान्तिप्रक्रियामा आएदेखि नै उनलाई प्रचण्ड सोचेर मान्छे नझुक्किएको दिन नै छैन । प्रचण्डजस्तै देखिने यी व्यक्तिपनि २०५२ सालमा सुरु भएको जनयुद्धमा प्रचण्डसँगै भूमिगत भएका थिए । शान्तिप्रक्रियापछि २ पटक संविधानसभा सदस्य भएका उनी अहिले राष्ट्रियसभा सदस्य छन् । 

सर्लक्क पछाडि लगेको कपाल, ठूलो निधार, आँखामा चस्मा, तिलचामले जुङ्गा, झट्ट हेर्दा प्रचण्डजस्तै देखिने यी व्यक्ति हुन् कालीबहादुर मल्ल । जो २०४७ सालदेखि प्रचण्डसँगै एउटै पार्टीमा राजनीति गरिरहेका छन् । प्रचण्डको राजनीतिक ‘मुभमेन्ट’ जस्तो हुन्छ, त्यसलाई इमान्दार कार्यकर्ता भएर उनले पछ्याउँदै आइरहेका छन् ।  
तपाईँ प्रचण्ड हैन र !

उनलाई पहिलोपटक देख्नेहरु प्रचण्ड भनेर झुकिन्छन् । एक दिन हैन हरेक दिन । कतिपय त तपाईँ प्रचण्डको आफन्त हो भनेर पनि सोध्छन् । कपाल काट्न गयो, हजामले तपाईँ प्रचण्ड हैन भनेर सोध्छन् । उनले ताजा अनुभव रातोपाटीलाई सुनाए–‘हालैमात्र एकजना पत्रकार दगुर्दै आए । तपाईँ त प्रचण्डजस्तै लाग्यो, बोलिदिनुपर्यो भने । मैले टाइम छैन पछि भेटौला भनेँ ।’ 

बाटोमा हिँडिरहेको बेला पनि मान्छेहरु उनलाई एकटकले हेर्छन् ।  धेरैले  प्रचण्ड नै हो कि भनेर हेरिरहन्छन् । कसैले सोधिपनि हाल्छन् । ‘म हैन भनेर हाँसेर हिँडिदिन्छु । अस्ति खुमलटारमा कृषि अनुधान परिषद् बाली विज्ञान शाखामा गएको थिएँ । त्यहाँको सशस्त्र प्रहरीले हतार हतार गर्दै गेट खोलिदिए, यसरी धेरै झुक्किन्छन्’ उनले भने । 

एकपटक कोटेश्वर पेरिसडाँडा पार्टी कार्यालयमा झापाका कार्यकर्ता प्रचण्डलाई भेट्न गएका थिए । उनीहरु प्रचण्डलाई बाहिर कुरेर बसेका थिए । बाहिर प्रचण्डको गाडी पनि थिएन । तर भित्रबाट एक्कासी प्रचण्ड निस्किएपछि उनीहरु दगुर्दै नजिक पुगे । तर नक्कली प्रचण्ड थाहा पाएपछि हाँस्न थाले । मल्ललाई हामी त नराम्ररी झुक्कियौँ भने । ‘हामीले प्रचण्डलाई नभएपनि तपाईँलाई फेला पा¥यौँ भनेर उनीहरुले फोटो खिचेर गए’, मल्लले रोचक अनुभव सुनाए ।  

हरेक दिन प्रचण्ड सम्झिएर मानिस झुक्किएका उनका थुप्रै अनुभूति छन् । 

काम विशेषले उनी एयरपोर्ट नजिक पुगेका थिए । त्यहाँ प्रहरीहरु केही काम गरिरहेका थिए । उनलाई देखेपछि सबै सर्तक भएर बसे । उनले भने, ‘पछि हामी त्यहाँबाट अगाडि बढेपछि उनीहरु हाँस्न थाले । प्रचण्ड आएको ठानेछन् । हैन रै’छ भन्ने बुझेपछि हाँस्न थाले ।’ उनले धेरै ठाउँमा प्रचण्ड ठानिएका कारण सुरक्षाकर्मीको स्यालुट खाएका छन् । 

यसरी मान्छेहरु झुक्किने विषय उनलाई सामान्य लागिसकेको छ । उनले भने, ‘जहिले पनि बिहान, दिउँसो, साँझ मानिसहरु झुक्किरहेका हुन्छन् । बिहान पत्रिका पढ्न जाने ठाउँमा पनि मान्छे झुक्किरहेका हुन्छन् । उनीहरु यसो रोकिएर हेर्छन् अनि जान्छन् ।’

यस्तो कसरी भयो अचम्म छ । उनी भन्छन्, ‘समुदायको हिसावले पनि हामी फरक छौँ । हामी ठकुरी पर्र्यौ, उहाँ बाहुन । फेरि निधारमा उहाँको पनि एउटै साइडमा यस्तै खत छ । उहाँको नाक लामो छ, तर मेरो अलि छोटो छ । हेयर स्टाइल र जुँगाले धेरै झुक्याउँछ जस्तो लाग्छ मलाई ।’ 

यो कुरा पार्टी अध्यक्ष प्रचण्डलाई पनि थाहा छ । भेट भएको र मौका मिलेको बेला दुईजना बीच ठट्टा पनि हुन्छ । उनले भने, ‘बेला–बखत पार्टी अध्यक्ष प्रचण्डसँग भेट हुन्छ । हामी एक अर्कालाई जिस्काउँछौ पनि । म उहाँलाई तपाईँ म जस्तो हुनुहुन्छ भन्छु । उहाँ पनि मलाई तपाईँ म जस्तो चाहिँ हुनुहुन्छ भन्नुुहुन्छ । यसरी जोक गर्छौैँ ।’

युद्धको समयमा प्रचण्ड कस्ता छन् भन्ने बारे धेरैलाई थाहा थिएन । त्यसकारण त्यतिबेला झुक्किने कुरा भएन । त्यो बेला मल्लको हुलिया पनि फरक फरक हुने गरेको थियो ।  तर शान्ति प्रक्रियामा आइसकेपछि उनका पनि जुङ्गा फूल्न थाल्यो । अनुहारको आकार, कपालको स्टाइल र जुङ्गाले दुई जनाको अनुहार मिल्न गएको उनको ठम्याई छ । 

नक्कली प्रचण्डबारे बैठकमै प्रचण्डसँग ठट्टा  
उनले एकपटक बैठकमा प्रचण्डसँग ठट्टा गरे । उनले भने, ‘म एकदिन बिहान बालुवाटार जान भनेर टंगालको बाटो गइरहेको थिँए । बाटोमा ३ जना महिलाहरु थिए । मलाई औंल्याएर खासखुस–खासखुस गरे । म आफ्नो बाटो लागेँ । 

भोलिपल्ट पनि ती महिला मध्ये एक जना महिला हाँसिन् । मैले भने, ‘तपाईँ किन हाँस्नुभयो ? उनले तपाईँ  प्रचण्डको को पर्नुहुन्छ भनेर सोधिन् । म उहाँको केही पर्दिनँ । उहाँ हाम्रो नेता म उहाँको कार्यकर्ता भनेँ ।’
ती महिलाले भनिन्, ‘हिजो तपाईँलाई हामीले प्रचण्ड ठानेर कुरा गरेको । कसैले हो भने, कसैले हैन भने । झन्डै हाम्रो झगडा परेको ।’

प्रचण्ड भएर किन एक्लै हिँड्या होला भनेर एकजनाले भनिन् । प्रचण्डजस्तो मान्छे, ट्याक्टिस बुझेको मान्छे, काठमाडौंको वातावरण बुझ्न हिँडेको होला भन्ने कुरा भयो ।

अर्की महिलाले प्रचण्डको भूँडी अलि ठूलो थियो, यो मान्छेको भूँडी सानो छ भनिन् । दोश्री महिलाले कहिले बाबुरामले मुक्का हान्छन्, कहिले बैद्यले मुक्का हान्छन्, त्यसलै भूँडी सानो भएको जवाफ फर्काइन् ।

अर्की महिलाले प्रचण्ड त अलि अग्लोजस्तो थिए, अहिले कसरी होचा भए भनिन् । अर्कीले तल–माथिबाट दुबैतिर कार्यकर्ताले थिचेपछि कहाँ मान्छे अग्लो हुन्छ भनिन् ।’ मल्लले यसरी ठट्टा गरेपछि बैठकस्थल हाँसोले गुञ्जिएको थियो ।

प्रचण्ड आफ्नो जीवनको एउटा आर्दश
सँगै जनयुद्धमा होमिएका कालीबहादुर मल्लले प्रचण्डलाई आफ्नो जीवनको एउटा आर्दश पात्रका रुपमा लिएका छन् । 

उनले भने, ‘पार्टी फुटेर तहसनहस पनि भयो । म प्रचण्डलाई धेरै विश्वास गर्छु । म एउटा दावी गर्छु कि यो शताब्दीकै मार्क्सवादको तुलनात्मक सफल प्रयोगकर्ता हुनुहुन्छ । डाइनामिक क्षमता प्रचण्डमा छ । यो देशमा प्रचण्डको नेतृत्वमा थालिएको जनयुद्धले गणतन्त्र ल्याएको छ । संघीयता भएको छ । समावेशी निर्वाचन प्रणाली छ । मौलिक हकसम्बन्धी यतिधेरै कानुन बनेका छन् । तिनको कार्यान्वयन पनि भइरहेको छ ।’

२०४७ सालदेखि २०७५ सालको अन्तिम क्षणसम्म उनी प्रचण्डको वरीपरी छन् । उनले प्रचण्डलाई एउटा आर्दश नेताका रुपमा बुझेका छन् भने प्रचण्डले पनि एउटा राम्रो कार्यकर्ताका रुपमा हेरेका छन् । उनी भन्छन्, ‘हामी ठट्टा पनि गर्छौँ, रमाइलो पनि गर्छौँ, सबै कुरा राम्रो छ । प्रचण्डले मलाई राम्रोसँग चिन्नुहुन्छ । म प्रचण्डलाई विचार, चिन्तनका आधारमा चिन्छु । उहाँले एउटा कार्यकर्ताको रुपमा मलाई बुझ्नुहुन्छ ।’ 

को हुन् कालीबहादुर मल्ल ? 
प्रचण्डभन्दा ४ वर्ष कान्छा मल्ल जाजरकोट खलंगामा २०१६ साल फागुन २२ गते जन्मिएका थिए । स्थानीय त्रिभूवन हिमालय हाइ स्कुलमा १० कक्षासम्म पढेपछि उनले मास्टरी गर्न थाले । १० वर्षसम्म ४ वटा स्कुलमा २०४३ सालसम्म पढाए । उनले भने, ‘त्यो बेला एसएलसी दिनेबित्तिकै स्कुलमा पढाउने काम पाइन्थ्यो । २०४६ मा बहुदलीय व्यवस्था आएपछि औपचारिक रुपमा राजनीतिक दलमा क्रियाशील भएँ । २०४७ मा नेकपा मशालमा पूर्णकालीन भएर लागँे ।’ 

२०४८ सालको आम निर्वाचनमा उनले जाजरकोट १ बाट मशालको तर्फबाट उम्मेदवारी पनि दिए, पछि एमाललेसँग तालमेल गर्ने भएपछि उनले उम्मेद्वारी फिर्ता लिए । तर २०४९ को स्थानीय तहको निर्वाचनपछि जिल्ला विकास समिति सदस्यमा निर्वाचित भए । 

२०५२ माघ सम्म जिल्ला विकास समिति सदस्यमा रहे । पार्टीले जनयुद्ध घोषणा गरेपछि उनी फागुन १ गतेबाट भूमिगत भए । भूमिगत भएपछि पार्टीले दिएका विभिन्न किसिमका जिम्मेवारीहरु बहन गरे । 

उनले भने, ‘मेरो पार्टीमा सधैं एउटै जिम्मेवारी भएन । कहिले साँस्कृतिक मोर्चा, कहिले जनसत्ता, कहिले जनमुक्ति सेनाको प्लाटुन कमिसार, कहिले भूगोल कहिले के भएर काम गरे । म पार्टीमा सुरुमा साँस्कृतिक मोर्चाको कमिसार थिएँ । हाइस्कुल पढ्ने बेला अलि अलि गीत कविता लेख्थेँ । त्यसलाई आधार मानेर साथीहरुले साँस्कृतिक मोर्चाको जिम्मा लिन भनेका थिए ।’  

उनले सुरु सुरुमा गीत लेखे । तर कुनै प्रकाशन तथा रेर्कड भएनन् । जाजरकोटमा प्रकाशन र रेकर्ड गर्ने सुविधा थिएन । २०४५ सालमा उनी शेरबहादुर अधिकारीसँग रेडियो नेपालमा आए । त्यो देउडा गीत थियो । कम्युनिस्ट विचारधारा बोकेका उनलाई त्यो गीत चित्त नबुझेपछि उनी रेकर्ड नगराई फर्किएका थिए । 

२०३९ सालमा जनसाँस्कृतिक केन्द्र नामको संस्था स्थापना गरेका थिए ।  जुन त्यतिबेलाको नेकपा चौथो महाधिवेशनसँग निकट रहेको थियो । यो संस्थामाफर्त केही गीत रचेर गाउँ गाउँमा साँस्कृतिक कार्यक्रम गरिएको थियो । उनले भने, ‘कम्युनिष्ट संगठन बनाउँन त्यो प्रचारात्मक आन्दोलन थियो । त्यो संगठन २०४३ सालसम्म क्रियाशील भयो । पछि साथीहरु कता कता लागे ।’ 
१० वर्षको जनयुद्धपछि २०६३ साल वैशाख १९ गते दैलेखबाट उनले भूमिगत जीवन त्याग गरेर खुला भए । 

२०६४ सालमा संविधान सभाको निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर १ बाट चुनाव लडे । प्रतिस्पर्धीको भन्दा २ तिहाई मत ल्याएर संविधानसभा सदस्यमा निर्वाचित भए । 

२०७० मा भने उनी समानुपातिक प्रणालीबाट सांसद भए । पार्टी फुटेपछि भेरी–कर्णाली इन्चार्ज भएर काम गरे । गत वर्ष भएको निर्वाचनपछि उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । 

४७ सालमा प्रचण्डसँग भेटः जनयुद्धमा काँचो आलु खाएर ५ छाकको भोक मेटेँ
२०४७ साल असोजमा पहिलोचोटी उनले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका थिए । चितवनमा मशालको पहिलो महाधिवेशन थियो । उनले भने–‘सोही क्रममा उहाँसँग मेरो पहिलो भेट भएको थियो ।’ 

फागुन १ गतेदेखि सुरु हुने जनयुद्धका लागि उनले माघ २५ गतेबाट भूमिगत हुने तयारी गरेका थिए । घरमा अब जनयुद्ध सुरु हुन्छ भनेर उनी हिँडे । उनको परिवारै पार्टीमा लागेको हुनाले कसैले रोक्ने कुरा भएन । त्यही दिन बाटोमा पुलिस भेट भयो । उनलाई कहाँ जान लागेको भनेर सोधेपछि जिल्ला विकासको योजना अनुगमन गर्न जान लागेको उनले बताए । त्यसपछि उनी भूमिगत भए । जाजरकोटमा फागुन ३ गते गाउँको ‘सामन्तीको तमसुक’ जलाएर जनयुद्ध सुरु गरिएको उनले स्मरण गरे । 

जनयुद्धलाई उनले सहज रुपमा लिएका छन् ।  ‘मैले डु अर डाईको रुपमा मात्र लिँए । अरु कुरा भनिनँ । यसलाई ठूलो भारीको रुपमा लिइनँ । रमाइलो पनि हुने, नरमाइलो पनि हुने दुईटै कुरा थियो । युद्ध भनेपछि रुने हाँस्ने दुबै हुँदोरहेछ । कहिले पुलिसले लखेट्ने आफू भाग्ने, कहिले आफूले लखेट्ने पुलिस भाग्ने, दुईटै कुरा हुन्थ्यो । मोर्चामा विजय प्राप्त गर्यो हाँसो आयो, साथीहरु सहिद हुँदा आँशु पनि आउँथ्यो । त्यही ढंगले हाम्रो १० वर्ष चल्यो । बाँच्न बिर्सियो भने सबै कुरा सहज हुँदो रहेछ ।’

युद्धका क्रममा धेरै घटनाक्रम भोगेका उनले केही घटना स्मरण गरे । 

५३ सालतिरको कुरा हो । अहिलेका बनमन्त्री शक्ति बस्नेत, उनी र केही साथीहरु जंगलमा थिए । पुलिसले घेरा हालेको रहेछ । उनीहरुले जंगलमा मृगको आवाज भन्ने ठानेका थिए । खाना नखाएको पनि ४ छाक भएको थियो । मृग बसेको भनेको त पुलिस पो रहेछ । उनले भने–‘हामीलाई घेरा हाल्यो, हामी तोडेर भाग्यौँ । कापी किताव सबै मेरो झोलामा थियो । पुलिसले झोला तान्न खोजेको थियो म भीरबाट हामफालेँ ।

निधारमा चोट लागेर रगत आयो । शक्तिजी पहाडको दुलोमा लुक्नुभएको रहेछ । बाहिर आउनुस् भनेर बोलाएँ । राती–राती धेरै पहाडको एउटा ओडारमा गएर बस्यौँ । बिहान ढिलासम्म सुतिएछ । हामीलाई त देखेन तर बिहान पुलिस आएर घेरा हालिसकेछ । झोला छुटेछ । त्यसमा मेरा गीतका डायरी थियो । फिलिप्सको रेडियो थियो । मैले बजाउने गरेको रेडियो फेला पारेपछि कालीबहादुर म¥यो भन्ने हल्ला चलेछ । पहिलोचोटी आफू मरेको हल्ला सुनेँ ।’ 

११ बजे पुलिस फर्किएपछि माथि उनीहरु लेकतिर गए । खाना नखाएको ५ छाक भइसकेको थियो । त्यहाँको आलुबारी खोस्रिएर ढुङ्गाले थिचेर काँचै आलु खाएँ । हिउँमा शिकारीले खसालेको नुन खुसार्नीको पोको भेटियो त्यो पनि खाएको उनले सुनाए । 

उनले भने, ‘पाँचौ दिन पुलिस छैन भन्ने थाहा पाएपछि १ जना साथीलाई गाँउमा पठाएर रोटी ल्याउन लगाएर रोटी खायौँ । त्यो बेला हाम्रो ६ जनाको टोली थियो । पुलिसले लखेटेपछि डुमरबहादुर राउत भन्ने साथीलाई घँुडामा काठ बिझेर घाइते हुनुभएको थियो । उहाँहरु ३ जना छुट्नुभयो । शक्तिजी म लगायत हामी ३ जनाको टोली थियौँ ।’ 
मृत्यु नजिकै आएर फर्किएको अर्को एउटा घटना उनले सम्झिए । 

५७ सालतिर कर्णाली जनसत्ताको घोषणा कार्यक्रम थियो जाजरकोटको जुगाथापाचौरमा । अहिलेका सभामुख कृष्णबहादुर महरा प्रमुख अतिथि थिए । जनसत्ताको खड्गबहादुर विश्वकर्मा संयोजक र उनी सहसंयोजक भएर १५ जनाको कमिटी बनेको थियो ।  हेलिकोप्टरबाट बम प्रहार भयो । एउटा भैसी मर्यो, एकजना कार्यकर्ताको मृत्यु भयो । 

युद्ध नै भइसकेपछि हरेक दिनको घटना महत्वपूर्ण हुन्छ । जनयुद्धमा लागेपछि उनले निरन्तर रुपमा पार्टीले दिएको हरेक जिम्मेवारी पूरा गरेका थिए । 

उनले भने, ‘भूमिकाका हिसावले म पोलिटिकल कमिसार नै थिएँ । त्यतिबेला हेडक्वाटरलाई हेर्ने, सेनाका लागि आवश्यक सामग्री आपूर्ति गर्ने, कब्जा गरेर ल्याएका हतियार, गोली गठ्ठालाई भण्डारण गर्ने, कहीँ प्रशिक्षण भयो भने त्यसमा सहभागी हुने, प्रशिक्षणपछि आफ्नो ठाउँमा जाने कुरा हुन्थ्यो । युद्ध हुँदा बन्दुक समातेर प्रत्यक्ष्य लडाइँ भन्दा पनि राजनीतिक क्षेत्रमा म बढी सक्रिय हुन्थेँ ।’

जनयुद्धका बेला उनको ३ वटा रुप हुन्थ्यो । उनी त्यति धेरै लुकेर बसेनन् । उनी कुनैबेला पूरै दारी पाल्थे, कहिले दारी राख्दैनथे, कहिले टोपी लगाउथे । त्यतिबेला सेना पुलिसले नचिन्ने भेषभूसामा हिँड्ने गर्थे । उनले भने, ‘अनुहार चेन्ज गरेर म आफ्नो गतिविधिहरु गर्ने गर्थेँ ।’

जनयुद्ध क्षति भन्दा उपलब्धि : जाँदा चार, फर्किँदा छ
१० वर्ष चलेको युद्धमा प्रत्यक्ष संलग्न भएका तथा संलग्न नभएका धेरैले अकालमा ज्यान गुमाए । परिवार सहित जंगल पसेका कैयौंले आफन्त गुमाएर फर्किएका धेरै उदाहरण छन् । तर मल्लको कथा भने अली फरक छ । उनको ४ जनाको परिवार जनयुद्धमा सहभागी भए । युद्धकै क्रममा जेठो छोराले बिहे गरे । बुहारी र नाती समेत थपिएर ६ जना भएर घर फर्किए ।

उनले भने, ‘युद्धको मोर्चामा निरन्तर रहेपनि सायद गोली नलागेको परिवार हाम्रो होला । जाजरकोटको जुली भन्ने ठाउँमा केन्द्रीय कमिटीको कार्यक्रम थियो । पोष्टबहादुर बोगटी इन्चार्ज हुनुहुन्थ्यो । माथिबाट बम खसालियो । त्यहाँ त्यस्तो क्षति त भएन तर पछि थाहा भयो बमको आवाजले मेरो कानमा असर गरेको रहेछ । यति मात्रै हो, हाम्रो परिवारले त्यस्तो क्षति बेहोर्नुपरेन ।’

उनको कान्छो छोरा जनमुक्ति सेनाको कमान्डर नै थिए भने पार्टीको कामका लागि जेठो छोरा बर्दियामा खटिएका थिए । युद्धका क्रममा परिवारका सदस्यहरुको बेला बेला भेट हुने गथ्र्यो । अहिले जेठो छोराको परिवार जाजरकोटमा छन् भने कान्छो छोरा नेपालगञ्जमा बस्छन् । 

बिन्दास जिन्दगीः पत्रिकालाई १ घण्टा, फेसबुकलाई २ घण्टा 
अहिले उनको जिन्दगी बिन्दासले बितेको छ । पहिले पहिले पत्रपत्रिकाका लागि लेख पनि लेख्ने गर्थे । अहिले छोडिसेके । उनले भने, ‘पहिले म पत्रिकामा लेख्ने गर्थे, अहिले फेसबुकमा लेख्छु । बिहान १ घण्टा पत्रिका पढ्ने, २ घण्टा फेसबुक चलाउने गर्छु । त्यसपछि नियमित रुपमा सिंहदरबार आउँने गर्छु । जनताको काम गर्छु । कोही सिंहदरबारको गेट पास चाहियो भन्दै आँउछन् । उनीहरुलाई सहयोग गर्न बढी भन्दा बढी कोशिस गर्ने हो ।’

जिल्लाबाट कोही राहतका लागि आँउछन्, कोही उपचार सहयोगका लागि आउँछन् । सहयोगका लागि गृह मन्त्रालय गइदिने, संघीय मामिला मन्त्रालय गइदिने गरेको उनले सुनाए । काठमाडौंमा उनी, श्रीमती र २ नाती बस्छन् । राष्ट्रियसभामा उनको अब १ बर्ष कार्यकाल बाँकी छ । उनले भने–‘आफैले गोला निकालेको २ बर्षको समय आएछ ।’ अब १ वर्षपछि जाजरकोट फर्किने, खेतीपाती गर्ने र पार्टीले जिम्मा दिएको काम गर्ने उनको योजना छ । 

भिडियाे हेर्नुहाेस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप